नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय र बहुधार्मिक तथा भौगोलिक रूपमा विविधता भएको देश हो । त्यसैले यस देशमा स्थान विशेषको आधारमा विविधतायुक्त स्थानीय ज्ञान, सीप, परम्परा, संस्कृति र खेलहरू रहेका हुन्छन् । यी रैथाने ज्ञान, सीप, परम्परा खेलहरू आदि एकै समयमा प्राप्त भएको नभई धेरै लामो समयको प्रयासबाट आएको हुन्छ । औद्योगिक क्रान्ति, उत्तर विश्वयुद्धकाल र बिसौं शताब्दीको उत्तरार्धसँगै शुरु भएको भूमण्डलीकरणको प्रभाव तथा आधुनिकीकरण शहरीकरण तथा बढ्दो प्रविधीको विकासले यस्ता स्थानीय सीप, ज्ञान, खेलहरू बिस्तारै ओझेलमा पर्दै गयो । त्यस्तै कतिपय रैथाने सीपहरू लोप भइसकेका पनि छन् । हालको यस समयमा यस्ता विषयहरूको पुर्नजागरण दिनु आवश्यक छ भने निरन्तरता दिनु आवश्यक छ ।
यसै सिलसिलामा खेलक्षेत्रमा पनि विभिन्न परम्परागत खेलहरू रहेको हुन्छ । जसले त्यसबेलाको समय विताउने मनोरञ्जन तथा बौद्धिकता देखाउन गर्दछ । यस्ता खेल स्थान विशेष जातजाती तथा प्राप्त सामग्री अनुसार फरक फरक रहेको हुन्छ । खेलहरूले शरिरलाई फुर्तिलो जागरिलो तथा दिमागलाई बौद्धिक खुराक प्रदान गर्ने गर्दछ । समयको क्रमसँगै स्थान विशेष उपलब्धी सामग्री तथा प्रविधिको विकास सँगै नयाँ खेलहरू विकास हुँदै गयो जसले परम्परागत खेलहरू विस्थापन हुँदै गयो । यस प्रकारको प्रतिस्पर्धाको समयमा परम्परागत खेलहरूलाई समयसँगै परिमार्जन तथा प्रविधिमैत्री बनाई अगाडि बढाउनुपर्दछ ।
यस्तै स्थानीय ज्ञान, सीप र खेलहरूमा परम्परागत स्थानीय खेलहरूमध्ये कसिमला पाँय् पनि एक हो । यो खेल पनि हाल झण्डै लोप हुने अवस्थामा पुगेको थियो । तर, भक्तपुर नगरपालिकाले स्थानीय पाठ्क्रममा यस खेललाई समावेश गरिएपछि यस खेलले पुनर्जीवन प्राप्त गरेको छ । हाम्रा अग्रजहरूले केही स्थानमा सिमित खेलहरू खेलिने गरेकोमा यसले तेस्रो पुस्ताका विद्यार्थीहरूमा प्रसार भए सँगै यो खेलले पुनर्जीवन पाएको देखिन्छ । यो खेलको शुरु कहिले भएको भन्ने जानकारी प्राप्त हुन सकेको छैन । तर, यो खेल भक्तपुरमा मात्र खेलिने भन्ने अग्रजहरूको भनाई छ । त्यसैले यसको शुरु भक्तपुरबाट भएको मान्न सकिन्छ । यो खेल खेल्न सजिलो तथा मनोरञ्जनात्मक रहेको छ भने यसको लागि आवश्यक खेल सामग्रीहरू पनि सजिलै प्राप्त गर्न सकिन्छ । यसको लागि नर्कत वा वेतबासको चार ओटा कप्टेरा वा पत्ती आवश्यक हुन्छ । जुन यस खेलको मुख्य सामग्री पनि हो । यसलाई पाँय् भनिन्छ । यसको साथै यस खेलको लागि एउटा बोर्ड र दुई थरीको गोटीको आवश्यक रहन्छ । यसको बोर्डमा चित्रमा देखाए जस्तै तीन कोठा रहेको हुन्छ । दुई छेउका कोठाहरु केही साँघुरो र बीचको कोठा फराकिलो हुन्छ ।
कसि भन्नाले उक्त खेल शुरु हुने अवस्था, मलाले बोर्ड र पाँय् भन्नाले गोटी चाल्न आवश्यक संख्या निर्धारण गर्ने कप्टेरा हुन् । जसले गर्दा यसलाई कसिमला पाँ भनिन्छ । सजिलोको लागि र कुनै स्थानमा यसलाई कसिपाँय् मात्र भन्ने गरिन्छ । यस खेलको बोर्डमा तीन भागको कोठा हुन्छन् । दुई छेउ केही साँघुरो र बिचको केही फराकिलो हुन्छ । चित्रमा जस्तै दुई छेउमा दुईपक्षको फरक प्रकारका गोटीहरू राखिन्छ । विशेषगरी यस बोर्डको बिचको भागलाई मला भनिन्छ । मलाको शाब्दिक अर्थ गल्ली भन्ने बुझिन्छ । यी कोठाहरू १७ वटा वा २५ वटा सम्म पनि हुने गर्दछ । प्राय १७ वटा कोठाहरू रहन्छ । बीचको भागमा शुरुको कोठादेखि प्रत्येक चौथो कोठामा चिन्ह लगाएको हुन्छ जसलाई लायग वा भोङ्ग भनिन्छ । यस स्थानमा (लायग) गोटीहरू सुरक्षित रहन्छ । जबकी अरु कोठामा राखेको गोटीलाई विपक्षले खान सक्छ । एउटा पक्षले लिइराखेको लायगमा दोस्रो पक्षको गोटी राख्न पाउदैनन् । यस प्रकारको लायग ५ ओटा ७ ओटा सम्म रहन्छ । दुई पक्षबाट खेल्ने यो खेल मनोरञ्जनात्मक र प्रतिस्पर्धात्मक पनि हुन्छ ।
स्थान विशेषमा यसको खेल्ने नियमहरूमा केही फरक भए तापनि यसको मूल मर्म भन्ने फरक रहेको देखिँदैन । दुवै पक्षमा पाँय् फालेर यस खेलको शुरु गरिन्छ । कसि नभए सम्म आफ्नो गोटी चाल्न पाउँदैन गोटी चाल्ने मूख्य आधार यसमा रहेको पाँय् वा कप्टेरामा आउने संख्या नै हो । खेलाडीले आफ्नो गोटी दायाँबाट चाल्न शुरु गर्नुपर्दछ । दुवैले पालैपालो पाँय् उफार्दै पाँयमा आएको संख्याको आधारमा आफ्नो गोटी चाल्नुपर्दछ । चारवटा पत्ती उफार्दा यदि तीन वटा पत्तीहरू घोप्टो परी एउटा माथी फर्केमा कसि हुन्छ । यस अवस्थामा गोटीलाई १ चालिन्छ ।
कसि नआइ सम्म शुरु गोटी चाल्न पाइन्दैन । कसिपाँय् ४ वटा मध्ये २ ओटा माथी फर्केको र २ ओटा घोप्टो परेमा द्वाक वा द्वादी वा २ मानिन्छ । त्यसैगरी ४ ओटा कसिपाँय मध्ये ३ ओटा माथि फर्केको र १ ओटा घोप्टो परेमा सुदी वा ३ मानिन्छ । ४ ओटा पत्ती मध्ये ४ ओटै माथि फर्केमा पिइ वा च्या वा ४ मानिन्छ । यदि कसिपाँय चारै वटा घोप्टो परेमा ङा वा ५ मानिन्छ । यसरी कसिपाँय् उफार्दा पिई वा च्या तथा ङा आएमा पुनः दोहोर्याएर कसिपाँय् उफार्न दिइन्छ । गोटी चाल्दा आफ्नो पक्षको दायाँबाट शुरु गरिन्छ । यस खेलमा कसिपाँय् फाल्दै विपक्षको गोटी खानको लागि योजना बनाउनुपर्दछ ।
जुन पक्षले आफ्नो गोटी बाँकि गरि विपक्षको सम्पुणर् गोटी समाप्त गर्न सफल हुन्छ त्यस पक्षको जित हुन्छ । यसरी खेलमा एउटा पक्षले आफ्नो सम्पूणर् गोटी सुरक्षित गरी विपक्षको सम्पुणर् गोटी समाप्त गरेमा यस अवस्थालाई गुलमसी भनिन्छ । यस अवस्थामा दुई गुणा अङ्क प्रदान गरिन्छ । त्यसैले यस खेल खेल्न कसिपाँय् उफार्दा विशेष ध्यान दिनुपर्दछ भने आफ्नो गोटी चाल्दा चनाखो हुनुपर्दछ । कुन गोटी सार्दा विपक्षलाई अप्ठायारो बनाउन सकिन्छ वा विपक्षको गोटी समाप्त गर्न सकिन्छ त्यसमा ध्यान दिनुपर्दछ । त्यसैगरी लायग कसरी प्राप्त गर्न सकिन्छ त्यसको लागि कुन गोटी कुन अवस्थामा चाल्नु पर्दछ त्यसमा विशेष ख्याल गर्नुपर्दछ । यस प्रकारको योजनाले आफ्नो पक्षमा जित हासिल गर्न सहयोग गर्दछ । यस प्रकारको प्रतिस्पर्धाले खेललाई मनोरञ्जनात्मक, रोमान्चक तथा सोचनीय बनाउन्छ ।
समग्रमा भन्नुपर्दा यो खेल खेल्न धेरै गाह्रो छैन । सिक्न र खेल्न सजिलो पनि छ । हाल भक्तपुरको वाकुपति नारायणस्थान सुर्यमढी, चोछें छुमागणेशस्थानको पाटी, गःहिती, खौमा, सिद्धपोखरी तथा विद्यालयहरूमा हाम्रा अग्रजहरू तथा विद्यार्थीहरू खेल्दै गरेको देखिन्छ । सिक्नचाहने मानिसहरूले उक्त क्षेत्रमा गएर हेर्न र सिक्न सकिन्छ । हाल भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम अन्तर्गत कक्षा ६ मा यो खेल समावेश गरेको छ । साथै २०७५ सालदेखि अन्तरनगर खेलकुद प्रतियोगितामा पनि समावेश गरी यस खेललाई पुनःजागृत गर्दैछ । जसले गर्दा विद्यालयहरूका शिक्षक-शिक्षिका र बालबालिकाहरूले पनि यो खेल सिक्ने र खेल्न शुरु गरेका छन् । जसले गर्दा यस खेललाई पुनः जागृत गर्न सहयोग मिलेको छ । यि यस्ता खेलहरू बाहेक अरु परम्परागत खेलहरूलाई पनि विद्यालयहरूको पाठ्यक्रममा समावेश गरी वा खोजी गरेर पुनः जागृत गराउनु हामी सबैको कर्तव्य हुन आउन्छ ।
स्रोतहरुः–
- बाकुपती नारायणस्थान तौलाछेँका अग्रजहरू
- चोछे छुमागणेश स्थानका अग्रजहरू
- सिद्धपोखरीमा यस खेलखेल्ने खेलाडी अग्रजहरू
स्रोतः ख्वप पहिचान भाग १