(मनरथ हे जननी मनरथ पुरे याना विव
जय माई चण्डेश्वरी मनरथ पुरे याना विव)……२
(जव सं जलंधर खव सं शितला पौवा)….२
दथ्वी सं हे जननी जय मा श्री चण्डेश्वरी
मनरथ हे जननी मनरथ पुरे याना विव
जय माई चण्डेश्वरी मनरथ पुरे याना विव
(जव सं शिव निलकण्ठ खव सं श्री गणस्पती)…..२
दथ्वी सं हे जननी जय माई चण्डेश्वरी
मनरथ हे जननी मनरथ पुरे याना विव
जय माई चण्डेश्वरी मनरथ पुरे याना विव
जय माँ चण्डेश्वरी
सांस्कृतिक राजधानी भक्तपुर नगरको मध्य भाग वडा नं ५ चासुख्यः तिवुक्छेंमा अवस्थित चासुः अजिमा (चण्डेश्वरी माई) को नाममा आज भन्दा करिव ९०० बर्ष पहिले आनन्द देवको पालामा बनेपा तथा भक्तपुर चासुख्यः मा एकै साथ निर्माण गरिएको देखिन्छ। चण्डेश्वरी देवगृहको ने.सं ८४८ (वि.सं. १७८५) शिलाभिलेखमा राजा रणजित मल्लको राज्यकालमा,त्रिप्रक्वछें (तिबुक्छें) टोलका पंचसमुच्चय मिलेर चण्डेश्वरी मन्दिरमा सुनको छाना र गजुर हाली देवलछे+ (देवगृह) निर्माण गरेको कुरा आएको छ । (पुरुषोत्तमलोचन श्रेष्ठ, अन्तरङ्गका तरङ्गहरू, संचित बचत तथा ऋृण सहकारी संस्था लि., भक्तपुर : २०८०, पृष्ठ २५१) त्यस्तै ने.सं. ८६५ मा चण्डेश्वरी देवी समिप पाटी बनाएको अर्को एउटा प्रमाण मौजुद छ ।(ओम धौभडेल भक्तपुर दैनिक अनलाईन) त्यस पश्चात विभिन्न काल खण्डमा मर्मत सम्भार गरी रहेको यस मन्दिरको बैशाख पूर्णिमाको एक दिन अगाडी देखी ३ दिन सम्म जात्रा मनाउदै आएको छ ।
पौराणिक आख्यान अनुसार चण्डेश्वरीले चाँपको रूखको फेदबाट प्रकट भई देव गणले पनि बध गर्न नसकेका चण्डासुरको वध गरेकी थिइन् । सोही अनुरूप बनेपा र भक्तपुरका चण्डेश्वरीपीठहरू तथा चण्डेश्वरीका मुर्ति चाँपको काठका छन्। तर ती काठ मक्किएर जीर्ण भएका छन् । चण्डासुरको वध गरेकीले देवी भगवती चण्डेश्वरी भइन् । त्यसपछि तिनै महामाया चण्डेश्वरीले बध गरेपछि चण्डासुर (खराब चरित्र) को चोला त्याग गरी ज्योतिर्मय देह धारण महरीले अधिपतिदेव हुनपुगेकाले चण्डासुर चण्डेश्वर कहिलिएको कुरा यस विषयका पौराणिक साहित्य एवं आख्यानका आधारमा थाहा पाइन्छ । यसो हुँदा नेपालमण्डलमा जहाँ चण्डेश्वरीपीठ मन्दिर छ त्यहाँ तिनका साथमा तिनका अधिपतिदेव चण्डेश्वर पनि छन् । यताबाट सर्वव्यापि, सर्वरूपिणि चण्डेश्वरी शिवशक्ति स्वरूपमा, परब्रह्म स्वरूपमा मान्यपूज्य रहिआएको विदित हुन्छ । नेपालमा चण्डेश्वरी माताको मूलथलो बनेपा रहिआएको एवं राजा आनन्ददेवको समयदेखि नै यिनको व्यापक प्रचारप्रसार एवं लोकप्रियता बढेर आएको विदित हुन्छ । चण्डेश्वरी माताको लोकप्रिय प्रवाहलाई परवर्ती कालका वंशावलीहरूका आधारमा विवेचन गर्दा यिनको महिमा एवं उपासना स्वेष्टदेवीकै रूपमा आनन्ददेवको समयदेखि विशेष भएर आएको विदित हुन्छ । बनेपा-चण्डेश्वरी मन्दिर यिनैले बनाउन लगाएको र चण्डेश्वरीकै आज्ञा पाएर यिनले बनेपा सात गाउँ (देश) बसालेको कुरा वंशावलीहरूका आधारमा ज्ञात हुन्छ । जहाँ खोला छ, त्यहाँ मसान छ । जहाँ मसान छ त्यहाँ अभिन्न रूपमा चण्डेश्वरका साथ चण्डेश्वरीपीठ छ । बनेपा चण्डेश्वरी, ललितपुर चण्डेश्वरी, टोखा चण्डेश्वरी र भक्तपुर चण्डेश्वरी उदाहरणस्वरूप छन् । निर्माता राजाका रूपमा देखिएका आनन्ददेवले बनेपा चण्डेश्वरीको स्थापना गरेको समयतिरै, भक्तपुरमा राजधानी, राजदरबार बसाल्ने सिलसिलामा, यहाँ पनि चण्डेश्वरीको स्थापना गरेको यद्यपि भक्तपुर चण्डेश्वरीमा पछिल्लो कालका ने.सं. ८४८ (वि.सं. १७८५) र ने.सं. ८६५ (वि.सं.१८०२) गरी दुईवटा शिलाभिलेख मात्र प्राप्त छन् । यताबाट पनि रणजितमल्लको समयभन्दा अघि नै चण्डेश्वरीपीठ स्थापना भइसकेको ज्ञात हुन्छ ।
चाँपको रूखबाट प्रकट भएकी देवी हुँदा नेवाः लोकजीवनले चण्डेश्वरीमाईलाई चासुः अजिमा भनी पुकार्दै आएको विदित हुन्छ। ख्यः ले चउरलाई बुझाउँछ । यसरी चासुः अजिमा रहेको क्षेत्र हुनाले चासुःख्यः कहलिएको कुरा जानिन्छ । चासुःख्यःकै पूर्व रूप चनिगलस्थान हो। भूमिसम्बन्धी तमसूक ताडपत्रहरू लगायत गोपालराजवंशावलीमा तत्कालीन त्रिपुर राजदरबार र यसको आसपासका अनेक महत्त्वपूर्ण घटनाहरू वर्णन गर्ने क्रममा चनिगलस्थान को उल्लेख आएको छ (पुरुषोत्तमलोचन श्रेष्ठ, २०५८, त्रिपुर र युथुनिमम् राजकुल, भक्तपुर भक्तपुर नगरपालिका, पृ.६-१२) ।
किम्बदन्ति अनुसार नेपाल मण्डकका राजा दैनिक रूपमा बनेपा स्थित चण्डेश्वरी अजिमाको दर्शण गर्न जाने गर्नु हुन्थो विना दर्शण खाना पनि नखाने उहाँको दिन चरिया थियो। तर एक समय यस्तो आयो कि बनेपा मन्दिर जाने बाटोमा परेका खाला तर्न नसिके गरि अविरल बर्षाले गर्दा राजा अजिमाको दर्शणा गर्न सक्नु भएन र बिना दर्शण खाना पनि नखाने कारणा राजा कमजोर हुदै जानु भयो यो सबै कुराको जानकार अजिमाले सपनामा राजालाई दर्शण दिनु भयो र भन्नु भयो कि यस प्रकारको भक्ति-भावबाट म निकै प्रशंण भए त्यसकारण म आफै स्वयम् दरवार क्षेत्र भन्दा बाहिर एउटा खः को दिपको एक ढुंगामा आउने छु जुन दुँगामा धेरै झिँगा रहनेछ त्यही ढुंगामा म बिराजमान हुनेछु त्यही ढुँगाको दैनिक दर्शण गर्नु होला र आफ्नो दैनिक राजकाज संञ्चालन गर्नु भने किम्बदन्ति रहेको पाइन्छ जस अनुसार दरवारको छेउमै रहेको खः जुन खःको नाम आज चण्डेश्वरी अजिमाकै नामबाट चासु ख रहन गएको र हाल चासुखेल हुन गएको पाईन्छ । यसबाट भन्ने गरिन्छ की चासुखेलको चण्डेश्वरी अजिमा बनेपाको अजिमानै यहा विराजमान हुन आउनु भएको हो त्यही कारणले भक्तपुरको जात्राको फुल प्रसाद लगे पछि मात्र बनेपामा जात्रा सुरू हुन्छ । जसकारण भक्तपुरको जात्राको एक दिन पश्चात मात्र बनेपामा जात्रा संञ्चालन गरिने चल्ने गर्दछ ।
अर्को किम्बदन्ति अनुसार भक्तपुर चासुखेलकै चासुः अजिमाको दैनिक दर्शण पश्चात मात्र यहाँका राजाले भोजन गर्ने र राजकाज संञ्चालन गर्ने गर्द थिए त्यही समयकालमा राजा मन्दिर नै जान नसक्ने गरी बिरामी हुनु भयो र बिरामी हुदा पनि अजिमाको दर्शण नगरि केही नखाने हुदा झन धेरै कमजोर हुदै जानु भयो त्यसकारण चासुः अजिमा स्वयम् राजाको सपनामा आउनु भयो र दर्शण दिनु भयो र भनु भयो कि अब उपरान्त राजा दर्शणको लागि मन्दिर आउनु पर्दैन म नै बर्षको एक दिन दरवारको छेउ मै आउन्छु र पुजा गर्नुस् अनि आफ्नो राजकाज सञ्चालन गर्नुस् यही अनुरुप जात्रा सञ्चालन सुरु भएको र जात्राको सुरुमै दरवार क्षेत्र नै अजिमा विराजमान खट लाने चलन रहि आएको देखिन्छ ।
त्यसै चन्दासुर दैत्यको संहार गर्न माता पर्वतीले माता चण्डेश्वरीको रुप धारण गर्नु भएको थियो भने चण्डेश्वरी माता काठमाण्डौको स्वेतकाली (नरदेवी) कि छोरी पनि मानिन्छ । दैत्यको संहार पछि गाजाबाजाका साथ जात्रा गरि देवताहरुले स्वर्ग लग्नु भएका थिए । यसै दिनलाई स्मरण गरि चण्डेश्वरी जात्रा गर्ने गरिन्छ भन्ने किम्बदन्ति रहेको पाईन्छ ।
जात्राको पहिलो दिन टिप्वा जात्रा गरिन्छ। टिप्वा जात्रा गर्न अगाडी चण्डेश्वरी दाफाले अजिमाको विहान पूजा गरीने र दाफाबात हास सहितको दिउँसो पुजा साथै पतचा पूजा (ध्वजा) मन्दिरको गजुरमा राख्ने पूजा त्यस पछि बैधहरुबात देउता निकाल्ने पूजा गरिन्छ जुन दुबै दिन पूजा गरि सके पछि चण्डेश्वरी अजिमालाई स्नान गराईन्छ र माईका विभिन्न गर गहना एवं आभुषणले श्रृंगार गरिन्छ ।
विभिन्न दाफा भजन तथा सांस्कृतिक खलहरूका वाजा गाजाले गुन्जयमान सांस्कृतिक वातावरणमा विषेश प्रकारको बास टि (निगालोको मुठ्ठा) को मसाल जसलाई टिप्वा भनिन्छ । टिप्वा बालेर अजिमालाई देवगृहबाट दक्षिण तिर रहेको मला लाने गरिन्छ र वरिपरिका घर घरबाट पूजा गर्ने गरिन्छ। त्यस पछि अजिमाको मन्दिर भन्दा पश्चिम तिर रहेको एकान्त कुमारीको देवलछें तिर लगिन्छ र मन्दिर अगाडी भिषण रूपमा सल्लकाएको आगोको लप्कामा अजिमालाई आगो तपाउने गरिन्छ यसरी पहिलो २ पल्ट आगो तापे पछि मन्दिरको बाँयाबाट घुमाइ मन्दिर पछाडी आराम गराईन्छ र फेरी १ पटक आगोको लप्कामा चारै तिर घुमाई सकेपछि मन्दिर घुमाएर फेरि आगोको लप्कामा नै घुमाएर मन्दिर भित्र विराजमान् गराईन्छ । यस पछि राती चण्डेश्वरी दाफा भजनबाट भेडाको बली दिएर चा पुजा गरिन्छ । राति गरिने पूजा भएको कारणले त्यस पूजालाई चा (राती) पूजा भन्रे गरिएको हुनु पर्दछ । चा पुजा पश्चात दण्डेख्या परिवारले एक महा दिप (ठुलो दियो) बालेर पूजा गरिन्छ र बालेको महा दिपलाई राती नै हनुमानघाटको त्रिवेणीमा लगेर प्रतिस्थापन गरिन्छ । यस पूजा पश्चात सर्वसाधारणाले पूजा गर्ने कार्य सुरू गरिन्छ ।
भक्तपुरका अन्य शक्तिपीठका तुलनामा चण्डेश्वरीको प्रभावक्षेत्र वा सांस्कृक्तिक-आधार-इलाका बृहत् रहेको देखिन्छ । उदाहरणका लागि भक्तपुरसहरलाई न्हय्सःत्वाः (सातवटा सः (तैलशाला) भएका टोल) को मान्यताका आधारमा पनि थने (माथिल्लो), दथु (मध्य) र क्वने (तल्लो) गरी तीन भागमा विभक्त गरिएको छ र प्रत्येक भागलाई तीन शक्तिपीठ म्हासुख्खः अजिमा (ब्रह्मायणीमाई), चासुःअजिमा (चण्डेश्वरीमाई) र याकति अजिमा (वाराहीमाई) अन्तर्गत राखिएको छ, । जस्तै म्हासुख्खः अजिमा (ब्रह्मायणीमाई) अन्तर्गत थनेया न्हय्सःत्वाः, चासुःअजिमा (चण्डेश्वरीमाई) अन्तर्गत दथुया न्हय्सःत्वाः र याकति अजिमा (वाराहीमाई) अन्तर्गत क्बनेया न्हय्सःत्वाः । न्हय्सःत्वा चाहिँकेगु (सातवटा तैलशाला भएका टोल परिक्रमा गर्ने) भनी आ-आफ्नो प्रभावक्षेत्रमा प्रत्येक वर्ष ब्रह्मायणी, चण्डेश्वरी र वाराही अजिमाहरूको खटयात्रा गर्ने परम्परा छ । (पुरुषोत्तमलोचन श्रेष्ठ, अन्तरङ्गका तरङ्गहरू, संचित बचत तथा ऋृण सहकारी संस्था लि., भक्तपुर : २०८०, पृष्ठ २५१)
यही परम्परा अन्तरगत वैशाख पूर्णिमाको विहानदेखि चण्डेश्वरी मन्दिरमा मेला लाग्छ । उक्त दिन छोरी-बुहारीहरूले आ-आफ्नो शिप तथा भाकलअनुसार अत्यन्त मेहनतका साथ बुनेको फरिया चण्डेश्वरी देवीमा चढाउने गर्छन् जुन साँझ खटको गजुरलाई बाधेर खट सजाउने गरिन्छ । यसबाट हाम्रो घरेलु हस्तकलाको समेत संरक्षण सम्बर्द्धनमा संस्कृतिलाई माध्यम बनाएको उदाहरण यहाँ देख्न सकिन्छ । बैशाख पूर्णिमाको दिन चण्डेश्वरी माईलाई १२ फिट अग्लो २ तल्ले खटमा टोलबासीहरूको पूजा पश्चात आचाजु ,बैध तथा चिकंबंजारहरूको पूजा गरिसके पछि चासु अजिमा बिनाको खट मन्दिर घुमाईन्छ र त्यस पछि खटलाई मन्दिर अगाडीको डबलीको बीच भागमा राखिन्छ र चासु अजिमालाई मन्दिरबाट तिव खटमा राखि मन्दिर परिक्रमा गरिन्छ त्यस पछि खतलाई २४ जनाले काधमा बोकेर तिवुक्छें,तिबुक्छें साकोथा हुदै ल्याकुली लाँपाँदै (हरिशंकरको मन्दिर) अगाडीसम्म लाने र त्यहाँ राज परिवारको पूजा सँगै एक बोकाको बली दिने गरिन्छ जुन आज सरकारी पूजा भनी गुठी संस्थानबाट गरिन्छ ।
त्यहाँ भजनकीर्तनसहित चण्डेश्वरीको पूजा गरी पुनः सोही बाटो फिर्ता भई टिबुक्छे टोलको मध्यभागमा बिसाई प्रधानाङ्ग परिवारको पूजा थाप्ने गर्छ । तत्कालीन समयको त्रिपुर दरबारको सि देवीको पूजा गर्ने परम्पराको रूपमा यसलाई लिन सकिन्छ साथै प्रधानाड्ग परिवारका तर्फबाट द्यो कोहबिज्यागु पुजा बजारमा गरिन्छ । सुकुलढोका, गोलमढी, पलिख्यः, इनाचो हुँदै तचपाःभीमसेन मन्दिरको दक्षिणकुनाको चौबाटोसम्म पुऱ्याई चण्डेश्वरीको पूजा गरिन्छ त्यहाँ बिशेष गरि बनेपालीहरूले बलिपूजा गर्ने चलन थियो । चण्डेश्वरी देवी पहिला पहिला चण्डेश्वरीको खट स्वंगल्वहँसम्म मात्र हुन्थ्यो । एकताकाका प्रसिद्ध भोट ब्यापारी उलकले जात्राको क्रममा चण्डेश्वरीको खटलाई भीमसेन मन्दिरको कुनासम्म ल्याएमा बली पुजा गर्ने भनी भनेकाले नाघी तचपालसम्म लैजाने परम्परा बन्यो । (ओम धौभडेल भक्तपुर दैनिक अनलाईन) जुन आज भोली हुन छोडेकोछ । जसले गर्दा अहिले सर्वसाधारणको पूजा सकेपछि खट फर्काइन्छ । तचपाः बाट चण्डेश्वरीको खटलाई फर्काउने क्रममा लालाछेंमा पाटी संगैको वाटोमा बिसाउने गरिन्छ जहाँ वरीपरीका घर घरबाट पूजा गराई सके पछि पुनः चासुखेलहुदै च्वस्मामा लगी बिसाउने र त्यहाँबाट इखुमलाको इनार संगै बिसाउने र त्यहाँबाट कुथिपालीत्वामा ल्याइन्छ जुन बाटो ५० मिटर जतिको छ त्यस स्थानमा पुगेपछि -स्थानिय भाषामा पाय् म्हेत्येकेगु तथा धकु टुकु पनि गर्ने भनिन्छ) गरिन्छ पाय् म्हेत्येकेगु भन्नाले खटको ४ वटा खुट्टामा २ वटा लाई उचाल्ने र २ वटालाई भुईमा राखेर तान्ने गरिन्छ जुन ५ पटक सम्म गरिन्छ । जुन नेपालको कुनै पनि ठाउँमा भएको देखिँदैन । यो जात्राको एक प्रमुख आकर्षणको रूपमा रहेको पाइन्छ । यस समयमा वरिपरिका घर घरको झ्याल झ्यालबाट चटामारी चदाउने गरिन्छ । त्यस पश्चात पुनः खटलाई काधमा बोकेर गलसी हुदै याताको पुर्वको धारा अगाडि सम्म लगेर त्यहाँको पूजा सम्पन भए पछि याताटोलको गणेश मन्दिर अगाडी बिसाउने गरिन्छ त्यहाँ केही समय पूजा भजनकितन गरे पछि गलसी गणेश मन्दिर अगाडी बिसाएर पूजा गरि सके पछि क्वाछें दोबाटोसम्म पुऱ्याई, त्यहाँबाट
फर्काएर ल्याई चण्डेश्वरी मन्दिरको ३ पटक परिक्रमा गराई चण्डेश्वरी मन्दिर अगाडीको डबलिमा खट बिसाइन्छ र त्यहाँबाट खटमा रहेको चासुः अजिमाको मुर्तिलाई निकालेर प्रसाद स्वरूप खट माथी गजुरमा बाधेर राख्यको फूल दिने गरिन्छ यस पश्चात चासुः अजिमालाई चासुः अजिमाको द्यैं छें (देवगृह) मा लसकुस पूजा (स्वागत) गरी खटयात्रा तथा जात्रा समापन गरिन्छ ।
हरेक बर्ष धातुबाट निर्मित चासुः अजिमाको जात्रा यहि अनुरूप मनाईन्छ भने प्रत्येक १२ बर्षमा सापरू (गाईजात्रा) को समयमा चापको काठबाट बनेको चासुः अजिमालाई अर्कै सानो खटमा राखी भक्तपुर नगर परिक्रमा गराउने गरिन्छ । चापको काठबाट बनेको अस्त भुजा भएका चण्डासुरको बध गर्न लागेकी मयूरवाहन अन्य भुजामा बिभिन्न हातहतियारबाट सु-सोभित चण्डेश्वरी अजिमाको मुर्तिलाई धुमधामका साथ जात्रा गर्ने चलन रहेको पाईन्छ । जसमा जुन पछिलो समय २०७२ भाद्र महिना १४ गते सोमवार गरेको थियो ।
समस्या तथा चुनौती
जात्रा सञ्चालनमा प्रमुख रूपमा खट यात्राको क्रममा ठाँउ ठाँउमा बिभिन्न विद्युतको तार तथा फोन, ईन्टरनेटको तारले निकै समस्या गर्दछ । कति समयमा त तारहरू पड्किने र तारमा अल्झेर खटको माथिलो भागमा क्षति हुने गरेको पाईन्छ । यसको लागी स्थानिय बासी लगाएत स्थानिय निकायले जात्राको अगाडीनै जात्रा हुने मार्गमा तार व्यवस्थापन गर्नु पर्ने देखिन्छ भने यातायातका साधनहरूको कारणले पनि खट यात्रामा समस्या देखिएका कारण उक्त एक दिन वैकल्पिक मार्ग प्रयोगका लागि जानकारीहरू प्रकाशन गर्ने, ट्राफिक तथा स्थानिय निकायको पहलमा यातायात व्यवस्थापन गरेमा यस जात्रालाई अझ हर्षोल्लासका साथ संञ्चालन गर्न सकिन्छ ।
यसै अनुरूप चुनौतीको रूपमा टिप्वा जात्राको लागि आवश्यक टि सहज रुपमा उपलब्द नहुनु र जसले गर्दा टिप्वा जात्राको आकर्षणको रुपमा रहेको टि को चुनौती बन्दैछ भने खट बोक्ने पनि एक कला हो जुन बल संग संगै खट बोक्ने ज्ञान एवं अनुभवको आवश्यकता पर्दछ तर अहिलेका युवाहरुमा बल छ तर अनुभव एव खट बोक्ने आवश्यक ज्ञानको कमी देखिन्छ जसकारण खट बोक्ने जन शक्तिको अभाव पनि चुनौतीको रुपमा रहेको पाईन्छ ।