१ भक्तपुर नगर कला–संस्कृति, जात्रा र चाडपर्वको राजधानी नगर हो । भक्तपुर नगरको मल्लकालीन २४ इलाकामध्ये टौमढीदेखि लयको लाकुलाछेंसम्मको क्षेत्र त्यसको केन्द्रविन्दु नै हो । यस अर्थमा भैरवनाथ विराजमान टौमढी र त्यस वरपरको इलाका धार्मिक, सांस्कृतिक केन्द्र नै हो । भैरवनाथ र त्यससँग सम्बन्धित प्रायः जात्रा र चाडपर्वको सुरु तथा समापन यसै ठाउँबाट हुने गर्दै आउनु यसको ज्वलन्त प्रमाण हो । भैरवनाथ तथा अष्टमातृका गण र नगरका सम्पूर्ण देवदेवीसँग सम्बन्धित बिस्का जात्रादेखि वालंद भैरव जात्रा, पुलुकिसी जात्रा, गाईजात्राको सुयाम्ह (पटालको) भैलद्यः जात्रा जस्ता विभिन्न जात्रा चाडपर्वको सुरुआत तथा समापन यही ठाउँबाट हुर्दै आएको छ । यसमा बिस्का जात्राको महत्व आफ्नै ठाउँमा छ । एउटा वंशको पतन र अर्को वंशको उदयसँगसँगै एउटा राजनैतिक उत्सवको पूर्वरुप विश्व जात्रा हो भन्ने यथेष्ट प्रमाण मौजूद छ । यसको दरिलो प्रमाण टौमढीस्थित नेपाल संवत् ५६१ को यक्ष मल्लको शिलापत्र काफी छ । जहाँ बिस्का जात्रालाई स्पष्ट भाषामा विश्व जात्रा भनिएको छ ।
२ बिस्का जात्राको पूर्वरुप चैत्र शुक्ल मसान्तको दिन योसींगःमा योसीं द्यः उठाउने र वैशाख सङ्क्रान्तिको दिन योसीं ढाल्नु हो ।
३ अनि उक्त योसीं द्यमा झुण्डयाइने एक जोडा हलिंपत नै विश्वध्वजा हो । यही विश्वध्वजा फहराउने जात्रा नै विश्व जात्रा हो । संस्कृतको विश्व जात्रालाई यहीकै भाषामा अपभ्रंश रुपमा बिसक्यात हुँदैं बिस्का बन्न पुग्यो ।
४ बिस्का जात्रामा अचेल आकर्षणको केन्द्र बनेको भैरव भद्रकालीको रथ जात्राको प्रचलन त मल्लकालमा मात्र विकास भएको हो ।
५ यसै क्रममा मल्लकालमा बिस्का जात्राको दौरानमा घटेका केही घटनाहरू लिपिबद्घ भएबाट यसको पुष्टि हुन्छ । विशेषगरी यसको श्रेय विश्वमल्लकी रानी गंगादेवीलाई जान्छ । ने.सं.७१२ चैत्रशुक्ल मसान्तको दिन विश्व जात्राको दौरान भैरवनाथको रथ द्वारमुन्तिर ढल्दा देवता तल सारी योसीं उठाएको एउटा घटना ठ्यासफुमा टिपिएको छ ।
६ जुन यसप्रकारको छ
“सं ७१२ चैत्रस विश्व जात्रानं, ध्वाखाकोस खत भेतबुला ।। थव बेलस देव कोहाँविज्याचकाव एवसिङ थाङा थ्वया शान्ति”
यो घटना भक्तपुरको गः हिटीबाट भैरवनाथको रथ लयको हुँदै योसिंख्यमा पुयाएपछि योसीं उठाउने परम्परासँग सम्बन्धित हो । यस टिपोटको आधारमा गः हिटीबाट योसिंख्य जाने मार्गमा ढोका रहेको देखिन आउँछ । जुन अहिले छैन । भैरवनाथको रथ सजिलैसित ओहोरदोहोर गर्न मिल्ने यो ढोकाको उचाइ धेरै अग्लो हुनुपर्छ । यो ढोका कहाँनेर थियो त्यो पनि अध्ययनको विषय हुन आउँछ । भक्तपुर नगर पस्ने आठवटा ढोकाहरूमा विष्णुवी अर्थात् भद्रकाली देवीतर्फबाट नगर पस्ने ढोका भएर भैरवनाथ र भद्रकालीको रथ जात्रा हुने परम्परा रहेको बुझिन आउँछ । यही घटनासँग टिपिएको अर्को एउटा तथ्यमा यसरी भैरवनाथको खट द्वारमुनि ढल्दा भैरवनाथ देवता तल सार्न ठूलो शान्ति स्वस्ती पनि गरेको देखियो । त्यसको लागि भैरवनाथसमक्ष २ वटा बोका, नकिंजु अजिमासमक्ष १ वटा बोका, स्वथान बलि ल्वहँमा ३ वटा बोका, १ वटा राँगो, कालो भेंडा १ र हाँस ३ वटा बली दिई दीप जागरण पूजा गरेको उल्लेख छ । यहाँ उल्लेख भएको भैरवनाथ भन्नाले जात्रा गरिने देवता हो । अनि नकिंजु अजिमा भद्रकाली देवी हुन् ।
७ यसबाहेक यहाँ उल्लेख भएको स्वथान बलि ल्वहँ चांहि मेरो अध्ययनले गः हिटीस्थित स्वबुंग भैरव नै हो । लिच्छवी राजा आनन्ददेवले श्रीयन्त्राकार भक्तपुर नगर बसाउँदा नगरको मध्य भागमा भैरव तथा त्रिपुरासुन्दरी स्थापना गरी चारैतिर क्रमशः ब्रम्हायणी, माहेश्वरी, कौमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मीको पिठ निर्माण गर्न लगाएको वंशावलीमा उल्लेख छ । ती भैरव यही स्वथान बली ल्वँह नै हो । जुन देवताले दिनहुँ बलि लिन थालेपछि मुख तल पारी घोप्टाएर राख्यो । मुख दबाएर राखेकोले यसको नाउँस्वतुक भैरव नै पछि स्वबुंग भैरव बन्न पुग्यो ।
८ ने.सं. ७१२ को घटनासम्म यो भैरवलाई स्वथान बलि ल्वहँ नै भनिएको छ । र भैरव र भद्रकालीलाई भन्दा यहाँ बढी पशुपन्छिको बलि दिएबाट यो शक्तिशाली वा डरलाग्दो देवता भएको देखिन्छ ।
९ जुन देवतालाई प्रत्येक वर्ष तलेजु भवानी एवम सम्पूर्ण नवदुर्गा भवानीले समेत पूजा आराधना गर्ने परम्परा कायमै छ ।
१० यो दुवै टिपोट ने.सं. ७१२ को हो । त्यसबेला यहाँत्रैलोक्य मल्ल र त्रिभुवन मल्ललाई अगाडि राखी उनकी आमा गंगादेवीले शासन चलाइरहेको ४४ औं वर्ष थियो ।
११ ने.सं.६६७ मा आफ्ना पति विश्व मल्ललाई हटाई गंगादेवीले राज्य गरिरहेको अवस्थामा यहाँको बिस्का जात्रालाई महत्व दिएको बुझिन्छ । विशेषगरी आफ्ना पति विश्व मल्लले सञ्चालनमा ल्याएको भैरव नाथको रथजात्रामा कुनै कमी कमजोरी नआओस् भन्ने हेतुले गंगादेवीले भैरवनाथको रथजात्रामा भएको बिघ्नबाधामा यसरी शान्ति स्वस्ती गर्न लगाएको हो । कुनैबेला चैत्रशुक्ल मसान्त र वैशाख सङ्क्राति दुई दिन मात्र विशेष विश्व जात्राले प्रख्यात बिस्का जात्रामा ने.सं.७१२ सम्म आइपुग्दा भैरवनाथको रथ जात्राले लोकप्रियता पाइसकेको पुष्टि हुन्छ । यो घटना भएको ११ वर्षपछि अर्थात् ने.सं. ७२३ चैत्र शुक्ल मसान्तको दिन योसिखेलमा उठिसकेको योसिद्य भाँच्न पुग्यो । यसलाई अशुभ मानि तुरुन्त योसिद्यकहाँ १ बोकासहित क्षमा पूजा गरियो । यसबाट बिस्का जात्राको क्रममा भैरवनाथको खट बिग्रने , योसीं भाँचिने घटना पहिले पनि हुन्थ्यो भन्ने थाहा हुन्छ ।
१२ त्यस्तै ने.सं. ७४१ मा जगज्र्योति मल्लको पालामा भैरवनाथको रथ तान्ने क्रममा जबरजस्ति गर्दा क्वाछँेमा रथ बिग्रियो । भैरवलाई तल सारी छोपेर देवगृहभित्र लगियो । त्यसको शान्तिस्वस्तिको लागि राज्यबाट राँगो १, गुठीबाट राँगो १, टोलवासीहरूबाट राँगो १ बली दिई क्षमा पूजा गरियो । यो घटनावलीलाई वंशावलीमा यसरी उल्लेख गरिएको छ ।
१३ “सम्वत् ७४१ चैत्र शुक्ल पूर्णिमा , अंगारवार थ्व कुन्हु भैरवया रथ क्वाठछेस भेतवुर पेपुं गरपति टोकदुर ।। यवेसिं थङा अनानिस्यिे देव पुयाव, विज्याचका रात्रिस, राजया मश म्हं १ पूजा याक थ्वन, पिन्हु लिव देव आवेश जुव, सति कुन्हु गुठिया मेश म्हं १ त्वारया मेश म्हं १ पूजा याक, पूजा याय धुङान स्तुतिस आवेस मजुरो ।”
१४ यो टिपोटको आधारमा ने.स. ७४१ सम्म आइपुग्दा भैरवनाथको खट जात्रा अझ बढी लोकप्रिय भइसकेको थियो । रथजात्रामा बढी जात्रालुहरूको सहभागिता भएको कारण रथलाई जबरजस्ती तान्दा रथ बिग्रेको टिपोटबाट थाहा हुन्छ । त्यस्तै राजा जगतप्रकाश मल्लको पालामा अर्थात ने.सं. ७७५ मा घटेको एउटा घटनाले त योसिद्य उठाउने काम चैत्रशुक्ल मसान्तको दिन गर्नुपर्ने तर दिनभर रातभर प्रयास गर्दा पनि नसक्दा भोलिपल्ट अर्कै योसिद्य ल्याई उठाएको रहेछ ।
१५ त्यसको लागि पनि क्षमा पूजा गरियो । जुन योसिद्य उठाउने प्रविधि तथा क्षमता सदैव एकनास नभएको देखियो । त्यतिमात्र कहाँ हो र त्यति गाहारो गरि उठाएको योसिद्यको टाउकोमा काग बसेछ । यसरी काग बसेकोलाई अशुभ मानि योसींद्यकहाँ क्षमा पूजा गरियो । यसबाट ललितपुरको प्रसिद्घ मच्छिन्द्रनाथको रथमा काग बस्दा अशुभ मानेझैं भक्तपुरको योसींद्यः मा काग बस्नु अशुभ मान्ने गरिएको जानकारी मिल्छ ।
१६ यता भक्तपुरको बिस्का जात्रा उपत्यकाकै एक प्रसिद्घ जात्रा रहेको सन्दर्भमा कान्तिपुर र ललितपुरले भक्तपुरको जात्राको लागि पूजा भाग कोसेली पठाउने गर्थे । भक्तपुरको बिस्का जात्राले अझ बढी लोकप्रियता पाउँदै गएपछि विशेष गरि कान्तिपुरले त बिस्का जात्रा नै रोक्ने उद्देश्यले भक्तपुरको उत्तरको चाँगुदेखि पूर्वी भेगको नालासम्म आक्रमण ग¥यो । यसमा पनि भक्तपुरको पूर्वी भेगको नालाछाप र आसपासको उनको आक्रमणको मुख्य उद्देश्य त भक्तपुरको बिस्का जात्रालाई आवश्यक पर्ने योसीं ल्याउने योसिगुं अर्थात् जंगल कब्जा गर्नु थियो ।
१७ एकातिर भक्तपुरको बिस्का जात्रालाई प्रभावित पार्नेगरि आक्रमण गर्दै थियो त अर्कोतिर भक्तपुरको बिस्का जात्रालाई सम्मानस्वरुप पूजाभाग तथा कोसेली पठाउने क्रममा ने.सं. ७८० मा कान्तिपुरका राजा प्रताप मल्लले विभिन्न सामानहरू पठाएको लगत टिपिएको छ । सानो बनाउने यसबाट पनि सन्तुष्ट नभएका कान्तिपुरका राजा प्रताप मल्लले ललितपुरसँग मिली ने.सं.७८३ मा त भक्तपुरको बिस्का जात्रा नै गर्न नदिने पक्षमा पुग्यो । भैरवनाथको रथ गहिटीमा थियो, चैत्रशुक्ल मसान्तको दिन थियो । भैरवको रथ तानी योसिखेल पु¥याई योसि उठाउने दिन थियो । यता कान्तिपुर र ललितपुर मिली हाम्रो आदेशविना जात्रा गर्न पाइँदैन भनी नगर पस्ने ढोका ढोकामा धर्ना दिन थाले । तत्कालीन राजा जगतप्रकाश मल्लले सम्पूर्ण भक्तपुरबासीलाई योसीं उठाउने जात्रामा नभई आ–आफ्नो टोल बस्तीसँगैको ढोका वरपर सतर्का भएर बस्न आदेश दिए । नभन्दै सो साल योसीं उठाउन गः हिटीबाट भैरवनाथको रथ नै तानेन । रथ रातभरि गः हिटीमै रहयो ।
१९ जुन यसरी वर्णित छ,
“एवसिंया मोड स्वरहासे वव्थाङा बेरस्, थ्वया शान्ति छुं नं मयाङाव, याकात जुव । राज्यं सकल्यं मोक, गल प्राखड जुक्व रेङ जुरो ।। सवंत ७८३ ।। श्री ३ आकाश भैरव यात्रा एने देव खतस थङाव बेरस, खतया छत्र क्वताङ वव, थ्व बेलस यँया एलाया, संग्राम वयाव षुसि इतास चोङाव, गानकर हव,प्रताप मल्लया आज्ञा मदतोरे जात्रा याय मदु धक बाधा याङाव चछि गाडयितिस बिज्यातकाव तया जुरो ।।
यस्तो विषम परिस्थिति किन आइप¥र्यो भनि राजाले भातरदारहरूसित छलफल गर्दा यसका कारण त त्यस वर्ष योसींलाई चाहिने च्वाँला लिन जाने क्रममा एकजना व्यक्ति घाइते भएकोमा शान्तिस्वस्ति नगरेको कारण भएको निष्कर्ष निकलियो ।
२० यस विषयमा वीर बेतालसँग सम्बन्धित एउटा रोचक किंम्वदन्ती पनि सारै चर्चित छ । त्यस वर्ष भैरवनाथको रथ तान्ने कोही पनि भक्तपुरवासी नआउँदा कतै जात्रा नै रोकिने हो कि भनी आशङ्का सर्वत्र भएछ । यस्तो विषम परिस्थितिमा एकजना बालकले भैरवनाथको रथको लामो डोरी एक्लैले तानी रथलाई योसिखेलमात्र पु¥याएन, एक्लैले आठवटा डोरी तानी योसींद्यः समेत उठाएछ । त्यो बालक त अरु कोही नभई साक्षात बेताल नै रहेछ ।
२१
पादटिप्पणी
१ं. टौमढी टोलको पूर्ववत नाम तलमण्डे हो । जसको जिकिर पूर्वमध्यकालमै लेखिएको गोपाल राजवंशावलीबाट पुष्टि हुन्छ ।
२. डी.आर. रेग्मी, मेडित्ल नेपाल, भाग तीन, पृष्ठ ६६ मा यो शिलापत्रको पूर्णपाठ प्रकाशित छ । भक्तपुर टौमढीस्थित भैरवनाथ मन्दिर समीप सुनको धारासँगै बडेमा आकारको यो शिलापत्र घामपानी हावाहुरीेले बिग्रने क्रममा छ ।
३. गौतमी तन्त्रलाई आधार बनाएर लेखिएको वर्षक्रिया नामक ग्रन्थमा यसको उल्लेख छ ।
४. विश्वकेतु ‘बिसक्यात’ ‘बिस्का’ भएको देखिन्छ ।
५. राजा विश्व मल्लको समयदेखि भैरव भद्रकालीको जात्रा भएको मानिए तापनि मेरो सङ्ग्रहमा सुरक्षित एक ताम्रपत्रको नक्कलअनुसार विश्व मल्लको बुबा प्राण मल्लको समयमा नै भद्रकाली भैरवको लागि प्रशस्त जग्गाजमिन सहितको गुठी राखेको छ
६. खर्बुजा, सूर्यलाल, भक्तपुरको बिस्केट जात्रासँग सम्बन्धित एउटा अप्रकाशित ठयासफू , पासुका, वर्ष ५, अंक २ , पृष्ठ ३ —९
७. भद्रकाली देवीको स्थानीय नाम नकिंजु अजिमा रहेबाट बिस्का जात्रामा अन्य अष्टमातृका देवी यी देवी प्रमुख रहेको देखिन्छ । नकीं शब्दले यसको सङ्केत गर्छ ।
८. टौमढीस्थित भैरवनाथ पुलांदाफामा गाउने एक गीत यसको प्रमाण हो । जहाँ यही स्वथान बदि ल्वँहको प्रसङ्ग छ ।
९. नेपाल संवत् ४३६ मा यहाँको एक देवतामा पसिना आएको गोपाल राजवंशावलीमा उल्लेख छ । सायद यो उही स्वथान बली ल्वहँ अर्थात् भैरव नै हुनुपर्छ ।
१०. प्रत्येक वर्ष पायो जात्राको क्रममा स्वयं तलेजु भवानीले समेत यो स्वथान बलि ल्वहँ परिक्रमा गर्छ ।
११. शान्त प्रवृतिका विश्व मल्लको मृत्यु ने सं. ६६८ आश्विनमा भएको तर गंगादेवीको छोराहरूसितको अभिलेख ने.स.६६७ मा नै पाइनुबाट यसको पुष्टि हुन्छ ।
१२. नेस ७२३ सम्म गंगा रानीका साथ त्रैलोक्य मल्ल र त्रिभुवन मल्लको संयुक्त शासन देखिन्छ ।
१३. बज्राचार्य चुन्दा, मल्लकालया छुं घटनावली , पृष्ठ ८ । तर यहाँ चैत्र शुक्ल पुर्णिमा भनी जुन समय उल्लेख छ । यो अलि विचारणीय छ । बिस्का जात्रा सुरु देखि नै सौरमासलाई आधार बनाएर चली आएकोमा यहाँ उल्लेख भएको चन्द्रमान तिथिले अन्योलता उत्पन्न हुन्छ ।
१४. ऐजन ६ बाट
१५. योसीं खेलमा एउटा जगेडा योसींद्य राख्ने चलन पहिलेखि नै रहेको पुष्टि हुन्छ ।
१६. काग बस्दा, भूकम्प आउँदा मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा पछि सार्ने परम्परा बिस्का जात्रामा क्षमापूजाबाट फुकाउने चलन देखियो ।
१७. हलल गाउँको प्रताप मल्लको चठ्ठान अभिलेखले यसको सङ्केत गर्छ ।
१८. राष्ट्रिय अभिलेखालय, माइकोफिल्म रि न ए ६१०÷१७ फोलियो सङ्ख्या ८
१९. योसीं उठाउन प्रयोग हुने कैची आकारको बलियो काठलाई च्वाँला भनिन्छ । अचेल यसमा फलामका च्वाँला प्रयोग गर्न थालेको छ ।
२०. भैरव बली विधि, प्र १६१२, बि ३७५÷२३
२१. बेतालसँग जोडिएका यस्ता कैयौं अरु किंम्वदन्ती जनमानसमा व्याप्त छ ।