तत्कालीन समयमा राजधानी नगरको रुपमा रहेको भक्तपुर नगर सांस्कृतिक मूल थलोकै रुपमा देखा पर्दै इतिहासको कालक्रममा यसले आफ्नो अन्य केन्द्रीय महत्व ( शासन प्रशासन / राजनैतिक) गुमाएता पनि वर्तमान समय सम्मन् कुनै न कुनै रुपले सांस्कृतिक मूल थलोको विशेषतालाई चाहि धान्दै आइरहेको दृष्टिगत् हुन्छ । अहिलेसम्मन् पनि यहाँ प्रचलित रहँदै आएका चाडपर्व उदाहरण स्वरुप छन् । कुनै बेला समग्र नेपालकै राजधानीको रुपमा रहँदा यहाँको प्रसिद्ध विस्केटजात्रा, मोहनी (वडा दशैं) र सापारु (गाईजात्रा) आदि राष्ट्रिय स्तरमै लोकप्रिय रहँदै आएकोमा अहिले एक सानो जिल्लाको रुपमा परिणत भइसकेको परिप्रेक्षमा ती जात्रा पर्व स्थानीय स्तरमा सिमित रहन पुगेको आभास हुन्छ । सांस्कृतिक धार्मिक गतिविधिको लोकप्रियता एवं उत्थान मल्लकालको अन्तिमचरणसम्मन् पनि चलिरहेको परिप्रेक्षमा अनेक जात्रा चाडपर्व आदि प्रचलित थिए तर कालक्रमले वर्तमान समयसम्मन् आइपुग्दा कतिपय जात्रा चाडपर्व विलुप्त भइसकेको देखिन्छ । तथापि अहिलेको नागरीय सांस्कृतिक लोकजीवनमा निम्न लिखित परम्परागत चाडपर्व प्रचलित रहदै आएको देखिएको छ ।
शाक्त तान्त्रिक धर्म-दर्शनको व्यवहारिक स्वरुप भक्तपुरको भौतिक अवस्थितिको परिप्रेक्षमा नवदुर्गालाई मान्न सकिन्छ । नगरको वास्तुरचना, नाच, सुरक्षात्मक वास्तु समग्रमा ‘नवदुर्गामय’ रहेको जानिन्छ । यसकारण पुरै नगरबस्ती नवदुर्गा – अधिनस्थ रहेको कुरा स्पष्ट रुपले जानिन आएको परिप्रेक्षमा यस नगर वस्तीमा प्रचलित जात्रा / चाडपर्व पनि नवदुर्गाको वार्षिक क्रियाकलापकै आधारमा संचालित रहँदै आएको दृष्टिगत हुन्छ । अतः यसै आधारमा नवदुर्गागणको उत्पत्ति (वार्षिक) को साथ साथै घण्टाकणर् चतुर्दशीको दिन देखि नै एक वर्षसम्मनका विभिन्न चाडपर्व / जात्रा भेला आदि शुभारम्भ हुन्छ :-
१. गाठामुग चह्रे (घण्टाकणर् चतुर्दशी)
श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण चतुर्दशी पूजा यहाँ – गाठामुग चह्रे’ नामले प्रसिद्ध छ । यसै दिन नवदुर्गा भवानीको गण समेतको उत्पत्ति ( महादेवको उत्पति) प्रारम्भ हुन्छ । यसै दिन देखि भक्तपुरका नेवार सांस्कृतिक जीवनमा चाडपर्वको पनि शुरुवात हुन्छ ।
उक्त दिनमा भूतप्रेत पन्छाउन छ्वालिको गाठामुग ( घण्टाकर्ण राक्षस) बनाइ नगरबस्ती वाहिर चौबाटो दोबाटो आदिमा लगेर जलाउने चलन छ ।
विचारणीय कुरा के छ भने कृषिकार्यमा व्यस्त रहदै आएको नेवार लोकजीवनमा सो कार्यको सामाप्तिको प्रतीक र चाडपर्वको प्रारम्भकै प्रतीकको रुपमा यो गाठामुग चह्रे चाड कै रुपमा मान्ने चलन छ । तान्त्रिक दीक्षाधारीहरु आ-आफ्नो आगमहरुमा चह्रे पूजा गरी आफ्नो अभीष्ट पूरा गर्न अनुष्ठान पनि प्रारम्भ गर्छन् ।
२. नागपंचमी
श्रावण शुल्क पञ्चमीको दिन प्रत्येकका घरका ढोकामाथि अष्टनागको प्रतीक चिन्ह लेखिएको चित्रलाई नागनै सम्झी पूजा गरी दूवो, अक्षता, गोबर, सस्र्यूँ आदि राखी मूल ढोकादेखि घरका सबै ढोकामाथि टाँस्ने चलन रहेको छ । जसबाट १ वर्षसम्मन् भुंजगादि (भुइमा घिस्रेर हिँड्ने जीव ) को भय र जल-भय नहुने जनविश्वास प्रचलित छ ।
३. गुन्हि पुन्हि
श्रावण शुल्क पूर्णिमाका दिन समस्त नेवारहरु नुहाइ धुवाई गरी ९ थरीका गेडागुडी (पानीमा भिजाइ राखेका) देवदेवीलाई चढाई प्रसादस्वरुप त्यसैलाई पकाई त्यसको रस क्वांति खाने चलन छ । तागाधारीहरु यस दिन खोला पोखरी वा नदी किनार आदिमा गई नयाँ जनै लगाउने गर्छन् । कृषि कार्यमा लाग्ने ज्यापूहरु आफ्ना खेतबारीमा व्यांचा जा नकेगु भनेर भ्यागुतोलाई परम्परागत रुपमा खाद्य (भात) र पूजा सामग्री आदि सहितले पूजा गर्ने र (भात) खुवाउने चलन छ । भक्तपुरका राजोपाध्यायहरु हनुमानघाटमा गई नयाँ जनै अभिमन्त्रित गरी लगाउने, श्रावणि- होम गर्ने, ऋषितर्पण, फल-श्राद्ध आदि गरी उपाकर्म गुठी चलाउँछन् । त्यस्तै जनजीवनमा विहान सवेरै देखि ‘गुपु हिटी सिकेगु’ भनेर नौ वटा पूवाभिमुख ढुङ्गेधारामा स्नान गर्न सूर्यविनायक उकालोमा रहेको ढुङ्गेधाराबाट सो स्नान यात्रा प्रारम्भ गरी तचपालटोलको भिन्द्यो हिटीमा पुगेपछि समाप्त हुने गरी स्नान मेला मनाउने चलन छ ।
४. सापारु
भक्तपुरको सांस्कृतिक जीवनमा गाईजात्रा ‘सापारु’ नामले परिचित एवं प्रसिद्ध रहँदै आएको छ । नेपालभाषामा ’सा’ को अर्थ गाई (गाई/ साढे आदि) र ’पारु’ को अर्थ प्रतिपदा तिथि हो । यताबाट सापारु भनेको गो-प्रतिपदा गाईको सम्मान गर्ने प्रतिपदा पर्वको रुपमा मनाउँदै आएको पाइन्छ ।
यस दिन वर्ष भरीमा दिवंगत भएकाहरुका नाममा विभिन्न नामधारी गाईका स्वरुपहरु ( ताहाँसा, चायामा, डोहसां, दोकचा आदि) बनाई नगरका परम्परागत निश्चित मार्गबाट नगर परिक्रमा गराउने चलन छ । जुन मार्ग यही गाईका नामले ‘साला’ (गो-यात्रा मार्ग) नामले प्रसिद्ध रही आएको छ । यही मार्गमा यात्राको अन्तिम जात्रा प्रर्दशन स्वरुप टौमढीटोलबाट लाकुलाछेंका भैरवनाथको सोही सदृश परालको भैरव ‘ताहा सौ’ का रुपमा नगर परिक्रमा गराइन्छ जसको साथमा घिताघिसी नाच र अन्य नाचहरु पनि साथै लागेका हुन्छन् । यस पछि त्यस दिनको सापारु जात्रा समाप्त हुन्छ ।
सापारुको भोलिपल्टदेखिनै भाद्रकृष्ण अष्टमी ( जन्माष्टमी) को दिनसम्मन् भक्तपुरका विभिन्न देवदेवीका विमान खटजात्राहरु घितांघिसी नाचहरु ख्याल हरु धार्मिक सांस्कृतिक नाच-गानहरु नगरका विभिन्न टोलटोलमा यात्रा मार्ग अनुसार नै परिक्रमा गरी प्रदर्शन गर्ने चलन छ । जसमा दतात्रय जात्रा, भैलद्यो जात्रा, भिन्द्योजात्रा, लस्कद्यो जात्रा, सूर्यविनायक जात्रा, इन्द्रायणीजात्रा, वाराही जात्रा, कृष्णजात्रा, तथा गिर्वाण जात्रा आदि उल्लेखनीय मान्न सकिन्छ ।
५. पंजरा चह्रे
भाद्रकृष्ण चतुर्दशीका दिन भक्तपुरमा धुमधामका साथ पंजरा चह्रे मनाउने चलन छ । जसमा नगरका पाँच प्रमुख विहारका पंचबुद्धलाई नगर परिक्रमा गराउने चलन छ । देश (नगर) भरका सबै जनताले आ-आफ्नो इलाकाभित्र पञ्चदान दिने चलन छ । धान, मकै, फलफूल, रोटी र पैसा राखी ’पंजरा वेगु’ भनेर ती पंच बुद्धलाई अर्पण गर्छन्, जसबाट वर्षदिनसम्मन् अन्नको अभाव नहुने जन विश्वास छ । बौद्धमार्गीहरु पंचबुद्धलाई लोकेश्वरका रुपमा मान्छन् । शिवमार्गीहरु शिव पंचायन वा पंचापाण्डवका रुपमा पनि दर्शन पूजन गर्छन् । धार्मिक सहिष्णुता एवं समन्वयको एक उत्कृष्ट उदाहरण यस पर्वमा दर्शनीय हुन् आउँछ ।
६. कृष्णाष्टमी
भाद्र कृष्णअष्टमीको रातलाई कृष्णाष्टमी वा जन्माष्टमी पर्वको रुपमा मान्ने चलन छ । विशेषगरी यस दिन भक्तपुरमा कृष्ण र उनका परिवार गणहरुलाई सिंहाँसनमा विराजमान गराई कृष्णाष्टमी व्रत पूजा गर्ने परम्परागत चलन हालसम्मन् पनि प्रायः प्रचलित नै रहेको देखिन्छ ।
मल्लकालमा राजपरिवारहरुलाई तीनका गुरु-पुरोहितहरुले कृष्णाष्टमी व्रतयज्ञ यागादि गरी धुमधामसंग कृष्णजन्मको पर्व मोहरात्रि मानी आएको कुरा सम्बद्ध प्रमाणका आधारमा थाहा पाइन्छ । त्यस्तै राजोपाध्याय परिवारमा पनि बेलुकी रातिसम्म निराहार बसी कृष्णाष्टमी व्रत सम्पन्न गर्ने परम्परा प्रचलित रही आएको छ । सोही अनुरुपका कृष्णाष्टमी वर्ष मनाउँदै आएको गतिविधिलाई पुष्टि गर्ने पौभा चित्र जसमा तिथि मिति देखि व्रत गर्ने व्यक्तिहरुको परिचयसम्म पनि पाइने हुँदा उक्त कुराको पुष्टि मिल्छ । यस दिन भक्तपुरको पनि सांस्कृतिक मूल केन्द्र भक्तपुर तलेजुभित्र पनि यसै मोहरात्रिको उपलक्षमा पवित्रारोहण – पूजा गरिन्छ ।
यथार्थमा सापारुको समापन उत्सव वा अन्तिम दिनको रुपमा पनि कृष्णाष्टमीको दिनलाई मान्ने चलन छ । यसो हुँदा विभिन्न देवदेवीका ’विमान जात्रा देश परिक्रमा गर्ने क्रम कृष्णको खट्यात्रा पछि समापन हुन्छ ।
७. गोकर्ण औंसी
भाद्रकृष्ण अमावस्याको दिनलाई भक्तपुरका नेवारहरु व्यायागु ख्वः स्वयगु भनेर छोराछोरीहरुले आफ्नो बाबुको मुख हेर्ने परम्परागत विधि अनुसार दहीको टीका लाइदिने फलफूल, रोटी र फूल हातमा दिइ ढोगभेट गर्ने चलन छ । विवाह भइसकेका छोरीहरुले ‘ख्वः स्वया कू’ भनेर माछा, मासु, फुल, वारा, रक्सी सहित फलफूल रोटी ल्याउने चलन छ । बाबु बितेकाहरुले चाहिँ कान्तिपुरको गोकणर्मा गई स्नानदान श्राद्ध आदि कर्म गर्ने चलन छ । त्यहाँ पुग्न असमर्थहरुले नजिकैको तीर्थमा गई स्नानदान श्राद्ध आदि कर्म गर्छन् । यति पनि गर्न नसक्नेले “निसला वियगु भनेर चामल, पीठो, चिउरा, रोटी, फलफूल आदि आ-आफ्ना पुरोहितलाई श्रद्धा पूर्वक विधिवत प्रदान गर्ने चलन छ ।
८. चोठा
भाद्रशुल्क चतुर्थीको दिनमा मनाइने पर्व भक्तपुरमा ‘चोठा’ (चठा श्र गणेश चतुर्थी) नामले प्रसिद्ध छ । यस दिन बेलुकी कमलको पातमा उखु, अदुवा, मूला स्थापना गरी त्यसको अघिल्तिर गणेशको छापा राखी (कतै कतै मूर्ति पनि राख्ने चलन छ) पोलेको मकैको धागो, वसपति, रुखकटहरको बीज फंसिय बदाम, भुटेको मकै, भटमास, केराउ, गहुँ आदि ‘छुस्या- मुस्या’ चढाई पूजा गर्छन् । प्रायः धेरैले पंचमकार सहितले पूजा गर्छन् ।
यसदिन गणेशपूजा नगरीकन चन्द्रमा दर्शन गरेमा चोरी गरेको दोष लाग्छ भन्ने लोकोक्ति प्रचलित छ । त्यसकारण सानो तिनो चोरी गर्नेहरुलाई ‘चोठा गन्द्योः’ भनि जिस्कयाउने चलन पनि लोकजीवनमा रहेको जानिन्छ । त्यस्तै गणेश पूजा राम्ररी सम्पन्न गर्न सकेमा ‘मोहनी’ (वडादशैं) राम्रो सुखद हुन्छ भन्ने जनविश्वास पनि छ ।
९. यन्याँ पुन्ह
भाद्र शुल्क पूर्णिमाको दिनलाई यन्याँ पुन्ही को रुपमा मान्ने चलन छ । भाद्रशुल्क द्वादशीका दिन ‘थम्ब द्योः थानेगु’ भनेर इन्द्रको प्रतीक मुकुण्डो सहितको काठे-लिङ्ग उठाई इन्द्रयात्राको प्रारम्भ गरी आश्विन कृष्ण चतुर्थीका दिन सम्पन्न गरिन्छ । यताबाट ‘यन्याँ पुन्ही’ यो जात्राको वीचमा पर्न आउँछ । भाद्रशुक्ल चतुर्दशीका दिन बेलुकी खौमा टोलको इन्द्रायणी देवीलाई विमान खटमा राखी नगरको पश्चिम भागमा अवस्थित सिद्धपोखरीमा जात्रा गरी ल्याइ विराजमान गराइन्छ । भोलीपल्ट पूर्णको दिन यहाँ इन्द्रदहको विशेष मेला लाग्छ । सोही दिनको रातमा इन्द्रायणी देवीको जात्रा गरी देवगृहमा भित्र्याइन्छ ।
इन्द्रायणी जात्रा पछि (१) ‘यामता’, (२) ‘मुपात्र’, (३) ‘पुलुकिसी’ लाई नगर परिक्रमा गरिसकेपछि यन्यां पुन्ही’ पर्व सकिन्छ ।
पूर्ण का दिन प्रायः सबै नेवारहरु यन्यां या समय नयगु’ भनेर पोलेको सिद्रा साढां (कर्कलोको आचार) भिजाएको केराउ आदि राखी समय खाने मान्यजनलाई दिने र टोलमा ‘पिखालखु’ मा वितरण गर्ने चलन पनि छ ।
१. यामता जात्रा
२. सुपात्र जात्रा
३. पुलुकिसीजात्रा (पुलुकिसी ल्याउनु अघि पुलुयाम्हा भैलद्यो ( मसान – भैरवको जात्रा) लाई नगर परिक्रमा गरिन्छ)
१०. मोहनी
बडा दशै पर्वलाई नेवारहरु मोहनीका रुपमा मान्दछन् । नेपालीहरुकै महान चाडको रुपमा प्रसिद्ध यो चाड भक्तपुरमा तलेजु भवानी र नवदुर्गा पूजाको क्रम र विधि अनुसार मनाउने चलन रहेको पाइन्छ ।
उक्त परिप्रेक्षमा मोहनीको प्रारम्भ ‘सों सालेगु’ वा ‘नला सानेगु’ भनेर जौ छरि घटस्थापना पर्व मनाइन्छ । राजकीयस्तरमा तलेजुमा जमरा रोपिसकेपछि र जनस्तरमा नवदुर्गास्थानमा जमरा रोपिसकेपछि ती दुवै स्थानका सोधन गरिएका जौ ल्याई आ-आफ्ना घरमा जमरा रोप्न कुनै साइत पर्खनु पर्दैन भन्ने लोक मान्यता अनुरुप अहिलेसम्मन् पनि सोही परम्परा प्रचलित रहँदै आएको छ ।
आश्विनशुल्क प्रतिपदा देखि नवमी सम्मन् ( फूलपातिका दिन तलेजलाई नलास्वां कुथि (दशैंघर ) मा विराजमान गराउन विधिवत चलाइने यात्रालाई द्योः क्वहाँ विज्याइगु जात्रा र सोही अनुरुप दशमीका दिन सोही दशैं घरबाट मूल स्थानमा भित्र्याउने जात्रालाई ‘द्योः थाहां वीजयाइगु जात्रा’ भन्ने चलन छ) ‘नवरात मो ल्हु बानेगु भनेर प्रत्येक दिन अष्टमातृका पीठमा रहेका खोला / तीर्थ घाटमा सूर्योदय हुनु पूर्व नै स्नान गर्ने चलन छ । बेलुकी ‘स्वतकी ताऐगु’ भनेर बत्ती दिइ आरति दर्शन गर्ने चलन छ ।
तलेजुमा र सम्बिन्धित रकमीहरुका घरमा आश्विनशुल्क सप्तमीका दिन फूलपाति भित्र्याइ पूजा गर्ने, आष्टमीका दिन ‘था पं’ भनेर ढाल तरवार देवीका मूर्ति आदि स्थापना गर्ने, राति – ‘कालरात्रि’ पूजा गर्ने, नवमीका दिन- ‘कुमारी पूजा’ (एकान्तकुमारी कुमारी) गर्ने र दशमीका दिन ‘चाल’ भनेर विसर्जन पूजा गरी मोहनी कर्मको मुख्य दिनक रुपमा जमरा, मोहनी (कालो टीका) लगाई घरको नायो/ नकींका हातबाट जलप्रसाद ग्रहण गरी ‘स्कायगु’ (शीर प्रसाद) सहितको भोज खाइ मोहनी मनाइन्छ ।
उक्त परिप्रेक्षमा महानवमीका दिन नवदुर्गा देवगृहबाट गाठामुग चह्रे का दिन त्यहाँ ल्याइ पालिएको ‘खः मे’ नामको निरखत राँगोलाई पूजा गरी जाँड रक्सी खुवाइ महायात्रा प्रस्थान का लागि देवगृहबाट विधिवत निकालिन्छ जुन यात्रा ब्रम्हायणी पीठ सम्म चल्छ । यो रोचक जात्रा ‘खः मे ब्बाकेगु’ जात्राका रुपमा निकै प्रसिद्ध छ ।
यसै दिन सर्व साधारणका घरमा बलि पूजा वाहाँ स्यायगु का रुपमा बोका, हाँस, कुखुरा, आदि को भोग दिइन्छ । गच्छे अनुसार कुमारी पूजा पनि गर्छन् ।
वीजया दशमीको रातमा महिषासुर मर्दिनी तलेजु/नवदुर्गा को महिषासुर वधको वीजय यात्राका रुपमा तलेजु भवानीको प्रतिमा स्वणर्द्वारमा ल्याइसकेपछि नवदुर्गागणले तान्त्रिक सिद्धि प्राप्त गर्छन् । र त्यस पछि त्यस बेलाको चन्द्रमाको गति अवस्थिति अनुसारको साइत आधारमा तल्लो नगर वा माथिलो नगरमा तलेजु भवानीको साथमा नवदुर्गा गण पनि देश परिक्रमा गर्छन । जसलाई ‘पायो जात्रा’ भनिन्छ ।
११. स्वनाति
कार्तिक कृष्ण द्वादशी तिथिको दिन देखि कार्तिक शुल्क द्धितिया सम्मको दिनलाई भक्तपुरको नेवार लोकजीवनमा ‘स्वनाति’ (स्वन्ती श्र ३ दिने पर्व ) तिहार को रुपमा मान्ने चलन छ ।
कार्तिक कृष्ण अमावस्याका दिन ‘लक्ष्मीपूजा’ प्रतिपदाका दिन ‘म्हपूजा’ + नेपाल संवतको चाड, एवं द्वितीयाका दिन किजा पूजा (भाइटीका) यी ३ दिनलाई मूल पर्व मानी ‘यम पञ्चक’ का रुपमा पनि मनाइन्छ ।
वर्तमान लोकजीवनमा द्वादशीका दिन गर्नुपर्ने किसी पूजा (हात्ती पूजा) लुप्तप्रायः भइसकेको छ । त्रयोदशीका दिन को पूजा (काग तिहार) र धन्वन्तरी जयन्ती पूजा, चतुर्दशी ‘खिचा पूजा’ (कुकुर तिहार) आदि यस स्वनाति पर्वको पूर्वार्द्ध – कर्मका रुपमा प्रचलित छन् । नेवार संस्कृतिमा लक्ष्मीपूजाको भोलिपल्ट नै म्हः पूजा (आत्मपूजा) गर्नु पर्ने चलन रहँदै आएको पाइन्छ । नेपाल सम्वतको पर्व मान्ने चलन पछिमात्र चलेको हो । त्यसैले ‘नेपाल सम्वत फेर्ने दिन- म्ह पूजा गर्नुपर्छ भन्ने होइन’ म्ह पूजा गर्ने दिन ‘ने.सं.’ जोडिन आएको देखिएको छ । तत्कालीन समयमा सिद्ध तान्त्रिक युग (आठौं शताब्दी-वाह्रौं शताब्दी) सशक्त रहेको समयताका शरीरलाई नै ब्रम्ह वा उपासित देव देवीकै वासस्थानको रुपमा प्रयोगात्मक रुपले अनुष्ठान गर्ने चलन- प्रवाह नेवार लोकजीवनमा अत्यन्त लोकप्रिय रहन पुगेको सफल प्रयोगको रुपमा ‘म्ह पूजा’ लाई मान्न सकिन्छ । कालान्तरमा शरीरलाई देवमन्दिर र आत्मालाई देवताका रुपमा पूजा गर्न ‘म्हः पूजा’ अनुष्ठानमा मण्डल अगाडी व्यक्ति वसी बत्ती प्रज्वालन गरी शरीरमा रहेका समस्त विकारहरु उक्त ज्योतिले भष्म भई भित्रि एवं वाह्य तत्व वीचका तादात्म्यताका रुपमा पनि मान्न सकिने कुरा दार्शनिक परिप्रेक्षमा जान्न सकिन्छ ।
स्वनाति पर्वमा लक्ष्मी पूजा, म्ह पूजा, किजापूजा गर्दा सम्बन्धित देवी एवं व्यक्तिहरुका सामु मण्डल बनाई धूप बत्ती बाली ‘धौ सगं खेंः सर्ग लिई फलफूल, रोटी आदि पनि चढाउने परम्परा यस पर्वका विशेषता हुन् ।
१२. सकिमा पुन्ही
कार्तिक शुल्क पूर्णिमाको दिन भक्तपुरमा ‘सकिमा पुन्ही’ को रुपमा मनाउने चलन छ । यस दिन शखरखण्ड, पिंडालु, उसिनेर चढाउने खाने, विभिन्न प्रकारका गेडागुडी (भटमास, मकै, गहुँ, स्वारी माल्पुवा, आदि) भुटेर विभिन्न देवदेवीका मन्दिर सामुन्ने नसा व्वयेगु’ भनेर हरिमन्दि चढाउने चलन छ । यसै क्रममा गेडागुडीले सम्बद्ध देवदेवीका मन्दिर, रथ, यन्त्र आदिका आकार पनि बनाइ सार्वजनिक प्रदर्शन गर्ने र सांस्कृतिक बाजागाजा सहित भजन-कीर्तन गर्ने चलन निकै रोचक लाग्छ । यस दिन भक्तपुरको सुदूरपूर्वको यातुमहादेव (निष्कलङ्केश्वर) स्थानमा मेला लाग्छ ।
१३. वाला चह्रे
एक वर्षभित्र दिवंगत भएका व्यक्तिहरुका नाममा पशुपति क्षेत्रमा गई सद्वीज छर्ने चलन छ । जसलाई भक्तपुरमा ‘बाला मुलेगु’ भनिन्छ । तत्कालीन समयमा भक्तपुर राजदरवार तलेजु परिसरमा सद्बीज छर्ने चलन निकै लोकप्रिय थियो । ९९ चोक सम्पूणर् तलेजु क्षेत्र परिक्रमा गर्दा गौशालाको पशुपति क्षेत्रको श्लेष्मान्तक वन नै परिक्रमा गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वासका साथ तत्कालीन शासकहरुले चलाएका थिए भन्ने कुरा ज्ञात हुन्छ (यसरी श्लेष्मान्तक वन र पशुपतिक्षेत्रमा रहेका देवदेवी र तीर्थस्थलको आभास दिन सोही सदृश्य-क्षेत्रका रुपमा भक्तपुर राजदरवार परिसरलाई व्यवस्थित गरेको देखिन्छ)
१४. योमाह्री पुन्ही
मार्ग शुल्क पूर्णिमाका दिन नेवार समाजमा ‘योमाह्री पुन्ही’ नामले यस दिन चामलको पिठो मुछि चाकु तिल राखी बनाएको मास वा मुगी विधेर बनाएको र मासु राखी उसिनेर बनाएको (जम्मा ३ प्रकारको) ‘यो मह्री’ पूजा गर्ने-खाने चलन अहिले सम्मन् पनि व्यापक रुपले चलेको पाइन्छ । तान्त्रिक दीक्षाधारीहरु यस योमाह्ीलाई नै ‘धान्यलक्ष्मी’ सम्झेर धानको माथि राखी पूजा गर्ने चलन छ । यस दिन बेलुकी टोल टोलका बच्चा केटाकेटीहरु सिं त्यो….. भन्ने गीत गाउँदै यो माही माग्ने चलन आहिले सम्मन् पनि छ । आजभोलि यस दिनमा त्यो सिं त्यो….. कै गीत गाइ कुनै विशेष सार्वजनिक कामका लागि चन्दा उठाउने चलन पनि थपिएको देखिन्छ ।
१५. छयाला पुन्ही
पौष शुल्क पूर्णिमाका दिनलाई भक्तपुरका नेवारहरु ‘छ्याला पुन्ही’ को रुपमा मान्छन् । यस दिन विहान सवेरै देखि आ-आफ्नो टोलको ‘पिखालखु’, ‘छ्वास वाय्’ गर्ने स्थान आदिमा वर्षदिन भित्र आ-आफ्नो घरमा फुटेका माटाका भाँडाहरु त्यस स्थानमा फालि सांकेतिक रुपमा ती भाँडाकुंडा विसर्जन गरेको रुपमा मनाउने चलन छ । यसलाई घरको वार्षिक रुपको – ‘कलं वायुग’ का रुपमा पनि मान्न सकिन्छ । यो विसर्जन पछि माघ महिनाको स्वस्थानी व्रतकथा प्रारम्भ गरिन्छ ।
१६. श्रीपंचमी
माघ शुल्क पंचमीलाई सम्पूणर् हिन्दूहरु विद्याकी आधिष्ठात्रि देवी सरस्वती पूजाका रुपमा मनाउँछन् । यसै दिन महादेव र सतीदेवीको विवाह भएको पवित्र दिन मानी व्रतकथा विवाह कर्म आदि गर्ने चलन छ जसमा साइतको आवश्यकता नै पर्दैन । भक्तपुरका नेवारहरुको गुठी र यसका विशेष पूजाहरु वर्ष वन्धन पूजा आदि पनि धेरै चलेका हुन्छन् । तलेजुमा यस दिन नाट्येश्वर वा पूजा गरी वाजा गाजा नाचगान आदिको सिद्धि प्राप्त गर्ने दिनको रुपमा पनि मनाउने चलन छ ।
१७. सिः पुन्ही
माघशुल्क पूर्णिमालाई सिः पुन्हीका रुपमा स्वस्थानी व्रत अनुष्ठान गरी माघ महात्म्य कथा सिध्याउने र अचेतामाढी पकाई प्रसादका रुपमा खाने चलन छ ।
१८. सिलाचह्रे
फाल्गुणकृष्ण चतुर्दशीका दिन सम्पूणर् शिवमार्गीहरु भगवान शिव/शिवलिङ्ग-मन्दिर अगाडि दाउरा बाली धनि जगाइ भजन-कीर्तन आदि गरी शिवजीको उपासना गर्ने चलन अहिलेसम्मन् पनि छ । शिवका प्रिय बस्तुहरु गाँजा, भाङ, धतुरो, घोट्टा आदि सन्यासीहरुले सेवन गरी शिवरात्रि पर्व मनाउने चलन एकातिर छ भने अर्को तिर वागमार्गीहरु तान्त्रिक सिद्धि प्राप्तिका लागि आ-आफ्ना स्वेष्टदेवता ( आगंद्योः) को विशेष चहेपूजा ( चतुर्दशी पूजा) गरी रातमा मात्र यो अनुष्ठान समाप्त गर्छन् । त्यस्तै भक्तपुरको तचपाल टोलस्थित दत्तात्रय गुरु महाराजको दर्शन गरी धुनि जगाई हलवा पकाई खाने र समय वजि पनि प्रसादको रुपमा खाने चलन छ ।
१९. होली पुन्ही
फाल्गुणशुल्क पूर्णिमाका दिनलाई होली पुन्हीका रुपमा मनाइन्छ । विशेषगरी सरस्वती वा स्वेष्टदेवतालाई एउटा ठूलो थालमा अवीर भरी राखी विधिवत् पूजा गरी चढाउने अनि प्रसादको रुपमा अबीरको टीका लगाइ एक आपसमा प्रसाद आदान प्रदान गर्ने चलनलाई ‘होली म्हितेगु’ भनिन्छ । भक्तपुरमा फाल्गुण महिना भरीनै विभिन्न भजन कीर्तन वाद्यवादन समूह आदिले फागुपूजा गरी भोज खाई होली मनाउने चलन छ । ‘होली पुन्ही’ यस क्रम/पर्वको अन्तिम दिन हो । मानव मस्तिष्कमा उत्पन्न हुने विभिन्न प्रकारका विकारहरुलाई अनेक रङ्गका रुपमा बाहिर ल्याई त्यसलाई ‘चीर’ का रुपमा दाह गरी आफ्नो मन शरीरलाई पवित्र राख्ने यस पर्वको महत्वपूणर् अभिप्राय रहेको ज्ञात हुन्छ ।
उक्त परिप्रेक्षमा रोचक पक्ष के छ भने तचपालटोल स्थित भीमसेन मन्दिरको दायाँ दलानमा एक ठूलो काठे मूढालाई विधिवत टीका लगाई पूजा गरी पूर्वाभिमुख गरी झुण्डयाउने र त्यसको अघिल्तिर रातो कपडा वीचमा प्वाल पारी झुण्डयाउने चलन छ । यसको अभिप्राय – नारी पुरुष बीच हुने समागममा जति पनि विकारहरु हुन्छन् त्यसलाई प्रतीकात्मक रुपको यस्तो सार्वजनिक प्रर्दशन गरी सचेत तुल्याउने सन्देश यस स्थापित चीरमा लुकेको देखिन्छ ।
२०. पसा चह्रे
चैत्र कृष्ण चतुर्दशीको दिनलाई भक्तपुरमा पसा चहेको रुपमा मनाउने चलन छ । वर्षभरीमा अधोगतिमा परी दिवंगत भएकाहरुलाई मोक्ष प्रदान गर्न पिशाच मोचन चतुर्दशी पूजा नामक चह्ने पूजा गरी त्यसको सम्पूणर् विधि विधान सिध्याई विचित्र एवं भयानक रुप धारणगरी सांच्चिकै भूत, प्रेत, पिचास नै हुन् कि त भन्ने भान पारी सम्बद्ध गुठिका गुठियारहरुले ‘बौ वाय’ गर्न सम्बद्ध टोलका कलों अजिमा स्थानसम्म पुगी बलि विसर्जन गर्छन् । यसबाट सम्पूणर् पिशाचहरु उनीहरुका गतिबाट मोक्ष भएको भाव लिइ उनीहरु फर्कन्छन् ।
उक्त परिप्रेक्षमा विचारणीय कुरा के छ भने ‘पसा चह्रे’ पर्वको मौलिक स्वरुप विधिविधान भक्तपुरमा जीवनत नै रहँदै आएको तर अन्यत्र यो दिनलाई ‘पाहाँ चह्रे’ को रुपमा त्यसको अर्थ पाहुना डाकी भोज खुवाउने आशयमा बढ्ता सिमित रहन पुगेको देखिन्छ । जवकी भक्तपुरमा यस दिन पिशाच मोचन गर्ने अनुष्ठानका अतिरिक्त पाहुना डाकेर खुवाउनु पर्ने कुनै परम्परागत चलन प्रचलित नै छैन ।
२१. ‘मां या ख्व स्वयग’
बैशाख कृष्ण अमावस्याका दिन आमाको मुख हेर्ने दिनको रुपमा प्रसिद्ध छ । विवाहित छोरीबेटीहरु आमाका लागि ‘धौ संग’ ‘खें सगं’ आदि लिइ आमाको सेवा सम्मान गर्न पुग्छन् । आमा दिवंगत भएकाहरु मातातीर्थ वा नजिकका वा तीर्थमा गई श्राद्ध तर्पण का सिधा दान आदि गर्छन् ।
२२. अक्षय तृतीया – अस्ति दिं
वैशाख शुल्क तृतीयाका दिनलाई अक्षय तृतीयाको नाम दिई शास्त्र प्रमाणहरुले यस दिन गरेका कुनै पनि सतकार्य खेर नजाने व्याख्या गरेको पाइन्छ । यसै दिन शिव र पार्वतीको विवाह भएको शुभ पर्व मानी विवाह व्रत वध आदि गर्न साइत जुराउन नपर्ने परम्परा रहँदै आएको पाइन्छ । बैशाख महिना गर्मीको महिना भएकोले शितलता प्रदान गर्न नयाँ गहुँको सत्तु सख्खर पानी (साखःति) दान गर्ने, सर्वसाधारणलाई खुवाउने चलन पनि निक्कै लोकप्रिय छ । भक्तपुरका नेवारहरुमा यस दिनदेखि वार्षिक रुपमा चलाउनु पर्ने ‘दिगुपूजा’ प्रारम्भ हुन्छ । जसलाई स्थानीय भाषामा ‘अस्ति दिं’ भनिन्छ । यसपछि यस दिगु पूजाको क्रममा मुख्य ठूलो दिन आइतवार वा विहिवारलाई ‘तः दि’ को रुपमा पूजा गर्ने चलन छ । यसरी यो दिगु पूजाको क्रम आइतवार / विहीवारमा पर्ने गरी जेष्ठशुल्क पष्ठी- ‘सिठीनखाः’ दिन अन्त्य हुने गरी मनाउने चलन छ ।
२३. चासु पुन्ही
बैशाख शुल्क पूर्णिमाको दिनलाई भक्तपुरमा ‘चासु पुन्ही’ का रुपमा मनाउने चलन छ । यस दिन चासुखेलटोलको चण्डेश्वरीदेवीको विशेष पूजा जात्रा/नगर परिक्रमा आदि गरी ‘चासु पुन्ही’ पर्व मनाइन्छ । चण्डेश्वरी देवीको क्षेत्रभित्र पर्ने बासिन्दाहरुले विस्केटमा ‘नखत्याः ’ डाकि यसबेला डाकने चलन पनि छ । विचारणीय कुरा के छ भने ११ वर्ष सम्मन् चण्डेश्वरी- रथजात्रा आफ्नो क्षेत्रभित्र मात्र परिक्रमा गरी जात्रा गर्ने चलन छ भने प्रत्येक १२ वर्षमा १ पल्ट चाहिं पुरै भक्तपुरनगर नै परिक्रमा गराई विभिन्न स्थानमा धेरै पूजामान ग्रहण गर्नु पर्ने जात्रा / परम्परा प्रचलित छ ।
उक्त दिन सात स्थानमा जात्रा चल्ने भएकोले १न्हेः पुन्ही’ (सात वटा पूणर्े जात्रा) पनि भनिन्छ । उदाहरणका रुपमा ( १ ) भों पुन्ही ( बनेपा ), (२) ल्हुति पुन्ही (बालाजु), (३) स्वाया पुन्ही आदिलाई लिन सकिन्छ ।
२४. सिठी नखाः
जेष्ठ शुल्क षष्टी तिथिका दिनलाई भक्तपुरमा ‘सिठी नखाः’ को नामले मनाउने चलन छ । प्रत्येक पोखरी इनार आदि जलाशय सफा गरी पृथ्वीको गर्भसम्मन् सफा गरेको भावले पृथ्वीमाताको मण्डल बनाई विभिन्न प्रकारका ‘चतामाह्री’ ‘बो’ छुस्यामुस्या आदि चढाई पृथ्वी पूजा गरिन्छ । यो दिन क्वाछें टोलस्थित चण्डी भगवतीको खटजात्रा गरी टोल परिक्रमा गराई, कलंदान गर्ने चलन छ ।
२५. भगस्थीः
आषाढकृष्ण अष्टमीका दिनलाई भगस्थी/भलभल अष्टमी भन्ने चलन छ । यस दिन भक्तपुरमा नवदुर्गागणको नगर परिक्रमा जात्रा पछि पूणर्रुपमा विसर्जित भइ मुकुण्डो जलाई जल प्रवेश गर्ने तान्त्रिक विधि अनुष्ठान गरिन्छ । यसरी नवदुर्गा गणको वार्षिक चक्र पूरा हुन्छ । यस दिन विभिन्न जातका फूलहरु रोपेमा राम्ररी सप्रन्छ भन्ने जनविश्वास पनि छ ।
उक्त सन्दर्भमा लोकजीवनमा नवदुर्गागणले विदा लिई जल प्रवेश गरेपछि कृषि कार्य/रोपाई प्रारम्भ हुने समय पनि हो । अतः यसपछि जनजीवन यसरी कृषि कार्यमा व्यस्त हुनुपर्ने भएको कारणले गर्दा त्यसपछि चाडपर्व जात्रा आदि पनि घण्टाकणर् चतुर्दशी सम्मन् चल्दैनन् । कृषिकार्यमा व्यस्त रहने जनजीवनले जल प्रवेश गरेका नवदुर्गागण/भवानीबाट जल-वृष्टीको अपेक्षा गर्छन् ।
नेवार संस्कृति अन्तर्गतका जात्रा/चाडपर्वहरु सबै चान्द्रमान अनुसार विभिन्न तिथिमा पर्ने परम्परा भएतापनि केही पर्वहरु सौरमान अनुसार गर्नु पर्ने परम्परा पनि रहदैं आएको पाइन्छ । जसबाट सौरमान र चन्द्रमान दुवैलाई समभावमा नेवारहरुले मान्दै आएको पुष्टि मिल्छ ।
उक्त परिप्रेक्षमा निम्न लिखित केही जात्रा पर्व सौरमान अनुसार चल्दै आएको पाइन्छ ।
१. घ्यचाकु सल्हू
मागे संक्रान्ति पर्वलाई नेवारहरु ‘घ्य चाकु सल्हु’ भन्छन् । यस दिन विहान सबेरै तीर्थस्थान गरी जिउमा तेल घसी दिनभरी घाममा बस्ने र घिउ, चाकु, पकाई चिउरा ‘कौला’ गर्ने त्यससंग तरुल, मूला, तिलको लड्डु, आदि राखी पर्व भोजन गर्ने र छोरीबेटीहरुलाई डाकी खुवाउने चलन छ ।
उक्त दिनमा भक्तपुरका पाँच विहारका पंच बुद्धको जात्रा गरी भार्वाचो स्थित थाथु वही परिसरमा लगी हामोजा भोजन गराउने विधि गरिन्छ । यसो हुदाँ यस दिनको पर्वलाई हामो सल्हू पनि भन्ने चलन छ । यस कर्मलाई भक्तपुरको वार्षिक सम्यक पूजाको रुपमा बौद्धमाग्रीहरुले श्रद्धाभक्तिपूर्वक मान्दै आएका छन् । यसै दिनमा नगरका रक्षकदेवता नवदुर्गागणको ‘ङा लाकेगु’ विधिको प्रारम्भ नगरको सूजमाही टोलबाट हुन्छ ।
२. विस्केट जात्राः
नेपाल अधिराज्यभरी नव वर्षका रुपमा मनाइने दिन भक्तपुरको विस्केट जात्राको वीचमा पर्न आउँछ । माघे संक्रान्ति (बैशाख १ गते) का दिन ‘विश्वध्वजा’ नामको लिङ्गो ढालिसकेपछि मात्र विक्रम संवत को नववर्ष आरम्भ हुन्छ ।
शुरुमा लिङ्गो उठाउने र ढाल्ने २ दिने जात्राको रुपमा प्रचलित यस जात्रामा अनेक विधि विधान युक्त उपजात्राहरु एवं विधान आदि पनि थपिदै (द्यो : क्वहा वीज्याइगु जात्रा, भैरव भद्रकालीको जात्रा, स्याको टयाको, महाकाली महालक्ष्मी जात्रा, ब्रम्हायणी माहेश्वरी जात्रा, द्योः संग वियुगु, दुमाजु जात्रा, द्योः थाहाँ वीज्याइगु जात्रा आदि ) गई मल्लकालको उत्तरार्द्धसम्मन् आइपुग्दा आठ रात नौ दिन लामो जात्राको रुपमा प्रचलित रहँदै आएको परिप्रेक्षमा ‘च्याचा गुन्हुया जात्रा’ नामले वर्तमान जनजीवनसम्मन् पनि लोकप्रिय रहँदै आएको पाइन्छ ।
भक्तपुरमा शिवमार्गी बौद्धमागी दुवै एक आपसका जात्रा आदिलाई सम्मान गर्दै आएका सांस्कृतिक जीवन्त प्रमाणहरु पनि पाइन्छन् । श्रावण १ महिना सम्म चल्ने ’गुला’ धर्म अनुष्ठानमा शिवमार्गीहरु पनि समानरुपले सहभागि भई आफ्नो भक्ति श्रद्धा अर्पित गर्छन् । त्यस्तै ‘दिगपूजा’ ‘तुलसीपूजा’ ‘मोहनी पूजा’ अष्टमातृका नवदुर्गा आदि शिवमार्गीहरुको जात्रा पर्वलाई बौद्धमार्गीहरुले पनि विना भेदभाव आफ्नो कुल परम्परा अनुसार मान्दै आएका छन् । यताबाट वर्तमान समय सम्मन् पनि धार्मिक सहिष्णुता एवं समन्वय कायम रहँदै आएको कुरा ज्ञात हुन्छ ।
पादटिप्पणी
१. गोपालराजवंशावलीको ६१पत्रमा – गण्ठकर्ण चवदश कोहनु म्वण्ड चिन्ने (वज्राचार्य, मल्ल – दि गोपालराजवंशावली, काठमाण्डौं, नेपाल रिसर्च सेन्टर, १९८५ उल्लेख छ । यताबाट पूर्वमध्यकालतिरै गाठाग चह्रे मनाउने चलन एवं विशेष विधिविधान लोकजीवनमा प्रचलित थियो भन्ने जानिन्छ । अहिलेपनि भक्तपुरका केही राजोपाध्याय ब्राम्हणहरुमा झेले बोय विधान प्रचलित रहेको पाइन्छ । विवाह भएको वर्षमा गर्नुपर्ने यस विधान (तात्कालिक समयमा यो विशेष विधान मल्ल राजा र उनका राजगुरु – राजोपाध्यायहरुमा प्रचलित रहेको थियो ।) मा ३२ वटा कतामारी (पुतली) का मुण्ड ( टाउको) घण्टाकणर् चतुर्दशीका दिनदेखि बनाउन आरम्भ गरी पूर्णिमाका दिन सिद्धयाईन्छ र गाईजात्राका दिन पुतली-खट झवापन गाईलाई देखाई धाराखुशी भन्ने खोलामा सेलाउन पठाइन्छ – विनोदराज शर्मा –गोपालराजवंशावलीको ६१ पत्रभत अनुवादवारे एक विचार रोलम्व मिलेनियम इस्यू भोलम २०, नं. १/२, जुन, २०००, पृ. १६४-६६ )
२. एकथरीका इतिहासकारहरुले नेपाल उपत्यकामा सर्वप्रथम बसोबास गर्ने बासिन्दा – नाग जाति थिए भनेका छन् । उनीहरु आर्यहरुभन्दा पृथक प्रागऐतिहासिक कालका जंगली शूरवीरहरु थिए उपत्यकामा आर्यहरु आइ नाग जातिलाई धपाएपछि वा दमन गरेपछि सोही पृष्ठभूमिमा नागको पूजा गर्ने परम्परा चलेको अनुमान गरिन्छ । हरिराम जोशी दि नाग ट्राइव्स रोलम्व भोलम ४, नं. १, १९८४, पृ १४,१७
३. लिच्छविकालका केही अभिलेखका अतिरिक्त भक्तपुर टौमढी टोलको ने.सं. ५६१ को यक्षमल्लको अभिलेख, गोपालराजवंशावली तथा भक्तपुर राजदरवारस्थित मालती चोकको अभिलेख आदिमा जात्रा चाडपर्वबारे महत्वपूर्ण जानकारी प्राप्त हुन्छ । भ्यागुतोलाई भात खुवाउने कुराको उल्लेख ने.सं. ८१८ को मालती चोकको अभिलेखमा परेको छ यताबाट तात्कालिक समयमा यो पर्व निकै लोकप्रिय रहेको जानिन्छ ।
४. गोपालराजवंशावलीको ६१ पत्रमा सायात (गाईजात्रा ) उल्लेख छ । यसैको परवर्तीरुप सापारु हो । यताबाट तात्कालिक स्थितिमल्लका पालासम्मन् आइपुग्दा यो जात्रा निकै लोकप्रिय भईसकेको थियो भन्ने कुरा थाहा पाइन्छ ।
५. स्थलगत अवलोकन + सम्वद्ध जात्रा चलाउने समूहबाट प्राप्त जानकारीका आधारमा
६. मालतीचा कको अभिलेखमा यसलाई एनलापुनि भनिएको छ ।
७. स्थलगत अवलोकन + स्थानीय बासिन्दाहरुबाट प्राप्त जानकारीका आधारमा
८. विश्वजात्रा (विस्केटजात्रा) का प्रमुखदेवता विश्वेश्वर वा विश्वनाथभैरव हुन् । शिवदेव + अंशुवर्माको लेलेको अभिलेखमा (धनवज्र वज्राचार्यलिच्छविकालका अभिलेख, पृ. २८३), विश्वेश्वर को उल्लेख परेको छ । त्यस्तै ध्वजगोष्ठीको उल्लेख पनि परेको छ । यताबाट उत्तरप्राचीनकालतिरै विश्वजात्रा प्रचलित भईसकेको दृष्टिगत हुन्छ । टौमढी टोलको यक्षमल्लको ने.सं.५६१को अभिलेखमा स्पष्टरुपले विश्वजात्रा शब्दको उल्लेख परेको छ । यताबाट पूर्वमध्यकालतिर आईपुग्दा लौकिकजीवनमा यस जात्राको उक्त नाम लोकप्रिय भईसकेको थियो भन्ने कुरा प्रामाणिक रुपले जानिन्छ । वर्तमानमा विस्का- विस्केट प्रचलित छ । तर जात्राताका तलेजुमा सम्वद्ध पूजारीले गर्ने पूजाविधानमा विश्वजात्रा महापर्वने भनेर संकल्पवाक्य लिने चलन चाहिं अद्यावधि छ । विश्वध्वजा – विश्वकेतु कै पछिल्लो प्रचलित नाम विस्का / विस्केट रहेको जानिन्छ ।