नेपालका विभिन्न समुदायहरूमा नेवार समुदाय आफ्नो संस्कृति, संस्कार र सम्पदामा अति धनी समुदाय मानिन्छ । यो आफ्नो पुर्खा र आफ्नो घरानियाँ खान्दानप्रति गौरव गर्ने समुदाय पनि हो । आफ्नो घरानियाँ कुल राम्रो भएमात्र आफ्नो शाखा सन्तान राम्रो हुने कुरामा उनीहरू विश्वास गर्दछन् । यसैले अहिलेसम्म पनि बुहारी खोज्नु परेमा घरानियाँ खान्दान खोज्ने चलन अद्यापि कायम नै छ । यसैले आफ्नो पुर्खाले सञ्चालन गर्दै आएको कुल परम्परालाई जोगाई राख्न सकेमा नै आफ्नो पहिचान जोगिने कुरामा विश्वास गरिन्छ ।
यस अर्थमा आफ्नो पुर्खाले सञ्चालन गरेका आफ्नो आफ्नो कुल संस्कृति, कुल परम्परा, कुल संस्कार र कुल सम्पदालाई जीवन्त राख्न देवाली पूजाको चलन चलाई आएको बुझिन्छ । आ–आफ्नो कुल संस्कृति, सम्पदा र संस्कारको महत्व बुझी त्यसलाई संरक्षण र संवद्र्धन गर्न सकेको परिणाम हाम्रो आफ्नै किसिमको मौलिक पहिचानले निरन्तरता पाएको र त्यसको अवलोकन, अध्ययन गर्न विदेशी पर्यटकहरूको आगमन बढ्दै गएको देखिन्छ ।
हामीले मनाउँदै आएको कुल संस्कृति र त्यसको महत्वलाई हालको पुस्ताले बुझ्ने प्रयास गरेको पाइँदैन भने हामीले पनि बुझाइदिने प्रयास नगर्दा उनीहरूले यसलाई थपिएको एक बोझको रूपमा लिएको पाइन्छ । यसको परिणाम नयाँ पुस्ताको रुचि र सहभागितामा कम हुँदै गएको देखिन्छ । नयाँ पुस्तामा हाम्रो संस्कृति र संस्कारमा रुचि कम हुनुको विभिन्न कारणहरूमा एक वैज्ञानिक आधार र आर्थिक बोझ पनि हुनुपर्दछ । उदाहरणको रूपमा देवाली पूजालाई पनि लिन सकिन्छ । आजको यस महँगीको समयमा परम्परादेखि दिँदै आएको बलि (बोका वा हाँस) पनि कसै कसैलाई समस्याको रूपमा देखापरेको छ । बलि नदिए समाजको र परम्परा टुट्ने डर, बलि दिन आर्थिक भार व्यहोरी नसक्नु छ । त्यसैले काम चलाउ मात्र सानो कलिलो बोका वा हाँस बलि दिने गरेको पाइन्छ ।
दिगु पूजा (देवाली पूजा )
आ–आफ्नो कूल देवताको पूजालाई देवाली पूजा मानिएको छ । आफ्नो कुल संस्कृति र संस्कारको परम्परालाई जीवित राख्न र निरन्तरता दिन गरिने पूजालाई देवाली पूजाको रूपमा लिइएको छ ।
देवाली पूजा सम्बन्धी विभिन्न धारणाहरू सुन्न पाइन्छ :
- देवाली पूजा भनेको हामीलाई पालनपोषण गर्ने धर्ती पूजा हो ।
- पुर्खाले आफ्नो समुदायलाई कुल संस्कृति र संस्कारका नियमले बाँधी राख्न गरिने पूजा ‘देवाली पूजा’ हो ।
- नेवार बस्तीका सबै नेवारहरूले गर्ने पूजा (दे न्यंक याइगु पूजा) देवाली पूजा हो ।
- ‘दिगु पूजा’ शुद्ध नेपालभाषाको शब्द हो । आजभोलि यस शब्दलाई अपभ्रंश गरी ‘देपूजा’, ‘दुगु पूजा’ आदि शब्दहरू चलनचल्तीमा देखापरेका छन् ।
- दिगु पूजामा बोका लान नसक्ने अवस्थामा ‘कलाँली पूजा’ जाने चलन छ । कसै कसैले बलिको सट्टा नरिवलमात्र फुटाउने पनि गरेका छन् ।
दिगु पूजा मनाउने तिथिमिति
- नेपालमा देवाली पूजा धेरैले मनाउँछन् तर तिथि मिति फरक फरक छन् । कसैले श्रीपञ्चमीमा, कसैले धान्यपूर्णिमामा । तर भक्तपुर शहरको सन्दर्भमा हेर्ने हो भने वैशाख शुक्लपक्ष वछलाथ्व पारुबाट अर्थात् पाटनमा श्री मत्स्येन्द्रनाथ रथारोहण गर्ने दिनबाट सिथिनखः सम्म नै मनाएको पाइन्छ ।
- भक्तपुरवासीले मनाउने तिथि भनेको अक्षय तृतीया, तः दिन र सिथिनखः मा देखिन्छ । त्यस्तै बारको हिसाबले लिँदा आइतबार र बिहीबार दिगु पूजा गर्ने उत्तम बारको रूपमा मानिएको छ । त्यस्तै दिगु द्योःलाई मनपर्ने फूलको रूपमा मूः स्वां र धँचा स्वां मानिएको छ ।
दिगु द्यःको आकार, प्रकार र स्वरूप
- सबै नेपालीहरूको एउटै कुल, एउटै वंश र एउटै जात नभएकै कारणले हाम्रो कुल देवता ( दिगु द्यः) फरक फरक छन् । जाति पिच्छे फरक फरक देवी देवतालाई दिगु द्यः मानी पूजा गर्ने गरिन्छ । उदाहरणको लागि सूर्यविनायक, कमलविनायक, भैरव तथा शाक्यहरूले जोगारवरलाई दिगु द्यः मानी पूजा गरेको देखिन्छ ।
- धेरै जसोको दिगु द्यःको मूर्ति स्पष्ट आकारको देखिँदैन । कसैले कसैले गोलाकार ढुङ्गालाई कतै दुई ओटा, कतै तीन ओटा, कतै पाँच ओटा दिगु द्यःको रूपमा स्थापना गरी राखेको पनि देखिन्छ । देवाली पूजाको दिन त्यही स्थापित ढुङ्गामा घरबाट ल्याएको किकुंपा राखी पूजा गरेको पाइन्छ ।
- कसै कसैको दिगु द्यःको आकार घरको मूल ढोका अगाडि स्थापना गरी राखेको पिखालखु द्यः (भेलुपा) को जस्तो फूल बुट्टा आकारको जस्तै बनाई राखेको पनि देखिन्छ ।
- कसै कसैको दिगु द्यःको मन्दिर नै बनाई राखेको पनि देखिन्छ ।
दिगु द्यः लाई पूजा गर्ने (स्मरण गर्ने) विभिन्न संस्कारजन्य र सांस्कृतिक कार्य
- दिगु द्यःलाई विभिन्न संस्कारजन्य र सांस्कृतिक कार्यमा पनि स्मरण गरी पूजाआजा गरेको हुन्छ । उदाहरणको रूपमा ः ब्रतवन्ध, बेलविवाह, गुफा राख्दा र विवाहमा लिन सकिन्छ ।
- बेल विवाह गरेको वर्ष छोरी/नातिनीहरूलाई बेल विवाह गर्दा लगाइएकै लुगा, गहना र सलापासहित दिगु द्यः लाई पूजा गर्न लगाई कुलमा भित्र्यइएको मानिन्छ ।
- त्यस्तै विवाहमा पनि स्वयम्बर वा ह्वंकेगु बेलामा नयाँ बुहारीको हातबाट दिगु द्यःलाई सुपारी अर्पण गरेपछि मात्रै अन्य परिवारलाई सुपारी दिने (ग्वे साय्गु) चलन छ ।
- देवाली पूजामा नयाँ बुहारीलाई स्वयम्बरको बेला अर्पणगरेको सुपारीसहित पानी छरी शुद्ध बनाई साँचो समात्न लगाई नकींले दिगू द्यः कहाँ भित्र्याई आफ्नो कुलमा प्रवेश गराएको मानिन्छ ।
स्यु काय्गु भ्वय्को रूपमा देवाली भोज
- देवाली पूजा गर्नेहरू कोही बोका वा हाँसको बलि दिने गर्दछन् भने कोही बलि नदिई हाँसको अण्डा मात्र चढाई पूजा गर्दछन् । बलि दिनेहरूको भोजमा बलि चढाएको बोका वा हाँसको टाउकोलाई घरका नाइकेहरूलाई स्यू प्रसादको रूपमा दिने हुँदा देवाली पूजाको भोजलाई स्यु काय् भ्वय् भनेर पनि भनिन्छ ।
- यदि देवाली पूजामा बोकाको बलि दिइए बोकाको टाउकोलाई निम्न आठ भागमा विभाजन गरी घरका नाइकेलगायत जेठो उमेरका आधारमा क्रमसँग बस्न लगाई घरको नकींले स्यु प्रसाद दिने गर्दछिन् ।
बोकाको टाउकोको आठ भागमा निम्न अङ्ग पर्दछ—
१) आँखासमेत पर्ने गरी दायाँ र बायाँ सिङ : २ भाग
२) दायाँ र बायाँ कान : २ भाग
३) नाक (थुतुनो) : १ भाग
४) जिब्रो : १ भाग
५) दायाँ र बायाँ बङ्गाराः २ भाग
- कुनै कुनै समुदायमा बोकाको पुच्छरलाई पनि १ भाग स्यु मानी घरको नकींलाई दिने चलन सुनिन्छ ।
- यदि हाँसमात्र बलि दिइए हाँसको टाउको घरको मूली एकै जनालाई मात्र स्यु प्रसाद दिइन्छ ।
दिगु द्यः को सरुवा र बढुवा
- आजको भक्तपुर शहर व्यवस्थित र घनाबस्तीको शहर बनेको छ । पहिले पहिले शहर बाहिर छरिएर बसेका नेवारहरू विस्तारै बस्ती सर्दै शहरतिर आएको हुनुपर्दछ । शहरतिर सरुवा हुनु अघि सुरुकै बस्तीमा देवाली देवता स्थापनाको कारणले पनि कसै कसैको दिगु द्यः शहर बाहिर हुन गएको हुन सक्छ । त्यसैले दिगु द्यः को वासस्थान विभिन्न ठाउँमा पाइन्छ । कसैको दिगु द्यः चौरमा, कसैको पीठहरूको आसपासमा, कसैको जङ्गलमा, कसैको पोखरी किनारामा रहेको पाइन्छ ।
- बाटो, रिसोर्ट, ढल, कुलो, खेलमैदान, उद्योग धन्दाको निर्माणले गर्दा पनि धेरैजसोको दिगु द्यः पुरिएको हराएको, फालिएको पाइएको छ । कसै कसैले आफ्नो दिगु द्यःलाई आफ्नो सुविधाअनुसार नयाँ ठाउँमा सार्नेहरू पनि देखिन्छ । उदाहरणको रूपमा सिद्धपोखरी किनारमा दिगु द्यः सरुवा बढुवा गर्नेहरू धेरै देखिन्छन् ।
- यहाँनिर डा. रोशन श्रेष्ठज्यूको ‘दिगु पूजा छु ख ? दिगु पूजा छाय् यायगु ?’ लेख सान्दर्भिक हुँदा सानो अंश प्रस्तुत छ – ‘सांगाको शिवमूर्ति रिसोर्ट निर्माणमा केही नेवारहरूको दिगु द्यः भएको सामूहिक जग्गा पर्न गएको छ । मूर्ति स्थापना गर्ने कुरा दिगु द्यः पर्नेहरू कतिलाई थाहा नै भएन, कतिले ध्यानै दिएन र रोक्न खोजिएन, त्यहाँका स्थानीयवासीले पनि बनाए हुन्छ भनी प्रोत्साहन दिँदा जग्गा प्राप्त गर्ने आप्रवासी मारवाडीले सित्तैमा पर्ती जग्गाको रूपमा पाए र मूर्ति स्थापना गरे । जसले गर्दा दिगु द्यः पर्नेहरू असहज वातावरणका कारण त्यहाँ देवाली पूजा गर्न छाडेका छन् । महादेवको मूर्ति बनाउन दिँदा पनि आफ्नो बुबाको अनुहार आउने गरी मूर्ति बनाउन दिएको भन्ने रोचक भनाइ सुन्न पाइन्छ । पछि यहाँ सस्तोमा धेरै जग्गा किनी रिसोर्ट निर्माण गरी व्यापारको स्रोत बनाउन सफल भएको व्यहोरा बुझिन्छ । यस्तै यस्तै अनेक प्रकारका बिघ्न बाधाहरूले गर्दा पनि हाम्रो कुल संस्कृति र कुल संस्कार नासिदै जाने हुन्छ । अझै पनि देवाली मनाउन नहुनेहरूलाई आफन्तहरूले ‘स्वं व्यू वानेगु’ भन्दै ‘चतामरी’ र प्रसाद लाने गरेका छन् ।
- देवाली पूजा मनाउँदैमा कुल संस्कृति र कुल संस्कारमा निरन्तरता आउँछ भन्नु पनि अनुसन्धानको विषय हो । जबसम्म कुल संस्कृति र कुल संस्कारको महत्व र चेतना पछिल्लो पिँढीलाई जगाउन नसकेसम्म यसले निरन्तरता पाउँछ भन्नुमा शङ्का लाग्छ ।
सहयोगी ग्रन्थहरू
१) डा. रोशन श्रेष्ठ : दिगुपूजा छु ख ? दिगु पूजा छाय् यायगु – फेसबुकमा प्रकाशित
२) हरिशरण राजोपाध्याय, २०७४, नेवा संस्कृतिमा घोत्लिंदा : नेपाल साहित्य मन्दिर, भक्तपुर
(लेखक शाक्य पाठ्यक्रम तथा मूल्याङ्कन पद्धति विज्ञ एवं प्राध्यापक हुन् ।)
स्रोतः ख्वपको पहिचान (भाग–२)