लेखसार
नेपालमा बसोबास गर्ने विविध समुदाय मध्येको एक प्रमुख समुदाय ‘नेवार’ समुदाय हो । नेवार समुदाय नेपालको आदिबासी जनजातिमा गणना हुने समुदाय हो, जुन पूर्व मध्यकालदेखि नै व्यापार व्यवसायको सिलसिलामा काठमाडौ उपत्यकाबाहेक पनि नेपालको प्रायः सम्पूर्ण स्थानमा बसाइ सरी आफ्नो अस्तित्व स्थापना गर्न सफल रहँदै आएको छ । तर नेवार समुदाय नेपालभरि फैलिए पनि नेवार समुदायमा मनाउने पर्व तथा चालचलनको अस्तित्व काठामाडौ उपत्यकाका जिल्लाहरुमा मात्र जिवित रहेको देखिन्छ, त्यसमा पनि भक्तपुर नै एक मात्र स्थान रहेको छ , जहाँ नेवार समुदायले प्राचीन तथा मध्यकालदेखि चलाउँदै, मनाउँदै आएका जात्रापर्व, चालचलन एवं संस्कृतिहरु जस्ताको तस्तै तथा समयसापेक्ष परिवर्तन गरी जिवित रहँदै आएको छ । तर आधुनिक विज्ञानको युगमा नयाँ पुस्ताले भने नेवार समुदायको साँस्कृतिक पक्षमा चासो कम राखेको र अग्रज पुस्ताद्धारा साँस्कृतिक ज्ञान पुस्तान्तरण नगरिएका कारण हराउन थालेको भने पक्कै हो । जे जस्तो अवस्था भए पनि वर्तमान समयमा अस्तित्वमा रहेका धार्मिक तथा साँस्कृतिक पक्षलाई मात्रै पनि जोगाई राख्न सकेको खण्डमा आउने भावी पुस्तालाई उपहार स्वरुप प्रदान गर्न सकिन्छ ।
नेवार समुदायलाई धार्मिक रुपले हिन्दु नेवार समुदाय र बौद्ध नेवार समुदाय गरी विभाजित गर्न सकिन्छ, र यी दुबै धर्मावलम्बीहरुको आ–आफ्नै उल्लेखनीय सांस्कृतिक पक्षहरु रहेका छन् । हिन्दु तथा बौद्ध धर्मावलम्बी दुबै समुदायले विना सङ्कोच तथा विना विभेद वर्षभरी आउने जात्रा तथा पर्व भने मनाएका हुन्छन् तर तरिकामा भने फरक हुन सक्छ, जुन धार्मिक सहिष्णुताको अनुपन नमुना हुन् । नेवार समुदायमा मनाउने विभिन्न जात्रा/पर्वहरुमध्ये गथांमुग जात्रा पनि एक महत्वपूर्ण जात्रा हो । यो दिनलाई नेवार समुदायमा गथांमुगः/ गथामग/ गाथामग चःर्हे/ गथामंगल चःर्हे/ घण्टाकर्ण चतुर्दशी जस्ता इत्यादि नामले पनि चिनिने गरिन्छ भने गाउँघरतिर लुटो फाल्ने दिनको रुपमा मनाइने चलन छ । भक्तपुरमा भने नर्कत तथा छ्वालीको त्रिखुट्टे मानव कदको आकृति निर्माण गरी शहरको मूख्य चोक तथा शहर बाहिर लगी जलाइन्छ । घरमा हुने अनिष्ट तथा आउन सक्ने भूतप्रेत,आत्मा तथा नकारात्मक शक्तिलाई नष्ट गर्ने, हुने विश्वास गरिन्छ । सोहि दिनमा चोक तथा खोला छेउ वा शहर बाहिर लगेर गथामुगलाई जलाउने गरिन्छ । बच्चाहरूमा रोगव्याधि नआओस्, कुनै नकारात्मक शक्तिले असर नपुर्याओस् र विशेष गरी रुञ्चे रोग नसरोस् भनी बच्चाहरूलाई जलाइएका गथामुगको खरानीबाट आउने धुवाँमा आमा बुबाको साहयताबाट नाघ्न लगाइन्छ ।
गथामग चःर्हेलाई सरसफाई गरी मनाउने एक पर्वको रुपमा पनि मान्ने गरिन्छ । किसानहरु असारमा रोपाईमा अति व्यस्त हुने हुँदा घर–कोठा अव्यवस्थित भई सर–सफाइ खाँचो पर्ने हुन्छ । जसका कारण लामखुट्टे, भुसुना, तथा अन्य हानिकारक परजीवी किराजन्य तत्त्वले डेरा जमाउने हुँदा यस पर्वको दिन वा अघिल्लो दिनदेखि नै सरसफाइ गरी घरबाट निस्किने सम्पूूर्ण नकारात्मक तत्व फाल्न लाने गरिन्छ ।
शब्द कुञ्जिका
गथांमुग, घण्टाकर्ण, चतुर्दशी, भूत–प्रेत, तन्त्रविद्या
परिचय
गथांमुग वा गथामग को हुन् ? गाथामग र घण्टाकर्ण दुबै एकै हुन् ? श्रावन कृष्ण चतुर्दशीका दिन यो पर्व किन मनाइन्छ ? यी जिज्ञासाहरु अध्ययनको क्षेत्रमा महत्वपूर्ण प्रश्नको रुपमा उब्जिएको छ । यस अध्ययनको प्रयत्न पनि यहीं प्रश्नहरुको उत्तर खोज्ने नै रहेको छ ।
नेपालमा नेपाली समुदायले मनोशिर उच्च गर्दैै अङ्गाल्दै र मनाउँदै आएको विभिन्न चाडपर्व, जात्रा, चालचलन, संस्कार, रहनसहन, जीवनयापन तरिका इत्यादिका कारण विश्व मानव समुदायमा नेपाली समाज र समुदायको विशिष्ट पहिचान रहेको छ । नेपालको राजनितिक भु–भाग अन्तर्गत बसोबास गर्ने हरेक समुदायहरुको आ–आफ्नै विश्वास, आस्था, धार्मिक सह–अस्तित्व, संस्कृति तथा चालचलन इत्यादि रहेको छ । यहीं विशेषताका कारण पनि नेपाली समाज र समुदायहरूको अस्तित्व जीवित राख्न मद्दत पुगेको छ ।
नेवार समुदाय नेपालको प्रचीन समुदाय हो । नेवारको आदि ऐतिहासिकतामा विभिन्न विद्वानहरु एकमत हुन नसके पनि लिच्छविकालदेखि नै नेवार समुदाय काठमाडौं उपत्यकामा आदिवासीको रुपमा रहेको यकिन गर्न सकिन्छ । लिच्छवि शासकहरुले नेपालमा किँराती राजालाई हराई लगभग आठ सय वर्षसम्म शासन गरेका थिए । यहाँका नेवार बस्तीहरुमा दखल गरी भगाएको तथ्यले नेवार समुदायको इतिहासलाई प्रचीनकालसम्म लान सकिन्छ (आचार्य, २००९, पृ. १०) । तर थप प्रमाणिकताको लागि भने गहन अध्ययन जरुरी छ । केहि साहित्यक स्रोतलाई आधार मान्ने हो भने प्राचीन समयदेखि नै नेवारी समाजमा विभिन्न जात्रापर्व तथा परम्परागत संस्कृतिहरु चल्दै आएको पाइन्छ । लिच्छविकालीन समाजमा मण्डपियात्रा, पशुपति जात्रा, बराह जात्रा, लोकपाल स्वामीको यात्रा लगाएतका विभिन्न जात्रा पर्वहरु मनाउने गरेको लिच्छवि अभिलेखहरुबाट थाहा पाउन सकिन्छ । त्यस्ता विभिन्न चालचलन, धार्मिक तथा सामाजिक जात्रापर्वहरु विस्तार र पुस्तान्तरण हुने क्रममा धेरै जात्रा पर्वहरु मध्यकाल हुँदै आधुनिककालसम्म पनि चल्दै आइरहेको छ ।
विशेषगरी नेवार समुदाय केन्द्रित रहेको स्थानहरुमा प्राचीन तथा मध्यकालीन जात्रापर्वहरुको अस्तित्व रहँदै आएको सत्यता नकार्न सकिंदैन । जहाँ नेवार बस्ती छ , त्यहाँ चाडपर्वको छुट्टै रौनक रहेको हुन्छ । नेवार समुदायमा यस्ता चाडपर्व र जात्रा, उत्सवहरु हर्षाेउल्लासका साथ मनाउने गरिन्छ । प्रायः मनाउँदै आएका जात्रापर्वमा घरबाट विवाह भई गइसकेका छोरीचेली र नजिकका आफन्त निम्त्याई भोजभतेर गरी मनोरञ्जन गर्ने प्रचलन रही आएको छ । यसैकारण पनि ‘बाहुन/क्षेत्री बिग्रियो मोजले, नेवार बिग्रियो भोजले’ भन्ने लोक कथन चलेको पाइन्छ । नेवार समुदाय मध्यकालदेखि नै किसान तथा व्यापारी वर्ग भएको कारण अन्य समुदायसँग भन्दा तुलनात्मक रुपले धनराशीको बढी प्राप्ति हुने हुनाले पनि नेवार समुदाय जात्रा, पर्व, भोज जस्ता सांस्कृतिक क्रियाकलापमा बढी संलग्न भएको देखिन्छ ।
नेपालको विभिन्न भागमा नेवार समुदायको बसोबास रहेको छ । नेवार समुदायको बसोबासको केन्द्र भने काठमाडौं उपत्यका नै हो । काठमाडौं उपत्यका बाहेक अन्यत्र नेवार बस्ती क्षेत्रमा सांस्कृतिक जात्रा पर्व मनाउने प्रचलन केही मात्रामा कम रहेता पनि काठमाडौं उपत्यकामा भने बर्षभरि आउने हरेक चाडपर्व, जात्रा धूमधामले मनाउने गरिन्छ । वर्तमान समयमा काठमाडौं उपत्यका स्थायी रुपमा छोडेर बसाइ सराइ गरेका नेवार समुदायले आफ्नो परम्परागत नेवारी संस्कार र संस्कृति छोडेको वा बिर्सिंदै गइरहेको देखिन्छ । साथै उक्त नेवार समुदायले बसोबास गरिरहकै स्थान बिशेषको संस्कृति र चालचलन अङ्गिकार गरेको पाइन्छ । उदाहरणको लागि सिन्धुपाल्चोक जिल्लाको विकट गोकुले गाउँ नेवार समुदायले नै भरिएको गाउँँ हो । तर त्यस गोकुले गाउँका सम्पूर्ण नेवारहरुले नेवार जात्रा पर्वको तौरतरिका थाहा नभएको र त्यस क्षेत्रमा आफ्नै प्रकारको धार्मिक आस्था र चालचलन विकास गरिएको छ (प्रत्यक्ष आवलोकन) । यस्ता केहि अपवाद बाहेक नेवार समुदायमा धूमधामले जात्रा पर्व मनाउने गरेको पाइन्छ ।
काठमाडौं उपत्यकामा मनाउने महत्वपूर्ण जात्राहरु गाईजात्रा, दसैं, तिहार, संक्रान्ति, बिस्काः, इन्द्रजात्रा, घोडाजात्रा, शिवरात्री, पूर्णिमाहरु, श्री पञ्चमी, बुद्ध जयन्ती, कुमार षष्ठि लगायतका जात्रापर्वसंगै गथामग जात्रा पनि एक महत्वपूर्ण जात्रा हो । विशेष गरी नेवारी समुदायमा मनाइने यस गथामग जात्रा स्थानभेक अनुसार बोलाउने नाम तथा तौर–तरिका फरक रहेका छन् । नेवारी समाजमा गथांमुग, गाथामग, गथामंगल चःर्हे नामले प्रचलित रहेको यो दिनलाई गैरनेवार समुदायमा घण्टाकर्ण चतुर्दशीको नामले प्रचलित रहेको छ । उक्त दिन गैरनेवार समुदायमा लुटो फाल्ने अर्थात घरमा रहेको नकारात्मक शक्तिलाई घर बाहिर धपाउने र कुनै पनि रोगव्याधिले परिवारका सदस्यहरुलाई असर नगरियोस् भन्ने हेतुले कौसीमा धुनि बालेर मनाइन्छ भने नेवार समुदायमा गथामग नामको पात्रलाई राक्षस वा दैत्य मानेर समाज–कल्यानको निमित्त उक्त पात्रको ठूलो मानवकद बनाई शहरको मुख्य चौबाटोमा वा शहर बाहिर नदीको किनार वा बस्तीबाट टाढा लगेर जलाई अन्तिम संस्कार गरिन्छ ।
गथामग चःर्हे / घण्टाकर्ण चतुर्दर्शी
चःर्हे अर्थात चतुर्दशी । नेपाली चन्द्रमास पात्रो अनुसार बर्षभरीमा बालाचःर्हे, सिलाचःर्हे (शिवरात्री), पशा चःर्हे (पिशाच चतुर्दशी) र गथामग चःर्हे गरी यी चारवटा चाड चतुर्दशीको दिन मनाउने महत्वपूर्ण पर्वहरु हुन् । गथामग चःर्हे अर्थात घण्टाकर्ण चतुर्दशीका प्रमुख पात्र गथामग हो र नेवारी परम्परामा उक्त गथामगलाई राक्षसको रुपमा चित्रण गरी, मानवकदको आकृति बनाई जलाउने कार्य गरिन्छ । घर–घरमा हुने प्रेत, आत्मा, भूत, तथा नकारात्मक शक्तिलाई यस चःर्हेकै दिन फाल्नु पर्छ भन्ने हेतुले घरको सरसफाइ तथा पुजाविधि गरिने हुनाले पनि गथामग चःर्हे नेवारी समाजमा विशेष रहेको छ (मुनंनकर्मी, वि.सं. २०४३, पृ. २१) ।
यस चतुर्दशी तान्त्रिक शक्ति र अलौकिक शक्ति प्राप्तिको दृष्टिले पनि महत्वपूर्ण दिन हो । परम्परागत धारणा अनुसार गथामग चःर्हेका दिन बोक्सी विद्याको सिद्धि प्राप्त गरिन्छ । बोक्सी–विद्या ग्रहण पश्चात अरु तीन जनालाई बोक्सी–विद्या दिनुपर्ने नियम छ । बोक्सी–विद्या ग्रहण गर्ने क्रममा विभिन्न मन्त्रहरु लिने तथा तालिमहरु दिने क्रियाकलाप सम्पन्न भई सकेपछि बोक्सी–विद्या ग्रहणकार्य सम्पन्न गर्न गथामग चःर्हेको दिन बोक्सीहरु आफ्नो औंला बालेर, आफ्नै श्रीमान् तथा छोरालाई कुचोको पुच्छर लगाई ठुम्मो (भाले भेडा) बनाई डोरीेले घाँटीमा बाँधेर चार खुट्टा टेक्न लगाई मसान तर्फ लगी भोग दिने मान्यता रहेको छ (श्रेष्ठ, वि.सं. २०६५, पृ. १७–१८) । यो दिन तन्त्रविद्या तथा नकारात्मक शक्ति प्रदर्शन गर्ने व्यक्तित्वहरु बढी सक्रिय हुने हुनाले पनि सजगता अपनाउनु पर्ने दिनको रुपमा लिइन्छ । भाषा वंशावली अनुसार राजा प्रताप मल्ल, तान्त्रिकद्वय लम्बकर्ण भट्ट र जामनः गुभाजु गरी तीन जना अनेक पीठमा गई विभिन्न प्रकारका तमासा गरी मनोरञ्जन लिई रहेको हुन्थ्यो । एक दिन घुम्ने क्रममा अबेला हुँदा रात पर्यो र त्यस रात घण्टाकर्ण चतुर्दशीको रात थियो । त्यस रात डाकिनीहरु पीठ–पीठ घुमेर पुजा सम्पन्न गरी आफ्नो विद्याको सिद्धि प्राप्त गर्ने प्रयत्नमा थिए र तत् समयमा प्रताप मल्लले सम्पूर्ण डाकिनीहरुलाई पाठ सिकाउने हेतुले पञ्चशुत्र (तन्त्र) ले बाँधेर देश घुमाए (लंसाल, देविप्रसाद, २०२३, पृ. ९०) । राजा प्रताप मल्ल पनि तन्त्रविद्यामा निपुण थिए भन्ने प्रसंग यी साहित्यिक स्रोतबाट प्रष्ट हुन्छ । यस स्रोतबाट पनि तत्कालीन समयमा नै गथामग चःर्हेको प्रचलनता रहेकोे प्रष्ट हुन्छ । मध्यकालमै गथामग चःर्हेको दिन भूतप्रेत, पिशाच, आत्मा हताउन यो जात्रा प्रचलनमा रहेको थियो । तसर्थ यस दिन घर तथा समाजबाटै नकारात्मकतालाई फाल्न तथा कुविद्या ग्रहण गरी सिद्ध हुने महत्वपूर्ण दिन भएकोले पनि नेपाली समाजमा यस दिनको छुट्टै महत्व छ ।
गथामग चःर्हे विधि
गथामग चःर्हेको विहानदेखि नै मानिसहरू घर सरसफाइमा संङ्लग्न भएको हुन्छ । सिथि नःखदेखि किसानहरु रोपाईमा व्यस्त हुने हुँदा घरको सरसफाइमा खासै ध्यान दिन नसकिने भएकोले घरमा किरा, भुसुना, फोहर, धुलो इत्यादि कारणले बस्नलाई असजिलो हुने तथा रोपाई सकेपछि रोपाईका क्रममा घर बाहिर विभिन्न स्थानमा बसेर खाना, खाजा खाएको हुँदा श्रावन चतुर्दशीको दिन घर र आत्मा सफा र स्वच्छ राखिनकै लागि गथामग पर्व मनाएको हो (गौतम प्रजापती, व्यक्तिगत अन्तवार्ता, श्रावन ११, २०७९) । यहाँ ‘गथामग चःर्हे’ प्रतिकात्मक रुपमा मात्र अग्रस्थानमा रहेको छ, तर पर्वको पृष्ठभागमा स्थानीय मानिसको स्वस्थ्यसंग सम्बन्धित पारिवारिक तथा सामाजिक क्रियाकलापहरु सम्पन्न भएको हुन्छ । नेवारी परम्परामा कुनै कारणवस जुठो पर्दा नेवारी चलन अनुसार घर, शरीर र आत्मा चोख्याउनु पर्दछ । यस चोख्याउने परम्परालाई नेवारी बोलिमा ‘ब्यङ्केगु/ ब्यंकेगु’ भनिन्छ । बच्चा जन्म भएको बेला, मान्छे मर्दा जसरी घर, शरिर र आत्मा शुद्धिशान्ति गर्नुपर्दछ, त्यसरी नै गथामग चःर्हेमा पनि बासस्थान, तन र मनको शुद्धिकरणको लागि ‘ब्यंकेगु’ को प्रतिकात्मक स्वरुप घरको सरसफाई तथा घरभित्र हुने नकारात्मक तत्वलाई घर बाहिर फाल्ने गरिन्छ (गौतम प्रजापती, व्यक्तिगत अन्तवार्ता, श्रावन ११, २०७९) ।
बालबच्चादेखि वृद्धवृद्धाहरुको समान र सक्रिय सहभागिता रहने गथामग चःर्हे पर्वमा दिनभर नै पारिवारिक तथा साँस्कृतिक वातावरण रहेको हुन्छ । टोल–टोलमा गथामग निर्माण गर्नको निमित्त बालबच्चाहरु साथै युवाहरु बाजा बजाएर बाजाकै तालमा “सु न्हि या, छ्वाली न्हि या” अर्थात पराल दिनु, छ्वाली दिनु भन्दै घर–घर गई पराल, छ्वाली, नाङ्ग्लो इत्यादि जम्मा गरी गथामगको मानव कदको लागि सामग्री जम्मा गरिन्छ । केही स्थानमा बालबच्चाहरु जम्मा भएर बाटोमा आवतजावत हुनेहरुसंग ‘जागत लेऊ’ भन्दै चन्दा माग्दछन् । त्यस्तै केहि समय अगाडिसम्म कथित सानो जातका मानिसहरु खोजेर ल्याई नाङ्गो शरीरमा अश्लील कुराहरु लेख्न लगाई दही राखेको माटोको भाँडा हातमा समात्न लगाई घरघरको दैलोमा गथामगको काजक्रियाको लागि जागत देऊ भनी पैसा माग्न लगाइन्छ । जम्मा भएको पैसाले गथामग निर्माण गर्न आवश्यक कागजमा लेखिएको रंगिन मुख–चित्र तथा अन्य आवश्यक सामग्रीहरुको जोहो गरी गथामगको काजक्रियाको लागि तयारी गरिन्छ (मुनंनकर्मी, २०४३, पृ. २१–२२) ।
गथामगको निर्माणको क्रममा नर्कट, पराल, छ्वाली, नाङग्लो, हाँडी, कपडा जस्ता सामग्रीबाट त्रिखुट्टे मानवाकृति निर्माण गरिन्छ । उल्लेखित सामग्रीबाट गथामग निर्माण गर्दा भने काठमाडौं, ललितपुर र भक्तपुरमा केही भिन्नता रहेको पाइन्छ । काठमाडौंमा गथामग निमार्ण गर्दा नर्कटको मुठाहरुमा नाङ्ग्लोको मुकुन्दो बनाउन लगाई घ्याम्पोको टाउको राखी गथामगको मानवाकृति बनाएको हुन्छ (मुनंनकर्मी, २०४३, पृ. २३) । ललितपुरमा कंकाल–स्वरुप आकृतिलाई छ्वाली तथा परालले मूर्त रुप दिई नाङ्ग्लोमा गथामगको अनुहार स्वरुप स्थानीय चित्रकारले बनाएको परम्परागत रंगिन चित्र टाँसेर र अर्को नाङ्ग्लोलाई आधा गरेर दुईवटा कान बनाई गथामगमा राखी गथामगको मानवकदमा पूर्णता प्रदान गरिन्छ । तर भक्तपुरका विभिन्न स्थानमा गथामग निर्माण गर्दा नर्कटको त्रिखुट्टे आकारको मानवाकृति–कंकाल स्वरुप निर्माण गरी उक्त नर्कटको कंकाल आकारलाई पराल तथा छ्वालीले बेरेर गथामगको शरीर तयार गरिन्छ । टोल–टोलमा निर्माण गरिने गथामगमा केही भिन्नता रहे पनि सम्पूर्ण गथामगमा पुरुष लिङ्गको प्रतिकात्मक स्वरुप दिएको र नाङ्गो रुपमा प्रस्तुत गरिएको हुन्छ, जुन भक्तपुरमा बनाइने गथामगको फरक विशेषता हो ।
गथामगको निर्माण सम्पन्न पश्चात स्थानीय टोलवासीहरु आ–आफ्नो घरमा खेलौनाको रुपमा निर्माण गरिराखेको कपडाका पुतलीहरु ल्याई गथामगलाई चढाउने र कपडाका पुतलीहरुको माला बनाई गथामगलाई लगाउने गरिन्छ । यसरी पुतलीसंगै घरको प्रेत आत्मा पनि गथामगसंगै जाने भन्ने जनविश्वास रहेको छ (कर्णबहादुर गाईजू, व्यक्तिगत अन्तवार्ता, श्रावन ११, २०७९) । यस कार्यलाई ‘कतामारी पोस वियगु’ भनिन्छ । अर्थात कपडाको पुतली दान दिने वा बलि चढाउने बुझिन्छ (शेर ज्याख्व, व्यक्तिगत अन्तवार्ता, श्रावन ११, २०७९) । गथामगलाई बेलुकासम्म चोक अथाव दोबाटोमा ठड्याएर राखि स्थानीयहरुले आफ्नो परिवार र समाजमा आईपर्ने कुनै पनि दुःख, कष्ट, रोगब्याधिबाट ग्रसित नहोस् भनी फलामको औँठी गथामगलाई छुवाएर लाउने तथा सामाजिक जीवनमा मान्यताको रुपमा रहेको बोक्सी, धामी जस्ता नकारात्मक शक्तिले घरमा प्रवेश नपाओस् भनेर घरको मूल ढोकाको चौकोसको माथिल्लो र तल्लोे बिच भागमा फलाम कै ‘सूप्र्या न्याकि’ (त्रिखुट्टे) विशेष पुजाविधि गरी ठोकिने कार्य गरिन्छ (जोशी,२०६०, पृ. ७०) । सूप्र्या न्याकि राख्ने कार्य बैद्य या तान्त्रिक व्यक्तित्वले विशेष पुजा गरी सूप्र्या न्याकिसंगै मयुरको प्वाँख, धुस्वाँ मूख्य ढोकाको माथिल्लो बिच भागमा राख्ने तथा इकापाका (तोरी र सस्र्यू मिश्रण गरीएको) राखेर दियो बालेर पुजा सम्पन्न गरिन्छ (नन्दगोपाल रंजितकार, ब्यक्तिगन अन्तरवार्ता, श्रावन ११, २०७९) । तर वर्तमान समयमा यी सम्पूर्ण क्रियकलापहरु लोप भई भक्तपुरका केही घरहरुमा मात्र देख्न सकिन्छ ।
गथामगलाई बेलुका पख काजक्रियाको तरखर गरेर बोकेर लगी चौबाटो अथवा शहरको बाहिर लगेर जलाउने कार्य गरिन्छ । यसरी गथामगलाई जलाउने कार्य गर्दा गथामग बोक्ने शुरुको स्थानदेखि जलाउने अन्तिम स्थानसम्म बालबच्चा देखि विशेष बृद्ध बुबाहरु समेतले छ्वालीको मसाल बालेर बाटोभरी अश्लिल शब्द उच्चारण गरी जाने गरिन्छ । झक्तपुरमा यसरी गथामगलाई जलाउन लाने प्रक्रिया दुई प्रकारले गरिन्छ । पहिलो बाटो नभएको गथामग शहरबाट टाढा पुगेपछि जलाउने कार्य गर्दछ, जसको कुनै निश्चित गन्तब्य रहेको हुँदैन । दोस्रो, गथामगलाई जलाउन लाने क्रममा बाजागाजा बजाएर निश्चित स्थानमा पुगेर जलाउने कार्य गरिन्छ, जसको गन्तब्य पहिला नै निश्चित भएको हुन्छ । यस्तो गन्तब्य निश्चित भएको कुनैै कुनै टोलको गथामग शहर भित्रै चौेबाटोमा पनि जलाउने कार्य गरिन्छ।
गथामग जलाई खरानी भईसके पछि धुवाँमा नाघ्न लगाउने जस्ता क्रियाकलाप पनि गरिन्छ । स्थानीय जनधारणा अनुसार गथामग बालेको धुवाँमा बालबच्चालाई नाघ्न लगाएमा वा धुवाँमा छुवाएमा बालचरी रोगले बालबच्चालाई छुन पाउँदैन र बच्चाहरु स्वस्थ रहन्छ भन्ने मान्यता रहेको छ । यस कार्यको लागि बच्चालाई परिवारका कुनै पनि सदस्यले बोकेर नाघ्न लगाउने गर्दछ । यस कार्यलाई नेवारीमा ‘कुँ पाङ्केउ’ भनिन्छ । साथै यस चतुर्दशीकै दिन देखि नै लामखुट्टे हराउँछ भन्ने मान्यता पनि रहेको छ ।
नेवार समाजमा गथामगको कामकाज पछि बेलुका तन्त्रविधिपूर्वक पुजा सम्पन्न गरिन्छ । नेवार वैद्य तथा तान्त्रिक बोलाएर घरको एक कुनाको माटो निकाली, सो माटोलाई देवता मानेर बोका, हाँस, कुखुरा बलि दिई घरबाट भूतप्रेत धपाउने विधि गरिन्छ । कुनै घरमा भातको मूर्ति–आकार बनाई देवताको रुपमा ध्वजापताकाले सिंगारी हाँस अथवा कुखुराको अण्डा र जिउँदो हिले माछा राखि भोग बलि दिई पूजा सम्पन्न गरिन्छ (मुनंनकर्मी, वि.सं. २०४३, पृ. २२–२३) । घरमा तान्त्रिक विधिले पुजा सम्पन्न पश्चात भूतप्रेतलाई ‘बौ’ दिने प्रथा रहेको छ । ‘बौ’ दिनको लागि रगत, फोक्सो, आन्द्राभुडी, मासु, लसुन, छ्यापी, बौस्वां (एक प्रकारको फूल ), च्वकाबजि, जाँड र रक्सी जस्ता बस्तुहरु राखि घरको मूलढोका र चौबाटो÷ छ्वासमा लगि चढाउने गरिन्छ । घरको ढोकामा सूप्र्या–न्याकि / प्याकिं ठोकी बौ राख्न गएको व्यक्ति घर प्रवेश गर्दछ (राजवंशी, वि.सं. २०६५, पृ. १११) । यी क्रियाकलापहरु सम्पन्न गरेपछि भूतप्रेतले छुन सक्दैन भन्ने जनविस्वास छ । तर वर्तमान समयमा यी क्रियाकलापहरु ज्टिल भएको कारण सम्पूर्ण नेवार घरमा यस्ता विधिवत पुजा सम्पन्न गर्ने प्रचलन छैन । केही दोष निर्मूल पार्नुपर्ने बाध्यता नै भए मात्र श्रावण कृष्ण चतुर्दशीको दिन उल्लेखित क्रियाकलापहरु सम्पन्न गरिने गर्दछ ।
गथामग / घण्टाकर्ण को हुन् ?
वर्तमान समयमा गथामग भने पनि घण्टाकर्ण भने पनि दुवै नामलाई दैत्य वा राक्षससंग जोडेर गथामग चः¥हे सम्पन्न गर्ने प्रचलन रहेको छ । स्थानीयहरुका अनुसार गथामग एक प्रकारको दैत्य हो, जसले मानिसहरुलाई अति नै दुःख दिन थालेकोले सबै मान्छेहरु मिलेर उक्त गथामगलाई सजाय दिने र बेइज्जत गरी शहरको चौबाटो वा शहर बाहिर बस्तीबाट टाढा तानातान गरी अग्निदह सम्पन्न गरी आ–आफ्नै घर फर्किने प्रचलन शुरु भएको, र आजसम्म पनि समान विधि प्रचलनमा रहिआएको छ (शेर ज्याख्व, व्यक्तिगत अन्तवार्ता, श्रावन ११, २०७९) । यसप्रकार गथामगलाई दैत्यको रुपमा प्रस्तुत गरी घर–परिवार र समाजबाट नै भूतप्रेत, आत्मा, नकारात्मक शक्ति जस्ता तत्वलाई विभिन्न पुजाविधि र क्रियाकलाप सम्पन्न गरी गथामगसंगै जलाउन पठाउने मान्यता रहेको छ ।
रुद्रयामलतन्त्रमा उल्लेख भए अनुसार नेपाललाई ध्वस्त पार्न ‘गथे–मंगल’ नामको अजंगको राक्षस आएर उत्पात मचाएर दुःख दिन थाले र मानिसहरुले विभिन्न प्रयास गर्दा पनि राक्षसलाई रोक्ने वा अन्त्य गर्न सकेन । एकजना तान्त्रिकले त्यस राक्षसको बध गर्न श्रावण कृष्ण चतुर्दशीको दिन भ्यागुताको रुप लिई उक्त गथे–मंगललाई यमलोक पुर्याएको दिनको सम्झनामा हरेक बर्ष श्रावण कृष्ण चतुर्दशीको दिन यस घटनाको प्रतिबिम्बको रुपमा टोल टोलमा गथे–मंगल राक्षसको अजंगको मानवकद निर्माण गरी राक्षस यही नै हो भनी सबैलाई देखाई घिसारेर लगी देशबाहिर पुर्याई जलाउने कार्य गरिन्छ (मुनंनकर्मी, २०४३, पृ. २३–२४) । केही साहित्यिक स्रोतहरुमा गथामगलाई राक्षसकै प्रतीकको रुपमा चित्रण गरिएको छ र नेवार समुदायमा यस पात्रले धेरै दुःखकष्ट दिने भएकै कारणले यसलाई लगेर जलाइएको मान्यता रही आएको छ ।
गथामुगको मान्यताबारे अन्य विभिन्न रोचक विवरणहरु पनि रहेको पाइन्छ ।
परापुर्वकालमा भाग्यवाद र ईश्वरवादलाई नमान्ने गथामुगल नामको एक नास्तिक व्यक्ति थिए । उनी कर्मवाद मान्ने तथा सुनलाई भन्दा फलाम मनपराउने र धनी वर्गलाई भन्दा गरिब वर्गलाई दयामाया प्रस्तुत गर्ने स्वभावको थियो । मर्नु अगाडिसम्म कुनै देवदेवीको नाम सुन्न नपरोस भनि दुबै कानमा एक–एकवटा ठूला घण्ट झुण्डई बस्दथे । त्यसले बाटोमा आउने मानिसहरुसंग जागत (पैसा) माग्ने र जागत नदिनेलाई मारेर समेत खान थाले । चौबाटोमा बसेर जे पनि खान थालेको यस व्यक्ति राक्षसको रुपमा परिर्वतन हुन थाले । यही पात्रलाई घण्टाकर्ण भनी उच्चारण गरिन थाले । परमात्माको इच्छाले एकदिन घण्टाकर्ण राक्षसको मृत्यु भयो तर धेरै दिनसम्म उक्त घण्टाकर्ण राक्षसको दाहसंस्कार हुन पाएन । अन्तमा श्रावण कृष्ण चतुर्दशीको दिन समाजका मानिसहरु मिलेर गथामुगल अर्थात घण्टाकर्ण राक्षसको दाहसंस्कार गरिए (मुनंनकर्मी, २०४३, पृ. २४–२५) । उक्त प्रचलन बर्तमान समयसम्म पनि प्रतिकात्मक रुपले घर घरमा सरफाई र शान्ति–श्वस्ति गराई गथामग चःर्हे वा घण्टकर्ण चतुर्दशी निरन्तर मान्दै आईरहेको छ ।
एक किंवदन्ती अनुसार भगवान हरिहरको सृष्टिलाई पनि घण्टाकर्णसंगै जोडिएको पाइन्छ । उक्त किंवदन्ती अनुसार घण्टाकर्ण भगवान विष्णुका परम् भक्त थिए । विष्णुकै मात्र परम् भक्त भएको कारण अन्य देवदेवीको अस्तित्व स्वीकार्न कदापि नमान्ने र सदैव विष्णु कै आराधनामा तृप्त भई रहन्थे । एक दिन भगवान विष्णुले शिव र आफू एकै हो, शिवशंकरको पनि पूजा गर भनि आदेश भए । तर घण्टाकर्ण विष्णुको उक्त वाणि मान्न तयार भएन । विष्णुले आफू र शिव एकै हो भनि प्रस्तुत गर्न आधा भाग विष्णु र आधा भाग शिवको शरिर रहेको ‘हरिहर’ को दर्शन दिए । सम्पूर्ण जगतले हरिहरको साधना र पूजा गरे तर पनि घण्टाकर्णले शिवको अस्तित्वलाई मान्न तयार भएन । घण्टाकर्ण बाहिर निस्कँँदा उनको अगाडि अन्य मानिसहरुले ‘शिव शिव’ उच्चारण गर्ने र जिस्काउने जस्ता कार्य गरेकोले शिवको नाम सुन्न नपरोस भन्ने उद्देश्यले कानमा ठूल–ठूला घण्टि भुण्डाएर हिड्न थाले र कसैले शिवको नाम लिने बित्तिकै कानमा झुण्डाएको घण्टि जोड जोडले बजाउँथे । यसैकारण यसको नाम घण्टाकर्ण हुनगएको भन्ने किंवदन्ती छ ।
स्थानिय नन्दगोपाल रंजीतकारका अनुसार गथामगको १०१ जना दाजुभाई थिए । घण्टाकर्णको बुवा धेरै मध्यपान गरी हिड्ने र कुनै देवदेवीको नाम सुन्न नचाहने तथा कसैले देवीदेवताको नाम उच्चारण गरे मात्रै पनि रिसले आगो हुने प्रकृतिको थियो । उनले आफ्नो छोराहरुको नामाकरण पनि विचित्र खालको चयन गर्ने र आमाको विन्तिभावले बल्लतल्ल एक जना छोराको नाम ‘नारायण’ राखेको थियो । बुबाको जीवनको अन्तिम क्षणमा बिरामी बुबालाई हेर्न सबै छोराहरुलाई बोलाए । सबै छोराहरु आए, तर नारायण आएन । अन्तिम क्षणमा नारायणलाई हेर्ने बडा इच्छा राखे, तर आएन । बुबाले अन्तिम क्षण सम्म पनि ‘नारायण, नारायण.. .. ’ भन्दै सांसारिक जीवनको देह त्याग गरी गए र मुक्त भए भन्ने किवंदन्ती छ । यसै दिन देखि कोहि मानिसको अन्तिम क्षणमा ‘नारायण, नारायण’ उच्चारण गर्दा मुक्त भई स्वर्गबास पाईन्छ भन्ने धारण रहेको छ । यस किंवदन्तीका अनुसार घण्टाकर्णले पनि आफ्नो बुबा जस्तो नै कुनै देवदेवीको नाम सुन्नै नचाहने पात्रको रुपमा आजसम्म पनि मान्दै जात्रा मनाई रहेको छ ।
गथामग अथवा घण्टकर्ण को हुन भन्ने विषयमा केहि मतभेद छन् । जनस्तर अनुसार गथामग या घण्टाकर्ण बालबच्चाहरु खाने राक्षस वा दैत्य हुन भन्ने मान्यता राख्दछ, भने कोहि ब्यक्तित्वहरु गथामगलाई भगवान शिवसंग जोडेर प्रस्तुत गर्दछ । गथामगको आकृती तथा मानवकदको प्रस्तुती भगवान शिवको अवतार उन्मत्त भैरव संग मिल्दोजुल्दो रहेको छ । काठमाडौको पशुपातिनाथमा घण्टाकर्ण चतुर्दशीको १५ दिन अगाडि देखि नै नेपाली कागज बनाएर स्थानीय रंगको प्रयोग गरी भैरवको चित्र निर्माण गरिन्छ र चतुर्दशीको दिन दान गरिन्छ । गथामगको मुखाकृति पनि हप्ता दिनदेखि विशेष कागजमा निर्माण गरी राखिन्छ र यस चतुर्दशीको दिन गथामगको मुखाकृतिको निमित्त चढाउने गर्दछ । त्यस्तै उन्मत्त भैरव र गथामगलाई पनि नग्न अवस्थामा प्रस्तुत गरिने गर्दछ । तसर्थ गथामग अर्थात घण्टाकर्ण र उन्मत्त भैरवको विशेषता एकै प्रकारको हुन आउनाले पनि गथामग शिव भगवानकै रुप हो (वरुण खतिवडा, व्यक्तिगत अन्तवार्ता, श्रावन १२, २०७९) । साथै गथामगलाई तीनवता खुट्टा हुने भएको र भैरव कै एक रुप मानेर त्रिपद संवर भैरव पनि मान्ने गर्दछ (राजवंशी, वि.संं. २०६५, पृ. १११) ।
श्रावन कृष्ण चतुर्दशीको दिनलाई किसान समाजमा महत्वपूर्ण दिनको रुपमा मनाए जस्तै बर्ष भरीमा बाला चतुर्दशी, शिवारात्री चतुर्दशी र पिशाच चतुर्दशी पनि विशेष महत्वका साथ मनाउने गर्दछ । यी चारवटा चतुर्दशीहरु विभिन्न महिनाको कृष्ण चतुर्दशी कै दिन मनाउने हिन्दु समाजको महत्वपूर्ण चतुर्दशीहरु हुन् । बालाचतुर्दशी, शिलाचःर्हे / शिवरात्री र पशाचःर्हे / पिशाच चतुर्दशी का मूख्य देवता शिव भगवान नै हुन् । यी तीन वटै कृष्ण चतुर्दशीका मूख्य देवता शिव भएको हुँदा गथामग वा घण्टाकर्णको शारिरीक बिशेषता र तिथिमिति सोचबिचार गर्दा गथामग पनि शिवकै रुप हुन् भन्ने वास्तविकताको नजिक पुग्न सकिन्छ । त्यस्तै, शैव सम्प्रदाय कथा अनुसार कुमार कार्तिकयको जन्म हुँदा विभिन्न देवदेवीले सौगातहरु ल्याएको र त्यसमध्ये एक ‘घण्ट’ पनि रहेको छ । त्यहि घण्ट कानमा झुण्डाएर रहेको कुमार कात्र्तिकेयको एक प्रस्तर मूर्ति ललितपुर कुम्भेश्वर स्थित गहिरीधारामा रहेको छ, जसको वहानको रुपमा मयुर अंकित रहेको छ । काठमाडौको कमलाती गणेश मन्दिरभित्र प्रतिष्ठापन गरिएको मयुर सहितको कुमारको मूर्तिमा पनि कानमा घण्ट झुण्डाएको छ (जोशी, वि.सं. २०६०, पृ. ७०) । यी उदाहरणहरु हेर्दा घण्टाकर्ण शैव सम्प्रदायसंग नै सम्बन्धित रहेको देवताको रुपमा प्रष्ट पार्न सकिन्छ ।
शैव धर्म सम्प्रदायमा पाँच आचार्यहरु छन्, रेणुकाचार्य, दारुकाचार्य, पण्डित राध्याचार्य अर्थात धनुकर्ण, विश्वाराध्याचार्य अर्थात विश्वकर्ण र एकोरामाध्याचार्य अर्थात घण्टाकर्ण गरी मुख्य यी पाँच आचार्यले यस लोकमा शिवसिद्धान्त एवं शिवभक्तिको मतलाई प्रचार गर्न प्रकट भएको मानिन्छ (रमणराण, १९८२, पृ. २) । विश्वमा शैव सम्प्रदायको प्रचार र ज्ञान प्रदान गर्न प्रकट हुने आचार्यहरुमध्ये एकोरामाध्याचार्य अर्थात घण्टाकर्ण पनि एक प्रमुख आचार्य हुन, जो समाज कल्याण तथा शैव ज्ञान प्रदानको निमित्त आए । प्राचीन काल मै भगवान शिवले प्रवर्तन गरेको शैव मतलाई प्रचार गर्न आएका घण्टाकर्ण आचार्यकै नामले वर्तमान समयमा चलेको घण्टाकर्ण चतुर्दशी नै शैव सम्प्रदायसंग सम्बन्धित हो भन्न सकिन्छ । सायद एक धर्मले अर्को धर्म वा मान्यतालाई होच्याउने क्रममा गथामुग वा घण्टाकर्णलाई दैत्य वा रक्षसको रुपमा परिभाषित गर्न खोजेको र समाजले वर्तमान समयसम्म त्यहि तथ्यलाई स्वीकार गरी आएको हुन सक्ने सम्भावना छ (प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ, व्यक्तिगत अन्तवार्ता, श्रावन १३, २०७९) ।
भक्तपुरमा कुमार षष्ठिदेखि रोपई कृषिकार्य शुरुवात भएको हुन्छ र भलभल अष्टमीको दिन नवदुर्गाको अन्त्यष्ठि भई भक्तपुर देवीदेवाता विहिन हुन्छ र श्रावन कृष्ण चतुर्दशीको दिन तालाको टोलको हाकुज्या कुम्ह (प्रजापति) बाट नवदुर्गा गणले कालो माटो ग्रहण गरी नवदुर्गाको मुकुण्डो बनाउनेलाई हस्तान्तरण गरिन्छ र यसै दिनमा नवदुर्गाको पनि मूख्य देवता महादेवको जन्म हुन्छ भन्ने मान्यता रहेको छ (प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ, व्यक्तिगत अन्तवार्ता, श्रावन १३, २०७९) । गथामग चःर्हेको दिनदेखी अर्थात महादेवको जन्म भएदेखि भक्तपुरमा जात्रापर्वको शुरुवात हुन्छ र वर्षभरी मनोरञ्जनका क्रियाकलापको शुरुवात हुन्छ । घण्टाकर्ण चतुर्दशीकै दिन भक्तपुरमा भगवान शिवको जन्म हुने तथ्यले घण्टाकर्ण अथवा गथामग पनि शैव सम्प्रदाय सम्बन्धित रहेको देवता कै अवतार हो । अर्को अर्थमा भन्नुपर्दा महादेव सम्पूर्ण भूतप्रेत, डाकिनी, बोक्सी इत्यादिका अधिपतिदेव भएकै कारणले पनि गथामग नामक पात्र भगवान शिव कै एक रुपको रुपमा परिचित गराउन सकिन्छ (श्रेष्ठ, २०७२, पृ. १४) ।
गथामग चःर्हे भूत–विद्या ग्रहण गर्ने महत्वपूर्ण दिन हो । तसर्थ यो पर्वको आस्था तन्त्रमन्त्रमा आधारित रहेको छ । भलभल अष्टमीदेखि देवता विहिन हुने र तन्त्रमन्त्रमा आधारित बोक्सी तथा भूत–विद्या सिक्ने उत्तम समय हुने हुँदा मानिसहरु भूत–विद्या ग्रहण गरी श्रावन कृष्ण चतुर्दशीका दिन भूत–विद्या पारंगत हुने दिन हो । आयुर्वेद शास्त्रको आठ अंगहरुमा भूत–विद्या पनि अन्तर्भाव भएको छ । अमानुष, छुवाछुतबाट हुने विकारलाई जान्ने र त्यसलाई हताउने कुरा भूत–विद्याको विषय मानेको छ । त्यस्तै, सुश्रुत–संहितामा पनि भुत–विद्याको उल्लेख छ । सुश्रुतमा उल्लेखित भुत–विद्याको प्रकरणमा आठ वटा ग्रहहरुको उल्लेख छ, जसको प्रकोप हुने समय भिन्नाभिन्नै उल्लेख छ र पिशाच–ग्रहको प्रकोपकाल चतुर्दशीको दिन मानिएको छ (बज्राचार्य, २०२५, पृ. ३) । भूत–विद्याबाट मानव मस्तिष्कबाट नकारात्मकता हताउने क्रियाकलाप हुने हुँदा गथामग चतुर्दशीका दिन पनि घरपरिवार तथा समाजबाट नै नकारात्मक तत्वको रुपमा रहेको भुतप्रेत तथा फोहर तत्वहरु हताई फाल्ने हुनाले यस भूत–विद्याको दिन महत्वको रहेका छ । साथै भूतपिशाच पनि शिवकै एक गण रहको र महादेवसंगै रहने हुनाले गथामग वा घण्टाकर्ण पनि शिवकै प्रतिकात्मक हो भन्न सकिन्छ ।
गथामगको ऐतिहासिकता
लिच्छवि शासनकालमा विभिन्न प्रकारका कला तथा वास्तुकलाका नमुनाहरु निर्माण भएको प्रमाण आज पनि जिउँदै छन् । ति कलाका नमुनाहरु हेर्दा प्रायः सम्पूर्र्ण लिच्छविकालीन मूर्तिहरु सौम्य प्रकृतिका छन् । सातौं /आठौं शताब्दी पछि नेपालका कला क्षेत्रमा तन्त्रमन्त्रको प्रभाव रहेको देखिन्छ । मध्यकालसम्ममा आईपुग्दा नेपालका कलाकारितामा धेरै तन्त्रप्रधानताको प्रतीक देख्न सकिन्छ । डर लाग्दा, अजंगका मुखाकृति र शरिर भएका मूर्ति तथा चित्र, धेरै हातखुट्टात तथा आयुध, टाउको, भयानक मूर्तिहरु निर्माण र प्रयोग नेपाली कलाकारिता क्षेत्रमा लोकप्रिय भईसकेको थियो । गथामग पनि एक भयानक स्वरुपको मानवाकृति हो जसको इतिहास थाहा पाउन गहन अध्ययन जरुरी रहेको छ ।
गथामग पर्व र यस चतुर्दशीको दिन तन्त्रमन्त्रमा आधारित भएको हुनाले यस पर्वको उत्पतिलाई लिएर लिच्छविकालसम्म जान उपयुक्त नहोला । किनकी लिच्छवि समाज त्यसबेला निमार्ण भएका मूर्तिहरुबाट प्रतिबिम्बित हुन्छ, ति मूर्तिहरुमा कुनै तन्त्रमन्त्रको आभाष पाईँदैन । तसर्थ यस गथामग पर्वलाई मध्यकालको शुरुवाती कालसम्म भने लान सकिन्छ । तर यस पर्वसंग सम्बन्धित पूर्व मध्यकालका कुनैपनि स्रोत भने प्राप्त छैनन् । चौधौं शताब्दीमा राजा जयस्थिति मल्लको पालमा लेखिएको गोपालराज वंशावलीमा “स ५०४ जेष्ठ शुदि १५ ।। ।। शुभः विवाहजु दं गुणिलान झरे बोये माल्व, विधान, गण्ठकर्ण चवदश कोह्नु म्वण्ड चिन्ने, गुणिला थोव तीह्रिशि कोह्नु बोय, दुंवी ।” उल्लेख भएको छ (वज्राचार्य, मल्ल, १९८५, पृ. ६९) । गोपालराज वंशावलीको यस वाक्यांश हेर्दा गण्ठकर्ण चवदश अर्थात घण्टाकर्ण चतुर्दशीको प्रचलन राजा जयस्थिति मल्लको पालामा नै शुरु भईसकेको पक्कै पनि हो ।
नेपाल संवत ६९१ (वि.सं. १६७२) मा रचित हितोपदेशको पत्रसंख्या २३ ‘ख’ मा “गण्ठकण्र्ण चवदश कोन्हु म्वण्ड चिन्ने” उल्लेख गरिएको छ । नेपाल संवत ८७२ (वि.सं. १८०८) मा रचित ऐतिहासिक घटनावली ग्रन्थमा “श्रावण कृष्ण त्रयोदशी शुगोदय कुन्हु यंचिन स्वने ।” वाक्यांश उल्लेख गरिएको छ । भक्तपुर मालतीचोकको नेपाल संवत ८१८ (वि.सं. १७५४) को अभिलेखमा “गथामोगलचवदश कुन्हु.. … .. .. .. .. ” वाक्यांश उल्लेख भएको छ । यी विभिन्न ग्रन्थहरुमा गथामगको उल्लेख भए अनुसार नेपालमा मध्यकालमा पनि जनस्तरमा गथामग/ घण्टाकर्ण लोकप्रिय रहिआएको बुझ्न सकिन्छ (जोशी, २०६०, पृ. ७२) । राजा जयस्थिति मल्लको समय भन्दा आगाडिका उल्लेखित जस्तो प्रमाणहरु प्राप्त नभए पनि गथामग चःर्हेको अवधारणा पूर्वमध्यकालमै शुरु भई आएको यस पर्व उत्तर मध्यकाल हुँदै आधुनिककालको वर्तमान समयसम्म पनि लोकप्रिय रहिआई धुमधामले मनाउने गरिन्छ ।
शोध विधि
यस अध्ययन गुणात्मक अनुसन्धान विधि अपनाई सम्पन्न गरिएको संक्षिप्त अध्ययन हो । नेवार समुदायमा विशेष रुपले मनाउने गथामग र घण्टाकर्ण एक हुन वा फरक पात्र हुन्, उक्त पात्र राक्षस हुन् या देवताको प्रतीक हुन्, यसको ऐतिहासिकता के कस्तो रहेको छ भन्ने कुरामा समुदाय र केही विद्वानहरु बिच मतान्तर रहेको छ । तर गथामगको गहन अध्ययन जरुरी देखियो र यस पात्रको वास्तविकता जनस्तरमा बुझाउन आवश्यक रहेको देखिएको कारण विभिन्न तथ्य, तथ्याङ्क र प्रमाणहरुको सङ्कलन गरी प्रस्तुत अध्ययन वर्णनात्मक ढाँचामा प्रस्तुत गरिएको छ । यस अध्ययनको लागि तथ्य, तथ्याङ्क र प्रमाणको सङ्कलन गर्न विभिन्न सम्बन्धित व्यक्तित्वहरुसंग आवश्यक तथ्य संकलन गर्न प्रत्यक्ष अन्तरवार्ता लिएर प्राथामिक स्रोतको प्रयोग गरिएको र विभिन्न पुस्तक, लेख रचना, जर्नल, लगायतका स्रोतहरु सङ्कलन गर्नुका साथै द्वितियक स्रोतको पनि प्रयोग गरी तथ्य र प्रमाणहरु सङ्कलन गर्ने प्रयास गरिएको छ ।
गथामगको महत्वलाई आधार बनाई त्यसको चरित्र पुुष्टि गर्न सङ्कलन गरिएको सम्पूर्ण स्रोतहरुलाई सम्पादन र प्रत्यक्ष निरीक्षण समेत गरी विश्लेषणको आधारमा अध्ययन सम्पन्न गरिएको छ । प्राथमिक स्रोतबाट प्राप्त तथ्यलाई जस्ताको तस्तै उद्धृत गरिएको र द्वितीयक स्रोतहरुलाई शोध विधिका नियमानुसार उद्धरण गरिएको र सन्दर्भ सामग्रीको सूची बनाई प्रस्तुत गरिएको छ ।
अध्ययन क्षेत्र/ अध्ययन सिमा
यस अध्ययनको क्षेत्र भक्तपुरका नेवार समुदायले मनाउने गथामग चःर्हे अर्थात घण्टाकर्ण चतुर्दशी मनाउने आधारमा अघि बढाइएको छ । भक्तपुरमा पनि गथामग चःर्हेको अलि बढी चहलपहल भक्तपुर नगरभित्र नै रहने हुनाले अध्ययन क्षेत्रको केन्द्र भक्तपुर नगरपालिकालाई नै लिएर त्यस क्षेत्रभित्र नेवार समुदायले यस चतुर्दशीको दिन के कस्ता धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु गर्ने तथा गथामगको निर्माण विधि र त्यसको विशेषता के कस्तो हुने भनी मात्र अध्ययन गरी सम्पन्न गरिएको छ । द्वितियक स्रोतको आधारमा भक्तपुर बाहेकका अन्य केही स्थानहरुको पनि उल्लेख गरिएको छ, तर यस अध्ययनको विशुद्ध अध्ययन क्षेत्र भक्तपुर मात्रै हो । भक्तपुर नगर बाहेक अन्य क्षेत्रलाई यस अध्ययनमा समावेश गरिएको छैन ।
निष्कर्ष
गथामग चःर्हे नेवार समुदायमा मनाउने एउटा महत्वपूर्ण पर्व/जात्रा हो, यस पर्वलाई घण्टाकर्ण चतुर्दशी पनि भन्ने गरिन्छ । वर्तमान समयमा गथामग र घण्टाकर्ण फरक पात्र हुन् भन्ने तर्क वितर्क चले पनि यी दुबै एउटै हुन भन्ने विभिन्न अभिलेख तथा साहित्यिक स्रोतबाट प्रष्ट हुन्छ । गोपालराज वंशावली, हितोपदेश, ऐतिहासिक घटनावली ग्रन्थ तथा प्रस्तर अभिलेखमा उल्लेख भए अनुसार यो कुरा प्रमाणित हुन्छ । तर गथामग तथा घण्टाकर्ण राक्षस हुन् या देवता हुन् भन्ने अन्यौलता भने यद्यपी यथावत नै छ । सामान्य गथामग चःर्हे मनाउने समुदायले गथामगलाई राक्षस नै भने पनि गहन अध्ययनले गथामग र घण्टाकर्ण एकै हुन र शिव र शिवगणसंग सम्बन्धित हुन् भन्ने निष्कर्षसम्म पुग्न सकिन्छ ।
गथामग चःर्हे वा घण्टाकर्ण चतुर्दशीको दिन भक्तपुरको नेवार परम्परामा असारे रोपाई कार्यले व्यस्त हुनाका कारण अस्तव्यस्त रहेको घर–परिवारको सर–सफाइ र पूजाप्रतिस्था गरी चोख्याउने कार्य गरिन्छ । घरमा रहेको प्रेतात्मा तथा नकारात्मक शक्तिले परिवारका सदस्यहरुलाई नकारात्मक असर नगरोस् भन्ने हेतुले विभिन्न धार्मिक तथा सांस्कृतिक विधि गरी घरबाट भूतप्रेत आत्मा हताउने क्रियाकलाप सम्पन्न गरिन्छ । यस चतुर्दशीलाई तन्त्रमन्त्र प्रधान दिन तथा बोक्सी विद्या र प्रेतात्मा सम्बन्धि तालिम गरी पारङ्गत हुने दिनको रुपमा पनि लिने हुनाले श्रावण कृष्ण चतुर्दशीलाई प्रेत आत्माको दिनको रुपमा पनि मानिन्छ ।
सामान्यतया नेपाली समाजमा बोक्सी तथा भूतप्रेतले नकारात्मक असर गरी मानसिक तथा शारीरिक रुपमा मानवीय असर गर्ने मान्यता रहेको हुँदा यस श्रावन कृष्ण चतुर्दशीका दिन घर–घरबाट भूतप्रेत तथा कुनै पनि नकारात्मक शक्तिलाई निर्मूल गर्न विशेष क्रियाकलापहरु सम्पन्न गर्दछ । घर सरसफाइ गर्ने देखि लिएर घरमा निर्माण गरिएको कपडाको पुतली (खेलौना) टोल–टोलमा निर्माण गरिएको गथामगलाई चढाउने गर्दछ । घरको नकारात्मक शक्ति कपडाको पुतली मार्फत गथामगसंगै नाश होस् भन्ने हेतुले यस क्रियाकलाप सम्पन्न गर्दछ । गथामगलाई चौबाटो वा शहरबाट टाढा लगेर जलाए पछि शहरबाट नै भूतप्रेत–शक्ति निर्मूल हुने मान्यता रहे पनि घर–घरमा पनि तान्त्रिक पुजाविधिहरु हुने गर्दछ ।
नेवार समुदायमा हुने वा हुन सक्ने भूतप्रेत जस्ता नकारात्मक शक्तिलाई हर्ने गथामग को हुन भन्ने तथ्यमा केही भिन्न मतहरु पाइन्छ । सामान्य जनमानसमा गथामग वा घण्टाकर्ण राक्षसकै स्वरुप मानेको पाइन्छ, जसले कुनै देवदेवीको नाम सुन्नै नचाहने र बालबच्चा तथा मान्छेहरु मारेर खाने पात्रको रुपमा वर्णन गरिएता पनि विभिन्न तथ्यहरु अध्ययन गर्दा गथामग शिव कै स्वरुप हुन भन्न सकिन्छ । नेपालको हिन्दु समुदायले वर्षभरिमा चारवटा ‘कृष्ण चतुर्दशी’ हरु उल्लेखनिय रुपले मनाउने गर्दछ । श्रावण कृष्ण चतुर्दशी अर्थात घण्टाकर्ण चतुर्दशी, मार्ग कृष्ण चतुर्दशी अर्थात बाला चतुर्दशी, फागुन कृष्ण चतुर्दशी अर्थात शिवरात्री र चैत्र कृष्ण चतुर्दशी अर्थात पिशाच चतुर्दशी गरी चार वटा कृष्ण चतुर्दशी गरी फरक फरक उद्देश्यले मनाउने गर्दछ । यी चारवटा कृष्ण चतुर्दशीमध्ये बाला चतुर्दशी, शिवरात्री र पिशाच चतुर्दशी प्रत्यक्ष रुपमा भगवान शिवसंग नै सम्बन्धित रहेको छ । त्यसअर्थ, श्रावण कृष्ण चतुर्दशीमा मनाउने गथामग चःर्हे अर्थात घण्टाकर्ण चतुर्दशीका प्रमुख पात्र गथामग पनि शिव कै एक रुप हो भन्न सकिन्छ । यस तथ्यलाई साथ दिने बलियो आधारको रुपमा यस दिन हुने भगवान शिवको जन्मको मान्यतालाई लिन सकिन्छ । त्यस्तै शैव सम्प्रदाय अनुसार शैव धर्म प्रचार गर्न प्रकट भएका पञ्चाचार्यहरु मध्ये एक एकोरामाध्याचार्य हुन्, जसलाई घण्टाकर्ण भनेर पनि चिनिन्छ ।
घण्टाकर्ण वा गथामगलाई महादेवको रौद्र रुपमा पनि लिइन्छ । भक्तपुरमा बनाइने गथामगको जिउदालको स्वरुप र मुखाकृति डरलाग्डो किसिमको रहेको छ । तीन खुट्टा भएको मानवकदको शरीर भएको गथामगको जिउ सामान्य मानिसको तुलनामा अजङ्ग आकारको बनाइन्छ र शरीरलाई नाङ्गो रुपमा प्रस्तुत गरिन्छ । उन्मत्त भैरवको शारीरिक विशेषता गथामगसंग लगभग मिल्ने देखिन्छ । पशुपति क्षेत्रमा रहेको उन्मत्त भैरवको शारीरिक प्रस्तुति, विशेषता र गथामगको शारीरिक विशेषता एकै प्रकारको पाइन्छ । पशुपतिमा गथामग चतुर्दशीको दिन गथामगलाई विसर्जन गरेपछि गथामगको नर्कट भैरव कै अवशेषको रुपमा घरमा लगेर पुज्ने चलन पनि रहेको हुनाले गथामग महादेवकै रौद्र रुप हो भन्नेमा अतियोक्ति नहोला ।
गथामग चतुर्दशीको दिनलाई भूतप्रेत तथा पिशाच सम्बन्धि ज्ञान हासिल गरी सिद्ध प्राप्त हुने दिनको रुपमा पनि लिइन्छ । यस्तो विद्या सत्कर्मको लागि आत्मसात गर्ने हुँदाहुँदै पनि कतिपयले दुरुपयोग गरी व्यक्ति, परिवार र समाजलाई नै नकारात्मक असर गरिरहेको हुन्छ । तर यसको सकारात्मकता बारे आयुर्वेद तथा सुश्रुत नामक ग्रन्थमा उल्लेख गरी भूत–विद्याले नकारात्मक भावना, छुवाछुतको असर र त्यसलाई हताउने ज्ञानको रुपमा लिएको छ । भूत–विद्यालाई आत्मसात गर्नु भगवान शिवको समिपमा पुग्नु भन्ने अर्थ लाग्छ, किनकी भुतपिशाच पनि भगवान शिवकै एक गण हो, जो महादेवसंगै सदैव रहने गर्दछ । गथामग चतुर्दशीको दिन यस्ता भूत–प्रेत विद्याको ग्रहण गदै गर्दाको क्रममा गर्नुपर्ने मूख्य पुजा विधि सम्पन्न गरिन्छ । तसर्थ, गथामग कुनै राक्षस, दैत्य नभइकन भगवान शिव कै एक रुप हो ।
नेवार समुदायले मन, मस्तिष्क, तथा घरको नकारात्मक तत्व हताउन तथा भगाउन विशेष महत्वका साथ मनाउने गथामगको यस पर्व नेपालमा कहिलेदेखि शुरु भए भन्ने कुरा यकिन गर्न नसकिए पनि यस पर्वको ऐतिहासिकतालाई १४ औं शातब्दी अघिसम्म लान सकिन्छ । राजा जयस्थिति मल्लको पालामा लेख्न लागाइएको गोपालराज वंशावलीमा उल्लेख भएको “गण्ठकर्ण चवदश कोह्नु म्वण्ड चिन्ने” वाक्यांशले घण्टाकर्ण अथवा गथामग चतुर्दशीलाई नै प्रतिनिधित्व गरेको छ । गण्ठकर्ण चवदशको उल्लेख गोपालराज वंशावलीमा हुनुको अर्थ नेपालमा १४ औं शताब्दी अघि नै यस पर्वको प्रचलान नेपाल मण्डलमा लोकप्रिय भइसकेको थियो । तर १४ औं शताब्दी अघि कहिलेदेखि गथामग पर्व मनाउने प्रचलन भए भन्ने तथ्य जानकारी गराउने प्रमाणको भने अभाव छ । गोपालराज वंशावली पछिका विभिन्न धार्मिक तथा ऐतिहासिक ग्रन्थले भने यस पर्वको चर्चाहरु गरिएको पाईन्छ । ने.सं. ६९१ मा रचित हितोपदेश, ने.सं. ८७२ मा रचित ऐतिहासिक घटनावली तथा भक्तपुर मालतिचोकमा अवस्थित ने.सं. ८१८ को अभिलेखमा प्रष्ट रुपले गथामग चतुर्दशीको उल्लेख भएको छ । यस तथ्यहरुलाई आधार मान्ने हो भने नेपालमा मध्यकालदेखि नै घण्टाकर्णको नामबाट या गथामगको नामबाट श्रावन कृष्ण चतुर्दशीको दिनलाई विशेष पर्वको रुपमा मनाई आएको विवरण स्पष्ट हुन्छ ।