भक्तपुर देशको राजधानी काठमाडौँसँग जोडिएको एक सांस्कृतिक नगर हो । बाग्मती प्रदेशको भक्तपुर जिल्लाको चार नगरपालिकामा एक भक्तपुर नगरपालिका काठमाडौँबाट १५ कि.मि. पूर्वमा पर्छ । यो नगर समुद्री सतहबाट १३३१ मिटर अर्थात ४३६९ फिट उचाइमा अवस्थित छ । यो नगरको पूर्व र उत्तरमा चाँगुनारायण नगरपालिका, दक्षिणमा सूर्यविनायक नगरपालिका र पश्चिममा मध्यपुर थिमि नगरपालिका रहेको छ । यो नगर ६.८८ वर्ग कि.मि. वा कुल ६९२२ रोपनीमा फैलिएको छ । यस नगरमा ९० प्रतिशतभन्दा बढी नेवार र अन्य ब्राह्मण, क्षेत्री, मुस्लिम र अन्य जातिहरू बासोबास गर्दछन् । वि.सं. २०६८ सालको जनगणनाअनुसार भक्तपुर नगरको जनसङ्ख्या ८१,७४८ रहेको छ । यहाँ रहेका विश्व प्रसिद्ध ५५ झ्याल दरबार, सुनको ढोका, ५ तले मन्दिरलगायतका सम्पदाहरूको संरक्षणार्थ युनेस्कोले यस सांस्कृतिक नगरलाई सन् १९७९ मा विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । जुजु धौ, भादगाउँले कालो टोपी, ताईचिन चिउरा, माटाका भाँडा, काष्ठकलाका सामान आदि हस्तकला आदिले भक्तपुर नगरको मौलिक परिचय र विशेषता झल्काइरहेका छन् ।
नेपालभाषामा ख्वप भनिने भक्तपुरलाई माखोप्रिङ, खोपृङका साथै भक्तपुरमहानगर, भक्तग्राम, भगतपुर, भादगाउँ, प्रचलित नाम बनेको छ । नेपालको लिखित इतिहास भक्तपुरबाट नै आरम्भ हुन्छ । हालसम्मको सबैभन्दा प्राचीन लिखित इतिहास लिच्छवि राजा मानदेवको चाँगुको स्तम्भ अभिलेख हो । यस्तै ऐतिहासिक प्रमाणको आधारमा भक्तपुर नगरको स्थापना सर्वप्रथम आठौँ शताब्दीमा लिच्छवि राजा आनन्ददेवले गरेको हो । लिच्छवि राजा आनन्ददेवदेखि १५ औँ शताब्दीका मल्ल राजा यक्ष मल्लसम्म भक्तपुर नेपालमण्डलको राजधानी थियो । राजा यक्ष मल्लपछि विभाजित नेपालमण्डलमा एक स्वतन्त्र राज्यको रूपमा १८ औँ शताब्दीसम्म यहाँ राय मल्ल, भूवन मल्ल, विश्वमल्ल, त्रैलोक्य मल्ल, जगज्योति मल्ल, नरेश मल्ल, जगतप्रकाश मल्ल, जितामित्र मल्ल, भूपतीन्द्र मल्ल र रणजित मल्लले शासन गरेको इतिहास छ । यक्ष मल्लदेखि रणजित मल्लसम्मको समय भक्तपुरको स्वर्णकाल भनिन्छ । यही समयभित्र भक्तपुरले विश्व प्रसिद्ध ५५ झ्याले दरबार, सुनको ढोका, दत्तात्रय मन्दिर, ५ तले मन्दिर, भैरवनाथ मन्दिर, भीमसेन मन्दिर, सिंहध्वाका दरबार जस्ता असङ्ख्य सम्पदाले मात्र सजिएनन्, वर्षभरी मनाउने विभिन्न जात्रा, चाडपर्व, परम्परा, बाजागाजा, नाच, गीतले युक्त दाफाभजन आदिले भक्तपुर विश्वकै लागि एक सांस्कृतिक नगर बन्यो ।
वि.सं. १८२६ कार्तिकमा गोरखाका राजा पृथ्वीनारायण शाहले जितेपछि नेपालमा गाभिएको यो नगर काठमाडौँ उपत्यकाका तीनमा एक प्रमुख नगर रहँदै आएको छ । भक्तपुर नगरका मूर्त सम्पदाहरू संसारभर प्रसिद्ध छ । भक्तपुर नगर आफैमा सम्पदास्थल हो । भक्तहरूको नगर नामकरण पछाडि यहाँ प्रशस्त मन्दिर तथा देवदेवीहरू हुनु आफैमा बोधजन्य विषय हो । भनिन्छ, यहाँ जति घर थिए, त्यति नै मन्दिर थिए । जति मानिस थिए, त्यति नै देवदेवी थिए । यसबाट यहाँ प्रशस्त मठमन्दिर, देवालय, शिवालय रहेको ज्ञात हुन्छ । त्यसमा पनि तलेजु भवानीको मूल मन्दिर, सिद्धिलक्ष्मीको ५ तले मन्दिर, सिद्धिलक्ष्मीको ढुङ्गे मन्दिर, वत्सला मन्दिर, भैरवनाथको मन्दिर, भीमसेनको मन्दिर, दत्तात्रय मन्दिर, यक्षेश्वर महादेवको मन्दिर, सिलु महादेवको मन्दिर, चारधामका मन्दिरलगायत नगरभरि करिब २८५ ओटा साना ठूला मन्दिरहरू छन । जसमा छाने, शिखर, गुम्बज छानारहित, शैलीका छन् ।
त्यस्तै बौद्ध धर्मसित सम्बन्धित १९ ओटा वही तथा विहारहरू रहेको भए तापनि हाल ९ ओटा विहार र ४ ओटा बहीहरू मात्र अस्तित्वमा छन् । यो नगरमा ५० भन्दा बढी पोखरीहरू रहेकोमा हाल ३६ ओटा पोखरीहरू अस्तित्वमा छन् । त्यस्तै नगरभरी ३७ ओटा सत्तल, १९ ओटा मठ, २५६ ओटा पाटी, १५२ ओटा इनार, ७७ ओटा ढुङ्गेधारा, ७ ओटा बाहा, १० ओटा महाविद्या, ९ ओटा पीठ, ४ ओटा दरबार, २ ओटा इटाचपली, १२ ओटा ढोका, ३ ओटा कुण्ड, १० ओटा दबुलगायत प्रशस्त अन्य सम्पदाहरूले यो नगर धनी छ ।
राजधानीबाट १३ कि.मि. पूर्व हनुमन्ते खोलाको किनारमा बसेको भक्तपुरलाई धार्मिक, सांस्कृतिक र ऐतिहासिक शहर मानिन्छ । किराँतकालमै खोप्रिङ नामले बस्ती बसिसकेको यो नगर लिच्छविकालमा आइपुग्दा यहाँका नेवारहरूबीच ख्वप नामले प्रसिद्ध भइसकेको थियो । यद्यपि भक्तपुरलाई यही नामले चिनिँदै आएको छ । मल्लकालको पूर्वाद्धमा करिब २०० वर्ष जति बृहत् नेपालमण्डलकै राजधानी रहेको भक्तपुरमा कुनै बेला बङ्गालका सुल्तान शमसुदिल इलियास, पश्चिमका खस मल्ल राजाहरू तथा दक्षिण पूर्वका सिम्रौनगढका कर्णाटक राजाहरूले गरेका आक्रमणहरू इतिहास साक्षी छ । यस्ता आक्रमणहरूबाट जोगाउन भक्तपुर शहरलाई बृहत् नेपालमण्डलका अन्तिम शासक यक्ष मल्लले अग्ला अग्ला पर्खालले घेरी चारैतिर ढोका राखी नगरलाई सुरक्षित बनाएको भक्तपुर लायकुस्थित सुनको ढोकामा राखिएको अभिलेखबाट थाहा हुन्छ ।
भक्तपुरमा यक्ष मल्लपछि राज्य गर्ने रणजित मल्लसम्मका कलाप्रेमी राजाहरू तथा हरेक विधामा निपुण भक्तपुरवासीहरूका कारण यो नगर विश्वकै एक अनुपम नगरमा पर्दछ । यहाँ ठाउँ ठाउँमा बनेका मठमन्दिर, देवालय, शिवालय, दरबार, सत्तल, पाटीपौवा, ढुङ्गेधारा, पोखरी, डबलीजस्ता सम्पदाहरू तथा दैनिक जनजीवनकै रहनसहन देखि जात्रा, नाचगान, पूजापर्व आदिले यो नगर जीवन्त सांस्कृतिक नगर बनेको छ । भक्तपुर शहरको ५५ झ्याले दरबार एउटा मात्र देखेका विद्वान् इ. ए. पावेलले भक्तपुरको तुलना आधा विश्वसँग गरेका छन् भने इटालियन पादरीहरूले यो नगरका तुलना युरोपको एक विकसित नगर रोमसँग गरेका छन् । विद्वान् जगदीश शमशेरले भक्तपुरलाई नाचगानको राजधानीको संज्ञा दिनुभएको छ । तसर्थ यो नगर आन्तरिक एवम् बाह्य पर्यटकहरूको लागि एउटा हेर्नुपर्ने गन्तव्य स्थल बनेको छ । प्रस्तुत प्रसङ्गमा भक्तपुर नगरको १० वडामा भएका महत्वपूर्ण धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यकीय स्थलको जानकारी प्रस्तुत छन् ।
वडा नं. १ को सम्पदाको विवरण
मन्दिर ९ ओटा, पोखरी ४ ओटा, ढुङ्गेधारा ९ ओटा, पाटी २९ ओटा, द्यःछें १ ओटा, कुण्ड १ ओटा, सत्तल १ ओटा, बही २ ओटा, चैत्य १४ ओटा, ढोका ६ ओटा, इनार १२ ओटा ।
प्रमुख सम्पदाहरू
सिद्धपोखरी, न्हु पोखरी, भार्वाचो ढोका, भाज्या पोखरी, नः पोखरी, थथुबही, कुथुबही, चोंगा गणेश मन्दिर, असंग हिति ।
वडा नं. २ का सम्पदाको विवरण
मन्दिर १२ ओटा, चैत्य ३ ओटा, द्यःछें ३ ओटा, ढुङ्गेधारा १७ ओटा, पोखरी ६ ओटा इनार २६ ओटा, पाटी ३२ ओटा ।
प्रमुख सम्पदाहरू
इटाछेँ गणेश मन्दिर, इन्द्रायणी मन्दिर तथा द्यःछें, बालाखु गणेश मन्दिर, शिव मन्दिर, धवाहिति, कासानघाट, लश्क द्यः, खौमा ।
वडा नं. ३ का सम्पदाको विवरण
मन्दिर २९ ओटा, पोखरी ५ ओटा, ढुङ्गेधारा ८ ओटा, सत्तल ७ ओटा, इनार ४५ ओटा, बहा ७ ओटा, बही १ ओटा, चैत्य ३ ओटा, पाटी २३ ओटा, ढोका ५ ओटा आदि ।
प्रमुख सम्पदाहरू
तलेजु मन्दिरसहितको दरबार क्षेत्रका सम्पदाहरू, मुलाखु गणेश मन्दिर, मङ्गलेश्वर महादेव मन्दिर, बाराही द्यःछेँ, मङ्गलतीर्थ, सातबाहा आदि |
वडा नं. ४ का सम्पदाको विवरण
मन्दिर १७ ओटा, पाटी ३६ ओटा, चोक ७ ओटा, पोखरी २ ओटा, ढोका १ ओटा, ढुङ्गेधारा ५ ओटा इनार ५४ ओटा आदि ।
प्रमुख सम्पदाहरू
लक्ष्मीनरसिंह मन्दिर, जेठा गणेश मन्दिर, जङ्गम मठ, तालादम्फो, अखुंबाहा, इखालाखी मठ आदि ।
वडा नं. ५ सम्पदाको विवरण
मन्दिर ३६ ओटा, पाटी २३ ओटा, इनार ३७ ओटा, पोखरी ५ ओटा, विहार १ ओटा, सत्तल १७ ओटा, द्यःछेँ ५ ओटा, ढुङ्गेधारा ७ ओटा, आगंछेँ २ ओटा, मठ १ ओटा ।
प्रमुख सम्पदाहरू
ङातापोल, भैरवनाथ, तीलमाधव नारायण चोकका सम्पदाहरू, तुलाछेँ क्षेत्रका सम्पदाहरू, सुकुलढोका मठ, चण्डेश्वरी मन्दिर आदि ।
वडा नं. ६ का सम्पदाको विवरण
मन्दिर २२ ओटा, द्यःछेँ ६ ओटा, आगँ छेँ ३ ओटा, सत्तल ४ ओटा, दबु ३ ओटा, पोखरी २ ओटा, ढुङ्गेधारा ११ ओटा, इनार २७ ओटा, कुवा १ ओटा आदि ।
प्रमुख सम्पदाहरू
महाकाली पीठ परिसर, भोलाछेँ पोखरी, सुन्दर गोपाल मन्दिर, नवदुर्गाको बकत बनाउने ः घर, याछें गणेश मन्दिर, विश्वकर्मा आगंछेँ (टेराकोटा) आदि ।
वडा नं. ७ का सम्पदाको विवरण
मन्दिर १५ ओटा, पोखरी ४ ओटा, बही १ ओटा, सत्तल ११ ओटा, बिहार २ ओटा, द्यःछेँ ३ ओटा, कुवा २ ओटा, ढुङ्गेधारा १० ओटा, चैत्य ५ ओटा, मस्जिद १ ओटा, पोखरी ४ ओटा, पाटी ४३ ओटा आदि ।
प्रमुख सम्पदाहरू
हनुमानघाट परिसरका सम्पदाहरू, गोल्मढी धारा, भौरवही, मुनिविहार, इन्द्रवर्णी महाविहार, स्वंग ल्वँ ह, चोर्चा गणेश मन्दिर, जामे मस्जिद आदि ।
वडा नं. ८ का सम्पदाको विवरण
मन्दिर १४ ओटा, ढुङ्गेधारा ४ ओटा इनार १० ओटा, पाटी १४ ओटा, पोखरी १ ओटा
प्रमुख सम्पदाहरू
माहेश्वरी पीठ, मचो भैरव मन्दिर, पुखुचा पोखरी, जेलाँ नास द्यः, वाँचु त्व आदि ।
वडा नं. ९ का सम्पदाको विवरण
मन्दिर २४ ओटा, सत्तल ३ ओटा, द्यः छेँ ५ ओटा, पोखरी ३ ओटा, विहार १ ओटा, चैत्य ११ ओटा, मठ १२ ओटा, कुण्ड २ ओटा, ढुङ्गेधारा १३ ओटा, इनार १६ ओटा ।
प्रमुख सम्पदाहरू
तचपाल क्षेत्रका सम्पदाहरू, वाकुपति नारायण चोकका सम्पदाहरू, च्याम्हासिंह पोखरी आदि ।
वडा नं. १० का सम्पदाको विवरण
मन्दिर १३ ओटा, द्यः छें २ ओटा पोखरी ८ ओटा, पाटी २९ ओटा, चैत्य ११ ओटा, कुवा २ ओटा, इनार ६ ओटा, सत्तल ६ ओटा आदि ।
प्रमुख सम्पदाहरू
कमलविनायक पोखरी, नवदुर्गा द्यःछेँ, महालक्ष्मी पीठ, प्रसन्नशील महाविहार, नागपोखरी आदि ।
महत्वपूर्ण सम्पदाहरू
तः पुखु (सिद्धपोखरी), इनागः, वडा नं. १
भक्तपुर नगरमा रहेका तीन दर्जनभन्दा बढी पोखरीहरूमा आकारमा सबैभन्दा ठूलो पोखरी सिद्धपोखरी हो । भक्तपुर नगर वडा १ इनागः मा रहेको यो पोखरीलाई तःपुखु पनि भनिन्छ । आफै सिद्ध भएको हुँदा सिद्धपोखरी पनि भनिन्छ । यो पोखरीको निर्माण ने.सं. २३९ मा राजा इन्द्रदेवले गरेको इतिहासमा उल्लेख छ । त्यसकारण यस पोखरीलाई इन्द्रदह पनि भन्ने चलन छ । यहाँ इन्द्रजात्रा र दशैंको छैटौं दिन ठूलो मेला लाग्छ । चारैतिर ठूल ठूला ढोकासहितको पर्खालले अति व्यवस्थित तरिकाले यो पोखरीको निर्माण भएको छ । भीमसेन थापाको समयदेखि यहाँ माछा पाल्ने चलन अहिले पनि निरन्तर चलिआएको छ । हाल यो पोखरी आन्तरिक एवम् वाह्य पर्यटकहरूको लागि मनोरमस्थल बन्दै आएको छ । (विस्तृत लेखको लागि हेर्नुस ः १. पोखरीहरूको राजा सिद्ध पोखरी, ‘राजधानी’ दैनिक, वि.सं. २०६० वैशाख २८ २. पोखरीहरूको शहर भक्तपुर – ‘भक्तपुर’ मासिक अङ्क २८०
न्हु पुखु (रानी पोखरी), मुपुज्व, वडा नं. १
भक्तपुर नगरको पश्चिममा रहेको सल्लाघारी वनभित्र यो पोखरी रहेको छ । राजा जगज्योति मल्लले नेपाल संवत् ७५१ मा बनाउन लगाएको यो पोखरी सिद्धपोखरी र नः पोखरीभन्दा नयाँ भएकोले न्हु पुखु अर्थात् नयाँ पोखरी भनियो । तर, रानीजस्तै चिटिक्क परेको हुँदा रानी पोखरीले प्रख्यात भयो । पोखरीको बीचमा सुनको कलात्मक नाग राखी चारैतिर सत्तल, पाटी तथा बगैँचा भएको यो पोखरी एकताका काठमाडौं भक्तपुर र पाटनकै सबैभन्दा सुन्दर पोखरी थियो । यो पोखरीको सुन्दरताबाट डाहा भई नेपाल संवत् ७७८ मा कान्तिपुरका राजा प्रताप मल्लले यहाँ आक्रमण गरी यहाँका बहुमूल्य कलाकृति लुटिलगेको इतिहासमा उल्लेख छ । यो पोखरीको डिलमा नेवारहरूको प्रशस्त दिगु द्यः इष्टदेवता स्थापना गरिएका छन् । लामो समय खण्डहर बनेको यो पोखरीको हालसालै भक्तपुर नगरपालिकाले पुनः निर्माण गरेको छ । (विस्तृत विवरणको लागि हेर्नुस्, संरक्षणको पर्खाइमा रानी पोखरी, ‘भक्तपुर’ मासिक अङ्क २३९)
भाज्या पुखु इनागः, वडा नं. १
भक्तपुर नगरको वडा नं. १ इनागः मा रहेको अर्को चर्चित पोखरीको नाम भाज्या पुखु हो । भाजु कस नामका एकजना प्रभावशाली व्यक्तिले बनाउन लगाएको यो पोखरी भाजुया पुखु हुँदै भाज्या पुखु बनेको हो र अचेल भाजु पोखरीले बढी प्रख्यात छ । कहावतअनुसार सिद्धपोखरीलाई सुकाउन यो पोखरी बनाउन लगाएको तथा रानीलाई खुशी पार्न एक रातमै बनाएको भनिए तापनि पोखरी अति व्यवस्थित एवम् मनोरम ढङ्गले बनेको देखिन्छ । पोखरीको बीचमा जलेश्वर महादेवको मन्दिर भएको अति आर्कषक यो पोखरी भक्तपुर नगरपालिकाले पुनः पुरानै स्वरूपमा पुनर्निर्माण गरिँदै छ । यो पोखरीको वरपर नेवारहरूको प्रशस्त दिगु द्यः रहेका छन् । (विस्तृत विवरणको लागि हेर्नुस्, भाजुकस तथा भाजु पोखरीको इतिहास, ‘भक्तपुर’ मासिक अङ्क २५६)
जयकीर्ति विहार (थ बही), इटाछेँ, वडा नं. १
भक्तपुर नगरको विभिन्न बौद्ध विहारमा जयकीर्ति विहार पनि एक हो जुन थथुबहीको नामबाट प्रसिद्ध छ । यो विहार नःपोखरीको पश्चिमतर्फ रहेको छ । चारैतिर दुईतले भवन र बीचमा चोक रहेको यो बही माथिपट्टि रहेको हुँदा यसको नाम थथुबही रहन गएको हो । यहाँभित्र विभिन्न स्तुप, चैत्य रहेका छन् । हाल ज्ञान विजय नि.मा.वि. सञ्चालन हुँदै आएको यो बहीमा भक्तपुरका पाँचमध्ये एक दीपङ्कर बुद्धको भव्य मूर्ति रहेको छ । यो बही वरपर प्रत्येक वर्ष माघ १ गते सम्यक् दान गर्ने परम्परा चल्दै आएको छ । (विस्तृत विवरणको लागि–ख्वपया बाहाबही, पृष्ठ ६९–७२, प्रकाशक मैत्रेय युवा सङ्घ, ख्वप )
बौद्ध समकृत विहार (कुथुबही), मिनिबस पार्क, वडा नं. १
भक्तपुर नगरका प्रसिद्ध बौद्ध विहारमा बौद्ध समकृत विहार कुथुबही नामले चिनिन्छ । भक्तपुर वडा नं. १ मा अवस्थित यो विहार बौद्ध शिक्षाको लागि प्रसिद्ध छ । यहाँ भक्तपुरका पाँचमध्ये एक दीपङ्कर बुद्धको भव्य मूर्ति रहेको छ । यसको जात्रा हरेक वर्ष पञ्चदान र माघ १ गते हुन्छ । (विस्तृत विवरणको लागि– हेर्नुस्, ख्वपया बाहाबही, पृष्ठ ६५ – ६८, प्रकाशक मैत्रेय युवा सङ्घ, ख्वप )
निः पुखु (गुहय पोखरी), इटाछें, वडा नं. १
भक्तपुर नगरमा रहेका पोखरीहरूमा आकारमा सिद्धपोखरी पछिको अर्को ठूलो पोखरी नः पुखु हो । यो पोखरी इटाछें टोलमा रहेको छ । सिद्धपोखरीभन्दा ५० वर्षपछि अर्थात् नेपाल संवत् २८९ मा स्थापना भएको यो पोखरीलाई नवपोखरी भनियो । जुन पछि नपुखु हुन गयो । आधारातमा तान्त्रिक विधिबाट निर्माण भएको कारण यो पोखरीलाई गुह्य पोखरी पनि भनिन्छ । कुनै समय भक्तपुर नगर प्रवेश गर्दा यो पोखरीमा रहेको ढोका भई आउने जाने चलन थियो । पोखरीको पश्चिममा एउटा ढोका अहिले पनि रहेको छ भने पोखरीको पूर्व ढोकाको चिह्न स्वरूप टेपु ल्वँह देख्न सकिन्छ ।
चाेंगा गणेश मन्दिर, मुपुज्व, वडा नं. १
भक्तपुर नगरभित्र यत्रतत्र गणेशका प्रशस्त मन्दिरहरू देख्न सकिन्छ । त्यसमध्ये नगरको पश्चिम पुछारको थुम्कोमा रहेको चोंगा गणेशको मन्दिर एक रहेको छ । सल्लाघारीको जङ्गलभित्र रहेको मन्दिरमा एकतले दक्षिण फर्केको मन्दिरमा गणेशको मूर्ति रहेको छ । यहाँ सरस्वती, चैत्यलगायत नेवारहरूको प्रशस्त दिगु द्यः स्थापना गरिएका छन् । साथै पाटी, सत्तल, दबु ढुङ्गेधारा आदि रहेका छन् । नेवारहरूको विवाह, व्रतबन्ध, गुथिलगायतको ठूला भोजहरू सकेपछि चारौँ दिनमा यहाँ चतुर्थि पूजा गर्ने चलन छ । साथै नेवार समाजमा मिठो रक्सी÷जाँड बनाउन चोंगा गणेशको पूजा गर्ने चलन छ ।
असंग हिति. बजिगां, वडा नं. १
भक्तपुर नगरमा ठाउँ–ठाउँमा प्रशस्त ढुङ्गेधाराहरू छन् । यसमा पूर्व फर्केका नौटा ढुङ्गेधाराको ठूलो महत्व छ । यी धारामा हरेक वर्ष जनै पूर्णिमाको दिन मेला लाग्छ । पूर्व फर्केका यी नौओटा ढुङ्गेधारामा एक वडा नं. १ को इचाडोलमा रहेको असंग हिति पनि एक हो ।
इटाछेँ गणेश द्यःछेँ, इटाछेँ, वडा नं. २
भक्तपुर वडा नं २ इटाछेँस्थित यो द्यःछेँ मूल सडकमै रहेको छ । भक्तपुरमा रहेका प्रशस्त गणेशमा इटाछेँ गणेश नाचिरहेको मुद्राको अति सुन्दर तथा आकर्षक छ । यही गणेशको मन्दिरसँगै इटाछेँ गणेशको घर अर्थात द्यःछेँ रहेको छ । तीनतले यो द्यः छेँमा काष्ठकलाका अति राम्रो बुट्टा भएको ढोका, झ्याल, तोरण अनि टुँडालहरू रहेका छन् ।
इन्द्रायणी देवघर, खौमा, वडा नं. २
भक्तपुर राजदरबारबाट सबैभन्दा नजिकको दूरीमा स्थापित अष्टमातृकाको पीठ एवम् देवगृह इन्द्रायणी देवीको हो । इन्द्रायणी देवीको देवगृह खौमा टोलमा अवस्थित छ । यस देवगृहको निर्माणकर्ता वा निर्माणका बारे बताउने स्रोतको अभाव छ । लिच्छवि राजा आनन्ददेवले विक्रमको नवौँ शताब्दीतिर भक्तपुर नगर स्थापना गर्दा नै मध्यभागमा भैरव चारैतिर नगरबाहिर अष्टमातृकाको पीठ र नगरभित्र देवघर बनाएको भाषावंशावलीमा उल्लेख छ । सम्भवतः इन्द्रायणी देवीको देवघर त्यस समयमा नै निर्माण भएको हुनुपर्छ र मल्लकालमा पटक पटक पुनर्निर्माण हुने क्रममा अन्तिम पटक राणाकालमा भएको देखिन्छ ।
इन्द्रायणी पीठ, खौमा, वडा नं. २
भक्तपुर नगरको पश्चिमतर्फको पीठ इन्द्रायणी पीठ हो । जुन खौमा टोलबाट केही दूरी उत्तरतिर अवस्थित छ । भक्तपुर नगरको मध्य भागमा भैरव र चारैतिर अष्टमातृका देवीको पीठसहित भक्तपुर नगर स्थापना गर्ने क्रममा यस पीठ देवीको स्थापना गरेको भाषा वंशावलीमा उल्लेख छ । खुला रूपमा स्थापित यस पीठ देवीको अग्रभागमा एक जोडा सिंह ने.सं. ७९१ तिर राजा जगतप्रकाश मल्लको पालामा स्थापना भएको देखिन्छ । पीठ वरपरका सत्तल पाटीहरू १७ – १८ औं शताब्दीतिर निर्माण भएको त्यहाँस्थित शिलापत्रहरूबाट थाहा हुन्छ ।
खौमा बाहा, खौमा, वडा नं. २
भक्तपुरका राजाहरूमध्ये राजा भुवन मल्लका प्राण मल्ल र जित मल्ल नामका दुई छोराहरू भएकोमा शुरूमा दुवैको संयुक्त शासन चल्यो । पछि जन्मले जेठो प्राण मल्ल भक्तपुरको राजा बने । भाइ जित मल्ललाई यही खौमा टोलमा क्वाथ बनाई क्वाथ नायक अर्थात् सेनापति बनाइ दिए । यसबेला नै निर्माण भएको यो क्वाथ अन्तिम मल्ल राजा रणजितको समयमा सात छोराहरूलाई एउटा एउटा बाहा निर्माण गरेताका बाहाको रूपमा विकास भएको देखिन्छ । तर पनि रणजित मल्लको अन्तिम समयसम्म पनि एउटा बलियो किल्ला रहेको तथ्य गोर्खाली सेनाले इटाछेँको ढोका खोल्न नसकेबाट थाहा हुन्छ । यस बाहाको बाह्य भागमा रहेका अति कलात्मक या तथा अन्य काष्ठकलाका वस्तुहरू र बाहाभित्रको चोक, इनार, ढुङ्गेधारा, नासद्यः लगायतका सम्पदाहरू महत्वपूर्ण सम्पत्ति हुन् । तर, अचेल यो बाहा सानो सानो भागमा खण्डित भई एक अर्कालाई बिक्री वितरण गर्ने तथा जथाभावी मर्मत गर्दा कुरूप हुँदै छ ।
लक्ष्मीनारायणको मन्दिर, खौमा, वडा नं. २
भक्तपुर लायकु राजदरबार नजिकको खौमाबाहाभन्दा पश्चिमतर्फ यो मन्दिर रहेको छ । छाने शैलीको दुई तले यो मन्दिरको स्थापना कसले कहिले गरेको हो स्पष्ट प्रमाणको अभाव भए तापनि मन्दिरको बनौट तथा उपयोग गरेका निर्माण सामग्री एवम् कलाकृतिको आधारमा यो मन्दिरको निर्माण १७ औं शताब्दीतिर भएको देखिन्छ । मन्दिरको सबैभन्दा ठूलो विषेशता यो मन्दिरको पहिलो तलामा रहेका टुँडालहरू हुन् । विभिन्न जनावरहरूको विभिन्न यौन आसनहरू अति सुन्दर ढङ्गले कुँदिएका टुँडालहरूको कारण प्रसिद्ध छ ।
धवा हिति, इन्द्रायणी पीठ, वडा नं. २
भक्तपुर नगरमा रहेका ढुङ्गेधाराहरूमा हालसम्म पनि निरन्तर पानी आइरहेको एक धारा धवा हिति हो । भक्तपुर वडा नं. २ को इन्द्रायणी पीठनेर रहेको यो धाराको निर्माण खौमा टोलका धवाहरूले गरेको कारण धाराको नाम नै धवा हिति बन्न पुगेको छ । बाटोभन्दा करिव २० फिट गहिराइमा रहेको यो धाराको संरचना लिच्छविकालीन धाराहरूसित धेरै मिल्दोजुल्दो छ । सधैँ सफा पानी आउने यो धारामा नुहाउने, लुगा धुनेहरूको घुँइचो लागेको हुन्छ । यहाँ जाडोमा तातो पानी र गर्मीमा चिसो पानी आउँछ ।
कासानघाट, ब्यासी, वडा नं. २
भक्तपुर नगरको उत्तरतर्फ भएर बग्ने खासाङ् खुसुङ् खोलाको किनारमा कासनघाट रहेको छ । भक्तपुर व्यासीबाट झौखेल जाने बाटोको पश्चिममा विभिन्न मन्दिर, ढुङ्गेधारा, पाटी, सत्तल सहितको शिवालय रहेको घाट हो ।
लश्क द्यः तापालाछी, वडा नं. २
भक्तपुर वडा नं. २ स्थित तपालाछीमा लश्क द्यः को भव्य अनि महत्वले भरिएको मन्दिर रहेको छ । लोकेश्वर देवताको सो मन्दिरलाई लश्क द्यः भनी अपभ्रंश रूपमा स्थानीयमा प्रख्यात छ । यो मन्दिरको निर्माण नेपालमा मच्छिन्द्रनाथको आगमनसित जोडिएर लिने चलन छ । लिच्छवि राजा नरेन्द्रदेवले काम रूप कामाख्या आसामबाट मच्छिन्द्रनाथलाई नेपाल ल्याएपछि राख्नलाई यो मन्दिर बनाउन लगाएका थिए । तर, पछि मच्छिन्द्रनाथ पाटनमै राख्ने भएपछि यहाँ लोकेश्वर देवता स्थापना भयो । जसलाई पछि लश्क द्यः भनियो । र हाल यो ठाँउकै नाम लश्क हुन गएको छ । तीन तले यो मन्दिर घरैघरसँग जोडिएर बनेको हुँदा त्यति प्रचारप्रसार हुन सकिरहेको छैन ।
५५ झ्याल दरबार, दरबार क्षेत्र, वडा नं. ३
विश्व प्रसिद्ध ५५ झ्याल दरबार राजा भूपतीन्द्र मल्लले भक्तपुर लायकुमा ने.सं. ८२८ तिर लगाउन लगाएको एक महत्वपूर्ण दरबार हो । यसमा रहेका ५५ ओटा काष्ठकलाले भरिएको झ्यालहरूको कारण दरबारको नामकरण नै ५५ झ्याले दरबार रहन गएको मानिन्छ । दरबारको दोस्रो तलाको भित्री गारोहरूमा विश्व रूप जसमा स्वयं भूपतीन्द्र मल्ल एवं उनकी रानी विश्वलक्ष्मीको मुखाकृतिलगायत अन्य धार्मिक, सांस्कृतिक, सामाजिक तथा दरबारी जीवन शैली झल्काउने भित्ते चित्रहरूको कारण यो दरबार विश्वकै लागि अनुपम उपहार मानेर प्रसिद्ध विद्वान् इ. ए. पावेलले यो दरबारको तुलना आधा विश्वसँग गरेका छन् । त्यस्तै दरबारको पहिलो तलामा हरेक स–साना सिङ्ख्वाको बीचमा कुँदिएको सङ्गीतका ८४ मुद्राहरूको कारण दरबारको महत्व अरू बढेको छ । एक नाले अङ्ग्रेजी अक्षर एल आकारको यो दरबारको संरचना एवं अहिलेसम्म भेटिएको मल्लकालीन वास्तुमा शौचालयसहितको पहिलो संरचना पनि ५५ झ्याल दरबार मात्र हो । तत्कनलीन समयमा निजी आवासभन्दा पनि पाहुनाको सत्कारको लागि यो दरबारको उपयोग भएको पाइन्छ । वि.सं. १९९० सालको भूकम्पपछि जीर्णोद्धार भएको यो दरबार पछिल्लो पटक २०५६ सालमा भक्तपुर नगरपालिका र पुरातत्व विभागको संयुक्त पहलमा मौलिक शैलीमा जीर्णोद्धार भएको छ । ( विवरणको लागि– १. विश्व रूप ५५ झ्याल दरबारको शान ‘भक्तपुर’ मासिक अङ्क २. प्राचीन भित्ताको कथा र व्यथा, ‘राजधानी’ दैनिक वि.सं. २०६० वैशाख ३ गते ३. नेपाली वास्तुकलाको नमुना ५५ झ्याले दरबार, वि.सं. २०६३ जेठ २० गते शनिबारीय परिशिस्टाङ्क)
यक्षेश्वर मन्दिर, दरबार क्षेत्र, वडा नं. ३
भक्तपुर दरबार क्षेत्रमा रहेका सम्पदाहरूमा तलेजु भवानी पछाडि पुरानो सम्पदामा यो मन्दिर पर्न आउँछ । सम्पूर्ण नेपालमण्डलको राजधानी भक्तपुर छँदा राजा यक्ष मल्लले आफ्नो दरबार अगाडि यो मन्दिर बनाउन लगाएको मानिन्छ । काठमाडौं देवपतनको पशुपतिनाथ मन्दिरकै प्रतीकको रूपमा यो मन्दिर स्थापना भएको कहावत सुन्न पाइन्छ । जुन मन्दिरको पहिलो तलाका टुँडालहरू काम कलाको दृष्टिकोणले उत्कृष्ट मानिन्छ । राजा यक्ष मल्लको मृत्युपछि उनका छोरा तथा अन्य नातेदार तथा भारदारहरूको गुथि बनाई ने.सं. ६०५ र ने.सं. ६०७ मा राखेका दुई स्वर्णपत्रहरू प्रमुख ऐतिहासिक पत्रहरू हुन् । वि.सं. १९९० सालको भूकम्पपछि तथा २०५५÷५६ सालतिर यो मन्दिरको जीर्णोद्धार भैसकेको छ । नेपाली छाने शैलीमा दुई तले यो मन्दिर भद्दा शैलीको मानिन्छ । काष्ठकलाका उत्कृष्ट टुँडालहरुबाहेक तामाको जलहरी, शालिग्रामहरू, दाची अप्पा, शिलाको चुतुर्मुखी शिवलिङ्ग, कलात्मक मल्लकालीन आँखी झ्याल तथा बडेमानका चारै दिशाका ढोकाहरू यो मन्दिरका महत्वपूर्ण सम्पदा हुन् ।
मूल चोक, दरबार क्षेत्र, वडा नं. ३
नेवार वास्तुकलामा चारैतिर द्वार वा सम्पदाले घेरी बीचको खुला स्थानलाई चोक भनिने सन्दर्भमा भक्तपुर दरबार क्षेत्रमा रहेको श्री तलेजु भवानी विराजमान हुनुभएको चोक मूल चोकले चिनिन्छ । तलेजु भवानी रहनुभएको यो स्थानमा विगतमा ९९ विभिन्न चोकहरू रहेको र त्यसमा श्री तलेजु भवानी विराजमान भएकै कारण यो चोक मूल चोकले प्रख्यात भएको हो । उत्कृष्ट काष्ठकला एवम् धातुकला र चित्रकला (भित्तेचित्र) आदिले यो चोक अत्यन्त महत्वपूर्ण छ । जहाँ उत्तराभिमुख दुई तले भवन सुनको छाना एवम् ११ ओटा सुनको गजुरले सुशोभित छ, त्यही भवन श्री तलेजु भवानीको मूल आगम घर हो । सुनको कलात्मक तोरण एवम् गङ्गा जमुनाको पूर्णकदको मूर्ति तथा स्वर्णपत्र यस आगम घरको मुख्य सम्पदा हो । सम्मुखको दक्षिणाभिमुख भवनको तल्लो तहको पाटी दलानभित्र भित्तेचित्र नष्ट प्रायः भैसकेको छ । दलान माथिको श्रीखण्डको झ्याल तथा नेपालको राजनैतिक, धार्मिक, सांस्कृतिक अवस्था झल्काउने ११ ओटा ताम्रपत्र अति महत्वपूर्ण छ । यो प्रवेश गर्ने पूर्वाभिमुखद्वारमाथि स्थापित काष्ठकलाको अनुपम तोरण तथा अन्य मूल चोक कलाकृति राजा जितामित्र मल्लले आफ्नो जन्मदिनको अवसरमा ने.सं. ८०३ मा बनाएको कीर्ति हो । त्यस्तै मूल चोकको पश्चिमतर्फको खण्डमा सुनको ११ ओटा गजुरसहितको अति भव्य कुमारी चोक छ भने दक्षिण पूर्वी खण्डमा भैरव चोक छ । वि.सं. १८२६ मा गोरखाली सेनाले छानामाथिबाट आक्रमण गर्दाको गोलीका डोब ठाउँ ठाउँमा देख्न सकिन्छ ।
रामेश्वर मन्दिर, दरबार क्षेत्र, वडा नं. ३
ने.सं. ५९३ मा राज परिवारकी एक दिवङ्गत महिलाको सम्झनामा भक्तपुर लायकुमा चारधाम स्थापनार्थ यस रामेश्वर वा केदारेश्वर मन्दिर निर्माण भएको हो । जुन पछि राजा भूपतीन्द्र मल्लको पालामा चार दिशामा चारओटा बर्जा निकाली एकादश रुद्रको मूर्तिसहित इँटै इँटाको मन्दिरको रूपमा विकास भयो । चारधाममध्ये एक धामको रूपमा यो मन्दिर प्रसिद्ध छ । वि.सं. १९९० सालको महाभूकम्पमा यसको गजुरको भागमा क्षति पुगेको र त्यसपश्चात् जीर्णोद्धार भएकोमा २०७२ सालको भूकम्पले पूरै मन्दिर क्षति पुगी पुनः निर्माण गरिएको छ ।
सिद्धि वत्सला मन्दिर, दरबार क्षेत्र, वडा नं. ३
भक्तपुर दरबार क्षेत्रको सबैभन्दा पुरानो ढुङ्गाको मन्दिर हो । जसको निर्माण ने.सं. ७९२ मा राजा जगतप्रकाश मल्लको पालामा गरिएको हो । शिखर शैलीमा ७ तह पेटीमाथि निर्मित यस मन्दिर दक्षिणाभिमुख भई प्रवेश मार्गमा प्रत्येक पेटीमा तलदेखि माथि क्रमशः बालकसहितको नारी तथा पुरुष, घोडा, गैंडा, नरमानव, उँट तथा देवदेवीका मूर्ति छन् भने मन्दिर बाहिर दुर्गाको अति राम्रा १४ मुर्तिहरू तथा चार दिशामा चार उड्न लागेका सिंहको आधा अग्रभागको मूर्ति, ढुङ्गाका कलात्मक थाम तथा तोरणले यो मन्दिर प्रसिद्ध छ । (विस्तृत विवरणको लागि– भक्तपुर दरबार क्षेत्रका वत्सला मन्दिहरू, ‘भक्तपुर’ मासिक अङ्क २१९)
सुनको धारा, दरबार क्षेत्र, वडा नं. ३
भक्तपुर तलेजुभित्रको सुनको धारा बनाउने श्रेय राजा जितामित्र मल्ललाई जान्छ । तलेजु भवानीलाई नित्य स्नान गराउन नगरकोट (गिरीराज पर्वत) को महादेव पोखरीदेखि कुलो खनी यो धारा ने.सं. ७९८ मा निर्माण गरेको अभिलेख प्रमाणले पुष्टि गर्छ । उच्च कोटीको धातुकला एवम् प्रस्तर कलाले यस धाराको महत्व प्रशस्त छ । (विस्तृत विवरणको लागि ख्वपया लुहिति, सन्ध्याटाइम्स)
ठूलोघण्टा, दरबार क्षेत्र, वडा नं. ३
श्री तलेजु भवानीलाई प्रीति गरी भक्तपुरका अन्तिम राजा रणजित मल्लले ने.सं. ८५७ मा उपत्यकाकै सबैभन्दा ठूलो घण्टा चढाएको त्यहीँको अभिलेखले स्पष्ट हुन्छ । भक्तपुर श्री तलेजु भवानीको दैनिक नित्य पूजाको क्रममा प्रत्येक दिन बिहान र साँझ गरी दुई पटक बजाउने चलन छ । साथै श्री तलेजु भवानीको विशेष पूजा पर्वमा समेत यो घण्टा बजाइन्छ । यो घण्टा तलेजुका पूजारी कर्माचार्यले मात्र बजाउन पाइन्छ । यो घण्टा बनाउनदेखि स्थापना गर्न ठूलो कष्ट परेको तत्कालीन घटनाक्रमले जनाउँछ । सफलतापूर्वक घण्टा स्थापनापछि भक्तपुरका सबै दाफाहरू खुशीयालीमा नाचगान र दाफा गाउन लगाएको इतिहास छ । (विस्तृत विवरणको लागि– भक्तपुरको तव गां, ‘भक्तपुर’ मासिक अङ्क २३१ )
सुनको ढोका, दरबार क्षेत्र, वडा नं. ३
भक्तपुर लायकुमा श्री तलेजु भवानी तथा अन्य विभिन्न ९९ चोक प्रवेश गर्ने मूलढोकाको रूपमा दरबार क्षेत्रको मध्य भागमा दक्षिणाभिमुख स्थापित सुनको ढोका कलाकारिता एवम् वैभवताको लागि संसारको प्रसिद्ध कीर्ति हो । जुन ने.सं. ८७२ मा तत्कालीन भक्तपुरका राजा रणजित मल्लको समयमा स्थापना गरेको ढोकाको दायाँबायाँ राखिएको स्वर्णपत्रको अभिलेखबाट पुष्टि हुन्छ । तर, भक्तपुर राज्यले यो सुनको ढोकाको लागि १०५ वर्षसम्म कुर्नुपरेको इतिहास पनि रोचक छ । सुनको ढोकाको परिकल्पना ने.सं. ७६७ मा तत्कालीन राजा नरेश मल्लले नै गरेको र त्यसको लागि पाटनबाट रतिकर, शुभाकर, करूणाकर नामका तीन जना नेवा शाक्यहरूलाई भक्तपुर बोलाई सुनको ढोकाको प्रतिमूर्ति मात्र बनाउन लगाएनन् बरु उनीहरूलाई स्थायी बासको लागि दरबार नजिकको खौमा बहासमेत उपलब्ध गराएका थिए । तर, त्यसको लागि आवश्यक सुन भक्तपुरका राजाहरूले उपलब्ध गराउन नसक्दा यत्रो लामो समय कुर्नुपयो । राजा रणजित मल्लको समयमा कुटी र केरूङको बाटो गरी भक्तपुरको तिब्बतसित राम्रो व्यापारबाट भएको फाइदाबाट ने.सं. ८७२ मा यो ढोका तयार भयो । मल्लकालमा उपत्यकाका तीन राज्यहरू बीच हरेक क्षेत्रमा प्रतिस्पर्धा भए तापनि मानिस नै आवतजावत गर्न मिल्ने एकमात्र सुनको ढोका भक्तपुर राज्यमा मात्र छ । (विस्तृत विवरणको लागि – १. भक्तपुरका ऐतिहासिक ढोकाहरू, ‘भक्तपुर’ मासिक अङ्क २८७ २. भक्तपुरको स्वर्णद्धार, ‘मतिना’ स्वला पौ)
नृत्य वत्सला, दरबार क्षेत्र, वडा नं. ३
भक्तपुर दरबार क्षेत्रको मध्य भागमा रहेको कृष्ण मन्दिर शैलीको ढुङ्गैढुङ्गाले बनेको यो मन्दिरको निर्माण ने.सं. ७९८ मा राजा जितामित्र मल्लको पालामा भएको हो । भक्तपुर दरबार क्षेत्रका त्रिवत्सलामध्ये नृत्यवत्सलाको रूपमा प्रख्यात छ । ढुङ्गाका अति राम्रा कला कृतिहरूको लागि यो मन्दिर प्रख्यात छ । पटक पटक जीर्णोद्धार हुँदै आए २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्ण क्षति भएको थियो । जसको भक्तपुर नपाले पुनःनिर्माण गरेको छ । (विस्तृत विवरणको लागि – भक्तपुर दरबार क्षेत्रका वत्सला मन्दिहरू, ‘भक्तपुर’ मासिक अङ्क २१९)
सिंहध्वाखा दरबार, दरबार क्षेत्र, वडा नं. ३
राजा भूपतीन्द्र मल्लले भक्तपुर लायकुको मध्य भागमा रहेको द लायकुको मध्य भागमा दक्षिणाभिमुख हुने गरी ने.सं. ८१८ मा बनाएको दरबारको मूलढोकाको वरपर एकजोडा बडेमाको सिंहको मूर्ति रहेको कारण सिंहध्वाखा दरबारबाट प्रसिद्ध छ । दरबारको भित्री भागमा रहेको मालती चोकको कारण मालती चोक दरबारले पनि चिनिन्छ । भक्तपुर लायकुको मध्य भागमा रहेको यो दरबार मल्ल राजाहरूको मुख्य बासस्थान पनि हो । वि.सं. १८९१ सालको भूकम्पले क्षति पु¥याएपछि अझ विशेष गरी राणा प्रधानमन्त्री जङ्गबहादुरको यूरोप भ्रमणपछि जीर्णोद्धारको क्रममा दरबारको पूर्व पट्टिको आधा भाग सेतो चुन बज्र आदिले यूरोपेली शैलीले बनाएपछि लाल बैठक दरबारले पनि चिन्न थाल्यो । २०१६ सालमा तत्कालीन प्र.म. विश्वेश्वरप्रसाद कोइरालाले राष्ट्रिय चित्रकला सङ्ग्रहालय स्थापना गरेपछि सङ्ग्रहालय भवनको रूपमा उपयोग हुँदै आएको छ । २०७२ वैशाख १२ को भूकम्पले नराम्रोसँग क्षति पुर्याएपछि पुनः मौलिक स्वरूपमा पुनः निर्माण हुनुपर्नेमा जनमतको चाहना छ ।
फसि देग, दरबार क्षेत्र, वडा नं. ३
मल्ल कालमै वर्तमान रसुवा जिल्लाको गोसाई कुण्ड एक प्रसिद्ध तीर्थ रहेको समयमा गोसाईकुण्डसम्म जान नसक्ने भक्तजनहरू यही नै दर्शन गर्ने साधनको रूपमा भक्तपुर दरबार क्षेत्रमा यो महादेव स्थापना गरिएको छ । पाँच विशाल पेटीमाथि स्थापित यो महादेव मन्दिरको निर्माण जितामित्र मल्लले गर्न लगाएको थियो । मन्दिर शिखर शैलीको भई लामो परेको हुनाले यो ‘ताहा देगः’ बाट चिनिन्छ । कहावतअनुसार कान्तिपुर, ललितपुर, भक्तपुरका तीन जना राजा गोसाई कुण्डमा महादेवको दर्शन गरी क्रमशः सुनको, तामाको र ढुङ्गाको साँढे चढाई कुण्डमा डुबुल्की मार्दा भक्तपुरका राजाले चढाएको ढुङ्गाको साँढे सबैभन्दा छिटो यही स्थानमा भक्तपुर पुगेको मानिन्छ । वि.सं. १९९० साल अगाडिसम्म चारैतर्फ बुर्जासहितको मन्दिर पुनः निर्माण गर्दा सेतो पोती होचो उचाइमा बन्न पुग्यो । जुन हेर्दा फर्सीजस्तो आकार भएपछि यहाँका स्थानीय बासिन्दा बीच फसि देगःले चिनिन पुग्यो । २०७२ वैशाख १२ गतेको भूकम्पमा परी ढलेको यो मन्दिर १९९० भन्दा अगाडि कै शैलीमा पुनः निर्माण हुँदै छ ।
च्यासीमण्डप, दरबार क्षेत्र, वडा नं. ३
राजा यक्ष मल्लको सम्झनामा दरबार सामु यक्षेश्वर महादेवको मन्दिर स्थापना गरेपछि महादेवको जलहरि सामु दरबार हुनु अशुभ मानी यी दुई सम्पदाको बीच आठओटा कोण परेको मन्दिर जस्तै भवनको निर्माण १७ औं शताब्दीमा जगतप्रकाश मल्लको समयमा भएको हो । पछि यसको उपयोग यहाँ हुने जात्रा, चाडपर्व, उत्सवमा तथा पाहुना आउँदा विश्रामको लागि हुन गयो । जर्मन सरकारको सहयोगमा पछिल्लो पटक पुनः निर्माण गर्दा मौलिक स्वरूपमै गर्ने प्रयास गर्दागर्दै टिकाउको लागि स्टिलको उपयोग गर्दा सम्पदा संरक्षणको नीति विपरीत यो च्यासिंमण्डप उदाहरण बन्न पुगेको छ ।
हरिहरको मन्दिर, दरबार क्षेत्र, वडा नं. ३
भक्तपुर दरबार क्षेत्रमा रहेका विभिन्न पाँच शिखर शैलीका मन्दिरमध्ये एक थथु लायकु निस्कने बालाखु गणेशको बाटो छेउमा यो मन्दिर रहेको छ । शिखर शैलीको यो मन्दिरभित्र हरिहरको मूर्ति रहेको छ । शैव एवम् वैष्णव धर्मको संयुक्त रूपमा रहेको यो मन्दिरमा चतुर्बाहु नारायणको सुन्दर मूर्ति जलहरिमाथि स्थापना गरिएको छ । पहिलेको मूर्ति चोरी भई पछि नयाँ मूर्ति राखिएको छ । सेतोले पोत्नुअगाडि यो मन्दिर कलात्मक इँटाले बनेको एक सुन्दर मन्दिर थियो । जुन वि.सं. १८९१ को भूकम्पले भत्केपछि राणाहण्रूको समयमा चुना सुखले पोतेर जीर्णोद्धार गरेकोमा वि.सं. २०७२ सालको भूकम्पले पुनः भत्कन पुग्यो । हाल यो मन्दिर पुरानै स्वरूपमा भक्तपुर नगरपालिकाले पुनर्निर्माण गरेको छ ।
रामेश्वरको मन्दिर, दरबार क्षेत्र, वडा नं. ३
भक्तपुर दरबार क्षेत्रको तल्लो भागमा रहेको प्रसिद्ध वसन्तपुर दरबारको अगाडि चारधामअन्तर्गतका रामेश्वरको मन्दिर स्थापना भएको छ । यो मन्दिर चारओटा ढुङ्गाको खम्बाले अडेको छानाले बनेको छ । जहाँ एउटा ठूलो शिवलिङ्ग छ । राजा भूपतीन्द्र मल्लको पालामा बनेको यो मन्दिर वि.सं. १९९० सालको भूकम्पले ढलेपछि जसोतसो ती खम्बामाथि छाना हालेर बनाइएको यो मन्दिरका खम्बाहरू समान रूपले रहेका छैनन् । तर, २०७२ सालको भूकम्पले यसलाई कुनै क्षति पुगेको छैन ।
बद्रीनाथको मन्दिर, दरबार क्षेत्र, वडा नं. ३
भक्तपुर राजदरबारको तल्लो भेगको दक्षिण दिशामा रहेको यो मन्दिर चारधामभित्रको एक मन्दिर हो । राजा भूपतीन्द्र मल्लको पालामा बनाएको यो मन्दिर शुरूमा शिखर शैलीको थियो, जुन पछि भूकम्पले भत्केपछि एकतले छाना शैलीमा बन्न पुग्यो । २०७२ सालको भूकम्पपछि यो मन्दिर पुनः शिखर शैलीमै निर्माण भएको छ । मन्दिरको अग्रभागको ढुङ्गाका कलात्मक थाम तथा आयुर्वेदका धन्वन्तरीलगायतका मूर्तिहरू यहाँका महत्वपूर्ण सम्पदाहरू हुन् ।
नृत्यनाथको मन्दिर, नासमना, वडा नं. ३
भक्तपुर नगरको नासमना टोलको मङ्गलतीर्थस्थित रहेको यो मन्दिर इँटाको शिखर शैलीको छ । मङ्गलेश्वर महादेवको मन्दिरसँगै नासद्यः को कारण टोलको नाम नै नासमना रहन गएपछि पुनः राजा भूपतीन्द्र मल्लले उही नास द्यः कहाँ सिकाएको गौरी विवाह नामको नाटक देखाई त्यसबाट भएको आम्दानीले सोही नास द्यः कहाँ अर्को ठूलो नासद्यः नृत्यनाथको मन्दिर बनाउन लगाए । साथमा घण्टा स्थापना गर्न लगाए ।
मङ्गलेश्वर महादेवको मन्दिर, नासमना, वडा नं. ३
भक्तपुरको नासमना टोलमा सडकसित जोडिएको अवस्थामा पश्चिमाभिमुख भई यो मन्दिर शिखर शैलीले मन्दिर निर्माण भएको छ । नेपालमण्डलको चारैतिर रहेका ६४ शिवलिङ्गमा एक मङ्गलेश्वर महादेव पनि रहेको नेपाल महाम्त्यमा उल्लेख छ । यहाँ भाद्र शुक्ल सप्तमीको दिन ठूलो मेला लाग्छ । यहाँ रहेको महादेवको दैनिक नित्य पूजा बोलाछेँस्थित जङ्गम मठबाट सञ्चालन हुँदै आएको छ । साथमा यो मन्दिरअन्तर्गत मन्दिरको पूर्वतर्फ र दक्षिणतर्फ सत्तलहरू रहेका छन् ।
मङ्गलतीर्थ कुण्ड, नासमना. वडा नं. ३
भक्तपुर नगरमा रहेका पोखरीहरूमा धार्मिक उद्देश्यले बनेको पोखरी वा कुण्डमा नासमनाको मङ्गलतीर्थ कुण्ड पनि एक हो । विशेष गरी गणेशलाई मनपर्ने दिन मङ्गलबार मानिन्छ । अनि तिथिमा चतुर्थी तिथि हो । यही भएर जुन दिन मङ्गलबार चतुर्थी परे इनरे गणेश अर्थात् सूर्यविनायक गणेश दर्शन गरी यो मङ्गलकुण्ड तीर्थमा मुख धुने परम्परा छ । यो कुण्डको पूर्वमा ढुङ्गेधारालगायत विभिन्न देवदेवीहरू रहेका छन् । पश्चिममा पाटी छ ।
मुलाखु गणेश मन्दिर, नासमना, वडा नं. ३
लाख गणेश मन्दिर नासमना टोलको सडकछेउ एकतले परम्परागत शैलीले बनेको छ । यो मन्दिरको अगाडि बाटोमा सानो आयताकार ढुङ्गा छ । यसलाई मुलखु भनिन्छ । जुन सधैँ पानीले भरिभराउ भइरहने कुण्ड हो । यसैको आधारमा यो गणेशको नाम मुलाखु गणेश नामकरण भएको हो ।
बाराही द्यःछेँ, तेखाचो, वडा नं. ३
भक्तपुर नगरको चारैतिर अष्टमातृका देवीहरूको द्यः छेँमा तेखाचोमा बाराही देवीको कलात्मक सुन्दर द्यःछेँ रहेको छ । जुन अष्टमातृका देवीहरूको द्यःछैमा सबैभन्दा कलात्मक छ । तीनतले सो द्यः छेँको द्वार, लुँ झ्या, सँ झ्या आदिले बनेको यो द्यःछेँको छाना गजुर आदि सुनको पाताले मोडी निर्माण भएको छ । यहाँभित्र बाराही देवीको धातुको, कलात्मक मूर्ति रहेको छ ।
जगन्नाथ मन्दिर, गहिति, वडा नं. ४
भक्तपुर नगरको फरक फरक ठाउँमा जगन्नाथको मन्दिर स्थापना भएको पाइन्छ । त्यसमा टौमढी टोलसँगैको बाटोमा यो मन्दिर रहेको छ । इँटैइँटाले बनेको यो मन्दिर भारतको उडिसाको पुरी शहरमा हुने जगन्नाथको रथबाट प्रभावित भएर निर्माण भएको यो मन्दिरमा इँटाकै कलात्मक बुट्टाहरूले सजिएको छ । कुनै समय यहाँ साक्षात जगन्नाथको मूर्ति रहेकोमा पछि शिवलिङ्ग स्थापना हुन पुग्यो । वि.सं. १९९० सालको भूकम्पले ढलेको सो मन्दिर पुनः बनाउँदा पहिलेको भन्दा कम उचाइको भयो । यसलाई पछि भक्तपुर नगरपालिकाले वि.सं. २०६० सालमा पुनःनिर्माण गर्दा पुरानै उचाइ तथा स्वरूपमा गरेको छ । (विस्तृत जानकारीको लागि ‘जगन्नाथ स्मारिका’ वि.स. २०७१)
लक्ष्मीनरसिंह मन्दिर, गहिति वडा नं.४
भक्तपुर नगरको एउटैमात्र नरसिंह मन्दिर भक्तपुर नगर वडा नं. ४ स्थित गहिति टोलमा छ । जङ्गम मठको सम्मुख रहेको यो मन्दिर शुरूमा दुईतले छाने शैलीमा बनेको थियो । वि. सं. १९९० सालको भूकम्पले भत्केपछि एकतलामा सीमित हुन पुग्यो । छानामा झिँगटीको सट्टा जस्तापाता रहन पुग्यो । मन्दिरभित्र लक्ष्मीलाई आलिङ्गन गरेको नरसिंहको अति आकर्षक मूर्ति रहेको छ । १० हातमा विभिन्न आयुध तथा आसन लिएको यो नरसिंहको मूर्तिमा बायाँतर्फ लक्ष्मीलाई काखी च्यापेको छ । यस मन्दिरको निर्माण १५ औं शताब्दीताका राजा जयस्थिति मल्लको समयमा भएको मानिन्छ ।
अखण्डशील महाविहार (अखुंबाहा), बोलाछेँ, वडा नं. ४
भक्तपुरमा रहेका विहारमा एक महत्वपूर्ण विहारमा अखं बा हो । यसको पूर्ण नाम अखण्डशील महाविहार हो । भक्तपुर बोलाछेँ टोलको बहननीमा रहेको यो विहारको निर्माण लिच्छवि राजा नरेन्द्रदेवले भिक्षु बनेका आफ्ना कान्छा छोराको लागि बनाएको मानिन्छ । यो विहारलाई मछिन्द्रनाथको घर पनि भन्ने चलन छ । पाटनको मच्छिन्द्रनाथको जात्रा गर्न यो विहारबाट फूल अक्षता पठाउने परम्परा छ । यो विहारको पुनःनिर्माण ने.सं. ७७७ मा भएको अभिलेख यहाँ रहेको छ । चारतले पश्चिमाभिमुख विहारभित्र महावैरोचन मूल देवताको रूपमा रहेको छ । चोकमा दुई ओटा धर्मधातु चैत्य रहेको छ । विहार पस्ने मार्गमा एउटा कलात्मक सत्तल र ढुङ्गेधारा तथा पाटी छ । (विस्तृत जानकारीको लागि– ख्वपया बाहाबही, पृष्ठ ५९–६१, प्रकाशक मैत्रेय युवा सङ्घ, ख्वप)
तालादम्फो, बोलाछेँ, वडा नं. ४
भक्तपुर नगरको एक महत्वपूर्ण सम्पदामा तालादम्फोको नाम आउँछ । यहाँ तालाको अर्थ अथ्र्याउन नसके तापनि दम्फोले डाँडो वा थुम्को भन्ने बुझिन्छ । विशेषतया यस्ता दम्फोहरू नगरभन्दा बाहिर खेततिर मात्र हुने गर्छ । जस्तै तपादम्फो, पपरदम्फो, बाचामारी दम्फो आदि नगरभन्दा बाहिर रहेको छ । यसमा तालादम्फो पनि कुनै बेला नगरभन्दा बाहिर नै थियो कि ? लिच्छवि राजा आनन्ददेवले परिकल्पना गरेको अष्टमातृकाले सजिएको नगरलाई मूर्त रूप दिन जयस्थिति मल्लले टौमढीभन्दा तल विशेष गरी बोलाछेँ निर एउटा दम्फो बनाउन लगाए । यसको लागि नगरवासीहरूले कुनै यज्ञ आदि गर्दाको माटो यही दफोमा राख्ने व्यवस्थापन गरे । यसबाट यो डाँडो तालादम्फोले प्रख्यात भयो । यहाँ तडचो गणेश, गोरखनाथ तथा चैत्यसमेत देख्न सकिन्छ ।
जेठा गणेश मन्दिर, तालाक्व, वडा नं. ४
भक्तपुर नगरको तालाक्व टोलको पश्चिममा यो मन्दिर दक्षिणाभिमुख भएर स्थापित छ । मन्दिरभित्र रहेको गणेश कतै जेठा कतै ज्याथा गणेशबाट प्रसिद्ध छ । विशेष गरी प्रजापति समुदाय र किसान समुदायको बाहुल्यता रहेको यो स्थानमा रहेको गणेश मन्दिर अगाडि ल्हा मरु योसिंद्यः जसलाई गणेश लिङ्गोबाट पनि प्रख्यात छ, उठाउने चलन छ । तसर्थ यो मन्दिरको ठूलो महत्व रहेको छ ।
इखालाखी मठ, तालाक्व, वडा नं. ४
भक्तपुरमा रहेका मठहरूमा पछिल्लो समयमा स्थापना भएको मठमा इखालाखी मठ एक हो । भक्तपुरमा मठको इतिहास प्राचीन रहे तापनि यो ठ १९ औं शताब्दीतिर मात्र स्थापना भएको देखिन्छ । नेपालका तत्कालीन राजा रणबहादुर शाह स्वामी निर्गुणानन्द नामले काशीवास जाँदा भेट भएका उदय गिरी रणबहादुर शाहसित नेपाल आएका थिए । रणबहादुर शाहले उनलाई देशको ढुकुटी रेखदेख गर्ने खजाञ्ची पदमा आसिन गराए यता ऊनै उदय गिरीले यो मठ बनाएको देखिन्छ । यहाँ भक्तपुरको मुख्य मुख्य जात्रा चाडपर्व संस्कृतिलाई मनाउने परम्परा छ । यहाँभित्र विश्वेश्वर महादेव स्थापना गरेको छ । मठ अत्यन्त कलाकृतिले सजिएको छ । यहाँ रहेका काष्ठकलाका उत्कृष्ट नमुना मानिने सँझ्या तथा विमान झ्या महत्वपूर्ण छ ।
जङ्गम मठ, गहिति, वडा नं.४
भक्तपुर गहितिस्थित जङ्गम मठ भक्तपुरमा रहेका मठहरूमा एक प्राचीन मठ हो । यसको स्थापना तत्कालीन भक्तपुरका एक प्रभावशाली शासक जय रुद्र मल्लकी आमा पदुमलदेवीले गरेकी हुन् । यहाँ रहेको एक शिलापत्रमा नेपाल संवत् ६९२ मा गङ्गा महारानी र उनका छोरा त्रैलोक्य मल्लले जीर्णोद्धार गरेको उल्लेख छ । वीर शैवमतको आधारमा स्थापित यो मठ भक्तपुरको प्रसिद्ध बिस्का जात्रासित पनि जोडिएको छ । त्यसैले यो मठ उक्त जात्रा हुने मुख्य स्थानमै स्थापना भएको छ । दशनामधारी जङ्गम मठाधीश हुने व्यवस्थापन भएर जङ्गम मठ कहलिएको यो मठ हाल भग्नावशेष अवस्थामा छ । (विस्तृत जानकारीको लागि– संरक्षणको पर्खाइमा जङ्गम मठ, ‘भक्तपुर’ मासिक अङ्क १३०)
ङातापोल मन्दिर, टौमढी, वडा नं. ५
यस मन्दिरको निर्माण राजा भूपतीन्द्र मल्लले ने.सं. ८२२ मा ६ महिनाको अवधिभित्र सम्पन्न गरेको इतिहास छ । जुन मन्दिर नेपालकै सबभन्दा अग्लो छाने शैलीको मन्दिर हो । तान्त्रिक विधिबाट सिद्धिलक्ष्मी स्थापना गरिएको यो मन्दिरको उचाइ १०८ फिटको छ । साथै पाँच तहको छानाको कारण मन्दिरको नामकरण नै पाँचतले वा न्यातापोल भएको हो । यस मन्दिरलाई नेपालको वास्तुकलाको उदाहरणको रूपमा लिने गर्छ । (विस्तृत जानकारीको लागि – १. डातापोल यसरी बन्यो, ‘भक्तपुर’ मासिक, अङ्क १४१, २. ङातापोल – आकाश छुने धरोहर, ‘भक्तपुर’ मासिक अङ्क २७७)
भैरवनाथ मन्दिर, टौमढी, वडा नं. ५
भक्तपुर टौमढीको प्राङ्गणमा स्थापित तीनतले भट्टा छाना शैलीको भैरवनाथ मन्दिर कुनैबेला तवदुछेँहरूको इष्टदेवता थियो । तवदुछेँका जीवराज भारोले आफ्नो इष्टदेवताको लागि ने.सं. ६६७ मा एकतले मन्दिर बनाएकोमा राजा विश्व मल्लको पालामा बिस्केट जात्रामा जात्रा गरिने भैरवनाथ यहाँ स्थापना गरेपछि राजा भूपतीन्द्र मल्लले मन्दिरलाई तीन तलामा निर्माण गरेको हो । त्यसो त यो ठाउँमा भैरवनाथ मन्दिरभन्दा पनि धेरै पुराना पुराना सम्पदाहरूको कारण यसको ऐतिहासिक महत्व प्रशस्त छ । नेपाल सम्वत् ८८ को उमामहेश्वरको अभिलेख, ने.सं. १२५ को निर्भय देवको अभिलेख तथा लिच्छविकालीन बौद्ध चैत्य र यक्ष मल्लको ने.सं. ५६१ को अभिलेख तथा सुन्धारा आदिले भैरवनाथ मन्दिरको ऐतिहासिकतामा थप बल प्रदान गर्छ । विस्तृत जानकारीको लागि– भैरवनाथ मन्दिरको इतिवृत्ति, ‘भक्तपुर’ मासिक अङ्क २३३)
चतुर्ब्रह्म महाविहार, साकोठा, वडा नं. ५
भक्तपुरमा रहेका विभिन्न बौद्ध विहारमा चतुर्ब्रह्म महाविहार पनि एक हो । यसको निर्माण ने.सं. ६११ मा भएको थियो । चोक शैलीको तीन तले झिँगटीको छाना भएको विशाल विहार, प्रवेश द्वारमा एक जोडा सिंहका मूर्ति, त्यससँगैको काठको गङ्गा जमुना र भैरवका मूर्तिहरू, स्तूप र शिलाको मण्डप, गर्भगृहको लोकेश्वरको मूर्ति, कलात्मक मल्लकालीन आँखी झ्यालहरू, तोरणसहितको कलात्मक ढोकाहरू, शक्तिसहितको पञ्चध्यानी बुद्ध, भैरव र कालीको मूर्ति कुँदिएका कलात्मक टुँडालहरू तथा तोरणहरू यहाँका महत्वपूर्ण सम्पदाहरू हुन् । लामो समयसम्म त्यतिकै रहेको यो महाविहारको वि.सं. २०६० सालमा भक्तपुर नगरपालिकाले जीर्णोद्धार गरेको थियो । (विस्तृत जानकरीको लागि– ख्वपया बाहाबही, पृष्ठ ५१–५८, प्रकाशक मैत्रेय युवा सङ्घ, ख्वप)
तीलमाधव नारायण मन्दिर, टौमढी, वडा नं. ५
यस मन्दिरको अग्रभागको स्तम्भमा रहेको ने.सं. २८३ (सन् १११८) को लिच्छवि राजा आनन्द देवको अभिलेखबाट यो मन्दिरको ऐतिहासिकता पुष्टि हुन्छ । जुन भक्तपुरको एक पुरानो अभिलेखयुक्त मन्दिरको रूपमा लिन सकिन्छ । कहावतमा तिलको थुप्रोबाट उत्पत्ति भएको कारण तिलमाधव नारायण भनिएको हो । यस नारायण मन्दिरअगाडि कुनै बेला एउटा कुलो बगेको र कुलोलाई संस्कृतमा तिलमक भन्ने सन्दर्भमा तिलमक माधव नारायण नामकरण भएको देखिन्छ । पछि तिलमक माधव नारायण नै तिलमाधव नारायण भएको मानिन्छ ।
भीमसेन मन्दिर, सुकुलढोका, वडा नं. ५
भक्तपुर सुकुलढोकाको मध्य भागमा भीमसेनको मन्दिर पस्ने एउटा कलात्मक द्वार रहेको छ । द्वारको दुवैतिर एक जोडा सिंह छ । त्यहाँबाट भित्र पस्ने बित्तिकै एउटा चोक आउँछ । चोकको पश्चिममा निजी घरसँगै जोडिएको तीनतले भीमसेनको मन्दिर रहेको छ । मन्दिरभित्र मूर्त रूपको अति राम्रो भीमसेनको मूर्तिका साथ द्रौपदी अन्य देवदेवी तथा दाताहरूको मूर्ति देख्न सकिन्छ । यो मन्दिरको स्थापना ने.सं. ७१२ मा तत्कालीन त्रिभय गङ्गारानी र यिनका दुई छोरा त्रैलोक्य मल्ल र त्रिभुवन मल्लको शासनकालमा स्थापना भएको व्यहोराको शीलापत्र रहेको छ । भक्तपुर नगरको मुख्य बजार मानिने सुकुलढोकाको महत्वलाई अझ उजागर हुने तवरले यो मन्दिर बनेको देखिन्छ ।
सुवर्ण विहार, सुकुलढोका, वडा नं. ५
भक्तपुर सुकुलढोकाको भीमसेन मन्दिर रहेको चोकभित्र एउटा विहार रहेको छ । जसलाई सुवर्ण विहार अर्थात् नेपालभाषामा लुंबाहा भनिन्छ । यसको अर्को नाम गुरुवहाल पनि रहेछ । यहाँभित्र रहेको एउटा शिलापत्रमा गुरुवहाल भनी उल्लेख छ । त्यसो त राजा जयज्योति मल्लको समयमा लेखिएको पञ्चरक्षा नामको ग्रन्थमा समेत यो विहारको नाम उल्लेख भएको कारण यो भक्तपुरको एउटा पुरानो बौद्ध सम्पदा हो भन्ने देखिन आउँछ । पहिलेको विहार बिग्री भत्किरहेकोमा ने.सं. ७०३ मा तत्कालीन गङ्गारानी र उनका छोरा त्रैलोक्य तथा त्रिभुवन मल्लको पालामा चैत्य तथा बज्रयोगिनी तथा सद्धर्म स्थापना गरेको देखिन्छ । (विस्तृत विवरणको लागि – ख्वपया बाहाबही, पृष्ठ ४८–५०, प्रकाशक मैत्रेय युवा सङ्घ, ख्वप )
सुन्दर मठ, सुकुलढोका, वडा नं. ५
भक्तपुरको सुकुलढोकाको सडक छेउमा रहेको यो मठ सुन्दर मठ वा सुकुलढोका मठले प्रख्यात छ । भक्तपुरमा रहेका १४ ओटा मठमध्ये एक मठको रूपमा हालसम्म पनि सञ्चालित यो मठको स्थापना ने.सं. ७७७ मा भएको देखिन्छ । यसमा रहेका अनेकौँ कलात्मक काष्ठकलाका नमुनाहरूको कारण मठको नामकरण नै सुन्दर मठ रहन गएको देखिन्छ ।
त्रिपुर आगम, सुकुलढोका, वडा नं. ५
भक्तपुर सुकुलढोकाको मध्य भागमा एउटा इनार र जह«ँ देख्न सकिन्छ । यसको पछाडि लहरै घरहरू छन् । ती घरको पछाडि एउटा चोक छ । चोकको भित्र उत्तराभिमुख एउटा पुरानो घर छ । यो घर नै त्रिपुर विद्याआगम हो । यसको उल्लेख गोपाल राजवंशावलीको ठाउँ ठाउँमा समेत उल्लेख भएको सन्दर्भमा यो एक प्राचीन सम्पदा हो भन्ने पुष्टि हुन्छ । यसो त लिच्छवि राजा आनन्ददेवले विक्रमको नवौं शताब्दीतिर भक्तपुर शहर स्थापना गर्दा नगरको मध्य भाग तुलाछेँमा त्रिपुरसुन्दरी देवी स्थापना गरेको समयमै त्रिपुर विद्या पीठ आगम स्थापना भएको देखिन्छ । यसबाट त्यसताका भक्तपुर तान्त्रिक विद्याको केन्द्रबिन्दु नै रहेको ज्ञात हुन्छ । यहाँभित्र त्रिपुर विद्या पीठ आगमको साथ गणेशको मन्दिर तथा ढुङ्गेधारा आदि पनि रहेका छन् । तलेजुमा कार्य गर्ने कर्माचार्यहरूको आगमको रूपमा यो त्रिपुर विद्या पीठमा हालसम्म पनि विभिन्न धार्मिक, सांस्कृतिक कार्यहरू हुँदै आएको छ ।
बुलुबुलु हिति, सुकुलढोका, वडा नं. ५
भक्तपुरमा रहेका कयौं ढुङ्गेधारामा सुकुलढोका बजार छेउमा रहेको यो धाराको नाम बुलुबुलु हिति रहेको छ । धारामा आउने पानी लेदो हुनाले नेपालभाषामा त्यसलाई बुलुगुबाट बुलबुलु हिति कहलिन पुग्यो । यो धाराको मुहान धाराभन्दा पश्चिमतर्फ रहेको तुलाछेँको मार्कण्डेय पोखरी थियो । पछि सो पोखरी म्हासे यता धारामा पानी आउन छोड्यो । अहिले यहाँ धाराका केही भागहरू देख्न सकिन्छ । प्रस्तरको कलात्मक धारा, धारामाथिको सुन्दर शक्तिसहितको भैरव र भगिरथको मूर्ति आदि देख्न सकिन्छ । भक्तपुरमा पूर्व फर्केका नौओटा ढुङ्गेधारामा यो पनि एक हो । जहाँ जनै पूर्णिमाको दिन मेला लाग्छ ।
साफूक्वथा, साक्वथा, वडा नं. ५
भक्तपुरका एक ऐतिहासिक सम्पदामा साक्वथामा रहेको साफूकोठा पनि एक हो । जहाँ साफू भन्नाले किताब अनि क्वथा भन्नाले कोठा भन्ने बुझिन्छ । अर्थात् किताब राख्ने घर पुस्तकालय भन्ने बुझिन्छ । यही साफूक्वथा रहेको कारण सो स्थानको नाम साक्वथा रहन गएको आफैमा महत्वपूर्ण विषय हो । राजा भूपतीन्द्र मल्लले बनाउन लगाएको सो साफूक्वथालाई पृथ्वीनारायण शाहका सेनाहरूले सात दिनसम्म आगो लगाएर ध्वस्त पारेको भनिन्छ । यसैबीच २०७२ सालको भूकम्पले यो भवन क्षतिग्रस्त छ ।
महाकाली पीठ, भोलाछेँ, वडा नं. ६
भक्तपुर नगरको आठ दिशामा विभिन्न अष्टमातृका देवीहरू स्थापना गरिएको छ । त्यसमा नगरको उत्तर दिशामा महाकाली देवी रहेको छ । भोलाछेँ टोल नजिक एउटा थुम्को माथि महाकाली देवी स्थापित छ । यसको द्यःछेँ भोलाछेँ टोलमै रहेको छ । महाकाली पीठसम्म जान सिंढीको व्यवस्था छ । थुम्कोमा पाटी, सत्तल, भजन घरलगायत विभिन्न देवदेवीहरू रहेका छन् ।
भोलाछेँ पोखरी, भोलाछेँ, वडा नं. ६
भक्तपुर नगरमा रहेका पोखरीहरूमा एक महत्वपूर्ण तथा प्राचीन पोखरीमा भोलाछेँ पोखरी पनि एक हो । एक कहावतअनुसार थुप्रै मुसाहरू मिली बिरालोसँग झगडा गर्दा बिरालो कायल भई भाग्नु परेको ठाउँ नै पछि भौ ल्वागु (बिरालोसित झगडा परेको ठाउँ पछि भोलाछेँ भएको भनिन्छ । मुसा र बिरालोको झगडा हुँदा खाल्डो परेको ठाउँमा बनेको पोखरी नै भोलाछेँ पोखरी हो भन्ने चलन छ ।
महाकाली द्यःछेँ, भोलाछेँ, वडा नं. ६
भोलाछेँ टोलको बीचमा तीनतले पूर्व फर्केको यो द्यः छेँ परम्परागत शैलीमा बनेको छ । सबैभन्दा मुनि पाटी दलान निकाली त्यसमाथि कलात्मक आँखीझ्याल राखी दोस्रो तला रहेको छ । तेस्रो तलामा पनि सँझ्या र आँखीझ्याल राखी त्यसमाथि परम्परागत ढङ्गले छाना रहेको यो भवनमा महाकाली देवीको ढलौटको मूर्ति रहेको छ । यो द्यःछेँमा तोरण, टुँडाल, आँखीझ्याल, सँझ्या, प्रवेशद्वार आदिमा काष्ठकलाको राम्रा आकृतिहरू देख्न सकिन्छ ।
नवदुर्गा ख्वापाछेँ, याछेँ, वडा नं. ६
भक्तपुर याछेँ टोलमा रहेको यो भवन नवदुर्गाको मुकुण्डो बनाउने घरको रूपमा प्रख्यात छ । दक्षिण मोहडाको दुईतले यो भवनको दलानमा हरेक वर्षको गाथामोग चतुर्दशीको दिनबाट मुकुण्डो बनाउने काम शुरू हुन्छ । दशैंको नवमीको दिन नवदुर्गा भवानीको मुकण्डो यहाँ प्रदर्शन गरिन्छ । प्रदर्शन पश्चात् वनमालाहरूलाई मुकुण्डो हस्तान्तरण यही द्यःछेँबाट हुने परम्परा छ ।
याछेँ गणेश मन्दिर, याछेँ, वडा नं. ६
भक्तपुर नगरमा रहेका गणेशका मन्दिरहरूमध्ये एक प्रसिद्ध याछेँ गणेशको मन्दिर पनि एक हो । तीनतले पश्चिम फर्केको यो मन्दिरमा गणेशको निराकार मूर्ति रहेको छ । एक कहावतअनुसार यहाँ स्थापना गरिएको गणेश काठमाडौँको मरू गणेश हो । नेपाल संवत् ७७९ मा यो मन्दिर बनेको देखिन्छ ।
सुन्दरगोपाल मन्दिर, चोछेँ, वडा नं. ६
भक्तपुर चोछेँ स्थित चोछेंबहाको दरबारननिमा रहेको शिखर शैलीको एक मन्दिर सुन्दरगोपाल मन्दिरको नामले प्रसिद्ध छ । कृष्णको अति आकर्षक मूर्ति रहेको यो मन्दिर चोकभित्र सीमित रहन पुग्दा त्यति चर्चामा आउन सकेको छैन । मन्दिरभित्र कृष्णको साथ नारायण, गणेश आदिका मूर्तिहरू छन् । तर, मन्दिरको स्वरूप एवम् त्यहाँभित्र रहेका मूर्तिहरूले मल्लकालीन यो सम्पदा वडाको मात्र नभई भक्तपुरकै एक महत्वपूर्ण धरोहर रहेको पुष्टि हुन्छ । मल्लकालको शुरूमा क्वाथ रहेको ठाउँमा पछि रणजित मल्लले आफ्नो सन्तानको लागि आवास बनाई दिएपछि यो मन्दिरको निर्माण उनीहरूबाट नै भएको देखिन्छ ।
छुम्ह गणेश मन्दिर, चोछेँ, वडा नं. ६
भक्तपुर चोछेँस्थित छुम्ह गणेश मन्दिर यस वडाको एक महत्वपूर्ण सम्पदा हो । भक्तपुर नगरको स्थापनासित जोडिएको एक कहावतअनुसार मुसाको माला उनेर गएको ठाउँ भेटिएको गणेश नै पछि छुम्ह गणेशबाट प्रख्यात भएको मानिन्छ ।
बिस्का, इन्द्रजात्रालगायतको भक्तपुरको महत्वपूर्ण जात्रा चाडपर्वमा यस गणेशको भव्य जात्रा हुने परम्परा छ । यो गणेश चोछेँ टोलको टोल गणेशको रूपमा पनि प्रख्यात छ ।
विश्वकर्मा द्यः छेँ, तुछिमला, वडा नं. ६
भक्तपुर तुछिमलास्थित अवालहरूको विश्वकर्मा द्यःछेँ परम्परागत ढङ्गको एक ऐतिहासिक तथा सांस्कृतिक सम्पदा हो । यहाँभित्र गणेशको मूर्ति रहेको छ । परम्परागत छाने शैलीको तीनतले यो द्यः छेँमा पोलेको माटोको आँखीझ्याल, तोरण, सँझ्यालगायत कमल, गरूड, मकर, नागकन्या, गणेश तथा अन्य देवदेवीको मूर्तिहरूले सजिएको छ । परम्परागत दा अप्पाले निर्माण भएको यो द्यःछेँ नेपाल संवत् ८३० मा निर्माण भएको अभिलेखले पुष्टि हुन्छ । (विस्तृत जानकारीको लागि– तुछिमलाको ऐतिहासिक विश्वकर्मा द्यःछेँ, ‘भक्तपुर’ मासिक अङ्क २८५)
इन्द्रवर्ण महाविहार, इनाचो, वडा नं. ७
भक्तपुरमा भएका बौद्ध विहारहरूमा एक महत्वले भरिएको विहारमा ईन्द्रवर्ण महाविहार पनि एक हो, जसलाई इनाबाहा पनि भनिन्छ । नेसं ७४१ मा भक्तपुरमा जगज्र्योति मल्लले राज्य गरिरहेको समयमा देवसिंह बुद्धाचार्यले वान्दिमगल युलटोलका हरिसँग किनेको जग्गामा यो विहार बनाउन लगाएको मानिन्छ । यो विहारको स्थापकमा उही देवसिंह, जयसिंह र मेलुसिंहको नाम आउँछ । उही देवसिंहले आफ्नो दिवङ्गत छोरा देवदासको नामबाट ने.सं. ७४४ मा बिहारमा दीपङ्करको मूर्ति स्थापना गरेको देखिन्छ । पञ्चदान, गुँला, सम्यक्लगायत विभिन्न बौद्ध पर्वहरूमा यहाँ विभिन्न धार्मिक सांस्कृतिक तथा सामाजिक कार्यहरू हुँदै आएको छ । (विस्तृत विवरणको लागि– ख्वपया बाहाबही, पृष्ठ ३८– ४१, प्रकाशक मैत्रेण्य युवा सङ्घ, ख्वप)
मङ्गल धर्मद्विप विहार (झौरबही), गोल्मढी, वडा नं. ७
भक्तपुर नगरमा रहेका बौद्ध विहारमा एक प्रसिद्ध विहारमा मङ्गल धर्मद्विप विहार पनि हो । यहाँ यो विहार झौरबहीले प्रसिद्ध छ । यो विहार भक्तपुर गोल्मढी टोलमा रहेको छ । भक्तपुरका पाँच दीपङ्करमा एक यो विहार पर्छ । नेवारी पात्रोअनुसार गुलाँथ्व पूर्णिमाको दिन यहाँ पौभा प्रदर्शन गर्ने परम्परा छ । चारैतिर भवनले घेरिएर बचिमा चारपाते चोकसहितको यो विहारको निर्माण १३ औं शताब्दीतिर भएको देखिन्छ । यसको जीर्णोद्धार नेपाल संवत् ६७६ मा तधिछेँ बाहाका जीवराज बज्राचार्यका परिवारले गरेको देखिन्छ । (विस्तृत विवरणको लागि ख्वपया बाहाबही, पृष्ठ ४५–४७, प्रकाशक मैत्रेय युवा सङ्घ, ख्वप )
गोल्मढी गणेश मन्दिर, गोल्मढी, वडा नं. ७
गोमारी गणेशले पनि प्रसिद्ध यो गणेश मन्दिरको स्थापना राजा जगतप्रकाश मल्लको समयमा तीनतले भव्य मन्दिररूपमा भएको हो । यसअघि गोल्मढी टोलकै टोल गणेशको रूपमा स्थापित यो गणेशको प्रतीकात्मक शिला रहेको थियो। गणेशको मन्दिर भनिए तापनि तोरणको मध्यभागमा महाँकाल भैरवको मूर्ति रहनु अनुसन्धानको विषय हुन्छ ।
हनुमानघाट परिसर, हनुमानघाट, वडा नं. ७
भक्तपुर नगरका महत्वले भरिएको धार्मिक तथा सांस्कृतिक स्थलमा हनुमानघाट पनि एक हो । हाल वडा नं. ७ अन्तर्गत पर्ने यो परिसर भएर बग्ने हनुमन्ते नदीको नामबाट हनुमानघाट नामकरण भएको यो परिसरभित्र राम सीता, हनुमान, नारायण, वाल्मिकेश्वर महादेव, शितलामाजु, ज्वरेश्वर महादेव, गणेश, पञ्चध्यानी बुद्धलगायत थुप्रै देवदेवीहरूको मन्दिरलगायत सत्तल, पाटी, भजनघर, घाटसहितको व्यवस्था छ । खोलापारि ॐकार मशान र दथु सुभ्या देवाली मन्दिर यहाँको अर्को महत्वपूर्ण सम्पदाहरू हुन् । विरा, भद्रा र तमसा नामका तीन नदीहरूको सङ्गम स्थल मानिने हनुमानघाटलाई स्थानीयहरूमा खोहरे नामले प्रसिद्ध छ । यहाँ माघ एक महिना माधवनारायणको व्रत बस्ने परम्परा छ । साथै हरेक महत्वपूर्ण चाडपर्व, तिथि आदिमा यहाँ मेला लाग्छ । सोह श्राद्ध, वार्षिक श्राध्दादि कार्य यस पवित्र स्थानमा गरे पितृपक्षले मोक्ष प्राप्त गर्छ भन्ने धारणाले यहाँ पितृकार्य गर्नेहरूको घुँइचो लागेको हुन्छ । (विस्तृत विवरणको लागि– हनुमानघाटको धार्मिक तथा सांस्कृतिक महत्व, ‘भक्तपुर’ मासिक, अङ्क २६४)
मुनि विहार, इनाचो, वडा नं. ७
भक्तपुर नगरको एकमात्र महायान बौद्ध सम्पदामा मुनि विहारको नाम आउँछ । यो विहार भक्तपुर वडा नं. ७ अन्तर्गत खँचा भन्ने स्थानमा रहेको छ । जुन हनुमानघाटबाट केही दूरी उत्तरमा छ । यो बिहार नेपाल संवत् ७८७ मा निर्माण भए यता समय समयमा थुप्रै अन्य सम्पदाहरू बन्दै आएका छन् । यहाँ शाक्यमुनि बुद्ध, महांकाल, गणेशलगायतका मूर्तिहरू तथा विभिन्न चैत्य आदिले भरिएको यो एक व्यवस्थित विहार हो । यहाँ भिक्षु तथा भन्तेहरूको लागि आवास तथा अन्य व्यवस्था रहेको छ । (विस्तृत विवरणको लागि ख्वपया बाहाबही, पृष्ठ ३८–४१, प्रकाशक मैत्रेय युवा सङ्घ, ख्वप )
माहेश्वरी पीठ, वडा नं. ८
भक्तपुर वडा नं. ८ अन्तर्गत पर्ने माहेश्वरी पीठ भक्तपुरको एक महत्वपूर्ण सम्पदा क्षेत्र हो । नगरकोट हुँदै बग्दै आएको तब्या खुसीको छेउमा बसेको माहेश्वरी पीठमा मुख्य देवी माहेश्वरी नै हुन् । एकतले मन्दिर र वरपर पाटी, सत्तलले घेरिएको थुम्को यहाँको मुख्य आकर्षण हो । यसबाहेक यहाँ गणेश, नारायण, भगवती आदिका मन्दिरहरू पनि रहेका छन् ।
खचा पोखरी, खँचा, वडा नं. ८
भक्तपुर नगरमा रहेका थुप्रै पोखरीहरूमध्ये आफ्नै विशेषता भएको एक पोखरी खँचा पोखरी पनि हो । यहाँ खँ भन्नाले ऐना भन्ने बुझिन्छ । इनाचोबाट हनुमानघाट जाने बाटो छेउको यो पोखरीमा ङातापोल मन्दिरको छायाँ देख्न सकिन्छ । छायाँ देखिने पोखरी भएर खँ ‘ऐना जस्तो पोखरी’ नै पछि खचा पोखरी भएको मानिन्छ । त्यसमा पनि विश्व प्रसिद्ध ङातापोल मन्दिरको छायाँ देखिने एक मात्र पोखरी खँचा पोखरी हो ।
जँेला पाटी, जेँला, वडा नं. ८
भक्तपुर जेँला टोलको एउटा पाटी अति महत्वले भरिएको पाटी हो । दत्तात्रय मन्दिरको पछाडि रहेको एउटा गल्लीबाट दक्षिणतर्फ लागे पछि यो पाटी आउँछ । यहाँ नारायण, गणेश, महांकाललगायतका देवदेवीको मन्दिर तथा अन्य पाटी, सत्तल आदि पनि छन् । सोही स्थानमा पूर्व दक्षिण फर्केको पाटी छ । यो पाटीमा रहेको शिलापत्र यहाँको सबैभन्दा महत्वको विषय हो । यो शिलापत्रको आधारमा नेपाल संवत्को शुरूआत शङ्खधर साख्वाले गरेको हो भन्न सकिन्छ । नेपाल संवत् ८२७ मा स्थापना गरिएको भूपतीन्द्र मल्लको समयको उक्त अभिलेखमा स्पष्टसँग शख्वा संवत् भनी उल्लेख छ ।
उक्त पाटीको दक्षिणाभिमुख यो शिलापत्र १३ हरफको छ । यस शिलापत्रको तेस्रो हरफमा शख्वा संवत् उल्लेख छ । यो शिलापत्रअनुसार भक्तपुरका प्रमान हाकु भारोको पालामा जेँला टोलका टोल नाइके मनहोरसिंह र रामचन्द्रले यो पाटीको जीर्णोद्धार गरेको व्यहोरा छ । शिलापत्रमा लेखिएको छ–
च्याम्हासिंह पोखरी, च्याम्हासिंह, वडा नं. ८
भक्तपुर नगर प्रवेश गर्ने पूर्वी ढोकाले चिनिने च्याम्हासिंह ढोकाको समीप रहेको यो पोखरीमा रहेको चार दिशाको आठ ओटा सिंहको कारण पोखरीको नामकरण च्याम्हासिंह अर्थात् ‘आठ ओटा सिंह भएको पोखरी’ भएको मानिन्छ । पोखरीको मध्यभागमा सन् १९९४ तिर मात्र शिवको मूर्ति राखिएको हो भने पोखरीको पूर्वतिर वागीश्वरी स्कूलको चोक, शिवालय क्षेत्र थियो । त्यहाँ धेरै शिवलिङ्गहरू भएकोमा हाल एउटा मात्र बाँकी छ । त्यसैले यो ठाउँ कुनै बेला शैव धर्मको लागि महत्वपूर्ण ठाउँ रहेको बुझिन्छ ।
नास द्यः, जेँला, वडा नं. ८
भक्तपुर नगरभरि यत्रतत्र नास द्यः का मूर्ति वा मन्दिरहरू देख्न सकिन्छ । त्यसमा जेँला टोलको जेँला पाटीसँगै रहेको एक तले नास द्यः को मन्दिरको महत्व अरू भन्दा बढी छ । गीत, सङ्गीत वा नृत्यको देवता नास द्यः लाई मान्ने सन्दर्भमा जेँला टोलको नास द्यः नवदुर्गा भवानीले मान्नुपर्ने द्यः हो । दशैंको कुछिभ्वय् अष्टमीको राति सबै नवदुर्गा गणका देवता बन्ने वनमालाहरू मुकुण्डो नलगाई यो नास द्यः को अगाडि नाच प्रस्तुत गर्ने चलन छ । जसलाई ‘घंघलासी लल्हायेगु’ भनिन्छ ।
वाने लायकु तचपाल, वडा नं.९
भक्तपुर तचपाल क्षेत्रको सबैभन्दा प्राचीन सम्पदामा वान्दिम राजकुल अर्थात् वाने लायकु पनि एक हो । एकताका भक्तपुर नगरको राजकुल यस स्थानमा रहेको कारण पछि त्रिपुर राजकुल तथा थथु, कुथु, दथु लायकुहरूसमेतको अस्तित्व हुँदा वान्दिम राजकुल अर्थात् वाने लायकु त्यतिकै महत्व साथ रहेको छ । यस अर्थमा लिच्छवि राजा आनन्द देवले त्रिपुर राजकुल बनाउनुपूर्व यही राजकुल प्रमुख राजकुल थियो भन्ने ज्ञात हुन्छ । राजकुलसँगै तत्कालीन राजाहरूले आफ्नो इष्टदेवी आगम घरमा स्थापना गरेको र यही आगमघरमा अद्यापि मोहनी पूर्व पूजा सञ्चालन हुँदै आएको छ । मोहनी ताका यहाँ राजभण्डारी कुलकी कुमारी राख्ने परम्परा पनि छ । यहाँ स्थापित इष्टदेवलाई नवदुर्गा भवानीले समेत भक्तिभावका साथ सम्मान गर्ने परम्पराले यस वाने लायकुको महत्व झल्केको छ ।
पुजारी मठ, तचपाल, वडा नं. ९
भक्तपुर तचपाल टोलमा रहेका विभिन्न मठहरूमध्ये सबैभन्दा पुरानो एवं महत्वपूर्ण मठमा पर्छ । जसको निर्माण राजा यक्ष मल्लको पालामा भारतको मयूर गढबाट व्यापारको सिलसिलामा यहाँ आउने क्रममा गरेको मानिन्छ । यक्ष मल्लको पालामा निर्माण गरेको भए तापनि सर्वसाधारणको लागि ने.सं. ६०६ (सन् १४८६) देखि मात्र भएको देखिन्छ । दत्तात्रय मन्दिर पुजारी रहने मठ भएको कारण यसको नामकरण पूजारी मठ भएको इतिहास छ । यस मठमा रहेको मयूर झ्याल, भित्तेचित्रहरू तथा काष्ठकलाका अनुपम कीर्तिहरूको कारण मठको विशेषता झल्किन्छ । जीर्ण रहेको यो मठको पुनःनिर्माण जर्मन सरकारले २०२८÷२९ तिर सम्पन्न गरी तत्कालीन युवराज वीरेन्द्रको शुभ विवाहको अवसरमा उपहार स्वरूप हस्तान्तरण गरेको थियो । हाल यस मठमा नेपाल सरकारले काष्ठकला सङ्ग्रहालय सञ्चालन गरिरहेको छ । (विस्तृत विवरणको लागि– पूजारी मठ, ‘कर्मचारी बुलेटिन’, वि.सं. २०५७ भाद्र)
दत्तात्रय मन्दिर, तचपाल, वडा नं. ९
भक्तपुर तचपाल टोलका महत्वपूर्ण सम्पदाहरूमध्ये प्रमुख सम्पदामा दत्तात्रय मन्दिर पर्न आउँछ । जुन १५ औं शताब्दीको प्रभावशाली राजा यक्ष मल्लले निर्माण गर्न लगाएका हुन् । यो मन्दिर निर्माण गरेको समयताकासम्म सम्पूर्ण नेपालमण्डलको राजधानी भक्तपुर थियो । दक्षिण भारतसितको यहाँको सम्बन्ध रहेको कारण भक्तपुर तचपाल टोलमा यो मन्दिर बन्न सम्भव भएको हो । दक्षिण भारतबाट तिब्बतमा व्यापार गर्ने साधुसन्तहरूको प्रभावले राजाले यो मन्दिर बनाउन लगाएका हुन् । यसको गर्भगृहमा ब्रह्मा, विष्णु र महेश्वरको मूर्ति स्थापित छ । मन्दिर शुरूमा एक तलामात्र रहेकोमा राजा यक्ष मल्लका छोरा राय मल्लले अर्को तीन तला थपेर हालको शैलीको मन्दिर बनाउन लगाएको देखिन्छ । (विस्तृत विवरणको लागि– कलाले धनी दत्तात्रय मन्दिर, ‘गोरखापत्र’, वि.सं. २०६० चैत्र २३ गते)
सलाँ गणेश मन्दिर, तचपाल, वडा नं. २
भक्तपुर तचपाल टोलबाट सकोलान जाने मार्गमा स्थापित गणेश कालान्तरमा सलाँ गणेशबाट प्रख्यात भएको हो । भक्तपुर नगरमा स्थापित प्राचीन गणेशमध्ये एक सलाँ गणेश पनि हो भन्ने प्रमाण यसको प्रतीकात्मक शिलालेखले दिन्छ । यो गणेश नगरको अष्ट गणेशमध्ये एक पनि मानिन्छ । दक्षिणाभिमुख यो गणेशको तीन तले छाने शैलीले मन्दिर १६ औं शताब्दीतिरका भक्तपुरका प्रभावशाली राजा जगत प्रकाश मल्लको समयमा निर्माण भएको हो । भक्तपुर नगर प्रदक्षिणा मार्गमा रहेको यो गणेश भएर भक्तपुरको प्रमुख जात्रा, चाडपर्व हुने भएकोले यो मन्दिरको महत्व अरू बढेको छ । घण्टाकर्ण पर्वको दिन यस गणेश मन्दिरको परिसरमा घण्टाकर्ण जलाउने सांस्कृतिक धार्मिक कार्य अर्को महत्वपूर्ण पक्ष हो ।
भीमसेन मन्दिर, तचपाल, वडा नं. २
भक्तपुर तचपाल टोलको एक अर्को महत्वपूर्ण सम्पदा भीमसेन मन्दिर पनि हो । यो मन्दिरको स्थापना राजा जगत प्रकाश मल्लले गरेको मानिन्छ । भीमसेन व्यापारको देवता भएको सन्दर्भमा तचपालको यो भीमसेन देवता भक्तपुरको चुपिंघाटपछि सर्वाधिक पूजा गर्ने देवतामा पर्छ । नेपाली छाने शैलीको आयताकार दुई तले मन्दिरभित्र पूर्वाभिमुख भई स्थापना गरेको मन्दिरभित्र भीमसेन र साथमा द्रौपदीको मूर्ति छ । यहाँ होली पुन्ही एक हप्ता अगाडि चीर स्वायेगु अर्थात् चीर स्थापना गर्ने परम्परा छ । जुन होली पुन्हीको दिन समाप्त हुन्छ । त्यस्तै प्रत्येक वर्ष योमरी पुन्ही राति यहाँको भीमसेनलाई खटमा जात्रा गरी भक्तपुरको नासमना टोल डबलीमा लगी पूजा गरी फिर्ता ल्याउने परम्परा छ ।
वाकुपति नारायण मन्दिर, तौलाछेँ, वडा नं.९
भक्तपुरको प्रत्येक टोल बस्तीमा एक न एक नारायणको मन्दिर रहेको सन्दर्भमा सूर्यमढीको यो नारायण मन्दिरलाई चाँगुनारायणको प्रतीकको रूपमा लिइएको छ । अर्थात् यहाँ गरुडनारायण स्थापना गरिएको छ । भक्तपुरमा स्थापित नारायणमध्ये टौमढीको तीलमाधव नारायणपछि यही मन्दिर प्राचीन मानिन्छ । जुन ज्योति मल्लको समयमा स्थापना भएको मानिन्छ । वैष्णव धर्मका अनुयायी ज्योति मल्लले ने.सं ५२८ मा यहाँस्थित गरुडस्तम्भमा अभिलेख राखेबाट पनि यसको पुष्टि हुन्छ । वास्तुकला, धातुकला, काष्ठकला तथा मूर्तिकलाको दृष्टिकोणले महत्वपूर्ण यस मन्दिर भक्तपुरको तलेजु चाँगु पछि तेस्रो ठूलो जग्गा जमिन गुथिको व्यवस्था भएको मन्दिर हो । हाल ती गुथि जग्गा रैकरमा परिणत भई व्यक्तिको नाममा गएपछि जेनतेन धार्मिक, सांस्कृतिक कार्य चल्दै आएको छ ।
ब्रह्मायणी द्यःछेँ, तौलाछेँ, वडा नं. २
नेपाल संवत् ७७७ मा भक्तपुरका राजा जगतप्रकाश मल्लको समयमा यो द्योछेँको निर्माण भएको तथ्य सोही द्यो छेँको पश्चिम मोहडाको शिलापत्रबाट पुष्टि हुन्छ । लिच्छवि राजा आनन्ददेवले विक्रमको नवौँ शताब्दीतिर नै नगरको चारैतिर अष्टमातृका देवी स्थापना गर्ने क्रममा नगरको पूर्वदिशामा ब्रह्मायणी देवीको पीठ तथा द्यो छेँ बनाउन लगाएको मानिन्छ । विभिन्न कारणले भत्क्या बिग्ग्रा द्योछेँको अन्तिम पटक ने.सं. ७७७ मा जगतप्रकाश मल्लको समयमा वर्तमान शैलीको तीनतले भव्य वास्तुकला, काष्ठकलाले युक्त बनेको देखिन्छ । जहाँ भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा हुने ब्रह्मायणी जात्राको देवता राखेको हुन्छ ।
आदिपद्म विहार, तौलाछेँ, वडा नं. ९
भक्तपुरमा रहेका बौद्धविहारमध्ये सबैभन्दा प्राचीन अनि महत्वपूर्ण विहारमा यस आदिपद्म विहारको नाम अग्रपङ्क्तिमा आउँछ । त्यसो त यो विहारको स्थापना कसले कहिले गरेको हो भरपर्दो स्रोत छैन । तापनि नगरको पूर्वीभेगको यो विहारलाई जेठो विहारको रूपमा लिने चलन छ । गोपाल राजवंशावलीलगायत अन्य पुराना ताडपत्रहरूमा समेत यस विहारलाई “तोमबहा” भनी उल्लेख गरिएको छ । प्रत्येक वर्ष पञ्जराँ र माघ सङ्क्रान्तिको दिन यहाँबाट शुरू हुने दीपङ्कर बुद्धको जात्राले यस विहारको महत्व झल्किन्छ । साथै विजया दशमीको दिन यस विहारको अगाडि कुमारी विराजमान गर्ने प्रथाले पनि विहारको ऐतिहासिकतामा थप बल प्रदान गर्छ । (विस्तृत विवरणको लागि ख्वपया बाहाबही, पृष्ठ १३ – १६, प्रकाशक मैत्रेय युवा सङ्घ, ख्वप )
नवदुर्गा द्यः छँे, गछेँ, वडा नं. २
भक्तपुर नगरको गछेँ टोलमा रहेको परम्परागत शैलीले बनेको तीनतले द्यः छेँ नवदुर्गाको मूलघर हो । यहाँभित्र पहिलो तलामा नवदुर्गा भवानीको मुकुण्डो तथा अन्य महत्वपूर्ण सामग्रीहरू सुरक्षित तवरले राखेको हुन्छ । कलात्मक ढोका, सँझ्याः, भैल ख झ्याः, पासुका झ्याः, जस्ताले यो द्यःछेँ अति सुन्दर अनि प्राचीन महत्वको द्यःछेँ हो । द्यःछेँ भित्र व्यवस्थित चोक रहेको छ । मल्लकालमा निर्माण गरिएको द्यःछेँ मा नवदुर्गा भवानीको दर्शन गर्नको लागि सधैँ भीड लागेको हुन्छ । यहाँ रहेको नवदुर्गा भवानीको ङा लाकेगु जात्रा भक्तपुरको २१ टोल र भक्तपुरबाहेक थिमी, बोडे, नगदेश, पनौती, बनेपा, नाला, साँगा, धुलिखेल, देवपत्तन, टोखा, साँखु जस्ता ठाउँहरूमा देखाउने क्रममा प्रत्येक पल्ट द्यः छेँ आई विधिवत तान्त्रिक पूजा गर्नुपर्छ । हरेक वर्ष भलभल अष्टमीदेखि विजया दशमीसम्म यहाँ नवदुर्गा भवानी हुँदैन ।
कमलविनायक परिसर, वडा नं. १०
भक्तपुर नगरको पूर्व दिशामा रहेको कमलविनायक परिसर एक महत्वपूर्ण धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थल हो । भक्तपुर नगर प्रवेश गर्ने पूर्वतर्फको मूलढोका नजिकको यो क्षेत्रमा प्रसिद्ध कमलविनायक पोखरी र कमलविनायक गणेश रहेको छ । स्थानीय भाषामा यातुबाहारे भनिने यो पोखरी भक्तपुरको तेस्रो ठूलो पोखरी हो । कमलको फूलको लागि निर्माण भएको यो पोखरी नगरको एक मुख्य आकर्षण स्थल पनि हो । यो पोखरीको पूर्वी डिलमा एकतले गणेशको मन्दिर रहेको छ । कमलविनायक गणेशबाट प्रसिद्ध यो गणेशलाई स्थानीय नेपालभाषामा यातु गणेशले पनि चिनिन्छ । यो मन्दिरको स्थापना नेपाल संवत् ७७५ मा भएको यहाँ रहेका अभिलेखबाट थाहा हुन्छ । उमेर पुगेर पनि बक नफुटेका बालबालिकाहरूलाई यो गणेशको दर्शन गराएमा बोली आउँछ भन्ने मान्यता छ । यसबाहेक कमलविनायक परिसरमा प्रशस्त दिगु द्यः पनि रहेका छन् । यहाँ रहेका चैत्य, पाटी, सत्तल आदि अर्को महत्वपूर्ण सम्पदाहरू हुन्। (विस्तृत विवरणको लागि– १. पोखरीहरूको शहर, ‘भक्तपुर’ मासिक अङ्क २८० २. यातु गणेशको प्राचीनता, ‘भक्तपुर’ मासिक अङ्क २३६ ३.धार्मिक, सांस्कृतिक महत्वले मात्र भरिएको छैन कमलविनायक पोखरी, ‘गोरखापत्र’ वि.सं. २०६१ जेठ १३ गते)
लामगः पोखरी, कमलविनायक, वडा नं. १०
भक्तपुर नगरका पोखरीहरूमा आफ्नो स्वरूप परिवर्तन भएको एक सम्पदामा लामगा पोखरी पनि हो । अहिले आकारमा सानो बन्नु परेको यो पोखरी हालको सरस्वती विद्यालय र चौरको पूरै भागमा फैलिएको थियो । हाल सडकसित जोडिएर उत्तर पूर्व कुनामा रहेको यो पोखरीको वास्तविक नाम रावण गः थियो । यसैको अपभ्रंश भई लामगः बन्न पुग्यो ।
क्वाथण्डौ परिसर, वडा नं. १०
भक्तपुर नगरको मल्लकालीन टोल बस्तीमा एक क्वाथण्डौ पनि हो । जुन नगरको उत्तरपूर्व दिशामा रहेको छ । क्वाथको अर्थ किल्ला हो । किल्ला रहेको सुरक्षित टोल भएको यो ठाउँ सामरिक हिसाबले अति संवेदनशील क्षेत्र हो । तत्कालीन दरबार वाने लायकुलाई सुरक्षा दिने हेतुले यहाँ क्वाथ निर्माण गरेपछि यो ठाउँको नाम नै क्वाथण्डौ बन्न पुग्यो । यहाँ क्वाथण्डौ पोखरीलगायत ढुङ्गेधारा, पाटी, सत्तल, द्यःछेँ र अन्य देवदेवीको मन्दिर, चैत्य, विहार र मठ आदि रहेका छन् ।
ग्वङ्ग पोखरी, मूलढोका, वडा नं. १०
भक्तपुर नगरमा रहेका पोखरीहरूमा नगरको उत्तर दिशामा मूलढोका पस्ने ढोका बाहिर यो पोखरी रहेको छ । विश्वप्रसिद्ध ५ तले मन्दिर बनिसकेपछि बाँकी भएको ठूलठूला पा अप्पा इँटाहरू प्रयोग गरी यो पोखरी बनाइएको मानिन्छ । पोखरी बनाउने व्यक्ति तत्कालीन दरबारका चुकुटी ग्वङ्ग नामका भारदार भएकोले उनैको नामबाट पोखरीको नाम ग्वङ्ग पोखरी बन्न पुग्यो । यो पोखरीसँगै पाटी, ढुङ्गेधारा रहेकोमा हाल पाटीको अस्तित्व देखिँदैन ।
महालक्ष्मी मन्दिर, महालक्ष्मी स्थान, वडा नं. १०
भक्तपुर नगरको चारैतिर अष्टमातृका देवीको पीठ रहेको छ । यसमा नगरको उत्तरपूर्वमा महालक्ष्मी देवीको पीठ रहेको छ । दुई तले मण्डप शैलीको मन्दिरमा देवीको अनाकृति मूर्ति र अन्य देवदेवी रहेका छन् । लिच्छवि राजा आनन्द देवको समयमा नै स्थापना भएको मानिने यो मन्दिरमा दशैं र बिस्केटमा जात्रा हुने परम्परा छ । मन्दिर वरपर पाटी, सत्तल, ढुङ्गेधारा आदि सम्पदाहरू रहेका छन् ।
दिपङकर महाविहार, क्वाथण्डौ, वडा नं. १०
भक्तपुर नगरमा रहेका बौद्ध विहारमा दीपङ्कर महाविहार पनि एक हो । दक्षिणाभिमुख यो विहारमा पाँचमध्ये एक दीपङ्कर बुद्ध रहेको कारण यसलाई दीपङ्कर महाविहार भनिन्छ । यहाँ रहेको एक अभिलेखअनुसार यस महाविहारको निर्माण नेपाल संवत् ७५० मा भएको हो । कलात्मक तोरण, टुँडाल, सिंह, आँखीझ्याल र चैत्य आदि यहाँका महत्वपूर्ण सम्पदाहरू हुन् । यहाँ रहेको दीपङ्कर बुद्धको हरेक वर्ष पञ्चदान र माघ सङ्क्रान्तिको दिन भक्तपुर नगर परिक्रमा गर्ने परम्परा छ । (विस्तृत विवरणको लागि ख्वपया बाहाबही, प्रकाशक मैत्रेय युवा सङ्घ, ख्वप )
प्रशन्नशील महाविहार, क्वाथण्डौ, वडा नं. १०
भक्तपुर वडा नं. १० बौद्ध सम्पदाको लागि धनी वडा मानिन्छ । यहाँ प्रशस्त विहार, चैत्य रहेको छ । यसमा एक प्रशन्नशील महाविहार पनि हो । यसको पुरानो नाम पशुपति विहार हो । क्वाण्डौस्थित यो विहार तीनतले परम्परागत शैलीले बनेको छ । लोकेश्वर शाक्यमुनिको मूर्ति यहाँको प्रमुख आकर्षण हो । यहाँभित्र सुरक्षित नेपाल संवत् ५२७ को पुरानो कागज पत्रअनुसार यो विहार पुरानो विहार हो भन्ने देखिन – आउँछ । त्यस्तै नेपाल संवत् ६६८ को एक निमन्त्रणा पत्रमा यस विहारको नाम उल्लेख छ । (विस्तृत विवरणको लागि– ख्वपया बाहाबही, पृष्ठ २२ – ३४, प्रकाशक मैत्रेय युवा सङ्घ, ख्वप)
आदरणीय ओम सर????नमस्कार
सर मैले लगभग हजुरले लेख्नु भएको भक्तपुरको इतिहास र परिचय पद्ने मौका पाएकोमा निकै हर्शिद भएको छु र अबका आउने दिन हरुमा पनि अझ धेरै पद्न र सिक्न पाइन्छ कि होला भनी आशा गर्दछु र अझ थप ८ औ शताब्दीका राजा आन्नद देब र उन्का उन्नति प्रगति योग्दान र शासनकाल र पछि गएर १२ औ शताब्दीका राजा अरि मल्ल देखि 18 औ शताब्दीका राजा रन्जित मल्ल सम्म क्रमश..कसरी खोप्पृङ भातगाउ ख्व्प भक्तपुर रहन गयो र कुन कुन र को को राजाहरुको भए र कहिलेबाट उनिहरुको आगमन उत्पत्ति शासनकाल सुरुवात भयो भनेर मलाई जान्न मन लागेको हुनाले केही लेख्नु वा भन्नुहुन्छकि भनेर म हजुरप्रती कृतज्ञता व्यक्त गर्दछु ????धन्यवाद