काठमाडौँ, काठमाडौँ उपत्यका र उपत्यका वरिपरिका जिल्लाहरू, जसलाई नेपाल मण्डल भनिन्छ, त्यहाँका आदिवासी या मुख्य बासिन्दा नेवारहरूको बारेमा यूरोपेली तथा अन्य थुप्रैले धेरै अनुसन्धानहरू गरिसकेका छन् । यस्ता खाले अनुसन्धानहरू अहिलेसम्ममा अरु जातिहरूको भन्दा धेरै नेवारहरूबारे भएका छन् । तर, अझै पनि यकिन कुराहरू स्पष्ट रूपमा थाहा हुन सकेको छैन । त्यसकारण मलाई लागेको कुरा यहाँ प्रस्तुत गर्न चाहन्छु ।
सरसरर्ती हेर्दा अरु जातिहरूभन्दा नेवार जातिहरूको विशेषता फरक देखिन्छ । जस्तो तामाङ, गुरुङ, मगर, लिम्बुहरू सबै नश्लमा आधारित जाति हुन् । तामाङहरू सबैको एउटै रगत छ, राईहरू सबैको एकै रगत छ र त्यस्तै अरू अरूको पनि एकै नश्ल वा रगतका हुन् । त्यतिमात्र होइन, नेपाली भाषा अथवा खस भाषाभाषीहरू पनि बाहुन, क्षेत्री तथा कामी, दमाई, सार्की विभिन्न जातमा विभाजित भएता पनि उनीहरू सबै आर्य रगतका हुन् । तर, नेवारहरूमा त्यस्तो छैन । कोही नेवारहरू आर्यन्, कोही नेवारहरू मङ्गोल र कोही अष्टाद्रविड नश्लका छन् । संसारका तीनओटा नश्लहरू नेवारहरूमा छन् ।
हुन त ९० प्रतिशतभन्दा बढी तिब्बत्तो, बर्मन अथवा मङ्गोल छन्, नेवारका नब्बे प्रतिशतभन्दा बढी आदिवासी हुन् र मङ्गोल मूलका (तिब्बती- बर्मी समूहका) हुन् तर अरू आगन्तुकहरू पनि नेवार बनेका छन् । नश्ल मात्र होइन, धर्मको हिसाबले पनि नेवारहरू थरीथरीका छन् ।
धर्मका हिसाबले पनि अहिले नेवारहरू शैव र बौद्ध धर्म मान्नेहरू छन् । पृथ्वीनारायण शाहले उपत्यका जित्नुभन्दा पहिला शैव, बौद्ध, इस्लाम र इसाई धर्म मान्ने नेवारहरू थिए । पृथ्वीनारायण शाहले उपत्यका जितेपछि उनले इसाईहरू सबैलाई ‘देश छाडेर जानू, नजानेहरूलाई मार्नू’ भन्ने आदेश दिए । त्यसैले त्यतिबेला इसाई धर्म मान्ने सबै नेवारहरू भारत पसे, धेरैजसो बेतिया शहरमा गएर बसे । नजानेहरू सबैलाई फाँसी दिइए र मारिए । त्यसरी त्यतिबेलादेखि इसाई धर्म मान्ने नेवारहरू नै हराएर गए । अहिले फेरि इसाई धर्म मान्ने नयाँ नेवारहरू उत्पन्न भएका छन् । नेवार मुसलमानहरू भने ज्यादै थोरै भएको हुनाले उनीहरू खस अथवा पहाडी मुसलमानहरू र तराईका मुसलमानहरूसँग मिसिन गए ।
यसरी नेवारहरूको रगत, धर्म अलग अलग रहेको छ । अनुहारै हेर्दा पनि सबै नेवारहरूको एउटै जाति छैन । कुनै नेवारहरूको नाक थेप्चो भएको अनुहार देखिन्छ भने कुनै नेवारहरूको चुच्चो नाक देखिन्छ । त्यसकारण मेरो विचारमा नेवार भनेको कुनै एक Ethnic समुदाय नै होइन, यो त एउटा भाषा वा जातिको समुदाय वा Ethnic geo-linguistic community हो । जो नेपालभाषा बोल्छन्, उनीहरूलाई नेवार भनिन्छ । नेपालभाषा भनेको पुरानो किराँत भाषामा लिच्छविहरूले बोल्ने संस्कृत मूलको भाषा मिसिएर बनेको नयाँ भाषा हो । नेपालभाषा बन्नुभन्दा पहिला त नेवारहरूको र तामाङहरूको एउटै भाषा थियो । तामाङहरूले पुरानै भाषा बोलिरहे । नेवारहरू भने नयाँ भाषा बोल्न थाले ।
नेवारको श्रमिक वर्ग, जस्तो- नापित, माली, चित्रकार, नकर्मी, रञ्जितकार, तण्डुकार तथा खेती गर्ने किसानहरू, ज्यापूहरू सबै तिब्बती बर्मन वा मङ्गोल मूलका छन् । नेवारहरूमा यिनीहरूको सङ्ख्या ९० प्रतिशतभन्दा बढी छ । नेवार जातिभित्रका केही अरू परिवारहरूको उदाहरण लिऔँ । जस्तो कि, नेवारहरूमा श्रेष्ठहरू छन् । श्रेष्ठहरूमा पनि कोही आदिवासी छन् भने कोही बाहिरबाट आएका छन् । सात सय वर्षसम्म मल्लहरूको राज्य चल्दा उनीहरूले सरकारका ठूलाठूला पदहरू अथवा भारदारहरूमा विभिन्न मानिसहरूलाई नियुक्ति गरे । उनीहरू जुनजुन पदहरूमा नियुक्त भए, त्यही पदअनुसार उनीहरूको थर निर्धारण भयो । जस्तो मन्त्रीलाई अमात्य, सेनाको प्रमुखलाई प्रधान, राजाको ढुकुटी हेर्नेलाई राजभण्डारी, राजाको सन्तानलाई पढाउनेलाई जोशी भनियो । उनीहरूका सन्तानहरूलाई अहिले पनि अमात्य, प्रधान, राजभण्डारी र जोशी नै भनिन्छ । ती सबै भारदार समूहको सामूहिक नाम श्रेष्ठ भनिन्छ । श्रेष्ठ भनेको एउटा जात होइन, यो त पद भयो । यो जातमा कोही मङ्गोल होलान्, कोही आर्यन होलान्, कोही यहाँकै आदिवासी होलान्, कोही बाहिरबाट आएका होलान् ।
एउटा उदाहरण लेऔँ । नेपालको इतिहासमा हरिसिंहदेवको नाम आउँछ । हरिसिंहदेव तिरहुतको सिमरौनगढका राजा थिए । सिमरौनगढ नेपालको बारा जिल्लामा पर्दछ । दिल्लीका शासक गयासुद्दिन तुगलकको आक्रमणबाट उनी भागेर नेपाल उपत्यकाको भक्तपुरमा शरण लिन आउन खोजेका थिए । तर, तिनी बाटैमा मरे । उनका छोराले भक्तपुरको दरबारमा शरण लिए । उनीहरूको थर राजपूत थियो । नेवारीमा ‘रा’ लाई ‘ला’ भनिन्छ । त्यसैले उनीहरूको थर लायपू भयो । हरिसिंहदेव लायपूका सन्तानहरू श्रेष्ठमा मिल्न गए ।
मल्ल राजा भूपतीन्द्र मल्लको समयमा भारतको गुजरातबाट एकथरी वैद्यहरू आएका थिए । उनीहरू दरबारमा गएर राजाको वैद्यको रूपमा काम गर्न थालेकाले उनीहरूलाई राजवैद्य भन्न थालियो । तिनीहरूसँगै आएका वैद्यहरू जो राजदरबार पुगेनन् ती श्रेष्ठ नभई अरू जातमा विलीन भए । बाहुनहरूमा पनि बाहिरबाट आएका देवकोटा, रिमाल, आचार्य, सुवेदी यी विभिन्न थरका उपाध्याय ब्राम्हणहरू ६-७ सय वर्ष पहिले नेपाल उपत्यकामा आएर बसेकाहरूले नेवारी बोले, उनीहरूलाई राजोपाध्याय भनिन्छ वा नेवार बाहुन पनि भनिन्छ । त्यस्तै, तराईबाट पनि तिरहुते (झा, ओझा, मिश्र थरका) बाहुनहरू पनि यहाँ आएर नेपालभाषा बोलेर नेवार बाहुन बने । यसरी ८- ९ सय वर्षपहिले आएर काठमाण्डौँ उपत्यकामा बसेर नेपालभाषा बोलेपछि उनीहरूलाई नेवार भन्न थालियो । यसरी नेवारहरूको संरचनाको हिसाबले हेर्ने हो भने विभिन्न ठाउँहरूबाट आएका र विभिन्न जातिका मानिसहरू एक आपसमा विलय भएर बनेको जाति हो नेवार ।
संस्कृतिकै हिसाबले हेर्ने हो भने पनि नेवारहरूको संस्कृति विश्वकै संस्कृतिभन्दा अगाडि देखिन्छ । यहाँका कला र कलाकारका बारेमा रूसका एकजना ठूला इतिहासकार डा. बन्दरेव्स्कीले भनेका छन्- ‘विश्वमा पुनर्जागरण सबभन्दा पहिला इटालीमा आएको भनिन्छ, तर यो कुरा गलत हो । त्यहाँ पन्ध्रौँ शताब्दीमा पुनर्जागरण आएको थियो, नेपालमा एघारौँ शताब्दीमा नै ठूलाठूला विश्व प्रसिद्ध मन्दिर र चित्रहरू बनाइसकेका थिए ।’
त्यस्तै गरेर, मल्लकालमा यहाँ आयुर्वेदमा पनि ठूलो विकास भएको थियो । यो कुरा कोरियामा पनि उल्लिखित छ । त्यहाँका पुस्तकहरूमा नेपालका ठूलो राजवैद्यले बनाएको औषधीको बारेमा चर्चा गरिएको छ । यसरी एकपटक मल्लकालमा नेवारहरू निकै धेरै विकसित भएका थिए र विश्वमै प्रसिद्धि कमाएका थिए ।
अब नेवारहरू आदिवासी हुन् कि होइनन् भन्ने बारेमा कुरा गरौँ- मेरो विचारमा नेवारहरू आदिवासी नै हुन् । किनभने ९० प्रतिशतभन्दा बढी नेवारहरू आदिवासी नै हुन् । अरू बाँकी प्रतिशतमात्रै पछि बाहिरबाट आएका हुन् । यसरी मिसिने कुरा त जुन जातिमा पनि हुनसक्छ । आदिवासी भन्ने बित्तिकै नेवारहरू शुरुदेखि नै नेपालमा बसेका हुन् त भन्ने प्रश्न पनि उठ्न सक्छ । संसारमा शुरुदेखि बसेका त कोही पनि छैनन् होला । मानव जातिको उत्पत्ति नै कोही चीनमा, कोही अफ्रिकामा भएको भनिन्छ । उनीहरू नै संसारभरि फैलिएका हुन् । त्यसैले आदिवासी भनेर तिनीहरूलाई भनिन्छ, जुन जातिहरू शासक जातिभन्दा पहिला आएर बसेका हुन् । अहिले नेपालका शासक जाति (नेपाली वा खस भाषा बोल्ने बाहुन क्षेत्री ठकुरी) हुन् । उनीहरू ४-५ सय वर्ष पहिले आएका हुन् भने नेवारहरू त्योभन्दा पहिला नै आएका हुन् । त्यसैले नेवारहरूलाई आदिवासी भन्नुपर्छ ।
अर्को, नेवारहरू जनजाति हुन् कि होइनन् भन्ने बारेमा पनि विवाद छ । नेपाल प्रज्ञा प्रतिष्ठानले निकालेको नेपाली बृहत् शब्दकोशमा जनजातिको परिभाषा ‘जङ्गल फाँडेर खनीखोस्री खाने, नागा, कोचे, कुसुन्डाजस्ता शिक्षा आदिमा पछि परेका, नजिकको परिवेशसँग पनि प्रभावित नभएका पछौटे जाति’ भनेर दिइएको छ । यो परिभाषाअन्तर्गत नेवारहरू पर्दैनन् । यो परिभाषाअनुसार नेवारहरूलाई जनजाति भनियो भने नेवारहरूको बेइज्जत हुन्छ भन्न थालियो ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जनजातिको परिभाषा ‘देशको मुख्य शासक जाति जुन छ, त्यो जातिभन्दा अलग्गै भिन्दै भाषा, धर्म संस्कृति भएको जातिलाई जानजाति भनिन्छ’ भनेर दिएको छ । किनभने शासक जातिको भन्दा अलग्गै भाषा, धर्म र संस्कृति उत्पीडित हुने गर्छ । नेवारहरूको भाषा कति उत्पीडित छ भन्ने कुरा त विगतमा मूल्याङ्कनमा आइसकेको छ । त्यसकारण यो परिभाषाअनुसार नेवारहरू जनजाति नै हुन् भन्ने मलाई लाग्छ । यदि नेवारहरू जनजाति हुन् भने मैथिलीहरू किन जनजाति होइनन् भन्ने प्रश्न पनि उठ्न सक्छ । मैथिलीहरूको भाषा अलग्गै भए तापनि उनीहरू हिन्दू धर्म र आर्य संस्कृतिका हुन् । उनीहरूको धर्म र संस्कृति शासकहरूको धर्म र संस्कृतिसँग मिल्छ । त्यसैले उनीहरू जनजाति भएनन् । शासकहरूको धर्म र संस्कृतिभन्दा अलग्गै धर्म र संस्कृति भएकालाई जनजाति भन्ने अर्थमा नेवारहरू जनजाति नै हुन् ।
एकपटक शासक भइसकेका नेवारहरू कसरी जनजाति हुनसक्छन् भन्ने प्रश्न पनि उठ्न सक्छ । तर, नेवारहरू कहिले पनि शासक जाति भएका छैनन् । मल्ल राजाहरूलाई नेवार राजा भनिए तापनि उनीहरू नेवारहरू नै होइनन्, ठकुरीहरू हुन् । नेपालभाषा बोलेर शासकहरू नेवार भएका थिए । उनीहरू शासक छँदा नेवारहरू अलग्गै थिए । पृथ्वीनारायण शाहले मल्लहरूको राज्य खोसेपछि मात्र मल्लहरू नेवारसँग मिल्न गएका थिए ।
(२०७४ आषाढ २९)
(लेखक श्रेष्ठ माक्र्सवादी अध्यता, समालोचक एवं नेपालभाषा साहित्यका विद्वान पनि हुन् ।)
90/ newar mangol origin vannu galat ho.2500 yra agadi nai gopal,ahira haru le yaha shasan gareko tyasapaxi kirat le tyasaile newari pani bolichali ma kirat lawaj misiywko ho.tyasapaxi sabai shasak haru arya origin. nuristani kamboj,makaran maskey, rajsthani rajput, goa konkan joshi, dekhi sampurn northen india,vindhyachal parvat,udisa,bangal.,assam tiruhat bat aayer yaha yauta Newar samuday banyo.
Tamang haru 1200 centuria matra tibet bat nepal prabeah gareka han.