लैनसिं बाङ्देलका यात्रा संस्मरणका किताब पढ्ने पाठकलाई युरोपका जीवन्त सहरको झझल्को बेलाबेला आइरहँदो हो । ‘स्पेनको यात्रा’, ‘रोमको एउटा फूल र पेरिसको एउटा काँडा’ आदि यात्रा निबन्धका कृतिमा कुनै पनि सहर कसरी जीवन्त हुन्छ भन्ने कुराको मोहक चित्रण छ । कला, साहित्य, वास्तु, कलाकृति (आर्टिफ्याक्ट), अभौतिक संस्कृति आदि धेरै अवयवले सहरलाई जीवन दिएको हुन्छ । जीवन्तता नभएको सहर भौतिक पूर्वाधारको निर्जीव सङ्कलनमात्र हुन्छ । सहरलाई जीवन्तता दिएको हुन्छ– मानिसको रचनात्मकताले ।
जर्मनीको फ्रान्कफर्ट सहरमा हरेक वर्ष अक्टोबरको मध्यतिर हुने पुस्तक मेलाको इतिहास ५ सय वर्षभन्दा पुरानो छ । छापाखानाबाट पुस्तक छापिने युगभन्दा अघि नै यो मेलाको सुरुवात भएको थियो । आज फ्रान्कफर्ट सहरलाई यही मेलाले जीवन दिएको छ । क्युवाको राजधानी हवानामा हुने अन्तर्राष्ट्रिय पुस्तक मेला पुस्तकको लागि मात्र होइन, त्यहाँ हुने वैचारिक बहसको लागि पनि उत्तिकै कहलिएको छ । भारतको जयपुरमा हुने साहित्य महोत्सवले जयपुरको जीवन्तता सर्वत्र प्रसार गरेको छ । नेपालमै पनि हरेक वर्षको कार्तिक द्वादशी र त्रयोदशीमा भक्तपुरमा हुने नेपालभाषा साहित्य तःमुंज्या र विराट नेपालभाषा साहित्य सम्मेलनले नेपालभाषा साहित्य र संस्कृति क्षेत्रमा यो सहरलाई परिचित बनाएको छ । पछिल्ला केही वर्षदेखि पोखरामा हुँदै आएको लिटरेचर फेस्टिभलले पोखराको सौन्दर्यलाई अझ निखारेको छ । एवंरीतले जागरुक स्रष्टा भएका नेपालका विभिन्न सहरजस्तै जनकपुर, धनगढीले पनि आफ्नो थलोलाई क्रियाशील बनाउन केही न केही गरिरहेका छन् । साहित्य र पुस्तकजस्तै लोक संस्कृति, वास्तु, वैचारिक अन्तरक्रिया, अवस्तुगत सम्पदा, स्थानीय परिकार, भेषभूषा (फेसन) आदिले सहरलाई क्रियाशील बनाएको हुन्छ ।
आर्थिकरूपमा निखारिँदैमा कुनै पनि सहर जीवन्त र सिर्जनात्मक हुन्छ भन्ने छैन । मानिसको सिर्जनशीलताको नापोमा मापन गर्दा संसारका एकसेएक विश्वनगर (कस्मोपोलिटन) भन्दा इतिहासको गह«ँुगो भारी काँधमा बोकेका प्राचीन सहर जीवन्त हुन्छन् । अमेरिकाका भव्य गगनचुम्बी भवन उभिएका सहरभन्दा सडकमा ढुङ्गा बिछ्याइएका युरोपका साँघुरा गल्लीमा मानिस आनन्द मान्ने गरेका हुन्छन् । चौबीसै घण्टा जागा रहने अति व्यस्त चिनियाँ सहरका भित्री भागमा ढुङ्गा बिछ्याइएका फराकिला चोकमा साँझ साना बच्चादेखि बुढा बाजेबज्यैसम्म चिनियाँ लोकगीतका धुनमा निमग्न भएर नाच्दै सहरलाई सहर हुनुको चहक दिइरहेको हुन्छ । चीनको परिचय साङ्घाईका अग्ला भवनले भन्दा बढी सिचुवानका खप्टाले छाएका घरहरूले दिइरहेको हुन्छ ।
मानिसको दीर्घजीवनबारे स्पेनका दुई जना अनुसन्धानकर्ताहरू फ्रान्सिस मिराल्लेस र हेक्टर गार्सियाले लेखेको पुस्तक ‘इकागाइ’ संसारभर प्रसिद्ध छ । पुस्तकमा उनीहरूले संसारकै सबभन्दा बढी एकसय वर्षभन्दा लामो बाँच्ने मानिसहरू भएको सहरमध्ये एक जापानको ओकिनावा टापुको ओगिमीका मानिसहरूबारे गरिएको अध्ययनको निचोड प्रस्तुत गरेका छन् । त्यहाँका मानिसहरूको सामाजिक र सांस्कृतिक गतिविधि र खानपान नै दीर्घजीवनको मूल कारण भएको उनीहरूको सार हो । विशेषतः जीवन्त सहरमा मानिसका सांस्कृतिक र सामाजिक सक्रियताले उनीहरूलाई दीर्घजीवन बाँच्न मद्दत गर्छ । एक सय वर्ष उमेर कटेका ज्येष्ठ नागरिक पनि सामाजिक र सांस्कृतिक गतिविधिमा लगातार सक्रिय हुँदा संसारलाई अझ लामो समय बुझ्न उनीहरू सक्षम भएका छन् ।
सहरलाई जीवन्त बनाउने धेरै तरिका होलान् । तर, सहरले जीवन पाउँदा त्यो जीवन्तता परख गर्न अनेक दिशाबाट मानिसहरूमात्र त्यहाँ आउने गर्दैनन्, त्यहीँका मानिसको आयु पनि लम्बिन्छ ।
लैनसिं बाङ्देलका कृतिमा यस्ता धेरै शाब्दिक चित्रण गरेको पाउँछौँ, जहाँ मानिस क्याफे बाहिर पुस्तक पढिरहेका भेटिन्छन्, सडक पेटीमा बसेर चित्र रङ्गाइरहेका हुन्छन्, खुला चोकमा कविता वाचन गरिरहेका हुन्छन्, सडक किनारमा साङ्गीतिक प्रस्तुति दिइरहेका हुन्छन्, सङ्ग्रहालयमा मानिसको भिड लागेको हुन्छ, पुस्तकालयमा मानिसको ओहोरदोहोर बाक्लो हुन्छ । साँघुरा गल्लीमा खुलेका क्याफे, कलाकृति पसल, बगैँचा आदिमा मानिसका यस्ता गतिविधिले युरोप र एसियाका धेरै सहर विकासको कुरूप दौडादौडबाट अलग सौम्य र सभ्य उपनगरको रूपमा आफ्नो छवि बनाउन सफल छन् ।
शनिबार (पुस २३ गते) भक्तपुरको दरबार क्षेत्रमा आयोजित सिर्जनात्मक स्थलरचना कार्यक्रम (क्रियटिभ प्लेसमेकिङ त्ेन्ट) सहरलाई जीवन्त बनाउने यस्तै प्रयास थियो । भक्तपुर सम्पदाको सहर हो । यहाँको सम्पदाको भव्यता र प्राचीनताले जो कोहीलाई सजिलै मोहित बनाउँछ । त्यसकारण, हरेक सप्ताहान्तमा भक्तपुर दरबार क्षेत्रमा मानिसको घुइँचो कुनै मेलाभन्दा कम हुने गर्दैन । आन्तरिक र बाह्य पर्यटकले पुरै दरबार क्षेत्र छपक्कै छोपिएको हुन्छ । ङातापोल्हँ मन्दिरको प्राङ्गणको अवस्था पनि उस्तै हुने गरेको छ । तर, सयौँ वर्षदेखि उभिएका सम्पदाको भौतिक उपस्थितिलाई जीवन्त बनाउन भने त्यहाँ मानिसका कुनै न कुनै रचनात्मकताले भूमिका खेल्न जरुरी हुन्छ । वास्तुकलाका केही विद्यार्थीको अगुवाइमा शनिबार भएको सिर्जनात्मक स्थलरचनाको मूल अवधारणा भौतिक सम्पदालाई मानिसको गतिविधिले जीवन दिनु हो । त्यसमा कला, सङ्गीत, मनोरञ्जनका अनेक सजिला माध्यम, रचनात्मकताको भरपुर प्रयोग गरियो ।
क्रियटिभ प्लेसमेकिङको ब्यानर झुन्ड्याएर नजिकै हिउँजस्तो सेतो कपडा मोडिएको फ्रेम ठड्याउञ्जेल आगन्तुकमात्र होइनन्, आयोजक आफै पनि के हुन लागिरहेको छ भन्नेमा अलमल थिए । लामो एकनाले पराले सुकुलमा चेस बोर्ड, लुडो, कसीमला पाँय्का बोर्ड राखिएका थिए । धिमे बजाउन केही किशोरकिशोरी तम्तयार भएर उभिएका थिए । मानिसहरू आउँथे, के हुँदै छ भनी जिज्ञासा राख्थे, आयोजकले कनिकुथी जवाफ त दिन्थे । तर, कोही पनि खास के हुँदै छ भन्ने कुरामा प्रस्ट भएजस्ता थिएनन् । यहीबिच सेतो कपडा मोडिएको क्यानभासमा केही चित्रकारहरूले चित्र कोर्न थाले । धिमे बजाउने कलाकारहरू धिमे बजाउन थाले । सुकुलमा खेलाडी कुरेर बसेका चेसबोर्डका गोटी चालिन थाले, लुडोका पट्टा हिँड्न थाले अनि कसिमला पाँय्का बाँसका टुक्रा ढुङ्गामा ठोकिएर सामूहिकरूपमा उफ्रिन थाले, तब अघिसम्म मौन मौनजस्ता लागेको त्यो ठाउँमा आवाज भरिएजस्तो लाग्न थाल्यो । अघिसम्म मन्दिर र पाटीमात्र देखिएको त्यो खुला ठाउँमा अब मानिस पनि देखिन थाले । क्यानभासमा रङ्ग पोत्ने हातहरू बढ्दै गयो । धिमेले वरपर सर्वत्र अलग हावा प्रसार गरिरहेको थियो । दरबार क्षेत्रका भौतिक मन्दिर र पाटी हेर्न आएका पर्यटक अब कला, संस्कृति र खेलसँग जोडिए । मन्दिरहरूको भौतिक उपस्थिति जीवन्त बन्दै गयो । साँझसम्ममा ठूलो क्यानभास रङ्गै रङ्गैको मेला बनिसकेको थियो । रङ्गको कोलाज, जहाँ हजारौँ मानिसले आफूलाई अभिव्यक्त गर्दा एउटा अनौठो कला बनिसकेको थियो । आन्तरिक पर्यटकसँगै विदेशी पर्यटकहरू कला, सङ्गीत र रचनात्मकको सङ्गममा खुसी देखिन्थे । उनीहरूमध्ये कोही आफ्नो देशका लैनसिं बाङ्देल हुँदो हो त पक्कै भक्तपुरको त्यो जीवन्तबारे लामो निबन्ध लेख्ने थिए । मानिसका गतिविधिले दरबार क्षेत्रका सम्पदाहरू त्यसै त्यसै उभि रहेजस्ता मात्र थिएनन्, बरु उनीहरूमा पनि श्वास भरिए जस्तो देखियो ।
२४ मङ्सिरमा भक्तपुरकै अर्को ऐतिहासिक सम्पदा क्षेत्र दत्तात्रयमा आयोजित योमरी प्रदर्शनी नगरलाई जीवन्तता दिने अर्को सुन्दर प्रारम्भ थियो । मौलिक खाद्य संस्कृति, बाजागाजा र भेषभूषाको त्यो मेलाले योमरीलाई सामाजिक संस्कृतिमा रूपान्तरण ग¥यो । काठमाडौँ उपत्यकाका अन्य नगरमा पनि बेला बेला हुने यस्ता उत्सवले ती नगरका भौतिक उपस्थितिलाई अभौतिक समृद्धिमा उकालेको हुन्छ । मानिसको बस्तीमात्र नगर हुनुको परिचय हुने गर्दैन । नगरवासीको रचनात्मक नै नगरत्वको मूल चरित्र हुनुपर्छ ।
काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, साँखु, खोकना बुंगमती, टोखा, बनेपा, पनौतीजस्ता इतिहास बोकेका सहरलाई त्यस्ता नगरको रूपमा विकास गर्न जरुरी छ जहाँ मानिसले भौतिक समृद्धिभन्दा अलग सांस्कृतिक सम्पन्नताको अनुभव गर्न सकून् । पाइला पाइलामा कथा बोकेका यी सहरका कथाहरू लेखिनुपर्छ । यत्रतत्र इतिहासका टुक्रा छरिएर बसेका यी नगरका इतिहास लेखिन आवश्यक छ । यिनलाई आजको भौतिक उचाइमा होइन, हिजोका सभ्यताको गहिराइमा बुझिनुपर्छ । काठमाडौँ उपत्यकालाई सांस्कृतिक र शैक्षिक राजधानी बनाउन नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले संसद्मा पटक–पटक उठाउनुभएको आवाजको खास निहीतार्थ यही हुनुपर्छ । उहाँले लेख्नुभएको सय वर्षपछिको भक्तपुरको आख्यानिक परिकल्पना यस्तै चिन्तनकै उपज हुनुपर्छ ।
सहरलाई जीवन्त बनाउने आधार ती सहरमा मनग्य छन् । हिजोका हराउँदै गएका कुरा मात्र उध्रिँदै जाने हो र तिनलाई पुनः आकार दिनेमात्र हो भने पनि ती सहर र त्यहाँका सम्पदालाई जीवन्त बनाउन सकिन्छ । तर, हिजोको आधारमा उभिएर नयाँ संस्कृति थप्दै जानु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । हिजोका दबुमा आजको समयका नाटक मञ्चन हुन सके नगर जीवन्त बन्न सक्छ । हिजोका खुला क्षेत्रमा आज कलाकार र फोटोग्राफरहरूको मेला हुँदा आजको समयको चित्रण हुन सक्छ । हिजोको सङ्गीतलाई आजको सङ्गीतमा मिलाउन सके नवीन खोजको मूल फुट्छ । हिजोका बहाःमा आजका साहित्य र कविताको वाचन हुँदा पो यो युगको सिर्जना उजागर हुन्छ ।
नगरलाई नगरत्व दिने जिम्मेवारी नगरवासीको हो र त्यसको नेतृत्व गर्ने काम स्थानीय सरकारको हो । निषेधित सम्पदा क्षेत्र हिजोको निषेधित शासनको कुरा हो । त्यो आफै इतिहास भइसकेको छ । हिजोका निषेधित सम्पदालाई जनताको हातमा व्यवस्थितरूपमा हस्तान्तरण गर्नु नै समयको बदलाव हो ।
अब काठमाडौँ उपत्यकाका नगरहरूलाई जीवन दिन कला, साहित्य, वास्तु, सङ्गीत, नाचगान, खाद्य परम्परा आदिलाई औजार बनाउन जरुरी छ । हाम्रा चोक, सडक र गल्लीमा कला, साहित्य, वास्तु, सङ्गीत, नाटक भेटिने भविष्य निर्माणलाई गति बनाउन सकौँ । भौतिक सम्पदालाई अभौतिक रचनात्मकताले जीवन दिने गर्छ । मानिस नै त्यो रचनात्मकताको मालिक हो । मानिसको सक्रियता नै यस्ता जीवन्तताको स्रोत हो । तर, सांस्कृतिक चेत र जीवनबोध भएको मानिसले नै जीवन्तता अनुभूत गर्न सक्छ । स्वभावतः यसलाई स्थानीय अर्थतन्त्रसँग जोड्ने पाटो मननयोग्य पक्ष छ नै । तर, मुख्य कुरा जीवन्त नगरको बासिन्दा बन्ने गौरव भने अझ विशेष हुन्छ ।
- Jan 12
- 0 min read