नेपालको (लिखित) प्रमाणित इतिहासको रुपमा लिच्छविकालको इतिहासलाई लिइन्छ । सबैभन्दा पुरानो चाँगुनारायणको मानदेवको पालाको अभिलेख हो । भक्तपुरको सबैभन्दा पुरानो अभिलेख सम्बत् ५१६ (वि.सं. ६५१) को हो । (बज्राचार्य, वि.सं.२०३०) । तर मानदेवकै पालाको रत्नसंघले राखेको देउपाटनको शिवलिङ्गको अभिलेखमा खोपृङ्गग्राम उल्लेख भइसकेको थियो । खोपृङ्गग्राम स्थान नाम किराँत भाषाको शब्दावली भएकोले भक्तपुर किराँतकालमै विकसित भएको देखाउँछ (बज्राचार्य, वि.सं.२०३०; श्रेष्ठ, वि.सं. २०५८) । त्यो भन्दा अगाडि पनि नेपालका विभिन्न स्थानहरूमा बस्ती भएको विभिन्न आधारहरू (भाषा, स्थान नाम, वंशावली आदि) पाइएता पनि लिखित अभिलेखहरू पाइएको छैन ।
लिच्छविकालका स्थानहरूमा देउपाटन, चाँगुनारायण, हाँडीगाउ, भक्तपुर (ख्वप्रिङ) आदि हुन्। यी शहरहरूमा पाइएका विभिन्न अभिलेखका आधारमा यी कुराहरू प्रमाणित हुन्छन्। लामो समयको अन्तरालमा लिच्छवीकालका केही मात्र अभिलेख पाइएकोबाट लिच्छवीकालिन इतिहास अस्पष्ट नै छ । केही इतिहासकारहरूले भएका अभिलेखका आधारमा त्यतिबेलाको शासन व्यवस्थाको बारेमा अनुमान गरेका छन्। बस्तीको बारेमा भने अुनमान गर्न अझै गा¥हो छ ।
त्यतिबेला ‘ग्राम’, ‘तल’ र ‘द्रङ्ग’ जस्ता बस्तीहरू हुन्थे। (ती क्रमशः विकास हुने बस्तीहरू हुन्) । ग्राममा आवादी बढ्दै आर्थिक, सामाजिक तथा भौतिक विकास हुँदै ‘तल’मा परिणत हुन्थे। पछि भन्सार सहितको व्यापारिक केन्द्रले ‘द्रङ्ग’को रुप लिन्थे।
भक्तपुरको इतिहास र विस्तार
भक्तपुरका लिच्छवीकालिन अभिलेखहरुमा पाइएका ख्वप्रिङग्राम, माखोपृङ र माखोदुलु जस्ता किराँती भाषाका शब्दावलीले भक्तपुरको इतिहास किराँतकालसम्म पु¥याउँछ । (बज्राचार्य, वि.सं. २०३०) । लिच्छवीकालका अभिलेखहरू गोल्मढी, तुलाछें, सुकुलढोका, गःहिटीतथा अन्य विभिन्न ठाउँमा पाइएबाट लिच्छवीकालिन भक्तपुरको फैलिएको इलाका बताउँछ । केही समयको अन्तरालपछिका अभिलेख तथा विभिन्न ताडपत्रले पूर्व मध्यकालमा शिवगल, चानेगल र बान्दिमगल देखापर्छ । (राज, वि.सं. २०६१; धुख्वा तथा शिल्पकार, वि.सं. २०७५) मध्यकालका आनन्ददेव (बा¥हौं शताब्दी) को उदयसँगै भक्तपुरको विकास उच्चतम विन्दुमा पुग्यो। (मिश्र, वि.सं. २०५४, राइत १८७७) यही क्रम निरन्तर जयस्थिति मल्ल हुँदै यक्षमल्ल सम्म पनि रहेको देखिन्छ । यक्षमल्लको पालामा भक्तपुरको चारैतिर किल्ला मजबुत बनाई ध्वाकाहरू बनाइए । (मुनंकर्मी, वि.सं. २०४१; जोशी, वि.सं. २०३७) ।
भुपतिन्द्र मल्लसम्म आइपुग्दा ङातापोल तथा ङ्यङापा झ्य सम्मको उत्कृष्ट कलाकृति देखापरे। दरबार नै ‘त्रिपुर’ बाट युथुनियम सरेको देखिन्छ (श्रेष्ठ, वि.सं. २०५८) । यसरी क्रमशः विकास भएको नगरमा भौतिक मात्र नभई धार्मिक, साँस्कृतिक विकास पनि क्रमशः भएको पाइन्छ । टोल सिमानाका त्यस्तै जात्राका सिमारेखाले पनि पछि विकास भएका बस्तीहरू छुट्याउँछ । ति जात्राका सुरुवातको इतिहास प्रमाणित रुपमा नपाइन सक्छ । थप प्रमाणको लागि सोही स्थानका अभिलेखको साथसाथै ताडपत्र तथा वंशावलीको पनि सहायता लिनुपर्ने हुन्छ ।
ऐतिहासिक शहरहरुको नगरी डिजाइनका सिद्घान्त बुझ्न विभिन्न अध्ययन तथा अनुसन्धान कार्य गरिनुपर्छ । फरक कालखण्डमा विकसित र विस्तारित स्थानहरूमा एकरुपता हुनुका कारणहरू पनि अध्ययन गरिनुपर्छ । ऐतिहासिक शहरका विभिन्न परम्परा र संस्कृति हुन्छन्। ती मध्ये भवन, पिखालखु, गणेश, दिगुद्यो, पीठ, पाटी तथा मठ–मन्दिर जस्ता भौतिक सम्पदाको अध्ययन गर्नुपर्छ । साथै अभौतिक सम्पदाहरूमा गुठी, जात्रा, सलाँको समेत अध्ययन गरिनु पर्छ । यस्ता अध्ययनले हजारौ बर्ष टिकेका नगरी डिजाइनका सिद्धान्तहरू नयाँ बन्ने सहरमा अनुकरण गर्न सकिन्छ । लेखमा विस्तारित स्थान भार्वाचो र इटाछेँको विस्तृत अध्ययन तथा विस्तारित कालखण्डको विषयमा भएको अध्ययनको सार प्रस्तुत गर्न खोजिएको छ ।
भार्वाचो र इटाछेँको स्थान तथा भौतिक विवरण
भार्वाचो र इटाछेँ भक्तपुर नगरको हालको सिमाङ्कृत क्षेत्रको सबैभन्दा पश्चिममा पर्छ । अहिले यो दुई टोलको पश्चिम तर्फ दुई अन्य पोखरी, सिद्वपोखरी (तःपुखु), नपुखुः र इनागः गणेश परिसरका पाटीहरू तथा कायस्थहरूको सत्तल रहेको छ । यो भौतिक अवस्था हेर्दा तथा अहिले पुनः निर्माणको क्रममा रहेको भाज्यापुखु र रानी पुःखुले पुरानो बाटोबाट आएका पाहुनालाई स्वागत गरिने थलोको रुपमा देखिन्छ । पूर्वमा भने तेखाचो, तेखापुखु, बाराही द्योछेँ तथा जात्रामार्गको पश्चिमी सिमाना पर्छ । दक्षिणतिरको भिरालो जग्गा मुनि तेखाद्व र हनुमन्ते खोलापारि बाराही पीठ रहेको छ । अध्ययन क्षेत्र (दुई टोलका केहि भाग) को क्षेत्रफल १.४९ हेक्टर रहेको छ । अध्ययनको लागि लिइएको क्षेत्र ६ वटा चाकलहरू (neighborhoodblocks) लाई कुनै साँघुरो गल्ली तथा कुनै फराकिलो बाटोले छुट्याउँछन्। ति बाटोहरू १.५ देखि ११.५ मी सम्म चौडा पाइएको छ । यहाँको भिरालो जमिन, १२ वटा इनार (सार्वजनिक) र एकमात्र लोहँहिटी तथा पश्चिमको अग्लो भागमा रहेको चार ठूला पोखरीले यस क्षेत्रको शहरी संरचनामा पानीलाई महत्व दिएको देखिन्छ ।
यस क्षेत्रमा दुई किसिमका घर संरचनाका नमूनाहरू पाइन्छ । एक चुकलाई घरहरूले घेरेको र अर्कोमा बाटोको दुइ छेउमा लहरमा घरहरू उभिएको । चुकहरू निकै साना छन् भने बाटो निकै चौडा (पुरानो नगर भित्रको टोलहरूको तुलनामा) छन्। भित्रका चुकहरूमा जानका निम्ति निकै साघुरो लाबोहरू भएर छिर्नुपर्छ । त्यसैकारण बाटोमा हिड्ने बटुवाहरूलाई यी चाकलभित्रका चुकः बारे थाहा नहुन सक्छ ।
नगरका अन्य भागमा चुकमा गरिने क्रियाकलाप प्रायः यहाँ पेटी या चौडा बाटोमा गरिन्छन्। यस स्थानको विशेषताको रुपमा दक्षिण मोहडाका घरका पेटी चौडा छन्। भने उत्तर मोहडाका घरका पेटीहरू साँघुरो छन्। जहाँ जाडोमा घाम ताप्ने गरिन्छ ।
यस क्षेत्रमा साना र ठूला गरि जम्मा नौ वटा चुकः छन्। एउटा भने फराकिलो बाटो चुकःकै रुपमा प्रयोग गरिन्छ । नौ वटा चुकःको बिचमा या त इनार या त चिःभद्यो रहेको छ । त्यसैकारण यी चुकःहरू अन्य प्रयोजनका लागि प्रयोग गर्न अलि कठिन देखिन्छ । यहाँका सामाजिक तथा आर्थिक महàवका चिजहरू कम छन्। निजी र सार्वजनिक गरेर जम्मा सातवटा पाटीहरू छन्। अध्ययन क्षेत्र वरपर तिनवटा सार्वजनिक पाटीहरू छन्। च्वङा गणेश र फैटोका गणेशका दुई द्योछँेहरू छन्। अध्ययन क्षेत्रका बासिन्दाले मान्ने चार गणेश मध्ये एक भार्वाचो गणेश मन्दिर यसै क्षेत्र भित्र पर्छ ।
यस क्षेत्रको परम्परागत रीतिकर्मका लागि अधिकांश बासिन्दा बाराही पीठ मान्छन्। बौद्वमार्गीहरू भने चतुब्र्रम्ह महाबिहार जानेको संख्या बढी छ ।
यस क्षेत्रमा एक परिवार बाहेक सबै नेवार समुदाय बसोबास गर्दछन्। त्यसैले सबैले द्विगुद्यो मान्ने गरेको छ । अधिकांशको द्विगुद्यो तपुखु, रानी पुखु तथा सैनिक महाविद्यालय परिसरमा रहेको छ । तिमध्ये शिलाकार समुदायको शिलालेख सहितको दिगुद्यो, बज्राचार्य समुदाय तथा गोठे र किलम्बु समुदायको दिगुद्यो महत्वपूर्ण छ । शिल्पकार समुदायको दिगुद्यो ने.स.१०३१ मा दुवाकोटबाट सारिएको जानकारी पाइन्छ । अर्को बजा्रचार्यको समुदायको शिलालेख पढ्न मुश्किल भइसकेको छ । बनेपाली थरका समुदायका बासिन्दाहरू बनेपाबाट आएको र दिगुद्यो बनेपामा भएको पनि महत्वपूर्ण छ । यसले दिगुद्यो भएको स्थान तिनीहरूको पुख्र्याैली स्थान हुन सक्ने अनुमान गर्न सकिन्छ । त्यसैकारण गोठे र किलम्बु समुदायको झौखेलमा भएको दिगुद्योले, उनीहरूको पुख्यौली स्थान उतै हुन सक्ने अनुमान गर्न सकिन्छ ।
यहाँका स्थानीय जात्रामा माघ २ गते मनाइने सम्यक महादान पर्व र बिस्केट जात्राको द्योस्वगँ वियगु जात्रा रहेको छ । सम्यक महादान पर्व तिन सय पचास बर्षदेखि निरन्तर चलि आएको छ । यो पनि एउटा त्यो स्थानको विस्तार त्यस समयमा हुनसक्ने प्रमाण हो।
समुदायको पहिचान तथा पुर्खा सम्बन्धी अनुसन्धान
यस क्षेत्रमा अधिकांश मिश्रित समुदायको बसोबास पाइएको छ । सबभन्दा ठूलो समुदायको रुपमा शिल्पकार (१५.६३% ) र बज्राचार्य (१२.६७%) रहेको पाइयो। यस क्षेत्रमा केहि नापितहरू तथा केहि शाहीहरू पनि पाइएको छन्भने एक मात्र मुस्लिम परिवारको पनि बसोबास रहेको छ । यहाँका समुदायका व्यक्तिहरूको उद्गम बिन्दुठ्याक्कै भन्न गाहो छ । २–३ सतकमा ८, ९ पुस्ता अघिका कुरामा धेरै जना अनभिज्ञ भइसकेको छन्। तर केहि मुख्य समुदायका वंशावलीका कुराले यस क्षेत्रमा बस्ती विस्तारका केहि खाका दिन्छ । कुनै समुदायको अभिलेख एवं दिगुद्योका स्थानले समेत तिनीहरूको उद्गम स्थलको अनुमान गर्न मदत गयो।
यस क्षेत्रको सबैभन्दा ठुलो समुदायको शिल्पकारहरू ङातापोल बनाउन पाटनबाट आएको अनुमान गर्छन्। तर त्यस कुराको प्रमाण भने भेटिएन्। तैपनि द्विगुद्योको अभिलेखले उनीहरू यहाँको रैथान नभएको बताउँछ । दोस्रो ठूलो समुदाय बज्राचार्यहरू तक्ष्य बहालबाट आएका (ने.स.६११) जिबचन्द्रका सन्तति भएको दाबी गर्छन्(मै.यु.सं., वि.सं.२०६१स पु.वि., वि.सं.२०६६) । सुरुमा तिनीहरू लायकुको चतुब्र्रम्ह महाविहारमा बसेका थिए । तिनका सन्ततीहरू मध्ये एक धर्मसिं (मायके खलः) करीब ने.स.८३० मा भार्वाचो तिर बसाइँ सरेको देखिन्छ । अन्य समुदायमा धेरै मिश्रित समुदाय रहेको, मुसलमानहरूको एक परिवार र साहीहरूको केहि घरले समेत यो क्षेत्र पट्टि विस्तार भएको थप आधार दिन्छ ।
भवन निर्माण समयक्रम
यस क्षेत्रका भवनहरूको सर्वेक्षणमा घरको निर्माण समय थाहा पाउन निकै मुश्किल भयो। किनकि अधिकांश घरहरू पुरानो भएको र पहिला घरको नक्सा नहुने भएको हुदाँ नयाँ पुस्तालाई कुन वर्ष घर बनाइएको थियो भन्ने जानकारी भएन । हालको भवनहरू विभाजन हुनु पुर्व २६९ वटा थिए । हाल दाजु भाइमा घर भागबण्डा गरिदाँ ३७१ वटा भएको छन्। वि.सं. १९९० को भूकम्प अघि १५८ वटा घरहरू भएको तथ्याङ्ले करिब आधा घरहरू १०० वर्ष भित्र बढेको देखियो। वि.स. १९९० भन्दा अघिका भनिएका घरहरूमा तीन प्रकारका पाइए । ती मध्ये पहिलोमा टिकिभ्या र सँझ्याहरू पाइन्छन्। दोस्रोमा टिकिझ्या परिमार्जित गरी आयाताकार टिकिझ््या र एकमुखे झ्यालहरू प्रयोग गरिएका छन्। भने तल्ला छुट्याउन कार्नेसहरू प्रयोग भएका छन्। तेस्रो प्रकारका घरहरूमा भने सम्पूर्ण एकमुखे झ्यालहरू प्रयोग गरिएका छन्। यी तिनै प्रकारका घरहरूमा ४०–५० बर्ष अघि सम्म पनि झिंगटीका छाना थिए । यी तिन चरित्रका घरहरू हेर्दा द्ध समयक्रममा परिमार्जित हँुदै गएको देखिन्छ । पहिलो प्रकारको घरका अनुपात पूराना मन्दिर तथा दरबारका चरित्र संग मिल्ने देखिएकोले तिनीहरू सबै भन्दा पुरानो समयका घर भन्न सक्छौ। दोस्रो र तेस्रो प्रकारका घरहरूमा प्रकाशको निम्ति झ्यालको आकार बढाइएको हुनसक्छ । यसरी घरका प्रकार हेरिकन पनि बस्ती बिकासको क्रम थाहा पाउन मद्घत गर्छ ।
सामाजिक कृयाकलापका स्थानहरू
यस क्षेत्रमा विशेष क्रियाकलापको लागि भनेर ठाउँहरू छुट्याइको पाइएन । जस्तो कृषि उत्पादन सुकाउने खुल्ला चोक, बालबच्चा खेल्ने ठाउँ, भोज खुवाउने, साँस्कृतिक क्रियाकलाप तथा चाडपर्वका प्रयोग गर्न स—साना चोक आदि । यस स्थानमा भएका चौडा बाटोमा नै यी क्रियाकलाप गरेको देखिन्छ ।
बस्ती विस्तारका प्रमाणिकता
अध्ययनका क्रममा जम्मा लागि नौ वटा अभिलेखहरु भेटिएका छन्। तिमध्ये तिन वटा इनारको माथिल्लो तहको ढुङामा भित्रपट्टी कुदिँएको छ । सबैभन्दा पूरानो ने. सं. ७७८ को कोजुहरूको चुकःमा ने.सं.७८७ को क्वयचुकमा र ने.स.७९६ को चाँगुनारायण भएको चुकःमा अभिलेखहरू भेटिएका छन्। त्यसैगरी पाँच वटा अभिलेखहरू चैत्यमा भेटिएका छन्। ति मध्ये च्वयचुकमा ने.सं.९५१ र ने.स.९५५ (ख्वपया विहार व चैत्य, २०५१), लोकचुकमा, ने.स.१०६२ तथा ज्येष्ठवर्ण महाविहारको चैत्यमा ने.सं. ८२० का अभिलेखहरू रहेका छन्। चाकल नं ख को उत्तर पश्चिम कुनामा भेटिएको चैत्यको अभिलेख पढ्न मुश्किल भइसकेको छ । बाँकी एक अभिलेख तँचाकोनेको पाटीमा पाइएको ने.सं.८६० (सुथां, २०५६) को अभिलेख रहेको छ । यी अभिलेखहरूको सबभदा पूरानो ने.सं.७७८ को इनारको अभिलेखले र बाँकी अभिलेखले यो स्थान करिब त्यहि समयमा बिकास भएको कुरा प्रमाणित गर्छ । थप प्रमाणहरूमा १८ औ शताब्दीमा बनेको इताछेँ गणेश (बाङदेल, १९९५) तथा करिब ने.स.७८७ मा सुरु भएको सम्यक महादान पर्व पनि हो ।
यी प्रमाणित अभिलेख अनुसारको नक्साहरू उत्तार्दा ने.सं.७५० देखिको पचास बर्षका अन्तरालमा आठ वटा नक्साहरू बनेका छन्। यो नक्सा अनुसार पहिलो पचास बर्ष भित्र बजा्रचार्य, न्याइच्याइ र शिल्पकारका केहि समुदाय छ देखापर्छ । त्यसपछि अर्को पचास वर्षभित्र बज्राचार्य र शाक्यहरूको समुदाय थपिन्छ । एवं प्रकारले अन्य समुदाय थपिदै गएको देखिन्छ । यस हिसाबले यो बस्ती ने.सं. ७५० पछि विस्तार भएको मान्न सकिन्छ ।
भक्तपुर नगरको पूरानो र विस्तारित बस्ती बिच तुलनात्मक अध्ययन
माथिका प्रमाणका आधारमा भार्वाचो एक विस्तारित बस्ती भएको देखिन्छ । अभिलेखकै आधारमा तुलाछेँ टोललाई पूरानो बस्ती माध्यम मानेर ति टोलहरू बिच तुलना गरिएका छन्। यी पूरानो र विस्तारित टोलबिचमा सडक, खुल्ला स्थान तथा अन्य सामाजिक संरचनाहरू तुलना गरिएको छन्।
सडकहरू बिचको तुलना
भार्वाचोको तुलनामा तुलाछेँ लाबोहरू चौडा देखिन्छन्। तर मुख्य बाटोहरू भार्वाचो क्षेत्रकै खुल्ला र चौडा देखिन्छन्। तुलाछेँका चाकल घेर्ने दुईवटा गल्लीहरू निकै लामो र साघुँरो छ । भार्वाचोमा त्यति साघुँरो गल्ली पाइएन । साथै बाटोका मोडहरूमा सम्झना हुने खालका सम्पदाहरू पनि पाइएन्। तर तुलाछेँ टोलमा भने हरेक मोडमा केही न केही सम्पदाहरू (पाटी, मन्दिर, द्योछेँ, स–साना मूर्ति इत्यादी) पाइए । भार्वाचोमा रहेका केही पाटी, भार्वाचो गणेश तथा खुल्ला ठाउँले भने दुईटोल बिच समानता झल्काउँछ ।
यी दूई टोलबिच सडकका मोडहरूमा पनि भिन्नता पाइन्छ । तर दुवै टोलमा सकेसम्म बाटोहरू एक आपसमा नकाटिने हिसाबले मिलाइएको पाइन्छन्। तुलाछेँका हरेक जस्तो मोडमा खुल्ला ठाउँ भेटिन्छन् भने भार्वाचोमा त्यसको सट्टामा बाटोलाई नै केहि चौडा पारिएका छन्। साथै हरेक मोडमा सम्पदा नभएतापनि मोडका दृश्यहरुमा ख्याल गरिएको पाइन्छ । भार्वाचोको एक मोडमा लोहःहिती, एक मोडमा पाटी तथा अर्को मोडमा द्योछेँ पाइएका छन्। दुई पाटीहरु यसरी राखिएका छन् कि ति पाटीहरूको ठिक अगाडी जोडिने बाटोबाट ति पाटीहरू टाढैबाट देखिन्छन्।
खुल्ला स्थानहरूबिचको तुलना
यी दुईटोलका खुल्ला ठाउँहरूमा तुलाछेँका चुकहरू बढी व्यावाहारिक तथा उपयोगी देखिन्छन्। तुलाछेँका चोकहरू साना भएपनि बाटोलाई एका छेउमा दिदाँ बिचको सबै ठाउँ कुनैपनि कार्यको लागि प्रयोग गर्न मिल्छ । तर भार्वाचो क्षेत्रमा सानो चुकःमा पनि बाटो बिचबाट दिइएको र हरेक चोकमा इनार वा चैत्य हुँदा प्रयोग गर्न असहज छ । चुकःहरू बाहेक भार्वाचोका २, ३ ठाउँमा चुकः जस्तै प्रयोग हुने निकै फराकिलो बाटोहरू छन्। तुलाछँेमा भने उत्तर र दक्षिणका बाटोको साथै सबै मोडहरूमा फराकिलो खुल्ला ठाउँहरू छन्। भार्वाचोका प्रायःमानिसहरू बाटो या पेटिमा बसेर समय बिताउँछन्। भने तुलाछेँका प्रायः मानिसहरू चुकःमा भेला भई समय बिताउँछन्।
निश्कर्ष
यस अध्ययनले भार्वाचो सत्रौ शताब्दी तिर बिस्तार भएको कुरा विभिन्न प्रमाणहरूले देखाएको छ । साथै पूरानो टोल तुलाछेँ (जुन सातौ सताब्दी भन्दा अघि विकास भएको मान्न सकिन्छ ।) सँग सहरी ढाँचाहरू मिल्दो जुल्दो देखिन्छ । यस ठ अध्ययनले लामो समय अन्तरालमा विकास तथा विस्तार हुने सहरी संरचनामा कसरी एकरुपता ल्याउन सकिन्छ भन्ने समेत देखाएको छ । उदाहरको रुपमा यी दुई टोलमा पाइएका सामाजिक सम्पदाहरू, सडक तथा खुल्ला स्थनाहरू छन्। साथै घरहरूको संरचना तथा तिनीहरूको खाकांका नमूनाहरू समेतलाई मिलाउन सकिन्छ । घरहरूको स्वरुप फरक भएतापनि लहर मिलेका घरका समान उचाई, निमार्ण सामाग्रीमा एक रुपताले पनि सम्पूर्ण सहरको संरचनामा समानता झल्काउँछ । यस्ता अध्ययनबाट निस्केका राम्रा पक्षहरूलाई नयाँ बन्ने शहरहरूमा समेत समय सुहाउँदो परिमार्जन गरि उपयोग गर्न सकिन्छ ।
सन्दर्भ सामग्री
- ख्वपया विहार व चैत्य । वि.सं. २०५१ । ख्वपया विहार व चैत्य (भिडियो क्यासेट) । ख्वपः अप्रकाशित
- जोशी, हरिराम । वि.सं. २०३७ । मध्यकालीन अभिलेख । प्राचीन नेपाल, संख्या ५७ । काठ्माण्डौः पुरातत्व विभाग ।
- धुख्वा, सरिता स शिल्पकार, रबिना । वि.सं. २०७५ । शिवगल, चनिगल र वान्दिमगल, भक्तपुरका तीन ऐतिहासिक स्थानहरू । अप्रकाशित रिपोर्ट । भक्तपुर स् ख्वप इन्जिनियरिङ्ग कलेज ।
- नेपाल सरकार, पुरातत्व विभाग । वि.सं. २०६६ । भक्तपुर दरबार संरक्षित स्मारक क्षेत्रका वर्गीकृत स्मारकहरूको विवरण । काठमाण्डौः पुरातत्व विभाग ।
- बज्राचार्य, धनबज्र । वि.सं. २०३० । लिच्छविकालका अभिलेख । किर्तिपुर स् नेपाल र एसियाली अध्ययन संस्थान, त्रि.वि. ।
- मिश्र, तारानन्द । वि.स. २०५४। प्राचीन नगरहरूको सुरक्षात्मक वास्तु । पासूका, वर्ष २, अंक ६ । भक्तपुरः सुथां ।
- मुनंकर्मी, लिलाभक्त । वि.सं. २०४१ । नेपालको सांस्कृतिक तथा ऐतिहासिका दिग्दर्शन । भक्तपुर स् श्रीमती भवानी केशरी मुनंकमीं ।
- मैत्रय युवा संघ । वि.स. २०६१ । ख्वपया बहा बही । ख्वपः मै यु सं ।
- राज, योगेश । वि.सं. २०६१ । शिवगल, चनिगल र वान्दिमगल । प्राचीन नेपाल, पुरातत्व विभागको मुखपत्र, संख्या १५६ ।
- सुथां । वि.सं. २०५६ । पासूका, वर्ष ४, अंक ५ । भक्तपुरः सुथां
- श्रेष्ठ, पुरुषोतम लोचन । वि.सं. २०५८ । त्रिपुर र युथुनिमम् राजकुल । भक्तपुर स् भक्तपुर नगरपालिका ।
- Bangdel, Lainsing. 1995. Inventory of stone sculptures of the Kathmandu Valley.
Kathmandu: Nepal Pragya Pratisthan. - Wright, Daniel. 1877. History of Nepal. New Delhi, India: Heritage Publishers.