नेपालमण्डलका प्राचीन बस्तीहरूमध्ये भक्तपुर किराँतकालमै खोपृङ नामले प्रख्यात भैसकेको विभिन्न अभिलेख प्रमाण मौजुद छ । भक्तपुर नगरको गोल्मढी, तुलाछेँ, तालाक्व, इनाचो, झौखेल, ब्रह्मायणी पीठलगायतका ठाउँहरूमा भेटिएका उत्तर लिच्छविकालीन अभिलेखहरूमा खोपृङको विविध रूपहरूबारे उल्लेख भएको सन्दर्भमा विकसित सभ्य नगर मध्यलिच्छविकालमा मात्र भएको देखिन्छ ।
लिच्छवि राजा जयदेव द्वितीयपछि प्राकृतिक वा मानवीय दुर्घटनापश्चात् करिब १४४ वर्षसम्मको अवधि अन्धकार रहेको देखिन्छ । त्यसपछि लिच्छवि राजा आनन्ददेव तीनओटा चोकसहितको साततले त्रिपुर दरबारले युक्त राजधानी शहर भक्तपुरको तुलाछेँ नेर बनाई सम्पूर्ण नेपालमण्डलका राजा बनेका थिए । राजा आनन्ददेव आफू वा उनका समकालीन विद्वान्हरूमार्फत् वास्तु सम्बन्धी थुप्रै ग्रन्थहरू सार्न लगाएबाट यो नगर वास्तुमय नगर हो भन्ने आधारहरू देखिन्छ ।
त्यसमध्ये नेपाल संवत ४४ तिर एकजना बङ्गालीमूलका भक्तपुरवासी उदयपाल सोमले किरण तन्त्र नामको वास्तु पुस्तक नेवारी लिपिमा सारेको यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ । यो ग्रन्थमा गृह निर्माण, गृह लक्षण, द्वार लक्षण, अग्निकुण्ड बनाउने विधि, काठको प्रयोग, लिङ्ग निर्माण, पिंध निर्माणजस्ता विविध विषयहरू रहेका छन् । तत्कालीन समयको नगर निर्माणमा किरण तन्त्रको ठूलो प्रभाव परेको देखिन आउँछ । वास्तुसम्बन्धी यो ग्रन्थमा ३३ अध्यायहरु छन् ।
यसमा भूमि परीक्षादेखि नगर सन्निवेश, राजकुल देवता विभाग, कूप, शाला, नवगृहलगायतका विविध विषयहरू समावेश छन् । यसमा ५ ओटा अध्याय त द्वारसम्बन्धी छ । द्वार लक्षणअन्तर्गत नगर पस्ने ढोकादेखि मठमन्दिर, देवालय शिवालयलगायतका सम्पदा र निजी घरका ढोकासम्मको उल्लेख हुनु अत्यन्त महत्वको विषय हो । त्यसमध्ये पनि नगर पस्ने ढोकालाई प्रमुख स्थान दिने क्रममा प्रतोली शब्दबाट सम्बोधन हुनु अर्को महत्वपूर्ण पक्ष हो ।
प्रतोलीको खास अर्थ मुख्य द्वार नै हो । अर्थात् मुख्य द्वार हुँदै मुख्य भवनलाई जोड्ने छानासमेतको मुख्य सडक, सिँढीसमेत भएको ढोका, ढोकाको छेउमा भवन द्वारकोट भएको अर्थ लाग्छ । प्राचीन काव्य नाटकहरूमा समेत प्रतोली शब्दको भरपूर प्रयोग भएबाट यसको थप महत्व झल्किन्छ । आचार्य मानसारकृत् मृच्छकटिक नाटकको अध्याय ६ पद २१६ मा नगर पस्ने मुख्य द्वारलाई प्रतोली भनिएको छ । त्यस्तै भिक्षु अश्वघोषले रचना गरेको बुद्धचरितमा पनि प्रतोलीले नगर पस्ने मुख्य द्वारको सङ्केत गरेको छ ।
रामायणमा पनि प्रतोलीलाई मुख्य द्वारको रूपमा प्रयोग भएको छ । त्यस्तै कौटिल्य अर्थशास्त्रले सिँढीसमेत भएको ढोका नै प्रतोली भनिएको छ । नेपालमा आजसम्म भेटिएको प्रमाणअनुसार यो शब्दको उपयोग सर्वप्रथम अंशुवर्माको संवत ३० मा हाँडीगाउँको अभिलेखमा भएको छ । उक्त अभिलेखअनुसार नगर पस्ने मुख्यद्वार प्रतोली भए पनि अरू पनि थुप्रै द्वार तथा ढोकाहरू हुने जानकारी पाइन्छ । त्यहाँ प्रतोलीका साथ दक्षिणद्वार, मध्यद्वार, मानगृहद्वार, उत्तरद्वार, पश्चिमद्वार आदिको उल्लेख भएबाट पुष्टि हुन्छ ।
लिच्छवि राजा आनन्ददेवले भक्तपुर नगर स्थापना गर्दा नगर पस्ने ढोकाहरू चारै दिशामा राखेको पुष्टि हुन्छ । उनले भक्तपुर नगर बसाउँदा नगरको मध्य भागमा भैरव स्थापना गरी आठ दिशामा अष्टमातृका देवी स्थापना गरेको वंशावलीमा उल्लेख छ । सोही आठ दिशामा ठूलठूला ढोका रहेको मानिन्छ । भक्तपुर नगर सम्पूर्ण नेपालमण्डलको राजधानी भएको नाताले सुरक्षा दिने हेतुले तत्कालीन राजकुललाई घेर्ने गरी अरू थप ढोकाहरू पनि भएको तथ्य गोपालराज वंशावलीमा उल्लेख भएको चनिगल ध्वाका र सुगलध्वाकाहरूबाट थाहा पाउन सकिन्छ । समग्रमा भक्तपुरमा निम्न ऐतिहासिक ढोकाहरू रहेको देखिन्छ ।
ब्रह्मायणी ढोका/च्याम्हासिंह ध्वाका
भक्तपुर नगरको पूर्वतर्फ रहेको यो ढोका ब्रह्मायणी पीठ जाने मार्गमा रहेको छ । तत्कालीन समयमा नगरको पूर्वी किल्ला सिमानासमेत सीमाङ्कन गर्ने भएकोले यो ढोकाले ध्वाकां दुने (नगर भित्र) र ध्वाकां पिने (नगर बाहिर) भनी भेद छुट्टाउने गरेको थियो । विशेषगरी नगरको पूर्वी सिमानाको रूपमा ब्रह्मायणी ढोका रहेको टोल सूर्यमढी रहे तापनि सँगैको च्याम्हासिंह पोखरीको कारण अचेल च्याम्हासिंह ढोकाले नै बढी चिनिन्छ ।
नवदुर्गा भवानीसित प्रत्यक्ष सम्बन्ध राख्ने यो ढोकामा भगष्टि (भलभल अष्टमी) को दिन नवदुर्गा भवानीको जलये बिज्याकेगु गर्नु पूर्व यहाँ सम्बन्धित उजाजुहरूले तीनओटा काँचो इँटा राख्ने परम्परा छ । यो कार्य गर्दा यो ढोकामा भेटिने व्यक्तिको अकालमा मृत्यु हुन्छ भन्ने धारणा छ । यता विजया दशमीको दिन ब्रह्मायणी पीठमा अति विभत्स ढङ्गले वध गरिएको खमेय्को मासु एकैचोटि नगर प्रवेश नगराई यो ढोका छेउ एकक्षण बिसाउने चलन छ । यता ढोकासँगै रहने प्रजापति खलकसमेत ध्वाकासीबाट चिनिन्छ । ढोकाभन्दा भित्र पट्टि महिलाहरूको मला (खुला शौचालय) थियो । ढोकाभन्दा बाहिर पुरुषहरूको लागि ख्यो (खुला शौचालय) हुन्थ्यो । साथै ढोका बाहिर खड्गी जातिको बसोबास हुन्थ्यो। जुन वर्तमान समयमा छैन ।
नेपाल संवत् ८९० कार्तिक शुदि ६ को दिन गोरखाली सेनाले भक्तपुरमाथि धावा बोल्दा अन्य ठाउँका ढोका खोल्न असमर्थ भएको समयमा यही च्याम्हासिंह ढोका खोली नगर पसेको थियो । नगर पसेका गोरखाली सेनाले त्यसपछि जनताको घरघरमा आगो लगाई भक्तपुरमाथि जित हासिल गरेको थियो । यो ढोका छेउ एउटा सत्तल, पाटी र ढुङ्गेधारा रहेकोमा हाल यथास्थानमा यी सम्पदाहरू छैनन् । पहिलेको ढोका रहेको ठाउँमा एउटा लामो टेपु ल्वहँ मात्र बाँकी छ । सत्तल पाटी भत्किसक्यो । जोशीहरूको दत्त रहेको ढुङ्गेधारा सडक विस्तारको क्रममा १०० हात जति पूर्वतर्फ सरिसक्यो । भक्तपुर नगरपालिकाबाट २०५४ सालमा पुनर्निर्माण गरेको यो ढोका २०७२ सालको भूकम्पले भत्केपछि २०७७ सालमा पुनर्निर्माण गरिएको छ ।
माहेश्वरी ढोका
भक्तपुर नगरको इशान दिशामा स्थापित माहेश्वरी पीठ जाने मार्गको उकालोमा रहेको थियो । नगरका सीमाका ढोकाहरू सुरक्षाको हिसावले उकालोमा रहने गरेको मनासिव देखिन्छ । अचेल यो ढोका यहाँ छैन । यो ढोका रहेको ठाउँमा अहिले एउटा लामो ढुङ्गामात्र रहेको छ । उक्त ढुङ्गाको साथमा यहाँ एउटा पुरानो शिलापत्र रहेको छ । जुन संवत् ३१ को अंशुवर्माको अभिलेख हो । यसबाट भक्तपुरमा रहेका ढोकाहरूमध्ये सबैभन्दा प्राचीन ढोका यही माहेश्वरीको ढोका हुन आउँछ । र तत्कालीन समयमा यस क्षेत्रमा ठूलो आवादीसमेत रहेको पुष्टि हुन आउँछ । वर्षको एकपटक बिस्का जात्रामा माहेश्वरी देवीलाई यही ढोका भएर नगर प्रवेश गराउने र पुनः फिर्ता गर्ने परम्परा छ ।
कुमारी ढोका /भः ध्वाका
भक्तपुर नगरको चारैतिर रहेका अष्टमातृकाहरूमध्ये कुमारी पनि एक हो । कुमारी पीठ जाने मार्गको उकालोमा कुमारी ढोका रहेको थियो । टौमढी टोलबाट चलाखु हुँदै पूर्वतर्फ लाग्दा यो ढोका नाघेपछि कुमारी पीठ र पोडे टोल सजिलैसित पुगिन्थ्यो । ढोकासँगै एउटा पूर्व फर्केको कलात्मक ढुङ्गेधारा रहेको छ । ने.सं. ८३४ मा भगवती मन्दिर बनेपछि यो ढोकाको नामकरण समेत भः ध्वाका अर्थात् भगवती ढोका हुन पुग्यो । अचेल यो ढोका अस्तित्वमा छैन ।
भद्रकाली ढोका/भेलुख्यः ध्वाका
भक्तपुर नगरका अष्टमातृकाहरूमध्ये भेलुख्यः स्थित भद्रकाली अजिमा पनि एक हो । भद्रकाली पीठ जाने मार्गमा रहेको यो ढोकाको दायाँ एउटा इनार छ भने बायाँतिर एक ख्यो पोखरी रहेको छ । गः हितिबाट भैरव र भद्रकालीको रथ गुड्ने बाटो खँला ढुङ्गाले छापेको ढलसहितको बाटो हो । यसको पुछारमा एउटा ढोका रहेको थियो । हाल यो ढोका अस्तित्वमा छैन । ढोकाबाट प्रत्येक वर्ष भैरवनाथ र भद्रकालीको रथ आवतजावत हुन्थ्यो । नेपाल संवत् ७७२ को एउटा घटनामा यही ढोका मुनि भैरवनाथको रथ पल्टेको उल्लेख छ । भैरवनाथको रथ आवतजावत गर्न मिल्ने यो ढोकाको उचाइ कति अग्लो होला अनुमान गर्न सकिन्छ । ढोकासँगै रथ जाने मार्ग भएको सम्पदालाई अमरकोशले प्रतोली रथ्या भनिएको छ । तसर्थ भेलुख्यः को ढोका प्रतोली रथ्याको नमुना हो ।
मङगलतीर्थ ढोका/माकचो ध्वाका
मङगलतीर्थ ढोका भक्तपुर नगरको दक्षिण दिशाको प्रमुख ढोका हो । नासमना हुँदै थाथुचाबाट मङ्गलतीर्थ पुग्ने बाटोमा रहेको कारण मङ्गलतीर्थ ढोका भनिए तापनि याक्ति अजिमा अर्थात् बाराही पीठ जाने मुख्य ढोका यही हो । ढोका प्रवेश गर्नासाथ एउटा अग्लो भागमा माकचो गणेश स्थापना भएको आधारमा स्थानीयबीच माकचो ध्वाका नामबाट प्रख्यात छ । भक्तपुर नगर प्रवेश गर्ने अष्टद्वारमध्ये हालसम्म अस्तित्वमा रहेको एउटै ढोका माकचो ढोकामात्र हो । मल्लकालीन ढोकाको वास्तुबारे थाहा पाउन यो ढोका महत्वपूर्ण छ ।
इन्द्रायणी ढोका
यो नगर वरपर रहेका अष्टमातृकाहरूमध्ये लायकु दरबारबाट अति नजिकको ढोका हो । इन्द्रायणी पीठ जाने उकालोमा रहेको यो ढोका सामरिक हिसाबले पनि महत्वको छ । नेपाल संवत् ८९० मा गोरखाली सेनाले भक्तपुर आक्रमण गर्दा यो ढोकामा ठूलो लडाइँ भएको थियो । भक्तपुर नगरपालिकाबाट पुनःनिर्माण गरिएपछि हाल यो ढोकाको भौतिक अवस्था राम्रो छ ।
महाकाली ढोका
यो भक्तपुर नगरको उत्तर दिशातर्फ अवस्थित अष्टमातृकाहरूमध्ये महाकालीसित सम्बन्धित ढोका हो । नगरको भोलाछेँ टोल हुँदै यो ढोका भई महाकाली पीठ पुगिन्थ्यो । हाल यो ढोका अस्तित्वमा छैन । ढोका रहेको ठाउँमा एउटा लामो ढुङ्गा देख्न सकिन्छ । नेपाल संवत् ७८० मा कान्तिपुरका राजा प्रताप मल्लले चाँगु, झौखेल जित्दै यही ढोका भएर पस्न खोज्दा ढोका तथा किल्ला खोल्न सकेनन् । महिना दिनसम्म पनि भक्तपुरबासीले भित्रबाट ढोका बन्द गरी आफ्नो सीमा सुरक्षा गरेबाट यो ढोका अत्यन्त मजबुत रहेको पुष्टि हुन्छ । पछि भक्तपुरका राजाले कान्तिपुरे सेनालाई महाकाली ढोकासम्म आउन भूमिका खेल्ने दुवाकोटका केही खड्काहरूलाई यही ढोकानेर बलि दिएको इतिहासमा उल्लेख छ । दुवाकोटका खड्काहरू यो महाकाली ढोकानेर नजाने चलन थियो । जुन हिजोआज हटिसकेको छ ।
महालक्ष्मी स्थान ढोका
महालक्ष्मी पीठ जाने बाटोको यो ढोका कुन ठाउँमा थियो पत्ता लगाउन सकिएको छैन । महालक्ष्मी पीठ लगभग नगरभित्र जस्तै छ । यस्तो अवस्थामा महालक्ष्मी पीठ जाने बाटोमा पर्ने भोलाछेँ वा थालाछेँतर्फ यो ढोका हुनुपर्ने देखिन्छ । तर, त्यहाँ ढोकाको कुनै सङ्केत देखिँदैन । बरु महालक्ष्मी पीठभन्दा बाहिर बेखालनेर यो ढोका रहेको हुनुपर्छ । बेखाल पाटी, ढुङ्गेधारा तथा पोखरी रहेको ठाउँनेर ढोका हुनुपर्ने देखिन्छ । यसको मुख्य कारण यहाँको भौगोलिक अवस्था हो । महाकाली ढोकादेखि बेखाल ढोकासम्म थोरै घर तथा सम्पदाहरू भएर मल्लकालमा यहाँ लिगांचाजस्तो छुट्टै बस्ती बसाउन खोज्नु र महालक्ष्मीस्थान ढोका पीठभन्दा बाहिर बेखालतिर नै हुनु अवश्य पनि सामरिक हिसाबले नै भएको देखिन्छ ।
सामरिक महत्वका ढोकाहरू
इटाछेँ ढोका
यो ढोका नगरको पश्चिम दिशामा रहेको इटाछेँ टोलको ढोका हो । इटाछेँस्थित नः पोखरीको पूर्वतर्फको यो ढोका पोखरीको डिल भएर आउने ढोका हो । यहाँबाट नः पोखरीको पश्चिमतर्फको अर्को ढोका हुँदै इनमा पोखरी पुगिन्छ । त्यहाँबाट सल्लाघारी मूपुज्व हुँदै कान्तिपुर पाटन जाने गरिन्थ्यो । कान्तिपुरका राजा प्रताप मल्लले नेपाल संवत् ७७२ तिर मूपुज्व हुँदै भक्तपुर दरबार आक्रमण गर्न आउँदा इटाछेँको ढोका खोल्न सकेन ।
त्यस्तै नेपाल संवत् ८९० कार्तिकमा सुरप्रताप शाह नेतृत्वको गोरखाली सेनाले भक्तपुर आक्रमण गर्दा यो ढोका खोल्न नसकेको इतिहास साक्षी छ । पछि पूर्वको च्याम्हासिंहको ढोकाबाट गोर्खाली सेना नगरभित्र हुली पश्चिमको यही इटाछेँ ढोका खोलेपछि यहाँबाट पृथ्वीनारायण शाह र सुरप्रताप शाह नगर छिर्न सकेका हुन् । हाल भक्तपुर नगरपालिकाले इटाछेँ ढोकाको इतिहासलाई कायम गर्दै नः पोखरीको दक्षिण पश्चिम दिशामा मूलबाटोमा कलात्मक शैलीमा नयाँ ढोकाको निर्माण गरेको छ ।
मूलढोका
भक्तपुर नगरको उत्तर पूर्व दिशामा रहेको यो ढोका पनि सुरक्षाको हिसाबले निर्माण भएको देखिन्छ । महालक्ष्मी पीठभन्दा बाहिर परेको यो ढोका उत्तरलिच्छविकालमै अस्तित्वमा भैसकेको देखिन्छ । तत्कालीन समयमा क्वाथ किल्लालाई सुरक्षा दिने हेतुले बनेको यो ढोका पछि मुलाँला अर्थात् मूलबाटोको ढोका हुँदै हाल मूलढोका बन्न पुगेको छ । लिच्छविकालको पूर्वाद्धमा ‘वाने लायकु’ को सुरक्षार्थ क्वाथ किल्ला बनेको ठाउँ हालको क्वाथण्डौ हो । यही क्वाथण्डौ टोल जाने मार्गमा मूलढोका रहेकोमा हाल यो ढोका अस्तित्वमा छैन ।
भार्वाचो ढोका
भक्तपुर नगरको पश्चिमतर्फको अर्को महत्वपूर्ण ढोका भार्वाचो ढोका पनि हो । यो सेतो पोतेको मुगल शैलीको ढोका हो भने ढोकाको दायाँबायाँ सिंह राख्ने मल्लकालीन शैली पनि दरबारमा जस्तै नगरमा उपयुक्त भएको हुँदा यो ढोकाको मिश्रित इतिहास देखिन आउँछ । त्यसमा पनि भक्तपुरका राजकुमारी राजल्लदेवीसित विवाह गर्न बाहिरबाट ल्याएका राजकुमार जयस्थिति मल्ललाई यही ढोकाबाट भित्र्याई तेखाचोमा ६ महिना राखेको घटना इतिहासमा उल्लेख छ ।
भक्तपुरको सिंहध्वाका भनेर चिनिने यो ढोकाको दायाँबायाँ एकजोडा सिंह यसका आकर्षण हुन् । भक्तपुरमा बाहिरबाट दुलही यो ढोका भएर ल्याउने चलन छैन । यदि यस ढोकाबाट ल्याएमा दुलही उग्र स्वभावकी हुन्छे भन्ने मान्यता छ । त्यसैले नगरबाहिर दुलही लिन जाने बेलामा मात्र यो ढोकाको उपयोग गरेको हुन्छ । तत्कालीन समयमा नगरको तल्लो भेगको सुरक्षाको हिसाबले बनेको यो ढोका अचेल भक्तपुर नगरको आकर्षण बनेको छ ।
ब्यासी ढोका
भक्तपुर नगरको उत्तर दिशाको अर्को ब्यासी ढोका हो । जुन भक्तपुर दरबार क्षेत्रबाट नजिकको ढोका भएर यसको सुरक्षाको लागि तत्कालीन मल्ल परिवारका सदस्यहरूलाई जिम्मा दिई यसै ढोकाको भित्र बस्ती बसाएको थियो । तत्कालीन समयका राजपरिवारका सदस्य नायजुहरूको बस्ती यहाँ रहेको थियो । यस ढोकालाई क्वाथको रूपमा दिई उनीहरूलाई क्वाथनायक बनाई दिएबाट पुष्टि हुन्छ ।
तलेजु भवानी लायकुमा स्थापनापछि श्री तलेजु भवानीसित सम्बन्धि विविध पक्ष ब्यासी टोलको भएको सन्दर्भमा यसै ढोका भएर हरेक वर्ष निकुथु पर्साउन झौख्यः कोल्पाकोटबाट शुद्ध जल ल्याउने परम्परा अद्यापि छ । सबैभन्दा महत्वपूर्ण पक्ष त ब्यासी ढोका नजिक रहेका पहिजु थरका मानिसहरूको बसोबासलाई लिन सकिन्छ । विशेषगरी ढोकाको जिम्मेवारी पाएका पहिजु थरका यही ब्यासी टोलमा मात्र हुनु अत्यन्त महत्वको विषय हो ।
चनिगल ढोका
यो भक्तपुरको इतिहासमा देखिएका ढोकाहरूमा एक प्राचीन तथा प्रामाणिक ढोका हो । जुन तत्कालीन त्रिपुर दरबारको मूल ढोका अर्थात् प्रतोलीको रूपमा लिन सकिन्छ । श्री चण्डेश्वरी देवीलाई नगरभित्र पर्ने गरी चामुख्यः को उकालोमा निर्माण गरिएको यो ढोका हाल अस्तित्वमा छैन । तथापि यहाँ एउटा लामा ढुङ्गा देख्न सकिन्छ । तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर छँदा राजकुल त्रिपुर राजवास पस्ने मूलद्वार यही चनिगल ढोका रहेको प्रमाण गोपालराज वंशावलीको ठाउँ ठाउँमा उल्लेख भएबाट प्राप्त हुन्छ । डाय र पश्चिमी मल्ल राज्यबाट पटक पटक भक्तपुरमा आक्रमणको क्रममा यो ढोका युद्धको केन्द्र बन्यो । यस ढोकाको जिम्मेवारी यक्ष मल्लको पालादेखि क्वाथनायकको रूपमा मलेपतिहरूलाई दिएको देखिन्छ । हाल पनि यो ढोकाको नजिक मलेपतिहरूको मूल घर, इनार र जलद्रोणी देख्न सकिन्छ ।
सुकुलढोका/सुगलध्वाका
चनिगल ढोका जस्तै गोपालराज वंशावलीमा उल्लेख भएको अर्को ऐतिहासिक ढोका सुगलध्वाका हो । हाल सुकुलढोकाले प्रख्यात टोल बस्तीको भीमसेन मन्दिर र सुवर्णमहाविहारबाट लालाछें जाने उकालोमा यो ढोका रहेको थियो । यो ढोकाको मूल उद्देश्य त्रिपुर दरबारको सुरक्षा गर्नु थियो । खस र डोयहरूले पटक पटक भक्तपुर आक्रमण गर्न पुग्दा यो ठाउँमा ढोका बन्न पुगेको इतिहास छ । तर, पछि सुगलध्वाकाको अपभ्रंश सुकुलढोका हुन पुग्यो । यसको अर्थ सुकुलले बनेको ढोका भनी अथ्र्याउँदा एक ताका भक्तपुर महोत्सवको लागि त सुकुलले बनेको ढोका नै निर्माण गरियो । जुन सुगलध्वाकासित असम्बन्धित छ । अझ मल्लकालकै एक चर्चित भारदार भाजु कससँग सम्बन्ध राख्ने गरी यो ढोकासित जोडिएको किंवदन्ति वास्तविकताभन्दा धेरै टाढा रहेको हुँदा ऐतिहासिक एवम् प्रामाणिक ढोकाप्रति ठूलो अन्याय भएको छ ।
लायक ढोका/लास्कु ध्वाका
भक्तपुरमा रहेका ढोकाहरूमा लास्कुढोका एक सांस्कृतिक ढोका हो । यो ढोका खासगरी स्वागतद्वार हो । लशकुश ढोकाबाट लास्कुध्वाका बन्न पुगेको यो ढोका लुप्त भैसकेको छ । दरबार क्षेत्रबाट इपाछेँ जाने बाटोमा रहेको यो ढोकामा वर्षको एकपटक श्री तलेजु भवानी र नवदुर्गा भवानीको स्वागत गर्ने चलन छ । यसरी श्री तलेजु भवानी र श्री नवदुर्गा भवानीको लशकुश गर्ने ढोका भएर पछि अपभ्रंश भई लास्कुध्वाका हुन पुगेको लशकुश भाषा विज्ञानले पनि सटिक देखिन्छ । तर, अचेल यहाँ ढोकाको कुनै सङ्केत देखिँदैन । एउटा क्षेत्रपाल र सिंहको आकृतिमात्र देखिन्छ । ढोकाको एउटा लामो ढुङ्गा पनि देख्न सकिन्छ ।
सिंह ढोका
भक्तपुर लायकुस्थित मालती चोक पस्ने सिंहध्वाका एक ऐतिहासिक ढोका हो । नेपाल संवत् ८१८ मा राजा भूपतीन्द्र मल्लले मालती चोक तथा त्यसमाथिको दरबार जाने मार्गमा दुईतिर बडेमाको सिंह र हनुमत्तभैरव तथा नृसिंहको अति आकर्षक मूर्ति राखी निर्माण गरिएको इतिहास छ । दुईतिर रहेको सिंहको कारण यो ढोकाको नाममात्र सिंह ढोका भएन, दरबारकै नाम सिंहध्वाका दरबार कहलिन पुग्यो । वि. सं. २०१६ सालदेखि यस ढोकाभित्रको दरबारमा सङ्ग्रहालय सञ्चालन हुँदै आएको छ र वि.सं. २०७२ सालको भूकम्पले पूर्ण क्षति पुयाएको छ ।
सुनको ढोका/ लुध्वाका
भक्तपुरका ऐतिहासिक ढोकामा सबैभन्दा बढी वैभवता बोकेको ढोकामा ध्वाका अर्थात स्वर्णद्वार हो । भक्तपुर दरबार क्षेत्रबाट श्री तलेजु भवानी प्रवेशद्वारको रूपमा नेपाल संवत् ८७४ मा राजा रणजित मल्लले बनाउन लगाएको ढोका हो । तिब्बतसित व्यापार गर्दा प्रशस्त फाइदा भएको अवसरमा निर्माण गरिएको यो ढोका बनाउने परिकल्पना रणजित मल्लभन्दा चार पुस्ता अगावै नरेश मल्लले गरेका थिए । नरेश मल्ल, जगतप्रकाश मल्ल, जितामित्र मल्ल र भूपतीन्द्र मल्ल गरी चार पुस्ताले निर्माण गर्न नसकेको यो ढोका निर्माण गर्न पाएकोमा अति गर्व गरी रणजितले आफूलाई नेपालमण्डेश्वरसमेत उपाधि लेख्न लगाएका थिए । श्री तलेजु भवानीप्रति समर्पित यो ढोका एक धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको ढोका हो ।
खौमा ढोका
भक्तपुर दरबार क्षेत्रलाई सीमाङ्कन गर्ने गरी मुगल शैलीमा बनेको ढोका हो । यस ढोकाभन्दा भित्र र बाहिर गरी छुट्टाछट्टै नवदुर्गा नाच देखाउने परम्पराबाट यो ढोकाले सिमानाको काम गरेको स्पष्ट हुन्छ । परम्परागत ढङ्गले निर्माण भएको यो ढोका वि.सं. १८९१ र वि.सं. १९९० गरी दुई पटकको महाभूकम्पमा भत्केपछि राणाहरूले सेतो पोतेर मुगल शैलीमा बनाउन लगाएका थिए । यसमा उपयोग भएका कलाकृतिहरूसमेत राणाकालीन शैलीका छ्न् । भक्तपुरमा रहेका ढोकाहरूमा खापासहितको एउटै ढोका खौमा ढोका हो । वि.सं. २०७२ सालको भूकम्पले भत्केको सो ढोकाको पुनःनिर्माण भक्तपुर नगरपालिकाबाट भएको छ ।
सन्दर्भ ग्रन्थ
१) लिच्छविकालका अभिलेख– धनबज्र बज्राचार्य
२) अमरकोश
३) बुद्धचरित दोस्रोभाग, पृष्ठ ७८– जनस्टन
४) मृच्छकटिक नाटक– आचार्य मानसार
५) कौटिल्य अर्थशास्त्र
६) गोपालराज वंशावली
७) वेल्जर सूची
८) प्रज्ञा अङ्क ८३ ख
९) नेपालको ऐतिहासिक तथा सांस्कृतिक दिग्दर्शन– लिलाभक्त मुनंकर्मी
१०) भक्तपुरमा गोर्खाली हमला– देवीचन्द्र श्रेष्ठ
११) स्थलगत अध्ययन (भक्तपुर मासिक वर्ष ३७ अङ्क ११, सङ्ख्या २८७ असोज)