तन्त्रप्रधान धर्मले अनुप्रमाणित नेपाली संस्कृति प्रतीकवादी छ । यस कुराका असङ्ख्य उदाहरण छन् । तीमध्येको एउटा उदाहरण नेवार कृषक वर्गका महिलाहरूमा प्राचीनकालदेखि प्रयोगमा आइरहेको ‘हाकुपटासी’ पनि हो । कालो फरियालाई नेवारीमा ‘हाकुपटासी’ भनिन्छ । परम्परागत नेपाली हस्तकला उद्योगका प्राचीन उत्पादनमध्ये एक ‘हाकुपटासी’ पनि हो ।
‘हाकुपटासी’ नेपालका नेवार ज्यापुनीहरुको पहिचान हो । नेपाली संस्कृतिको यो निधिले पनि नेपाललाई संसारसामु चिनाएको छ वा भनौँ आज संसारले नेपाललाई सम्झने एउटा चिनो यो ‘हाकुपटासी’ पनि भएको छ । रातो र कालोको यो मेल तन्त्रका दृष्टिले प्रतीकवादी मान्न सकिन्छ । तन्त्रको साझा प्रयोग शैव र बौद्ध धर्ममा प्राचीनकालदेखि नै हुँदै आएको छ ।
सुन्दर, शान्त र सौम्य रूपका शिव/बुद्ध तान्त्रिक संसारमा उग्र रूपका महाकाल हुनपुग्छन् । कालो रङ्गलाई साझा रूपमा शैव तन्त्र र तान्त्रिक बौद्ध धर्म वज्रयानले उत्तिकै महत्वका साथ प्रयोगमा ल्याएको विदित हुन्छ । ‘हाकुपटासी’ को कालो रङ्गलाई शैव र बौद्ध दुवैले साझा रूपले मान्दै आएको महाकालको अनुभूति हुन्छ । अनि ‘हाकुपटासी’ को रातो किनारले महाकालका शक्ति महाकालीलाई स्मरण गराउँछ । तन्त्रधान शक्ति परम्परामा रातो रङ्ग शक्तिको प्रतीक रही आएको छ ।
उत्पादक जाति
‘हाकुपटासी’ का उत्पादक जाति ज्यापू वर्गका हुन् । उनीहरू यहाँका रैथाने हुन् । उनीहरू आत्मनिर्भर, मेहनती र स्वावलम्बी वर्ग हुन् । नेपाल– उपत्यकामा मिश्रित रूपको प्रतीकवादी तन्त्रप्रधान धर्म संस्कृति ईस्वीको सातौं शताब्दीदेखि लोकप्रिय हुँदै आएको देखिन्छ । त्यसको प्रभाव यहाँको सांस्कृतिक जीवनका अनेक पक्षसँगै पहिरनमा पनि परेको दृष्टिगोचर हुन्छ । यताबाट ‘हाकुपटासी’ को प्रचलन सोही समयदेखि चलेर आएको अनुमान हुन्छ । ‘हाकुपटासी’ यहाँको मौलिक पहिरन हो, मौलिक उत्पादन हो ।
कच्चा पदार्थ
सूती, रङ, रेशम आदि ‘हाकुपटासी’ बनाउनका लागि चाहिने कच्चा पदार्थ हुन् । यी वस्तुहरू पहिले आसपासका प्रदेशहरुबाट प्राप्त गरिन्थ्यो भने आजभोलि भारतबाट ल्याइन्छ । कच्चा पदार्थ प्राप्तिमा भाउ निरन्तर बढिरहने हुँदा समस्या रहेको कुरा यो पेशामा लागेका उत्पादनकताहरू बताउँछन् ।
आवश्यक औजारहरू
‘हाकुपटासी’ बनाउनका लागि चाहिने परम्परागत आवश्यक औजारहरू हाते– तान (ताङ्), चर्खा (न्या), फेलु (धागो बेर्ने), तुकी आदि हुन् । भक्तपुरमा यस्ता औजारहरू हरेक किसानका घरमा हुन्थे । उनीहरू आफ्नो लागि चाहिने लुगा आफै बुनेर तयार पार्छन् ।
उत्पादनमा संलग्न जनशक्ति
‘हाकुपटासी’ को उत्पादनमा महिला जनशक्तिको भूमिका उल्लेख्य रहेको पाइन्छ । यसको निमित्त चाहिने कच्चा पदार्थ ल्याउने काममा पुरुषहरु लागेको पाइन्छ । उत्पादनको काममा महिलाहरू नै अग्रपङ्क्तिमा आउँछन् । तर पुरुषहरू पनि कम छैनन् । यो काम पारिवारिक ढङ्गले चली आएको देखिन्छ ।
कलाको वर्तमान स्थिति
समाजमा धेरै परिवर्तन आएको छ । पुराना पुस्ताले फाट्टफट्ट लगाएको देखिए तापनि नयाँ पुस्ताले ‘हाकुपटासी’ लगाउन छाडिसकेका छन् । यो ‘हाकुपटासी’ अब सांस्कृतिक पहिचान भएर धार्मिक एवं सांस्कृतिक उत्सवका शोभामा सीमित हुनपुगेको देखिन्छ । तर, यही कुरा पनि वर्तमानमा विशेष महत्वपूर्ण हुन आएको छ भन्ने कुरालाई बिर्सनु हुन्न । किनकि धार्मिक सांस्कृतिक उत्सवताका नयाँ सफा र सुकिलो ‘हाकुपटासी’ लाएर सामाजिक एवं सांस्कृतिक उत्सवमा भाग लिनु गौरवको कुरा भएको छ ।
उनीहरूले यसको महत्वलाई बुझेका छन् । यसको उत्पादनको गुणस्तर राम्रो रहेको कुरा यसका उत्पादनहरू बताउँछन् । हाकु पटासीका एक उत्पादनकर्ता कृष्ण वनाद्यः का अनुसार स्थानीय बजारमा यसको माग धेरै कम छ । भक्तपुरका लागि मात्र उत्पादन गर्ने हो भने त अब हाकु पटासी नबनाए पनि हुन्छ तर यसको माग बाहिरको बजारमा छ । विदेशी पर्यटकहरू पनि यसका ग्राहक बनेका छन् ।
हाकु पटासीका अर्का उत्पादनकर्ता सत्यमाया शिल्पकार यसरी सुनाउँछिन्, ‘पहिलेको तुलनामा धेरै कम छ । पर्यटकीय दृष्टिले भने यसको माग र महत्व बढेको छ । पाटनका किसानहरू पनि हामीले बनाएका हाकु पटासी लाउँछन् ।’ कृष्ण वखाद्यः थप्छन्, ‘हाकु पटासीकै शैलीका कुर्ता, पाइन्ट पनि आजकाल चलेको छ । अनि अचम्मको कुरा छ हाम्रा दिदी बहिनी छोरी, नातिनीहरू विदेशी महिलाहरू भने हाम्रा हाकु पटासी लगाएर मख्ख पर्छन् । यसैले हाकु पटासी आजकाल विदेशतिर सप्लाई हुन्छ ।’
स्रोत व्यक्तिहरु
सत्यमाया शिल्पकार (५५), तेखापु, बडा नं.३ कृष्ण बखाद्यः (५८) डोकछेँ वडा नं. २, भक्तपुर
स्रोतः ख्वपको पहिचान (भाग–१)