भक्तपुरको शाब्दिक अर्थ ‘भक्तहरूको शहर’ भन्ने बुझाउँछ जहाँ हरेक महिना कुनै न कुनै चाड मनाइन्छ । भक्तपुर युगौंदेखि मनाइने विभिन्न चाडपर्व र जात्राका लागि निकै नै प्रख्यात छ त्यसैले भक्तपुरलाई जात्रै जात्राको शहर पनि भनिन्छ । स्थानीय नेवा रीतिरिवाज, चाडपर्व र संस्कृतिमा यो शहर निकै धनी छ भन्ने कुरामा कुनै शंका छैन । त्यसैले भक्तपुर नेपालकै बढी आन्तरिक र बाह्य पर्यटकहरु भित्रयाउने पर्यटकीय गन्तव्य शहरहरु मध्ये एक हो ।
भक्तपुरका विभिन्न प्रख्यात पर्वहरूमध्ये गाईजात्रा पनि एक हो । यसलाई भक्तपुरको बिस्का जात्रापछिको दोस्रो ठूलो जात्राको रुपमा लिइन्छ । यो पर्व वर्षभरिमा आफ्ना प्रियजनको निधनको सम्झनामा मनाइन्छ । यो जात्रा लगातार आठ रात नौ दिनसम्म मनाइन्छ । हरेक बर्ष जनै पूर्णिमा (गुन्ही पुन्ही)बाट सुरु हुन्छ र कृष्ण जन्माष्टमीको दिन सम्म मनाइन्छ । यो जात्रालाई स्थानीयहरुले साः पारु पनि भन्ने गर्छन ।
भक्तपुरमा सापारु अजिमाको ताहमचाबाट सुरु हुन्छ र परालको भैल द्योसँगै समाप्त हुन्छ । ताहमचाले मरेका मानिसहरूको प्रतीक भन्ने बुझाउँछ । सामान्यतया ताहामचालाई फोटाहरूले सजाइन्छ । अग्लो चार वटा बाँसलाई कपडाले बेरिएको, परालको सिङ र शीरमा छाता ताहमचाका आधारभूत विशेषता हो । परम्पराअनुसार गाईले मृत आत्मालाई स्वर्गसम्म लैजान मद्दत गर्छ भन्ने विश्वास गर्छन् । ताहमचालाई चार व्यक्तिले बोक्ने गर्छन । त्यसका पछिपछि मृतक परिवारका आफन्तहरु प्रदक्षिणा मार्गमा पदयात्रा गर्दै घुम्ने चलन छ । धेरैले ताहामचासँगै घिन्टाङघिसी पनि लाने गर्छन् । तर त्यो अनिवार्य होइन परिवारको इच्छामा भर पर्ने बिषय हो ।
त्यस दिन ताहमचा अगाडि नेवारी परम्परागत संगीत, भजन, सांस्कृतिक नृत्य, माक प्याखँ (बाँदर नृत्य), घिन्टाङ घिसी (सांस्कृतिक लाठी नृत्य) प्रदर्शन गरिन्छ । अन्तत समाजका ताहमचाहरू भल द्यो (भगवान शिवको अवतार)बाट निर्देशित हुन्छन् । त्यो परालले बनाएको हुन्छ । अजिमा बद्रकाली (हिन्दू देवी) द्वारा त्यसलाई पछ्याइएको हुन्छ । धिमे, धाँ बाजा, लाला खींकोे एउटै तालमा हजारौं युवाहरु नाच्छन् । नगर भरी घुम्दै भक्तपुरका मुख्य तीन चोकमा बिशेष प्रदर्शन गरिन्छ, दरबार स्क्वायर, टौमढी स्क्वायर र दत्तात्रय स्क्वायर ।
गाईजात्राको बेलामा भक्तपुरका विभिन्न स्थानमा स्थानीयवासी राती अबेरसम्म विभिन्न नाचहरु हेर्न व्यस्त हुन्छन् । गाई जात्रा भनेको समसामयिक बिषयहरुमा नक्कल गरी हाँस्य व्यङ्ग्य गर्ने समय हो । भक्तपुरबाहेक गाईजात्रा पाटन, काठमाडौं र कीर्तिपुरमा पनि मनाइन्छ । तर, भक्तपुरको गाइजात्रा विशेष प्रकारको हुन्छ । त्यसैले भक्तपुरले त्यो बेला आन्तरिक र बाह्य पर्यटकहरुको बिशेष ध्यान खिचेको हुन्छ । भक्तपुर सहर राजधानी काठमाण्डौदेखि केही टाढा हुनु, शान्तपूर्ण वातावरण र बिशेष प्रकारको गाइजात्रा प्रदर्शन तथा जनताको प्रभावकारी संलग्नता पनि जात्रालाई बिशेष बनाउन मदत गरेको देखिन्छ ।
गाइजात्राको सुरुवात
इतिहासअनुसार गाइजात्रासँगै राजा प्रताप मल्लको नाम आउँछ । उनी तत्कालीन कान्तिपुर, अहिले काठमाडौंका शासक थिए । गाई जात्रालाई उपत्यकामा पहिलो पटक परिचय गराउने उनी नै थिए । भनिन्छ, त्यस जात्रा उनकी रानीको दुःख कम गर्नका लागि थियो । उनका छोरा चक्रवर्तेन्द्रको निधन पछि उनी डिप्रेसनमा गएका थिए । उनलाई शान्त पार्न राजाले आफ्ना छोरामात्र होइन अरु जनता पनि मर्छन् भन्ने देखाउनलाई मानिस मरेका सबै परिवारलाई गाइ ल्याउन र त्यस क्रममा मनोरञ्जन गर्न आदेश दिए । राजाको आदेशअनुसार त्यसबेला मानिसहरूले वर्ष भरी मरेका परिवारले विभिन्न प्रकारका गाइ बनाइ घुमाउन ल्याएको रानीले देखे र उनको मन शान्त भयो । त्यही बेलादेखि गाई जात्राको परम्परा सुरु भएको मानिन्छ ।
नेपालको गाईजात्रा र चीनको हङ्ग्री घोस्ट पर्वको तुलनात्मक अध्ययन
संसारभरि मरेको पर्वको कुरा गर्दा चीनको भोकाएको भूत पर्वलाई हाम्रो गाईजात्रासँग तुलना गरेर हेर्न सकिन्छ । पितृपूजालाई सम्मान गर्ने विभिन्न तरिकाहरू छन्। । त्यसमध्ये चीनमा हङ्ग्री घोस्ट फेस्टिभल पनि एक हो । त्यसमा नरक र स्वर्गको ढोका खोल्ने विश्वास गर्दछ, सबै भूतहरूलाई खाना र पेय पदार्थहरू दिइन्छ । गाईजत्रालाई भने मृतकलाई सम्झने र विभिन्न क्रियाकलापमार्फत दुःख पीडा कम गर्नेको रुपमा लिइन्छ ।
हङ्ग्री घोस्ट फेस्टिभलले चिनियाँ समाजमा आध्यात्मिक विश्वास, सांस्कृतिक परम्परा र पुर्खाको पूजाको जटिल मिश्रणमा अन्तर्दृष्टि प्रदान गर्दछ । यसले पुर्खाहरूसँगको सम्बन्ध कायम राख्ने र पछिको जीवनमा उनीहरूको भलाइ सुनिश्चित गर्ने घटनालाई प्रतिबिम्बित गर्दछ । यो पर्व एक अद्वितीय अवसर हो जहाँ जीवित र मृतकहरू प्रतीकात्मक रूपमा एकसाथ भेला हुन्छन् जसले विभिन्न पुस्ताहरू बीच एकताको भावनालाई बढावा दिन्छ ।
भक्तपुरमा हुने गाई जात्रा पर्व र चीनको हङ्ग्री घोस्ट फेस्टिभलको छुट्टाछुट्टै सांस्कृतिक र धार्मिक सन्दर्भहरू भए तापनि त्यहाँ केही रोचक विषयगत र प्रतीकात्मक समानताहरू छन जुन अन्वेषण गर्न लायक छन्।
दुबै चाडहरूमा दिवंगत आत्माहरूको सम्झना समावेश छ । गाई जात्रामा, परिवारहरूले ताहामचासँगै पदयात्रा गरेर आफ्ना मृतक प्रियजनहरूलाई सम्झने गर्छन् जबकि हङ्ग्री घोस्ट फेस्टिभलमा, पुर्खाका आत्माहरू संसारमा फर्किने विश्वास गरिन्छ, र परिवारहरूले उनीहरूलाई सन्तुष्ट पार्न र सम्झनको लागि खाना र अन्य बस्तुहरु वितरण गर्छन् ।
गाई जात्रामा, परिवारहरूले मृतकको आत्माको प्रतिनिधित्व गर्न प्रतीकात्मक गाईहरू बनाउँछन् र आफन्तहरु पदयात्रामा निस्कन्छन् । त्यस्तै, हङ्ग्री घोस्ट फेस्टिभलमा भोकाएका भूतहरूलाई शान्त पार्न र परलोकमा उनीहरूको कल्याण गर्न खाना, पैसा र अन्य वस्तुहरू चढाइन्छ ।
दुवै चाडपर्वमा सुख र दुःख मिश्रित छ । गाई जात्राले प्रियजन गुमाएको शोकलाई कम गर्न पोशाकमा सजिएर हास्य व्यंग गर्दछ भने हङ्ग्री घोस्ट फेस्टिभलले मनोरञ्जनका साथ गम्भीर बिषयहरुमा नाटक प्रदर्शन र अन्य मनोरञ्जनात्मक गतिविधिहरु गर्छन् ।
दुबै चाडपर्वहरू समुदायसँग गाँसिएको हुँदा त्यसमा व्यापक सहभागिता हुन्छ । गाई जात्रामा परिवारहरू पदयात्रामा सामेल हुन्छन् र सम्पूर्ण समुदाय मृतकको सम्झना गर्न एकसाथ जान्छन्।् भने हङ्ग्री घोस्ट फेस्टिभलमा साम्प्रदायिक गतिविधिहरू पनि समावेश हुन्छन् । मृतक परिवारहरूले लालटेन बालेर पुर्खाहरूलाई सम्मान गर्छन् । गाइजात्रा पर्वले मृतकलाई शान्ति पाउने विश्वास गर्छन् भने हङ्ग्री घोस्ट फेस्टिभलमा भट्किरहेका आत्माहरूलाई सान्त्वना मिल्ने विश्वास गरिन्छ । गाइजात्रामा एक दिन विशेष गरी मनाइए जस्तै हंग्री घोष्ट फेष्टिबल करिब एक महिनासम्म मनाइए पनि एक दिन भने बिशेष पर्वको रुपमा मनाइन्छ ।
दुवै उत्सवहरूले सांस्कृतिक गतिविधिमार्फत सामाजिक टिप्पणीको लागि मञ्च प्रदान गर्दछ । गाई जात्रामा, हास्यव्यंग्यको प्रयोगले मानिसहरूलाई आफ्नो विचार व्यक्त गर्न र सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्न अनुमति दिन्छ । त्यसैगरी, हङ्ग्री घोस्ट फेस्टिभलले जीवित र मृतक बीचको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ ।
मनमोहक सांस्कृतिक र विषयगत समानताका हुँदाहुँदै भक्तपुरको गाई जात्रा पर्वले चीनको हङ्ग्री घोस्ट फेस्टिभलले जस्तै विश्वस्तरीय मञ्चमा पुग्न सकिरहेको छैन । भक्तपुरको भौगोलिक र सांस्कृतिक सहितको आफ्नो पहिचानलाई अझ अगाडि बढाउन आवश्यक छ ।
काठमाण्डौ उपत्यकामा अवस्थित सानो शहर भक्तपुरले ठूला महानगरले जत्तिकै अन्तर्राष्ट्रिय प्रचार पाउन सकेको छैन । सीमित मात्रामा भए पनि विश्वव्यापी प्रवद्र्धनात्मक प्रयासहरू भइरहेका छन् । गाई जात्राको जीवन्त प्रदर्शनीहरुले ठूलो मात्रामा प्रचार प्रसारमा भूमिका खेल्न सक्छ । भक्तपुरको गाई जात्राले सांस्कृतिक र कलात्मक अभिव्यक्ति तथा सामुदायिक गतिविधिले विश्वव्यापी रुपमा भक्तपुरको प्रचार प्रसारलाई मदत पु¥याउने विश्वास गर्न सकिन्छ ।
यो जात्राले परम्परागत नृत्य, संगीत र गीतहरू मात्र होइन देशको आर्थिक, सामाजिक र साँस्कृतिक अबस्था पनि प्रदर्शन गरी जन चेतना जगाउने काम गर्दछ । निस्सन्देह गाइजात्रालाइ संसारको सबैभन्दा मनोरञ्जनात्मक पर्व मध्ये एक हो भन्न सकिन्छ । स्पेनमा पनि त्यस्तो जात्रा मान्ने चलन छ जस्तै टमाटर महोत्सव । त्यो महोत्सव हेर्न र सहभागी हुन लाखौँ विदेशी पर्यटक स्पेन पुग्छन । त्यस्तै चीनको हङ्ग्री घोस्ट फेस्टिभलमा पनि हेर्न र सहभागी हुन हजारौं पर्यटकहरु चीनमा जाने गर्छन् ।
चीनमा मनाइने त्यो पर्व हामीले भक्तपुरमा मनाउने गाई जात्रासँग मिल्दोजुल््दो छ। तैपनि अन्य देशले जात्राको माध्यमबाट जति पर्यटकलाई आकर्षित गर्न सक्यो, त्यति हामीलेसकेका छैनौँ । भक्तपुर नगरपालिकाबाट सङ्कलन गरेको तथ्यांकले पनि भक्तपुरमा गाईजात्रामा पर्यटकहरुको आवागमन प्रष्ट बुझ्न सकिन्छ । कोभिड अघिसम्म गाइजात्राको बेला निकै धेरै पर्यटक आउने गर्थे । दुइ वर्ष कोभिडले निकै धेरै असर गर्यो । विना योजना गाईजात्राको समयमा भक्तपुर आइपुग्ने पर्यटकहरुले पनि गाईजात्रालाई अविस्मरणीय रुपमा लिने छन् ।
त्यसैले गाई जात्रालाई अन्तर्राष्ट्रिय स्तरमा कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेमा हामीले ध्यान दिन जरुरी छ । गाई जात्राको प्रवद्र्धनले हाम्रो संस्कृतिको संरक्षण मात्र होइन, आफ्नो संस्कृतिलाई उपयोग गरी देशको अर्थतन्त्रको विकास गर्न सक्छौं । चीनको हङ्ग्री घोस्ट फेस्टिभलमा झै हामील विदेशी पाहुनाहरुलाई हाम्रो संस्कृतिमा सहभागी गराउन र हाम्रो संस्कृतिप्रति आकर्षित गर्न पनि सक्छौं । यस वर्ष मनाइने गाइजात्रालाई अनुशासित, व्यवस्थित र मर्यादित बनाई आन्तरिक र बाह्य पर्यटकहरु मनग्य भित्रयाउने तर्फ सबैले ध्यान दिने हो कि ?