मुनि विहार भक्तपुरको थेरवादी (बौद्ध धर्मको परम्पराहरूमध्ये एक) विहारहरूमध्ये एक हो । यो विहार अहिले भक्तपुर नगरपालिकाको ७ नं. वडाको इनाचो टोल खँचामा अवस्थित छ । यस विहारलाई धर्मउत्तम महाविहार पनि भनिन्छ । यस विहारलाई संघदानपश्चात् ‘मुनिवणर् महाविहार’ भनी नामकरण गरिएको हो । ऐतिहासिक सम्पदाको रूपमा स्थापना भएको यो विहार ने.सं. ७७६ मा टासिरुम्पु (ताशिल्हुम्पो) विहारबाट आउनुभएका एक तिब्बतीयन भिक्षु पद्यध्वजलाई समर्पण गरी उहाँको बुवा मुनि बुद्धाचार्यले निर्माण गर्नुभएको थियो । यस विहारको निर्माण ने.सं. ७७८ मा सम्पन्न भएको शिलालेख भेटिन्छ ।
विहारको स्थिति
मुनि विहारभित्र जानको निमित्त भक्तपुर इनाचो टोलबाट दक्षिणतर्फ हुँदै हनुमानघाट जाने ओरालो बाटोबाट पश्चिमतर्फको बाटो भई भिक्षुणी आवास गृह पार गरी स्टील गेटबाट प्रवेश गर्न सकिन्छ । यस विहारको केन्द्रमा अरु विहारहरूमा जाने एक चैत्य रहेको छ । यही पुरानो चैत्यलाई छोपेर नयाँ चैत्य स्थापना गरिएको छ । चारैतर्फ तेलिया ईंटाले छापेको यो विहारको पूर्वतर्फको मन्दिरमा ६ फिटको उचाइ भएको भूमिस्पर्श मुद्रामा रहेको शाक्य मुनि बुद्धको प्रतिमा स्थापना गरिएको छ ।
यसै भवनको उत्तरतर्फको भित्तामा एक गणेश र महाकालको मूर्ति राखिएको छ । विहारको उत्तरतर्फ एक उपोसथागार भवन निर्माण गरिएको छ । उपोसथागार भन्नाले भिक्षुहरूले आफ्नो नियमानुसार उपोसथ वा आफूले गर्ने कामको प्रतिबद्धता (पवारणा) व्यक्त गर्ने स्थान भन्ने बुझिन्छ । सोही उपोसथागारमा थाइल्यान्डबाट प्राप्त ३.२० मिटर उचाइ भएको एक विशाल बुद्धमूर्ति स्थापना गरिएको छ । बुद्धमूर्ति र उपोसथागार भवन निर्माणपश्चात् यो विहारको आकर्षण अझ बढेको छ । विहारको दक्षिणतर्फ उत्तराभिमुख लाम्चो आकारको तीनतले एक पुरानो भवन रहेको छ । पहिलो तलामा श्रामशेर भन्नेहरू अध्ययन गर्छन् ।
यसै तलामा भिक्षु सुमंलले उपहारस्वरूप प्रदान गर्नुभएको बर्मी सेतो सिङगमरमरको बुद्धमूर्ति स्थापना गरिएको छ । यही विहारको पूर्वतर्फको जग्गा खरीद गरी भविष्यमा उक्त स्थानमा विहार निर्माण गर्ने कार्य योजना रहेको छ । त्यस्तै विहारको पश्चिमतर्फ रहेको भवन बहुउद्देश्यीरूपले प्रयोग भइरहेको छ । यहाँ भिक्षुहरूको आवास, विहारको कार्यालय, स्टोर रुम आदिको रूपमा प्रयोग गरिएका छन् । यस भवनसँग जोडिएको जग्गाबाट उत्तरतर्फ जाने खुड्किलाहरू प्रयोग गरी विहारबाट बाहिर जान सकिन्छ ।
ऐतिहासिक विवरण
ने.सं. ७७६ मा एक बौद्ध उपासक मुनिबुद्धाचार्यले सिगात्से विहार आउनुभएका भिक्षु पद्यध्वजलाई समर्पण गरी निर्माण गरिएको यो विहार ने.सं. ७७८ मा सम्पन्न भएको थियो । यो विहार सयौं वर्ष भग्नावशेषको रूपमा रहन गयो । यही भग्नावशेषको रूपमा रहेको विहारलाई अवलोकन गराउन सम्यकरत्न बज्राचार्यले वि.स. २००६ सालमा भिक्षु प्रज्ञानन्द तथा भिक्षु धम्मालोकलाई आफ्नो घरमा भोजन निमन्त्रणा गर्नुभयो । भोजन पश्चात् उहाँ सम्यकरत्न बज्राचार्यले भग्नावशेषको रूपमा रहेको यो विहार भन्तेहरूलाई देखाउन ल्याउनुभयो ।
यो विहारलाई थेरवादी विहारको रूपमा विकास गर्न पाएमा भक्तपुरमा पनि थेरवादी बुद्ध धर्मको जग बसाल्न सकिन्थ्यो र धर्मको प्रचारप्रसार गर्न मद्दत मिल्थ्यो भन्ने उहाँलाई लागेको थियो । यो कुरा उहाँ भिक्षुद्वयलाई चित्त बुझी यस विहारका दाता खोज्दै जाँदा दाताहरू चौतारामा (सिन्धुपाल्चोक) बस्नुहुने थाहा भयो । भिक्षु धम्मालोक उहाँ गई बुझ्दा दाताहरू भक्तपुरको इनाचो टोलमै रहेको जानकारी पाएपछि दाताहरूसँग कुरा गर्न सजिलो भयो । विहार दाता भीमराज बुद्धाचार्यको सक्रियतामा यो विहार दान गर्ने प्रक्रिया सुरु भयो ।
वि. स. २०१० असार ३२ गते थेरबादी भिक्षु संघलाई दान दिँदा दाताहरू लतंवज्र बुद्धाचार्य, भीमराज बुद्धाचार्य, जोगरत्न बुद्धाचार्य, रत्नराज बुद्धाचार्यहरूद्वारा भिक्षु प्रज्ञानन्द, भिक्षु धम्मालोक, भिक्षु अनिरुद्ध, भिक्षु सुबोधान्द, भिक्षु प्रज्ञारश्मी, भिक्षु रत्नज्योति, भिक्षु महापन्थ आदिको समुपस्थितिमा दान भएको थियो । त्यतिबेला अन्य उपासक उपासिकाहरूको पनि उपस्थिति रहेको कुरा रत्नसुन्दर शाक्यद्वारा लिखित भिक्षु सम्यकज्योति महास्थविरको जीवनी सम्बन्धी पुस्तकमा उल्लेख गरिएको छ ।
भिक्षु संघलाई यो विहार दानपश्चात् यही मुनि विहारमा भिक्षु रत्नज्योतिबाट शील प्रदान धर्मदेवता गरी भक्तपुरमा बुद्धजयन्ती मनाउने प्रचलन सुरु भयो । वि.सं. २०१३ मा धर्मोदय सभाको आयोजनामा तत्कालीन मजिष्ट्रेट मकरबहादुर वान्तवाको प्रमुख आतिथ्यमा बुद्धमूर्ति रथमा राखी भक्तपुर नगर परिक्रमा गरी बुद्धजयन्ती मनाउने कार्य प्रारम्भ भयो । पछि मुनिविहारका दाताहरूको कमिटीको आयोजनामा अद्यापी बुद्धजयन्ती मनाउने परम्परा छ ।
यसरी पुनःस्थापना भएको यस विहारमा भिक्षु रत्नज्योति, भिक्षु विवेकानन्द, भिक्षु धम्मानन्द भिक्षु मेधेकर, भिक्षु विपस्सी, भिक्षु नन्द, भिक्षु सम्यकज्योति, भिक्षु आलोक, भिक्षु आनन्द आदि बसोबास गरिसक्नु भएको छ । यही विहारमा भिक्षु रत्नज्योतिको आशय स्वरूप भिक्षु तालिम केन्द्र स्थापना गर्ने पवित्र विचारमा भिक्षु मुनिज्योति, भिक्षु सुमेध, भिक्षु सुगतमुनि, भिक्षु विपस्सी, भिक्षु नन्व आदिलाई श्रामणेर दीक्षा दिनुभयो । अहिले उहाँ देश विदेशमा समेत बुद्ध धर्म प्रचार प्रसारमा लागिरहनुभएको छ ।
वि.सं. २०१० असार ३२ गते यो मुनिविहार भिक्षु संघलाई दानपश्चात् भिक्षु रत्नज्योति, भिक्षु धम्मा लोक काठमाडौँका साह भाजुरत्न कंसाकार, भक्तपुरका उपासक सम्यकरत्न बज्राचार्य, न्हुछेरत्न, नित्यरत्न, आशाकाजी, तीर्थरत्न, इन्द्रराज शाक्य, रामकृष्ण वैद्यलगायत अन्य उपासक उपासिकाहरूको सक्रिय योगदानमा विकास भएको यो विहार अहिले भिक्षु विपस्सी धम्मारामो महास्थविरको सक्रियतामा भिक्षु तालिम केन्द्रको रुपमा सञ्चालन भइरहेको छ । साथै भौतिकरूपले पनि त्यतिकै विकास भइरहेको छ ।
यो विहारमा प्रत्येक औंसी, पूणर्िमा, अष्टमी गरी महिनामा चार पटक बुद्धको पूजा, धर्मदेशना प्रवचन कार्य निरन्तर भइरहेको छ । प्रत्येक शनिवार बिहान विपस्सना ध्यान अभ्यास गर्ने काम पनि भइरहेको छ । अन्य बौद्ध क्रियाकलापमा परियति शिक्षा पढाउने, शैक्षिक योग्यता बढाउन श्रामणेरहरूलाई विद्यालयमा पढ्न पठाउने आदि कार्यहरू भइरहेको छ ।
सन्दर्भ सूचीः
१. Buddhist monesteries of Nepal -John & Locke- sahayagi Press Pvt. Ltd. 1985
२. भक्तपुरको मुनिविहार- भिक्षु विपस्सी धम्मारामो महास्थविरद्वारा लिखित तथा सम्पादित-मु.वि. व्यवस्थापन समिति २०७१
३. Buddhist monesteries of Nepal – John & Locke sahayagi Press Pvt. Ltd. 1985
४. ख्वपय थेरवादी बुद्धधर्म- भिक्षु सम्यकजोति- मुनि विहार दायक सभा- बु.सं. २५३२
स्रोतः ख्वपको पहिचान भाग-१
उपोसथागार मन्दिरमा विराजमान प्रमुख भगवानको दायाँबायाँ २-२ मिटर अग्ला बुद्ध भगवानका अग्रश्रावक वा प्रमुख शिष्यद्वय सारिपुत्र र माैद्गल्यायन स्थविर भिक्षुहरूकोमूर्ति, त्यस्तै मन्दिरको प्रवेशद्वार कै अगाडि सीवली स्थविरको मूर्ति विराजमान गरिएका छन्।
यस विहारको सेवामा २०३२-2055 सालको अवधि र पहिलेका ३ वर्षगरी पूरा २६ वर्षसम्म भिक्षु महेन्द्र महास्थविर (रत्नमान बुद्धाचार्य)द्वारा भएको त्याग र तपस्या सार्थक भयो, अर्थात विहारको निरन्तर संचालन र प्रगति भयो। यस विहारलाई थाइलैंडको सहयोग उनकै पालामा शुरु भएको हो।
यस मुनि विहारलाई तिब्बती तीर्थयात्रीहरूको तीर्थसूचीमा भक्तपुरको शाक्यमुनि विहार भनी उल्लेख भएको छ। मुनि विहारका प्रमुख बुद्धभगवानको नाम शाक्यमुनि भनी यहाँको अभिलेखमा उल्लेख भएकोले यो नाम पनि सार्थक छ।