सदाझैँ श्रावण महिनाको पञ्चमी तिथिको सखारै हामी नेपाली नरनारीहरू नागपूजा गर्छौँ । यसबारे तपाईं हामीलाई जानकारी नै छ । जतिजति सिक्दै बढ्छौँ उति उति नै बढी ज्ञान हासिल गर्दै सिक्ने हामी विद्यार्थी ।
परम्परागत कथन
नागपञ्चमीमा आराधना गरिने नाग वंशका बारेमा हाम्रो समाजमा अनेकानेक लोकगाथा रहेका छन् । कक्षागत रूपमा हामीले सँगसँगै बुझ्दैँ बढदैँ जानेछौँ । यसकै सिलसिलामा नागका स्वरूप, किसिम आकार प्रकार थाहा बटुल्दै बढ्नेछौँ, हामी । कसो भाइ बहिनीहरू ?
नागपञ्चमी महिमा जति आस्थाका साथ हामी नेपाल र भारतवासीहरू मान्छौँ त्यसरी अन्त मानिँदैन । दक्षिण पूर्वी एशिया महादेशका केही देशमा नागपञ्चमीका महिमा गाउँछन्, मनाउँछन् । तिनीहरू आ-आफ्नै तरिकाले परिपालन गर्छन्, मनाउँछन् । संसारभरका आ-आफ्नै जीवन शैली छन् । जीवन शैली भन्नु जीवन परिपालन गर्ने ढाँचा मान्नु उचित होला ।
हाम्रा पौराणिक ग्रन्थहरूमा नागको महत्वबारे अनेक चर्चा भएका छन् । वेद, उपनिषद्, महाभारत, रामायण आदि ग्रन्थहरू यिनका आधार हुन् । सर्प या नाग महात्म्य पनि केही थप प्राचीन ग्रन्थ रहेका छन् ।
नागराजलाई घरको मूल प्रवेश द्वारको शिरानी, दायाँ, बायाँ टाँसेर आराधना गर्ने एक परम्परा हो । यस परम्पराले नाग हाम्रो समाज र जीवनका लागि आवश्यक प्राणी भएर संरक्षण गर्नुपर्ने बोध गराउँछ ।
नाग पानीको स्रोत प्राणी मानिन्छ । नागले पानीको मुहान पहिल्याउँछ । नाग जमिनमुनि दुलो खनेर बस्छ । चिस्यानभित्र पानीको स्रोत हुन्छ । यति साधारण ज्ञान हामीमा छ नै । अरू धेरै ज्ञान पछिपछि हासिल गर्दै गरौँला ।
भाइबहिनीहरूले नागदह, तौदह, नागपोखरी आदि त थाहा पाएकै हुनुपर्छ । पुर्खाले नागपोखरीहरूका बीच-बीचमा साल/अग्राखका खाँबोहरू गाडेर टुप्पोमा तामा, पित्तलका नागको मूर्ति राखेका हुन्थे । तिनलाई प्रतीक भनिन्छ । यसरी नागमूर्ति स्थापना गर्ने एक सांस्कृतिक परम्परा रहेको छ । सांस्कृतिक परम्परा भनेको पुखदिखि मान्दै आएको संस्कार हो ।
नेपालमा नाग/सर्प, गोमन आदि खेलाउने सपेराहरू छन् । तिनीहरूले सर्पहरूलाई टोकरीमा बन्द गरी राख्छन् र ठाउँ ठाउँमा नचाउने गर्छन् । एक कपडा बिछ्याएर दर्शकबाट पैसा बटुल्छन् । यो उनीहरूको जीविकाको स्रोत बनेको छ । भुइँमा कपडा बिछ्याएर दर्शकबाट स्रोत सङ्कलन गर्ने परम्परागत प्रथा हो । आजको टिकेट प्रथाको पुख्र्यौली चलन मान्नुपर्छ यसलाई ।
वर्षा याममा संसारभरि नै चक्रवात/ हावाको भुमरी चल्छ । नेपाल मण्डलभरि नेपालभाषामा हामी यसलाई गोफय् भन्दछौँ । यसलाई कलिला भाइबहिनीहरूलाई यसरी सम्झाउँदा बुझाउँदा सदाबहार रहन्छ स्मृतिमा । हजुर आमाले हावाको भुमरी आउँदा भन्नुहुन्थो ‘चाँगुनारायण मन्दिरको दक्षिण पाखामा एउटा पोखरी थियो । केटाकेटी हो, हेरहेर चाँगुमा भुमरी परेको । पोखरीबाट नाग तानेर लगेका । ठूलो भकारीभन्दा विशाल धमिला धुलाम्य गोलो आकाशतिर चढ्दै गयो ।’ त्यसपछि पोखरी सुक्दै गयो अहिले पोखरीको नाम निशान छैन, रहेन । यो मेरो जीवन्त अनुभूति हो ।
नागपञ्चमी महिमा यहाँ हामीले जस्तै सर्वत्र एकै तवरले गाउँन्न । नाग जीव पनि सर्वत्र एक समान रङ्ग र आकारका छैनन् । भूगोलको अवस्थिति, जलवायु, तापक्रम र पर्यावरणअनुसार फरक हुन्छन्, देखिन्छन् । साँपका अनेक प्रजाति हुन्छन् । तिनका रूप, रङ्ग र स्वभाव पनि फरक पाइन्छन् । कुनैको आकार भयङ्कर अजङ्ग हुन्छन् भने कुनै लामा, कुनै सेता, कुनै काला, कुनै हरिया र छिरबिरे हुन्छन् ।
अजिङ्गर हलचल नास्ती घना जङ्गलमा लम्पसार रहेका हुन्छन् । तिनीहरू हलचल गर्न नसक्ने जन्तु भएकोले आफू सामुन्ने/मुखनेर आइपरेका चराचुरूङ्गीलाई टिपेर आहार बनाउँछन् । मेरो बालापनमा सदर चिडियाखाना जावलाखेल पुगेको थिएँ । त्यस बेला चिडियाखानाको एक ऐनाको दराजभित्र एउटा चल्ला राखिछाडेको देखेथेँ । बिचरा त्यो चरा अजिङ्गरको पुच्छरनिर डराएर बसेको थियो ।
हरिया साँपहरू रूखमा बस्छन् । तिनीहरू विषालु हुन्छन् । प्रायशः तिनीहरू रूखका टोड्का टोड्कामा बस्छन् । मानिसहरू आइहाल्दा तिनीहरू फुत्त निस्की मानिसलाई डस्छन् । तिनीहरूको सुँघ्ने शक्ति तेजिलो हुन्छ । परैबाट मानिसको गन्ध चाल पाउन सक्छन् । प्रकृति वा सृष्टिले थरीथरीका प्राणीलाई थरीथरीकै गुण-शक्ति प्रदान गरेको छ ।
नाग/सर्पका रूप आकार अनेक प्रकारका छन् । हिमाल, पहाड, नदीनाला, समुद्रमा पाइने नाग, साँप फरक किसिमका छन् । अफ्रिकाजस्तो भूमध्यरेखाका सर्प र अजिङ्गर भयङ्कर हुन्छन् । भयङ्कर भन्नु अति डरलाग्दा अर्थका हुन् ।
नाग र सर्पहरू जमिनमा घिस्रेर हिँड्छन् । तिनका खुट्टा हुँदैनन् । त्यसैले हाम्रो समाजमा एक कथन छ, सर्पको खुट्टा सर्पले मात्र देख्छ । सर्पहरूले बगर, दुलो वा झाडीमा फुल पार्छन् । फुलबाटै सर्पहरू कोरलिन्छन् ।
दुईटा सर्पहरू टाँसिएर जमिनमा पुच्छरदेखि शरीर पूरा उठिरहेको दृश्यले तिनीहरूको यौनक्रिडा बुझाउँछ ।
बिटमार्नुअघि एउटा कुरोमाथि चासो जगाउन मनलाग्यो । हामीले नाग र सर्प प्रजातिका जीवात्माले बारबार दुई ससाना जीब्रो चुलबुलाई राखेको देख्छौँ । यसप्रति दुई भावनात्मक धारणा प्रस्तुत गर्न मनपराएँ । पहिलो, लाग्छ कि ती प्राणीहरू श्वास-प्रश्वास लिन जिब्रो चल्बलाउँदा हुन् । दोस्रो, मानिस देख्दा तर्सेर भयभीत भएर आत्मरक्षार्थ प्रतीकारात्मक स्वरूप प्रदर्शन गरेका हुन् ।
(लेखक ग्वंग साहित्यकार एवं संस्कृतिविद् हुन् ।)
स्रोतः ख्वपको पहिचान, भाग- २