१) सम्यकको शाब्दिक अर्थ
‘सम्यक’ शब्दलाई विभिन्न बौद्ध विद्वानहरूले विभिन्न अर्थबाट अथ्र्याएका छन् । सम्यक शब्दको अर्थ ठिक तरिकाले प्रयोग गर्नु अथवा राम्रो व्यवस्था गर्नु अथवा यथार्थ बुझ्नु भन्ने अर्थ लाग्छ । ‘सम्यक दृष्टि’ भन्नाले वास्तविकता बुझ्नु भन्ने अर्थ बुझिन्छ ।
कुनै-कुनै बौद्ध विद्वानले ‘सम्यक’ शब्दको अर्थ मध्यम मार्ग सत्य र धर्मको मिश्रित रूप मानेका छन् । त्यस्तै सम्यक दानलाई राग, द्वेष र मोहलाई नाश गरी बोद्धि ज्ञान प्राप्त गर्ने मार्गको रूपमा पनि लिइएको छ ।
‘सम्यक’ शब्दलाई भावात्मक अर्थमा लिँदा दीपङ्कर बुद्ध, शाक्यमुनि बुद्ध अथवा भिक्षुगणलगायत बज्राचार्य र शाक्यहरूलाई सम्मानपूर्वक निम्तो गरी भोजनदान वा विभिन्न अन्न, फलफूल, दक्षिणा दान गर्नुलाई सम्यक महादान वा सम्यक पञ्चदान भनेर पनि अथ्र्याएको पाइन्छ ।
(२) पञ्चदानको अधिक अर्थ
धेरै बौद्ध विद्वानहरूले पाँच किसिमका वस्तु दान गर्नुलाई पञ्चदानको रूपमा लिने गरेका छन् । पाँच किसिमका वस्तुहरूमा विभिन्न बौद्ध विद्वानहरूले विभिन्न वस्तुहरूका नाम दिएका छन् । व्यावहारिक र सरल वस्तुको रूपमा बौद्ध विद्वान पं. रत्नकाजी बज्राचार्यले दीपङ्कर बुद्ध, बोद्धिसत्य (शाक्य मुनिबुद्ध) बज्राचार्य र शाक्य कुलपुत्रहरूलाई धान, गहुँ, केराउ, फलफूल र दक्षिणा दान गर्नुलाई पञ्चदान मान्नुभएको छ ।
साहित्यकार रेवती रमणानन्द श्रेष्ठको भनाइअनुसार बज्राचार्य र शाक्यहरूलाई धान, चामल, गहुँ, नुन र केराउ पाँच किसिमको खाद्यान्न दान गर्नुलाई पञ्चदान भनिन्छ ।
वर्षैपिच्छे माघ १ गते सम्यक महादान जयकीर्ति महाविहार भक्तपुरको प्राङ्गणमा हुँदै आएको आधारमा सम्यक महादानलाई अथ्र्याउँदा ‘दीपङ्कर’ बुद्धहरू स्वयम्भु चैत्य सम्यक बुद्धको उपस्थितिमा सहभागी हुन रहर गर्ने उपत्यकाका बज्राचार्य र शाक्यहरूलाई निम्तो गरी भोजन दान र धान, चामल, खाद्यान्न, नगद दान गर्नुलाई सम्यक महादान भन्ने गरिएको छ ।
(३) सम्यक पञ्चदानको ऐतिहासिक पृष्ठभूमि
सम्यक महादान बुद्ध धर्मसँगसँगै जन्मेको मानिन्छ । कारण बुद्धलगायत सम्पूणर् भिक्षुगणको जीवन प्राप्त दानको आधारमा दिनचर्या अगाडि बढेको हुन्छ । तर पनि सम्यक महादानको ऐतिहासिकता कोट्याउँदा जनसमक्ष देखापरेको मगध सम्राट बिम्बिसारले भगवान बुद्धलाई सम्मानपूर्वक आफ्ना दरबारमा निमन्त्रणा गरी भोजन दानको साथै भिक्षुलाई बसोबासको लागि ‘बेलुवन’ स्थान दान दिनुलाई सम्यक दान भनिएको थियो । यो छैटौं शताब्दी अर्थात् यशु जन्मनु पहिलेको समय थियो । यसै समयतिर सेठ अनाथ पिण्डकले पनि भगवान बुद्धलाई सम्मानपूर्वक निमन्त्रणा गरी दान गर्नुको साथै जेतवणर् महाविहार निर्माण गरी दान प्रदान गरेको कुरा सम्यक दानको रूपमा स्मरणीय छ ।
पहिले पहिले मानिसहरुले लगत (Record) राख्नुमा खास ध्यान दिएको पाइँदैन । त्यसैले उपत्यकामा सम्यक दानको चलन कहिलेदेखि सुरू भयो भन्ने कुरा किटानका साथ भन्न गाह्रो छ । तर पनि उपत्यकामा सम्यक दान पर्व सञ्चालन गर्दा श्री दीपङ्कर तथागतको प्रतिमा (मूर्ति) निर्माण गरी दीपङ्कर बुद्धलाई लगाइदिने कण्ठीमा सम्यक दान आयोजना गर्ने दाताहरूलगायत सबैको वृत्तान्त लेख्ने चलन हुँदा सो प्रति स्थापित दीपङ्करको प्रतिमाको आधारमा तेर्हौँ शताब्दीदेखि उपत्यकामा सम्यक पञ्चदान सुरु भएको अनुमान गर्नसकिन्छ ।
भक्तपुरमा सम्यक पञ्चदान कहिले र कुन राजाको पालादेखि सुरू भयो भन्ने कुरा बुझ्न थोरै यसको ऐतिहासिक पृष्ठभूमिलाई कोट्याउनु राम्रो हुन्छ । ने.सं. ७५३-६६३ समयमा भक्तपुरमा राजा नरेश मल्लले राज्य गरिरहेको समय थियो । त्यसताका भक्तपुरमा एक धनाढ्य व्यक्ति चतुर्ब्रह्म महाविहार निवासी ‘जयदेव बज्राचार्य’ जो भार सिंदेवका दोस्रो छोरा थिए । उनको व्यापार उपत्यकामा मात्र नभई ल्हासासम्म चलेको देखिन्छ । त्यस समयमा राजा नरेश मल्लले भक्तपुरमा हाटबजारको राम्रो व्यवस्था गरी भक्तपुरको लोकप्रियता बढाउने प्रयास गरेको देखिन्थ्यो । त्यस हाटबजारको विशेषता वा लोकप्रियता भनेको कसैको सामान हाटबजारमा नबिकेमा दरबार अगाडि आई कुर्न थालेमा उचित मूल्य राखी दरबारबाटै किनिदिने व्यवस्था थियो । यसबाट हाटबजारमा उपत्यकाका विभिन्न ठाउँबाट सामान बेच्न आउने गरेको देखियो ।
एक दिनको कुरा हो, ललितपुरतिरबाट आएका एक व्यापारीले ढुङ्गाको मूर्ति बेच्न ल्याएको रहेछ आफ्नो मूर्ति हाटबजारमा नबिक्नाले दरबारमा बेच्न कुर्दै थियो । आश्र्चयको कुरा त्यस दिन राजासँग सो मूर्ति किन्न पुग्दो पैसा नहुँदा उनले सेठ जयदेव बज्राचार्यसँग सापट लिई मूर्ति किनेका थिए । सो रकम धेरै समयसम्म तिर्न नआउँदा सेठ जयदेवको मनमा दरबारबाट सापट रकम तिर्दैन होला भनेर आश मरेको देखियो । तर पछि तिर्न पठाउँदा सेठ जयदेवको मनमा सो माया मारिसकेको रकमलाई उनले दान धर्ममा लगाउने अर्थात् सम्यक महादानमा लगाउने अधिस्थान गरे । सम्यक महादानको व्यवस्था गर्न गाह्रो भएकोले सम्यक महादानको आवश्यक व्यवस्था चाँडै गर्न नसक्दा सम्यक महादान गर्न नपाउँदै ने.सं. ७७५ मा सेठ जयदेव बज्राचार्यको देहान्त भयो ।
बाबुको देहान्तपछि छोरा जयरत्न बज्राचार्यले बाबुको अधिस्थान (इच्छा आकांक्षा) पूरा गर्न बाबुकै नामबाट ने.सं. ७८७ मा सम्यक महादान भक्तपुरमा पहिलोपल्ट सुरू गरेका थिए । उनले सम्यक दान थथुबहीको प्राङ्गणमा सुरू गरेका थिए ।
त्यसताका थथुबही ज्यादै जीणर् अवस्थाको थियो जयरत्न बज्राचार्यले पूणर्रूपमा मर्मत गर्न लगाई थथुबहीलाई आफ्नै नामबाट ‘जयकीर्ति महाविहार’ भनी नामकरण गरेका थिए । सम्यक महादान चिरस्थायी होस् भन्ने विचारले आयस्ताको रूपमा धेरै जग्गाको व्यवस्था गरेका थिए । त्यस्तै सम्यक महादान स्थायीरूपमा सञ्चालनार्थ जयकीर्ति महाविहारको चारैतिरको जग्गाको व्यवस्था गरी सुरक्षाका लागि चारैतिर पर्खाल लगाइयो मुल प्रवेशद्वारमा पञ्चबुद्ध द्वार बनाई भित्रपट्टि द्वारमै जोडी दुईवटा सानो तर कलापूणर् पाटी निर्माण गरेका थिए । ती पाटी विहारको सुरक्षा गार्ड बस्ने व्यवस्था गर्ने गरेको हुनुपर्दछ । हाल ती पाटी भत्किसकेको छ । त्यस्तै प्रवेशद्वारको सोझै देखिने गरी एक चैत्य पनि प्रतिस्थापन गरेको देखिन्छ । यसरी सम्यक महादानको लागि आवश्यक सबै भौतिक पूर्वाधारहरू बनिसकेपछि यज्ञहोम शान्ति स्वस्ति पुजाआजा गरी सकेपछि पहिलोपल्ट आफैले सञ्चालन गरेको भन्दा अझ व्यवस्थित तरिकाबाट दोस्रो पटक जयरत्न बज्राचार्यले नै सम्यक महादान आयोजना गरेका थिए ।
जयरत्नको स्वर्गवासपछि उनका छोराहरू जयधर्म, जयचन्द्र र जयमुनि बज्राचार्यका जीवनकालमा सम्यक महादान निरन्तर सञ्चालन हुँदै हालसम्म आयस्ता र व्यवस्थित गुठीको कारण सञ्चालनमा आइरहेको छ ।
४) मनाउने तिथिमिति र तरिका
काठमाडौँ उपत्यकाका तीन सहरहरू काठमाडौँ, ललितपुर र भक्तपुरका आ-आफ्नै सम्यक महादानको व्यवस्थापन गुठीद्वारा सम्यक महादान (सम्यक पञ्चदान) सञ्चालन हुँदै आएका छन् । काठमाडौँमा वा वर्षको एकपटक स्वयम्भुको तल भुइँ खेलमा माघे सङ्क्रान्तिका दिन सम्यक महादान सञ्चालन हुँदै आएको छ । ललितपुरमा प्रत्येक पाँच वर्षको एक पटक हिरण्यवर्ण महाविहार नाग बहालमा फाल्गुण शुक्ल तृतीयाका दिन सम्यक महादान हुँदै आएको छ भने भक्तपुरमा प्रत्येक वर्ष माघ सङ्क्रान्ति (मकर सङ्क्रान्ति) का दिन जयकीर्ति विहार (थथुबही) मा सम्यक पञ्चदान सञ्चालन हुँदै आएको छ । भक्तपुरमा प्रत्येक वर्ष सम्यक महादान हुनसक्नुमा आयस्ता (आयस्रोत) रूपी जग्गाजमिन हुनु, व्यवस्थापन गुठीमा चतुर्ब्रह्म बिहार परिवारको सक्रियता हुनु र विभिन्न विहार परिवारमा कार्यविभाजन हुन सक्नु पनि मुख्य कारण मान्न सकिन्छ ।
सम्यक महादान तयारीको लागि चार पाँच दिन अगाडिबाटै जयकीर्ति विहारमा भगवान्लाई चढाउन र पञ्चदान दिन लड्डु, पुरी मिठाइ सबैलाई बाँड्न पुग्ने गरी तयार गरिन्छ । यस काममा इन्द्रवर्ण महाविहार परिवार र व्यवस्थापन गुठीपरिवार लागिपरेको हुन्छ । त्यस्तै सम्यक भोजन दान तयार गर्न र सम्यक बुद्धको प्रतिमामा आवश्यक भेषभूषा व्यवस्था गर्न जेतवर्ण बिहार परिवारलाई जिम्मा दिँदै आएको छ । तयारीकै क्रममा पौष महिनाको मसान्तको दिन भक्तपुरमा भएका सम्पूणर् दीपङ्कर बृद्धहरुलाई पालो पर्ने गुठी परिवारले पूजाआजा र बाजासहित निम्तो दिन जाने चलन छ । हाल भक्तपुरमा दीपार बुद्धहरूमाः
(१) पहिलो क्वाठण्डौ प्रशन्नशील महाविहार भक्तपुरमा सबभन्दा पहिले स्थापना गरिएको मूल दीपङ्कर बुद्ध हो । यसकारण दीपङ्कर बुद्धहरुको परिक्रमामा मर्यादित क्रममा पहिलो स्थान दिइएको छ न कि यूधिस्थिर भएर होईन ।
२) दोस्रो क्रममा साकोठाका चतुर्ब्रह्म दिपङ्कर बुद्धलाई मानेको छ ।
३) तेस्रो गोल्मढीको मंगलदीप बिहारमा प्रतिस्थापित दीपङ्कर बुद्धलाई मानिन्छ ।
४) चौथो मर्यादा क्रममा जय कीर्तिविहार (थथुवही) का दीपङ्कर बुद्ध रहेको छ ।
५) पाँचौँ बौद्ध समकृत बिहार (कथुवही) का दीपर बुद्धलाई लिइन्छ ।
दीपङ्कर बुद्धहरू ललितपुरमा ७० जना जति छन् भने काठमाडौमा चालीस दीपङ्कर बुद्धहरू छन् । भक्तपुरमा शाक्य बज्राचार्यहरू काठमाडौँ र ललितपुरमा कम भएकाले पाँचजना मात्र दीपङ्कर बुद्धहरू स्थापना गर्न सफल भएको छ । उनीहरू पनि पाण्डव होइनन् । हामीले नबुझी नामकरण गरेका हौँ । के त्यसो भए काठमाडौँतिर चालीस जति दीपङ्कर बुद्धहरू छन् ? के तिनीहरूलाई चालीस पाण्डव भन्न मिल्छ ?
नगर परिक्रमाको समयमा सबभन्दा पहिलो क्रममा प्रशन्नशील महाविर क्वाठण्डौको दीपङ्कर बुद्ध रहेको छ । यसको कारण भक्तपुरमा सबभन्दा पहिले स्थापना गरेको दीपङ्कर बुद्ध हुनाले हो । दीपङ्कर बुद्धहरुको क्रम प्रतिस्थापन समयको हिसाब पहिले पहिले स्थापना भएअनुसार पहिलो क्रममै राख्ने गरेको पाइन्छ ।
५) माघ १ गते सम्यक महादानको लागि गर्ने कार्यक्रमहरू
घ्यू चाकु सल्हुका दिन (माघ १ गते) सम्यक महादानका दिन एकाबिहानै जयकीर्ति विहारभित्र चोकमा पुरोहितले होम गरी कलश पूजा गरिन्छ । सो कलशको जल सम्यक महादान दिनुअघि सम्यक दान गर्ने भूमिमा छर्दै पवित्र गर्ने काम गरिन्छ ।
सम्यक महादानको लागि सो दिन पाँच दीपङ्कर बुढहरूलाई आआफ्नो प्रतिस्थापित विहारबाट स-सम्मान पूजाआजा गरी बाजागाजासहित पुरोहितसहित सम्यक गुठी परिवार क्रमसँगै क्वाठण्डौको प्रशन्नशील बिहारबाट दीपङ्कर बुद्धको यात्रा सुरु गरी गोल्मढीको मङ्गल दीप विहारको दीपङ्कर र साकोठाको चतुर्ब्रह्म विहारको दीपङ्करसहित दरबार क्षेत्र बाटो भइ दरबार क्षेत्रमा पुग्दा जयकीर्ति विहार (थथुवही) को दीपङ्कर बुद्ध र बौद्ध समकृत बिहार (कथुबही) दुई दीपङ्कर बुद्धहरूले यात्रामा सहभागी तीन दीपङ्कर बुद्धहरूलाई स्वागत गर्न दरबार क्षेत्रमा पुगेको हुन्छ र यसलाई नेपालभाषामा लःस्व वनेगु भनिन्छ । अब पाँच दीपङ्कर बुद्धहरूको यात्रा जय कीर्तिविहारको पञ्चबुद्ध गेटमा गुठीका पालो नाइकेले पाँचै दीपङ्कर बुद्धहरूलाई पूजा गरी खुट्टा धोई, खुट्टा ढोगी स्वागत गरेको हुन्छ, यसलाई नेपालभाषामा ‘तुति लिचायकेगु’ भनिन्छ । त्यसपछि जयकीर्ति विहारको दक्षिणतिर बनाइराखेको आसनमा क्रमैसँग पाँच दीपङ्कर बुद्धहरू त्यसपछि एक स्वयम्भु चैत्य, त्यसपछि चार सम्यक बुद्धहरू विराजमान गराई त्यसपछिको क्रममा थायपा आज्जु र नाइकेहरू क्रमअनुसार पञ्चदान लिन बसेको हुन्छ । त्यसपछि बज्राचार्य र शाक्यहरू पञ्चदान लिन बसेको हुन्छ । बज्राचार्य र शाक्यहरू रुमाल अगाडि राखेर पञ्चदान लिन बसेका हुन्छन् ।
(६) भक्तपुरमा सम्यक मुद्रको प्रतिमा सम्बन्धमा
पहिले पहिले उपत्यकामा सम्यक महादान सञ्चालन गर्नको लागि दीपङ्कर बुद्धको प्रतिमा विधिपूर्वक प्रतिस्थापन गर्थे । पछि आएर भक्तपुरमा ने.सं. ७८७ देखि जयरत्न बज्राचार्यले सम्यक महादान सुरु गर्दा आ-आफ्नो इच्छाअनुसार दीपङ्कर बुद्धको प्रतिमूर्तिको सट्टा सम्यक बुद्धको प्रतिमा प्रतिस्थापन गरे । उनका छोराहरू जय-धर्म, जयचन्द्र र जयमुनिले आफ्नो बाबुले चलाएको चलनलाई निरन्तरता दिनाले भक्तपुरको सम्यक महादानमा चार सम्यक बुद्धहरू पनि विराजमान देखिन्छ । त्यसपछिका सम्यक महादान गर्ने दाताहरूले सम्यक बुद्धको प्रतिमा बनाई स्थापना गर्ने रहर नगर्दा सम्यक बुद्धहरुको प्रतिमा चारमा सीमित हुन पुगेको देखिन्छ ।
(७) सम्यक महादानका दिन गरिने सम्यक महादान कार्यक्रम
जयकीर्ति विहारको प्राङ्गणमा दीपङ्कर बुद्धहरू स्वयम्भु चैत्य सम्यक बुद्धहरूलगायत उपत्यकाका पञ्चदान लिन रहर गर्ने सम्पूणर् बज्राचार्य र शाक्यहरू आफ्नो अगाडि पञ्चदान लिन रुमाल अगाडि राखी लाइनबद्ध रूपमा बसेको हुन्छन् ।
आयोजक गुठी परिवारसहित पुरोहित बज्राचार्यले मन्त्र पढ्दै घण्टा बजाउँदै बिहान गरेको कलश पूजाको जल पञ्चदान दिनुअघि छर्दै भूमिशोधन (भूमिलाई शुद्ध पवित्र बनाउने काम) गरेको हुन्छ ।
त्यसपछि सम्यक दान पालोपर्ने परिवारबाट चामल, पूरी, लड्डु र अन्य दाताहरूबाट पनि चामल, धान, पैसा, चकलेट, बिस्कुट, फलफूल आदि आफ्नो रहर अनुसारको दीपङ्कर बुद्धहरूलाई पूजाआजा चढाउने काम पछि क्रमैसँग सबैलाई पञ्चदान दिने गरिन्छ । पञ्चदान दिँदा लिनेहरूले दानगाथा पाठगर्ने गरेको हुन्छ ।
⦁ त्यसपछि दीपङ्कर बुहरू स्वयम्भू चैत्य र सम्यक बुद्धहरूलाई भोजन दान (भूमिबाट उब्जने धेरै प्रकारका खाद्य पदार्थहरू) गरिन्छ ।
⦁ सम्पूणर् दानको कार्यक्रमपछि आयोजक गुठी परिवारबाट पूजाआजा गरी बिदाइ गरिन्छ ।
⦁ त्यसपछि शाक्य र बज्राचार्यसहित सबै दीपङ्कर बुद्धहरू आ-आफ्नो प्रतिस्थापित विहारमा फीर्तियात्रा गरिन्छ ।
⦁ स्वयम्भु चैत्य र चार सम्यक बुद्धहरूमात्र गुठी परिवारको जिम्मामा राखेको हुन्छ ।
(८) सम्यक महादानको सकारात्मक पक्ष
⦁ त्याग र दानविना सम्पदाको निर्माण र संरक्षण, शिक्षालयको विकास, कलाकृतिको निर्माण र संरक्षण, स्वास्थ्य केन्द्रको विकास हुँदैन । त्याग र दानको भावनाको विकास गर्न यस्ता सम्यक महादानजस्ता पुण्यकार्यबाट महत्वपूणर् भूमिका खेलेको हुन्छ ।
⦁ यस्तै विभिन्न बौद्ध संस्कृतिले भक्तपुरलाई सांस्कृतिक नगर बनाउन सहयोग पुर्याउँछ ।
⦁ बुद्धको जन्मस्थल नेपालमा बौद्ध सम्पदा र बौद्ध संस्कृतिहरूको विकासको संरक्षण नभएमा बौद्ध राष्ट्रहरू श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, चाइना, जापान, कोरिया, लाओस, हङकङ आदिबाट आउने पर्यटकहरूले बुद्धको जन्मस्थल नेपालमा बौद्ध सम्पदा र बौद्ध संस्कृति र बौद्ध आचरण कुनै पनि नपाउँदा बत्तीमुनि अँध्यारो भन्ने धारणाको विकास हुन्छ । बौद्ध सम्पदा, संस्कृति र आचरण हेर्न नेपालमा हैन उपरोक्त अन्य देशमा जान्नुपर्ने भावनाले पर्यटकको सङ्ख्या घट्दैन भन्न सकिन्न ?
⦁ विभिन्न बौद्ध संस्कृति (जस्तो माघ १ गतेको सम्यक महादान) सम्बन्धी हुने दिन र हुने ठाउँको पर्यटकहरुलाई अग्रीम जानकारी गराउन सके पर्यटकको सङ्ख्या पक्कै पनि बढ्ने छ ।
⦁ आन्तरिक र बाह्य पर्यटक तथा धर्मावलम्बीहरूलाई सम्यक महादान हेर्ने बुझ्ने, अध्ययन गर्ने र सहभागी हुने मौका प्राप्त हुन्छ ।
⦁ सांस्कृतिक नगर भक्तपुरले विभिन्न सांस्कृतिक कार्यक्रमको जानकारी गराउने हिसाबले कार्यक्रम हुने १ हप्ता अगाडिदेखि प्रत्येक पर्यटक प्रवेशद्वारहरूमा हुनगैरहेको सांस्कृतिक कार्यक्रमको नाम, हुने दिन र समय, हुने ठाउँको स्पष्ट जानकारी गराउन विशेष सांस्कृतिक नक्सा‘ राख्न सकेमा पर्यटकलाई सांस्कृतिक नगरमा सांस्कृतिक कार्यक्रम हेर्ने अवसर प्राप्त हुन्छ ।
(९) सम्यक दानले दिने सन्देशहरु
दान र त्यागको लागि बुद्ध धर्म अत्ति लोकप्रिय मानिन्छ । यस धर्मको ऐतिहासिक पृष्ठभूमिलाई केलाउँदा पानी नपरी जनता मर्ने अवस्थामा पुग्दा जनतालाई बचाउन आफ्नो मणि दान गरेको, बघिनी आमालाई बचाउन आफैले मासु काटी दान गरेको, आफ्ना छोराछोरी र स्वास्नी दान गरेको आदि सुन्न पाइन्छ । यसैको प्रभाव बौद्ध समाजमा जन्मेदेखि मृत्युसम्मको हरेक संस्कारहरूमा दानको महत्वपूणर् भूमिका रहेको हुन्छ । दश पारमिताको सफल पालना (कार्यान्वयन) पश्चात् सिद्धार्थले बुद्धत्व प्राप्त गर्न सफल भएको मानिन्छ । दश पारमिता भित्र १) दान पारमिता २) शील पारमिता ३) प्रज्ञापारमिता (४) नैष्क्रम्य पारमिता (५) क्षान्ति पारमिता (६) सत्य पारमिता (७) बीर्य पारमिता (८) अधिस्थान पारमिता (९) मैत्री पारमिता (१०) उपेक्षा पारमिता हुन् ।
यस अर्थमा बुद्ध धर्ममा दानलाई विशेष महत्व दिएको देखिन्छ । बुद्ध धर्ममा जुनसुकै जातले जेसुकै दान गर्दा पनि अस्वीकार गर्ने चलन छैन । यसको प्रत्यक्ष प्रमाणको रूपमा बुद्ध परिनिर्माण हुन केही समय अगाडि बुद्धले दबाइको घरमा भिक्षा माग्न जानुहुँदा ऊसँग भएको सुँगुरको मासु दान गर्दा पनि सहर्ष स्वीकार गरी आशिष दिएको घटनाले स्पष्ट पार्दछ । त्यस्तै सम्यक दान र पञ्चदानलाई पनि मिलेर र आफ्नो इच्छाअनुसार दान दिन मिल्ने पर्वको रूपमा लिन सकिन्छ ।
-बुद्ध धर्ममा दान र त्यागको कारणले गुम्बा, विहार, चोक, भिक्षु सङ्घ बन्न सकेको कुरा बिर्सनु हुन्न ।
– मनोवैज्ञानिक ढङ्गले विचार गर्दा दान र त्यागको सकारात्मक प्रभावको कारण एक चित्तले शान्त मनले दान गर्न पाउँदा मन आनन्द भई कतिपय रोग निको भएको सुन्न पाइन्छ । आनन्द मनको कारण ‘स्वस्थ शरीर हुनगै स्वस्थ मस्तिकको विकासमा सहयोग पुगेको सुन्न पाइन्छ । “Sound health creates sound mind” यस मनोवैज्ञानिक भनाइ यस कार्यमा पनि कार्यान्वयन भएको देख्न पाइन्छ ।
– जातिगत विभेद नभएको, उच्च नीच, धनीगरीब विभेद नभएको संसारको कुनै पनि मानिसले ‘बुद्ध धर्मलाई परीक्षण गरेर अनुभव गर्न मिल्ने यसको आस्था र विश्वासलाई भन्दा प्रयोग र परीक्षणमा बढ्ता जोड दिएको हुँदा यसलाई विज्ञानसम्मत धर्म मानेको छ । यसैले हुनु पर्दछ ‘अलबर्ट आयन्स्टाइन’ जस्तो महान वैज्ञानिकले पनि आफ्नो विचार यसरी व्यक्त गरेको सुन्न पाइन्छ । ‘मैले कुनै धर्म रोज्नु परेमा म बुद्ध धर्म रोज्न चाहन्छु ।’
सबै माप्र. सिद्धिरत्न शाक्यनवलाई समान दृष्टिकोण राख्न सक्ने मानवतावादी धर्म हुँदा, यसको परिणाम यस्तो आउँछ भनि विश्लेषण गर्न मिल्ने विज्ञान समत धर्म हुँदा, ‘मैले भनेको भन्दैमा आँखा चिम्लेर स्वीकार नगर्नु वरु तिम्रो विवेकको कस्सिमा जाँचेर ठीक लागेमा मात्र स्वीकार्न भनि लाद्न नखोजीएको धर्म हुँदा, अन्धविश्वास रहित धर्म हुँदा संयुक्त राष्ट्रसंघले पनि यस धर्मलाई आफ्नो सिद्धान्त र कार्यान्वयन पक्षको मार्गदर्शनको रूपमा लिएको हुनुपर्दछ । उदाहरणको रूपमा लिनु पर्दा सम्पन्न राष्ट्रहरूले आपतविपतमा परेका विपन्न राष्ट्रहरूलाई सहयोग गर्न लगाई ‘बाचौँ र बाच्न देऊ’ भन्ने सद्भावको विकास गरेको देखिन्छ । यिनै विभिन्न कारणले हुनुपर्दछ, बुद्ध जयन्तिका दिन संयुक्त राष्ट्र संघमा बिदा दिने गरेको छ ।
१०) सार सङ्क्षेप
बुद्ध धर्ममा सबै मानिस समान छन् । जातिगत फरक फरक नाम दिए तापनि मानिस एक आपसमा फरक हुँदैन सक्नेले वणर् विभाजन गरी ब्राह्मण, क्षेत्री वैश्य, शुद्र बनाए तापनि त्यस वणर्भित्र पर्ने मानिसहरू फरक फरक हुने हैन । पेशामा मात्र फरक छन् । कोही पनि मानिस ब्रह्माको मुखबाट, काखबाट, नाइटोबाट जन्मेको हुँदैन सबैको जन्म आमाबाबुको संसर्गभई (XY) शुक्राणुबाटै जन्मने कुरा बुद्धधर्मको मान्यता मात्र नभै विज्ञानले प्रमाणीकरण पनि यहि हो । त्यही कारण नेपालको सबभन्दा ठूलो अन्तर्राष्ट्रिय तीर्थस्थल लुम्बिनीमा (Entrance only for Buddhist) भनेर लेखेको कतै पाइँदैन । महान व्यक्तिहरू कसैले पनि जातलाई मान्यता दिएको पाइँदैन । न त भारतका सुरुका संविधान निर्माता डा. अम्बेकरले मानेका छन् । न त नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाले नै मानेका छन् । ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ ।
बुद्धकालीन समयमा घटेका घटनाहरू एकसे एक मार्मिक छन् । एउटा घटना यसप्रकार घटेको छ । ‘बुद्धको सहायक भिक्षु आनन्द एक दिन गर्मीको समयमा भिक्षाटनबाट फकिँदै गर्दा गर्मीको कारणले साह्रै प्यास लागेको हुँदा पानीको खोजीमा लागे । पर परसम्म हेर्दै जाँदा पर इनारमा एक महिला पानी ओसार्दै गरेको देखे आनन्द भिक्षु नजिकै गएर पानी पिउन मागे । ती महिलाले भनिन, ‘म कामी हूँ, हामीले छोएको गाउँलेले केही पनि खाँदैनन् । मैले कसरी तपाइँलाई पानी पिलाउने ?’
म तल्लो जातको हुँ । भिक्षु आनन्द हाँसेर भनुभयो मैले पानीमात्र पिउने हो तिम्रो जात पिउने भनेको हैन । उनी फेरि प्रश्न गर्छन्, ‘के तिमीले दिने पानीमा तिम्रो जात पनि मिसाइ दिनसक्छौ ?’
ती महिला अकमक पर्छिन् । तिनकै हातबाट पानी पिएर आशीर्वाद दिँदै भिक्षु विहारतिर लागिन् । यस्ता विविध घटनाले पनि यहि नै सन्देश दिन खोजेको छ । बुद्ध धर्ममा जात र वणर्लाई कुनै स्थान छैन । हुन पनि अनौठो लाग्ने कुरा ‘कसाइले काटेको मासु छुन हुने, खान हुने तर कसाईलाई छुन नहुने, पानी नचल्ने भन्ने हास्यास्पद र शोषण नीतिमा बुद्ध धर्म देखिँदैन ।
सन्दर्भ ग्रन्थहरू
१) हरिराम जोशी (बि.सं. २०६०) नेपालका चाडपर्व सगुन प्रिन्ती प्रेस, टेकु, काठमाडौँ
२) जुनु बासुकला (रञ्जितकार) (वि.सं. २०६४) ‘भक्तपुरको पञ्चदान पर्व ‘प्रिन्ट एकाइ भुरुङखेल, काठमाडौँ
३) विभिन्न लेखकहरूको कृति सङ्कलित (वि.स. २०७१) ‘कुथुवही म्हःसिका पौ’ म्यानेजमेन्ट प्रिन्टिङ हाउस, याछेँ, भक्तपुर -५
४) कुथुवही विकास समितिको स्मारिका (वि.सं.२०६३) ‘लुमंति पौ’ मिडिया प्लस, यालाछेँ, व्यासी
५) कुथुवही विकास समितिको स्मारिका (वि.सं. २०६८) ‘झीगु कुथुवही म्हसिका पौ’ वेलकम आर्ट तुलाछेँ, भक्तपुर-८
स्रोतः ख्वपको पहिचान भाग-१