सार-यसो हेर्दा भक्तपुरको टौमढीचोक र त्यहाँस्थित प्रसिद्ध पाँचतले मन्दिर एकअर्काका पर्याय जस्ता देखिन्छन् । हुनपनि विश्वप्रसिद्ध, मौलिक नेपाली शैलीमा निर्मित भव्य र विशाल पाँचतले मन्दिर त्यहाँ अवस्थित रहेको कारणले गर्दा आज टौमढीचोकको समेत सर्वत्र ख्याति फैलिन पुगेको हो कि जस्तो लाग्दछ । त्यसैगरेर अर्कोतिर पाँचतले मन्दिर पनि टौमढी चोकमै नबनेर अन्त कहिं बनेको भए संभवतः सो मन्दिरले पनि त्यतिसारो प्रसिद्धि र महत्व पाउने थिएन होला । यसरी यी दुवै एक अर्काका पर्याय बनेका देखिन्छन् अर्थात् एकले अर्कोको महत्वलाई प्रश्रय दिइआएको बुझिन्छ । तर यथार्थमा पाँचतले मन्दिर बन्नु भन्दा शताव्दीयौं अघिदेखि नै टौमढी चोकको महत्व भक्तपुरको मेरुदण्डको रुपमा रहेको थियो । जस्तोकि— पाँचतले मन्दिर पछिल्लो मल्लकालमा (विक्रमको अठारौं शताव्दीको मध्यतिर) आएर मात्र बनेको देखिन्छ भने टौमढी चोक भक्तपुरले राजधानी नगरको रुपमा स्थापित हुनुभन्दा पहिलेदेखि नै भक्तपुर नगरको केन्द्रविन्दुको रुपमा अस्तित्वमा रहेको थियो । वंशावलीअनुसार पूर्वमध्यकालमा भक्तपुरलाई राजधानी नगरको रुपमा स्थापना गर्दा नगरको मध्यविन्दु मानिने यस ठाउँमा नगर रक्षक देवताको प्रतीक श्री भैरवनाथलाई प्रतिस्थापन गरे । साथै पूर्वमध्यकालदेखिकै तिलमाधव नारायण लगायत अनेक प्रसिद्ध देवदेवीका मूर्ति र मन्दिरहरु पनि यहाँ प्रतिस्थापित छन् । यसबाट प्राचीनकालदेखि अटुट रुपमा यस ठाउँको ठूलो धार्मिक र साँस्कृतिक महत्व रहँदै आएको थाहा पाइन्छ । तथापि आजका दिनमा आएर समग्र टौमढी चोकको मुख्य आकर्षणको केन्द्र भनेको विशाल एवं भव्य पाँचतले मन्दिर नै हो, जसलाई पहिलोपल्ट देख्ने जो कोही पनि ठूलो आश्चर्यमा पर्ने गर्छन् — नेपाल जस्तो देशमा यस्तो भव्य मन्दिर ? प्रस्तुत लेखमा भक्तपुरमा टौमढी चोकको महत्व एवं पाँचतले मन्दिरको धार्मिक, सांस्कृतिक पक्षबारे संक्षिप्त रुपमा अध्ययन गरिएको छ ।
टौमढी चोक
टौमढी चोक, जसलाई स्थानीयवासी नेवारहरु तःमारी पनि भन्ने गर्छन् भने ऐतिहासिक दस्तावेजहरुमा तलमंडे वा तलमण्डे भनेर उल्लेख भएको पाइन्छ । यो टौमढी दरबारक्षेत्र पछिको भक्तपुरको धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण रहेको अर्को मुख्य दर्शनीय स्थल हो । यो दरबारक्षेत्रबाट नजिकै पर्दछ अर्थात् दरबार क्षेत्रकै सेरोफेरोमा पर्दछ । यसैले भक्तपुर दरबार क्षेत्र आइपुग्ने पर्यटकहरु यहाँ नआउने कुरै भएन । जसले गर्दा टौमढी चोक पर्यटक ज्यादा आउने भक्तपुरको दोश्रो मुख्य गन्तव्य बनेको छ । यहाँ विश्व प्रसिद्ध पेगोडा शैलीको पाँचतले मन्दिर र भैरवनाथ मन्दिर रहेका छन् । विक्रमको तेह«ौं शताव्दीका शुरुका राजा आनन्ददेवले गाउँको रुपमा रहेको भक्तपुरलाई राजधानी नगरको रुपमा स्थापना गर्दा भैरवनाथलाई शहरको माझमा प्रतिष्ठापन गरेका थिए । यताबाट टौमढी चोक भैरवनाथको मूल निवासस्थान रहेको बुझिन्छ । पछिबाट यी भैरवले उज्जन्ड रुप लिन थालेपछि उनको उज्जन्डतालाई शान्त पार्नका निम्ति भैरवनाथकै दाहिनेतिर भैरवनाथ मन्दिरभन्दा अझै अग्लो गरेर तन्त्रशक्तिकी आराध्यदेवी सिद्धिलक्ष्मीको पाँचतले मन्दिर निर्माण गरिएको हो भन्ने जनविस्वास रहिआएको छ ।
टौमढीचोक भक्तपुरको इन्द्रचोक हो भन्दा खासै फरक पर्दैन । जसरी काठमाडौंको इन्द्रचोकमा आमुनेसामुने पारी भैरवनाथ र गोरखनाथका लागि भव्य सत्तलहरु निर्माण गरिएका छन्, ठीक त्यसैगरी भक्तपुरको टौमढी चोकमा पनि भैरवनाथ र गोरखनाथका लागि सत्तल निर्माण गरिएका छन् । यी दुवै सत्तलहरु मिली मढी वा मारी बनेका हुन् । यी मारी सत्तलहरुमध्ये तवःमारीमा भैरवनाथ र ऐंसामारीमा गोरखनाथ प्रतिस्थापन गरिएका छन् । टौमढीचोक भक्तपुरवासीका आराध्यदेव भैरवनाथको निवासस्थान भएकोले उनको सम्मानमा प्रत्येक वर्ष मनाइने भक्तपुरको प्रसिद्ध बिस्केटजात्राको शुभारम्भका साथै समापन पनि सोही स्थानमा सम्पन्न हुने गर्छ । ध्यान दिनुपर्ने कुरा के छ भने बिस्केटका अवसरमा भक्तपुरमा बाबा गोरखनाथको पनि तान्त्रिक विधिले पूजा गर्ने परम्परा छ । विशेषगरी सो अवसरमा गोरखपन्थी कनफटा जोगीहरु आएर तान्त्रिक विधिले गरिने जोगीचक्र पूजा सम्पन्न गर्ने गर्छन् । त्यस पूजाका लागि आवश्यक पर्ने ऐंसा नामक ठूलो रोटी पकाउनका लागि एउटा ठूलो सत्तल पनि त्यहाँ रहेको छ, जसलाई ऐंसामारी सत्तल भनिन्छ । पाँचतले मन्दिर सामुनेको ठूलो सत्तल (हाल Cafe Nyatpol रहेको सत्तल) नै ऐंसामारी सत्तल हो । साथै ठूलो रोटी पकाउने भएकाले समग्र त्यस इलाकालाई नै तवःमारी भनिएको हो, भन्ने थाहा हुन्छ ।
यो ठाउँ धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक रुपमा मात्र प्रसिद्ध नभएर भौगोलिक रुपमा समेत महत्वपूर्ण रहिआएको छ । किनकि यो चोक समग्र भक्तपुर नगरको हृदयस्थल अथवा मध्यविन्दु पनि हो । यसदेखि दक्षिणी पश्चिमी इलाकालाई क्वने(तल्लो टोल) र उत्तरपूर्वी इलाकालाई थने(माथिल्लो टोल) भन्ने गरिन्छ । र आज पनि यो चोक परम्परागत सांस्कृतिक गतिविधिहरुको प्रमुख केन्द्रविन्दु मानिन्छ । यसकारण यहाँको प्रसिद्ध बिस्केट जात्रा लगायत अन्य जात्राहरु यहीं ठाउँ भएर नगर परिक्रमा गर्ने गरिन्छ । पाँचतले मन्दिर र भैरवनाथ मन्दिरका अतिरिक्त यहाँ तिलमाधव नारायणचोक, चोकको माझमा नारायण मन्दिर, मन्दिरसामु ऐतिहासिक गरुडस्तम्भ, मन्दिर वरपर चोकभित्र वाणेश्वर महादेव, सप्तपाताल, धनवराह, कुमार कार्तिकेय, सूर्यनारायणका मन्दिर र मूर्तिहरु रहेका छन् । चोकबाहिर पूर्वतिर बाटोको खाल्डोमा चलाखु गणेश, भैरवनाथ मन्दिरभन्दा दक्षिणतिर अवस्थित कुलमा, सुलमा र थलमा नामका विशाल शिवलिङ्गहरु, नारायणचोकको बाहिर पश्चिमतिर बन्दी विनायक, जगन्नाथ ामन्दिर, जङ्गममठ, नरसिंह मन्दिर, क्रोध भैरव, त्यसभन्दा उत्तरी दिशामा ऐंसामाढी सत्तल, पुःबहाल, दिग्गणेश, चण्डिका, भुजिंकोखा, पूर्वतिर बेताल चोक, लुंहिटी नामक सुनधारा, भुछेंननि, लुनाछें अनि टौमढी चोकको बीचमा तह«ां दबु, चुकह«ां दबु, बेता दबु नामका तीनवटा मण्डपहरु आदि रहेका छन् ।
वास्तवमा विशाल पाँचतले मन्दिर सामुको प्राङ्गण एउटा ठूलो खुल्ला चोक भएको हुनाले यहाँ अनेक परम्परागत सांस्कृतिक गतिविधिका अतिरिक्त बेलाबेलामा सभा, सम्मेलन, सामाजिक क्रियाकलाप, प्रदर्शनीहरु पनि आयोजना हुने गर्दछन् । तल्लो र माथिल्लो टोलका बासिन्दाबीचको मुख्य संगमस्थल भएकाले यो निक्कै चल्तीको ठाउँ हो । यसैले आजपनि यहाँ प्रत्येक दिन विविध किसिमको बजार लाग्ने गर्छ । जस्तो— एकाविहानैदेखि फुटपाथमा तरकारी बजार, त्यसपछि होजियरी सामानको बजार अनि दिउँसो क्युरियो सामानको बजार लाग्ने गर्छ । साँझमा पनि फेरि उही क्रम दोहोरिने गर्छ । साथै यहाँ खसी, बोका, हाँस, कुखुरा आदि जिउँदा पशु–पन्छीको पनि किनबेच हुन्छ । यसरी निक्कै चल्तीको ठाउँ भएकाले यहाँ समय मिलाएर आएमा सबै किसिमका सामानहरुको सौदाबाजी गर्न सकिन्छ । साथै यो चोक शहरको मूल मेरुदण्ड भएकाले यहाँबाट शहरको जुनसुकै ठाउँ पनि नजिक पर्दछ र सजिलै पुग्न सकिन्छ । यताबाट यो ठाउँ परापूर्वकालदेखि तल्लो टोल र माथिल्लो टोल छुट्याउने दशगजाका रुपमा मात्र नभएर बल्कि समग्र यस भेगकै पर्वजात्राको मञ्च, धार्मिक क्रियाकलापको थलो, नाचगानको डबली, हाटबजार लाग्ने ठाउँ, सभा, सम्मेलन गर्ने खुल्ला चोक, फिल्म शुटिङ्ग गर्ने स्पटका रुपमा पनि प्रसिद्ध रहिआएको छ । धार्मिक, साँस्कृतिक दृष्टिले महत्वपूर्ण यहाँका मुख्य कला सम्पदाहरुमा पाँचतले मन्दिर अग्रस्थानमा रहेको पाइन्छ ।
पाँचतले (न्यातःपौ) मन्दिर
टौमढी टोलमा रहेको पाँचतले अर्थात् न्यातःपौ मन्दिर भक्तपुरको शान हो, गौरव हो । यसले भक्तपुर शहरको सुन्दरतालाई अझ भव्य बनाएको छ । मौलिक वास्तुकलाका अतिरिक्त प्रस्तर मूर्तिकलाका दृष्टिले समेत यो अनुपम छ । जो कोहीलाई विशेष रुपले आकर्षित गर्ने टौमढी टोलको उत्तरतर्फ रहेको दक्षिणाभिमुख यस विशाल मन्दिरको निर्माण राजा भूपतिन्द्रमल्लले वि.सं. १७५९ मा गरेका हुन् । यो मन्दिर बनाउँदा राजा आफैले ईटा बोकेर श्रमदान गरेका थिए । माथि नै उल्लेख गरियो कि तन्त्रशास्त्रकी देवी सिद्धिलक्ष्मीको यो मन्दिर बनाउनुको पछाडि स्थानीय भैरवनाथको उग्र र उज्जन्ड स्वभावलाई शान्त पार्ने उद्देश्य रहेको बुझिन्छ । यसैले व्यक्तिविशेषको घर रहेको ठाउँलाई खाली गराइकन त्यस ठाउँमा यो मन्दिर बनाइएको बुझिन्छ । किनकि हाल यो मन्दिर बनेको जुन ठाउँ छ, त्यो ठाउँमा मन्दिर बन्नु अघि दुःखीराम भारो भन्ने लगायतका व्यक्तिहरुको घर थियो । राजाले पाँचतले मन्दिर बनाउनलाई आफ्नो पुख्र्यौली घरजग्गा अधिग्रहण गरेपछि त्यसको सट्टाभर्ना दिइएको घरमा बस्न जाँदा दुःखीरामले आफ्नो मनमा परेको पीर र चिन्ताबाट मुक्ति पाउन रामायण ग्रन्थ समेत लेखेका थिए । यसरी पहिले घरवस्ती रहेको ठाउँका बासिन्दालाई अन्यत्र (पलिखेल भन्ने ठाउँमा) सारेर यो मन्दिर बनाइएको देखिन्छ । राजज्योतिषी, गुरु पुरोहित, तान्त्रिक आदि सबैको सल्लाह लिएर राजाले भैरवनाथको दाहिनेतिर भैरवनाथ मन्दिर भन्दा अझै अग्लो गरेर यो मन्दिर बनाएपछि भैरवको उज्जन्ड स्वभाव शान्त भएको मानिन्छ । यसमन्दिरभित्र अनुपम कलाले युक्त लगभग मानिस जतिकै अग्लो एउटै ढुंगामा बनेको बेतालमाथि आसन गरेका भैरवको मूर्तिमाथि चढेकी देवी सिद्धिलक्ष्मी भगवती स्थापित छिन्, सिद्धिलक्ष्मीको दाँयाबाँया मसान भैरव र महाकाल भैरव पनि स्थापना गरिएको छ । सर्वसाधारणले हेर्न नमिल्ने तान्त्रिक देवी भएकाले मन्दिरभित्र सम्बद्ध पुजारी बाहेक अरु कसैको पनि प्रवेश सहज छैन । यसैले हालपनि भैरवनाथको मन्दिर तीनतलाको मात्र रहेको छ भने भगवती सिद्धिलक्ष्मीको यो मन्दिर पाँचतलाको रहेको छ । यसदेखि बाहेक यो मन्दिरको निर्माण सम्बन्धमा अरु पनि थुप्रै रोचक अनुश्रुतिहरु जनमानसमा प्रचलित रहेको पाईन्छ । वास्तवमा मानिसमा दृढ ईच्छाशक्तिका साथ लगन, मेहनत र परिश्रम गरेमा के मात्र हुन सक्तैन भन्ने कुरा यस मन्दिरको निर्माणले पुष्टि गर्दछ । किनकि यो मन्दिर एक वर्षभन्दा पनि निक्कै कम समयावधि (भनिन्छ पाँच महिना) मा बनेको थियो । यो मन्दिर बनाइसकेपछि राजाले कोटीहोम गरी मूलपुरोहित(ब्राम्हण)लाई सुनको मुकुट दान गरेका थिए । पूजामा खट्ने आचाजु(कर्माचार्य)लाई सम्मान गर्नुका साथै सर्वसाधारण जनतालाई भोज ख्वाइएको थियो ।
पाँचतहको पेटीमाथि पाँचै तलाको झिंगटी छाना हालेर बनाइएको पेगोडा शैलीको यो विशाल मन्दिर मध्यकालीन वास्तुकलाको सबैभन्दा बेजोड नमूना मानिन्छ । मन्दिरमाथि चढ्न अगाडिपट्टि ढुङ्गाका खुडकिला छन् । त्यसको दायाँबायाँ दुवैतिर क्रमशः जयमल र प्रताप (कुटुवः)का मूर्ति, त्यसभन्दामाथि हात्ती, हात्तीभन्दामाथि सिंह, त्यसभन्दा माथि शार्दूल (चुच्चो नाक भएका गरुड जस्तो जीव)अनि सबभन्दा माथि दाँयातिर सिंग्री र बाँयातिर बंग्री देवका विशाल प्रस्तरका राम्रा मूर्तिहरु राखिएका छन् । यी प्रत्येक जीव(क्रमशः तलबाट माथि) एक अर्कोदेखि १०, १० गुणा बढी बलिया र शक्तिशाली रहेको मानिन्छ । मन्दिरका चारकुनामा चार दिग्गणेश स्थापना गरिएका छन् ।
सय फिटभन्दा बढी उचाई भएको यस मन्दिरमा पहिलो छानामाथिदेखि गजुरसम्म जम्मा १०८ वटा टुँडालहरु छन् । जस्तोकि पहिलो छानामाथि चारैतर्फ छ–छवटा टुँडाल र पाँच–पाँचवटा झ्याल र छानाको चारै कोणमा कुँफःका मूर्तिहरु छन् । यी झ्यालहरुमध्ये बीचमा ठूला र दाँयाबाँया साना झ्यालहरु छन् । मन्दिरको चारैतर्फ प्रत्येक झ्यालमाथि विभिन्न देवदेवीका मूर्ति अंकित तोरणहरु राखिएका छन् । दोश्रो छानामाथि पनि पहिलो छानामा जस्तै छ–छ वटा टुँडाल र तोरणसहितको बीचमा ठूलो र छेउमा दुईवटा साना झ्यालहरु छन् । तेश्रो छानामाथि छानाको मुठलमा अडेस लगाएको चारैतर्फ विभिन्न मूर्तिका चार–चारवटा टुँडाल र चारैकोणमा कुँफः मूर्ति, झ्याल र तोरणहरु रहेका छन् । दाँयाबाँया ससाना झ्याल खोल्नै नहुने गरी बनाइएको छ । चौथो छानामाथि पनि तेश्रोमा जस्तै चार–चारवटा टुँडाल, झ्याल र तोरणहरु राखिएका छन् । पाँचौं छानामाथि चार कोणको आसनमाथि गजुर र चुडामणि प्रतिस्थापित गरिएका छन् । साथै प्रत्येक छानाको मुठलमा फय् गांः (हावाले चल्ने साना घण्टहरु) झुण्ड्याइएका छन्, जुन हावा चलेपछि बज्न थाल्दछन् । छानामुनि र जमीनबाट पाँचौ तहको पेटीमाथि चारैतर्फ पाँच–पाँच कवलको खुल्ला दलान छ र त्यहाँ भुइँमा काठका फलेक ओछ्याइएका छन् । यसैले त्यहाँ बस्न र मन्दिर परिक्रमा गर्न सकिन्छ । मन्दिरको चारै दिशाका भित्ताको माझमा मन्दिर प्रवेश गर्ने तोरण सहितका काष्ठकलाले युक्त द्वारहरु छन । ती द्वारहरुमा मूल प्रवेशद्वार दक्षिण तर्फको हो । यी प्रत्येक द्वारका दाँया–बाँया दुवैतिर भित्तामा देवी दुर्गा भवानीका काष्ठमूर्तिहरु स्थापना गरिएका छन् । यस मन्दिरको जगदेखि गजुर स्थापना गर्दासम्मका सम्पूर्ण गतिविधिहरु लेखिएको धरःपौ(हस्तलिखित टिपोट), जुन राष्ट्रिय अभिलेखालय काठमाडौंमा संग्रहित थियो, त्यसलाई सर्वप्रथम प्रकाशमा ल्याउने काम डा. जनकलाल वैद्यले गर्नु भएको छ । जसबाट यस मन्दिरको निर्माणबारे यथार्थ कुरा जान्न सकिन्छ ।
पाँच तहको पेटीमाथि पाँचैतलाको छाना हाली बनाइएको यो मन्दिर तान्त्रिक देवी सिद्धिलक्ष्मीको हो । यसैले यस मन्दिरका प्रत्येक कुरामा तान्त्रिक भाव लुकेको पाइन्छ । जस्तोकि छाना पाँचतला र पेटी पाँच तह वा तला गरी जम्मा दश तला बनाउनुको अर्थ यो मन्दिर दश इन्द्रियले परिपूर्ण जीवन्यास प्रदान गरी जीवन्त तुल्याइएको हो भन्ने भाव बुझिन्छ । मन्दिरमा टुँडालहरु जम्मा १०८ भएकाले दश इन्द्रिययुक्त मानिसले १०८ वटा रुद्राक्षका माला घुमाई देवीको जप गर्नाले ईच्छित फल प्राप्ति हुन्छ भन्ने अर्थ बोध गराउँदछ । त्यस्तै मन्दिर उक्लने ढुङ्गाका तेंतीस वटा खुड्किलालाई तेंतीसकोटी देवताको प्रतीक मानिन्छ । मन्दिरका थाममाथि र निदालमा भित्र बाहिर गरी ६४ वटा सुन्दर मूर्तिहरु जुन छन्, तिनलाइृ ६४ योगिनी गणको प्रतीक मानिन्छ । यसरी यस मन्दिरका मूर्ति, झ्याल, ढोका, तोरण, टुँडाल, छाना, पेटी, जीवजन्तु आदि धेरै कुराको भाव पक्षको अध्ययन गर्दा वास्तवमा यो मन्दिर कला र तन्त्र शास्त्र बीचको अपूर्व समन्वयको विशिष्ट उदाहरण मान्न सकिन्छ । अर्को कुरा, यति धेरै उचाईमाथि यो मन्दिर बनेर पनि यसका मूलदेवी अर्थात् देवी सिद्धिलक्ष्मीको मूर्ति भूमिमै स्थापित हुनुपर्छ भन्ने प्राचीन मान्यतालाई कायम राख्नु वा राख्न सक्नु यसको अर्को महत्वपूर्ण पक्ष हो ।
उपसंहार
यसप्रकार भक्तपुरको केन्द्रविन्दुको रुपमा रहेको टौमढी चोकको भौगोलिक रुपले मात्र नभई धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक रुपले समेत ठूलो महत्व रहेको पाइन्छ । त्यहाँस्थित तान्त्रिक देवी सिद्धिलक्ष्मीको विशाल पाँचतले मन्दिर कला र वास्तुकलाका दृष्टिले अनुपम हुनु त आफ्नो ठाउँमा छँदै छ त्यसदेखि बाहेक यसमा लुकेको तान्त्रिक रहस्य र दार्शनिक भाव पक्ष त अझै गहन र गम्भीर रहेको देखिन्छ, जसलाई सामान्य मानिसले बुझ्न सक्दैनन् । यसलाई कलामा तन्त्रको प्रभाव मान्न सकिन्छ । किनकि यस मन्दिरका निर्माता राजा भूपतिन्द्र मल्ल स्वयं एक कला मर्मज्ञ, ठूला विद्वान एवं तान्त्रिक उपासक मानिन्थे र त्यतिबेला भक्तपुर तन्त्रप्रधान राज्य थियो । त्यसमाथि टौमढी चोक तान्त्रिक रुपले अझ महत्वपूर्ण स्थान थियो । जहाँ तन्त्र, रहस्य र दैवी शक्तिले सम्पन्न श्री भैरवनाथ विराजमान थिए÷छन्, जसले देवाधिदेव महादेवको उग्र र भयङ्कर डरलाग्दो स्वरुपको प्रतिनिधित्व गर्दछ । यसैले तिनलाई खुसी र सन्तुष्ठ पार्नका लागि यहाँ अनेक तान्त्रिक प्रवाहमा आधारित साँस्कृतिक क्रियाकलापहरु भए त्यसमध्ये यो मन्दिरको निर्माण पनि एक भएको बुझिन्छ । अस्तु !
सन्दर्भ सामग्री
१ विष्तृत जानकारीका लागि हेर्नुहोस्— जर्मन विद्वान नील गुत्सो र वर्नहार्ड कोल्वरद्वारा लिखित भक्तपुर, वेसबडेनः कमीसन्स भर्लाज फ्रान्ज स्टेनर, सन १९७५ ।
२ देवीप्रसाद लम्साल, भाषा वंशावली, भाग २, काठमाडौंः नेपाल राष्ट्रिय पुस्तकालय, वि.सं. २०२३, पृ. २० ।
३ हेर्नुहोस्— पासुका वर्ष ३, अंक ९, पृ. ६ र वर्ष ३, अंक १०, पृ. ६ र ७ मा छापिएका भक्तपुरका मल्ल राजाहरुका ताडपत्रहरु ।
४ सत्यनारायण प्रजापति, “लँय्को लाकोलाछें जहाँबाट पर्वजात्राको नेतृत्व हुन्छ,” मासिक भक्तपुर, संख्या ११६ (२०५४ असार), पृ. ७१ ।
५ भक्तपुर कुम्हाले टोलको उत्तरतिर ढिस्कोमाथि तालादम्फो भन्ने ठाउँमा स्थापित बाबा गोरखनाथको मूर्तिमा बर्सेनि बिस्केटका अवसरमा (चैत्र मसान्तका दिन) कापालिक सम्प्रदायका मानिसहरु तान्त्रिक विधिले सुंगुर बलि दिई पूजा गर्न आउने परम्परा छ । गोरखनाथ कापालिक वा नाथ सम्प्रदायका प्रमुख गुरु मानिन्छन् । तर कापालिकहरुको यो पूजाविधि निक्कै विष्मयकारी लाग्दछ । किनकि यसबेला पूजा गोरखनाथको गरेपनि सुंगुर बलि चाहिं गोरखनाथ (पादपीठ)को पछिल्तिर रहेको भैरवनाथलाई चढाउने गरिन्छ । बलि दिने क्रममा गोरखनाथलाई रगत नलागोस् भनेर रातो कपडाले छोप्ने पनि गरिन्छ । —तलेजुका पुजारी सुरेन्द्रवीर कर्माचार्यबाट प्राप्त जानकारीको आधारमा ।
६ हरिराम जोशी, “कनफटा,” खोपृङ, अंक १४, वर्ष १६, पृ. ७१ ।
७ लीलाभक्त मुनंकर्मी, नेपालको सांस्कृतिक तथा ऐतिहासिक दिग्दर्शन, भक्तपुरः भवानी केसरी, वि.सं. २०४१, पृ. १७८ ।
८ जनकलाल वैद्य, सिद्धाग्नि कोट्याहुति देवल प्रतिष्ठा, काठमाडौंः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, वि.सं. २०६१, पृ. ८ ।
९ मुनंकर्मी, पा.टि.नं. ७, पृ. उही ।
१० वैद्य, पा.टि.नं. ८, पृ. उही ।
११ स्थलगत अध्ययन र प्रत्यक्ष अवलोकनबाट प्राप्त जानकारी ।
१२ मुनंकर्मी, पा.टि.नं. ७, पृ. १७९ ।
१३ विनोदराज शर्मा, इतिहास–संस्कृतिः केही पृष्ठहरु, भक्तपुरः स्टुडेन्ट्स लाइब्रेरी, वि.सं. २०५७, पृ ३९ ।